आर्टिफिसियल इन्टेलिजेन्स

- सौगात नेपाल

मंसिर ११, २०७५

आर्टिफिसियल इन्टेलिजेन्स कम्प्युटरद्वारा नियन्त्रित रोबोट वा मानिसको जस्तै इन्टेलिजेन्स तरिकाले सोच्ने सफ्टवेयर बनाउने विधि हो । आर्टिफिसियल इन्टेलिजेन्स शब्दको पहिलो प्रयोग अमेरिकी वैज्ञानिक जाने म्याकार्थीले सन् १९५५ मा एउटा लेखमार्फत गरेका थिए ।

यसले विशेषत: मानिसको दिमागले कसरी सोच्छ ? कसरी समस्या हल गर्छ ?  कसरी निर्णय लिन्छ ? कसरी काम गर्छ ? जस्ता विषयमा अध्ययन–अनुसन्धान गर्छ । यसको आरम्भ १९५० को दशकमै भएको थियो, तर यसको महत्वका बारेमा भने १९७० को दशकतिर मात्र थाहा भयो ।

सबैभन्दा पहिले जापानले आर्टिफिसियल इन्टेलिजेन्सको पहल गर्दै १९८१ मा फिफ्थ जेनरेसन नामको योजना सुरु गरेको थियो । मानिसमा प्राकृतिक रूपमै सोच्ने, सम्झने र सिक्ने क्षमता हुन्छ, ठीक त्यसैगरी एउटा यस्तो सिस्टम जुनचाहिँ आर्टिफिसियल तरिकाले सोच्ने, सम्झने र सिक्ने क्षमता राख्छ, त्यति मात्र नभएर प्रतिक्रिया दिन पनि मानिसभन्दा उत्कृष्ट र अब्बल हुन्छ भने त्यसलाई आर्टिफिसियल इन्टेलिजेन्स भन्न सकिन्छ ।

हामी रोबोटलाई नै आर्टिफिसियल इन्टेलिजेन्स भनेर बुझ्दछौं, जबकि रोबोट त एउटा सिस्टम मात्र हो जसमा आर्टिफिसियल इन्टेलिजेन्स हालिएको हुन्छ । यथार्थमा कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) एउटा यस्तो ज्ञान हो, जसमा यस्तो सफ्टवेयरको विकास गरिएको हुन्छ, जसले मानिसको जस्तै वा मानिसभन्दा पनि राम्रो ढङ्गले प्रतिक्रिया दिन सकोस्, यसमा विभिन्न विषय समावेश हुन्छन्, जसमध्ये गणित, समाजशास्त्र, दर्शनका साथै विभिन्न भाषाको ज्ञान पर्छन् । सामान्यतया: आर्टिफिसियल इन्टेलिजेन्स दुई प्रकारका हुन्छन् ।

विक आर्टिफिसियल इन्टेलिजेन्स

यसलाई आर्टिफिसियल नेरो इन्टेलिजेन्स पनि भनिन्छ । किनभने यसले एउटा स्पेसिफिक काम मात्र राम्रोसँग गर्न सक्छ । उदाहरणका लागि, तपाईंको कम्प्युटर चेस खेल्न सक्छ भने त्यो चेस खेल्न मात्र एक्सपर्ट हुन्छ, त्यसले अरू कुनै काम गर्न सक्दैन ।

स्ट्रङ आर्टिफिसियल इन्टेलिजेन्स 

यो एउटा यस्तो सिस्टम हो जसमा मानिस वा मेसिन दुवैको दिमाग लगभग बराबर हुन्छ, अर्थात् जुन काम मानिसले गर्न सक्छ त्यो काम रोबोट वा मेसिनले पनि सजिलैसँग गर्न सक्छ । त्यसैले यसलाई आर्टिफिसियल वाइड इन्टेलिजेन्स पनि भनिन्छ ।

यी दुई प्रकारका अतिरिक्त कृत्रिम बुद्धिमत्तामा विलक्षणतासमेत समावेश हुन सक्छ, जसले गर्दा रोवोट वा मेसिनले मानिसले भन्दा पनि उत्कृष्ट ढंगले सोच्न, सम्झन तथा विचार व्यक्त गर्न सक्छ ।

एक्सपर्ट सिस्टम, गेम प्लेयिङ, स्पिच रिकग्निसन, नेचुरल ल्याङ्वेज, कम्प्युटर विंजन, न्युरल नेटवर्क, रोबोटिक्स, कम्प्युटर साइन्स, वेदर फेरकास्ट तथा एभिएसन आर्टिफिसियल इन्टेलिजेन्सका मुख्य एप्लिकेसन हुन् ।

यसले मानव जीवनलाई सहज एवं सरल बनाइदिएको छ, जुन काम सयौं मानिस दिमाग लगाएर गर्छन्, तिनै काम मेसिनले केही सेकेन्डमै गर्न सक्छ । त्यसो त आर्टिफिसियल इन्टेलिजेन्सले हाम्रो काम गर्ने तरिकालाई सहज र सरल बनाइदिएको छ । यो हाम्रा लागि खतरासमेत सावित हुन सक्छ । अहिलेसम्म त आर्टिफिसियल इन्टेलिजेन्सयुक्त मेसिनहरू मानिसद्वारा तयार पारिएको प्रोग्रामिङबाट मात्र चलिरहेका छन्, तर जब कुनै मेसिनले आफ्नो निर्णय आफैँ लिन थाल्नेछ तब हामी मानिसका लागि ठूलो प्रकोपको स्थिति सिर्जना हुन सक्छ ।

यसको अन्दाज हामी कैयौं रोबोटिक एवम् टेक्निकल चलचित्रबाट पनि लगाउन सक्छौं । त्यस्ता चलचित्रमा रोबोट वा मेसिनहरूले मानिसको निर्देशन मान्नुको साटो आफैँ मनोमानी गर्न थाल्छन् । यो कुरा चलचित्रमा मात्र नभएर यथार्थमै नहोला भन्न सकिँदैन, त्यसैले प्रविधिको विकास जरुरी छ । 

 

प्रकाशित :मंसिर ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्