दन्त चिकित्सामा के के अवसर छन्

- साप्ताहिक संवाददाता

मंसिर ११, २०७५

 

नेपालमा दन्त चिकित्सा शिक्षाको इतिहास लामो छैन । २०५५ सालदेखि मात्र दन्तचिकित्सा स्नातक (बीडीएस) तहको अध्ययन–अध्यापन प्रारम्भ भएको हो । २० वर्षको यो अवधिमा नेपालमा करिब ५ हजार दन्तचिकित्सक उत्पादन भएको पाइन्छ । नेपाल मेडिकल काउन्सिलले यो वर्ष विभिन्न कलेजलाई ५ सय ३० विद्यार्थीलाई अध्यापन गराउने अनुमति प्रदान गरेको छ । कुनै पनि कलेजमा ५० जना भन्दा बढी विद्यार्थीले अध्ययन अनुमति पाउँदैनन् भने मागअनुसारको जनशक्ति अझै पूरा हुन नसकेको सम्बद्ध अधिकारीहरू बताउँछन् ।

 

सामान्य जनमानसमा मुख स्वास्थ्यप्रतिको चेतना वृद्धिसँगै दन्त चिकित्सकको अध्ययनमा रुचि बढ्दै गएको पाइन्छ । मुख खानेकुराको प्रवेशद्धार भएको हुँदा केही समस्या हुनासाथ मानिसहरू चिकित्सकलाई देखाउन पुगिहाल्छन् । त्यही भएर पनि सहरी क्षेत्रमा थुप्रै दन्त क्लिनिक खुल्न थालेका छन् । यसले पनि बीडीएसप्रति आकर्षण बढेको देखिन्छ । यसको आकर्षण मापन गर्ने एउटा गतिलो उदाहरण काठमाडौंमा खुलेका दन्त क्लिनिक तथा अस्पताल आदिलाई लिन सकिन्छ । काठमाडौं उपत्यकामा मात्र साना–ठूला गरी २ हजारभन्दा बढी दन्त क्लिनिक तथा अस्पताल छन् । १८ वर्षकै इतिहासमा यति धेरै प्रगति हुनु राम्रो फड्को भएको कान्तिपुर डेन्टल कलेजका कार्यकारी निर्देशक बुद्धिमान श्रेष्ठ बताउँछन् । ‘मानिसहरू मुख स्वास्थ्यप्रति सजग हुन थालेका छन् ।’ श्रेष्ठ भन्छन्, ‘मानिसहरू जति सजग हुँदै गए त्यति नै दन्त चिकित्सकको महत्व एवं अवसर वृद्धि हँुदै जान्छ र ग्रामीण तहसम्म जनताले सेवाको सहज पहुँच पाउँछन् ।’

 

नेपाल मेडिकल काउन्सिलका रजिस्टार डा. दिलीप शर्मा नेपालमै बीडीएसको अध्ययन–अध्यापन प्रारम्भ भएपछि विदेश पढ्न जाने विद्यार्थीको संख्या कम भएको बताउँछन् । यसले नेपालबाट दन्त चिकित्सक पढ्ने विद्यार्थीबाट वार्षिक रूपमा बिदेसिने अर्बौं रुपैयाँ रोकिएको छ । 

 

नेपालमा कान्तिपुर तथा पिपल्स मेडिकल कलेज बीडीएस मात्र अध्यापन गराउँदै आएका कलेज हुन् । यसका साथै त्रिभुवन विश्वविद्यालय एवं काठमाडौं विश्व विद्यालयबाट सम्बन्धन पाएका केही अन्य मेडिकल कलेजले एमबीबीएसका साथै यो विषय अध्ययन–अध्यापन गराइरहेका छन् । 

 

यसलाई कम बिरामी, कम विद्यार्थी र कम प्रोफेसर रहेको क्षेत्रका रूपमा लिइन्थ्यो । अहिले बिस्तारै सम्भावना भएको विषयका रूपमा लिइन्छ । दन्तचिकित्सालयमा उपचार शुल्क कम हुने कारणले कलेजमा बिरामीको आकर्षण बढ्न नसकेको बताइँदै आएको छ । यद्यपि कलेज सञ्चालकहरू दन्त क्लिनिकको तुलनामा चिकित्सालयमा स्तरीय सेवा उपलब्ध हुने भएकाले शुल्क केही महँगो हुने बताउँछन् । 

 

विकृति पनि छ 

अहिले काठमाडौं उपत्यकाभित्र २ हजार ५ सयभन्दा बढी दन्त उपचार केन्द्र सञ्चालनमा रहेको अनुमान छ, तीमध्ये झन्डै ५० प्रतिशत दन्त उपचार केन्द्र बिनादर्ता सञ्चालन भैरहेका छन् । यति ठूलो संख्यामा बिनाअनुमतिका दन्त उपचार केन्द्र सञ्चालन भैरहे पनि सरकारले त्यसको नियमन गर्ने निकायसमेत बनाउन सकेको छैन । सरकारले ल्याएको अस्पताल संचालन तथा मापदण्डसम्बन्धी निर्देशिकाले कुनै पनि विशिष्टीकृत सेवा दिने अस्पताल कम्तीमा १ सय बेडको हुनुपर्ने उल्लेख गरेको छ, तर धेरैले उक्त मापदण्ड पूरा गर्न सकेका छैनन् । त्यस्ता विशिष्टीकृत सेवाको मापदण्डमा ऐन अनुसार नभए विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै हुने उल्लेख छ । त्यसमा दन्त सेवासम्बन्धी अस्पताल सञ्चालन गर्न न्यूनतम १५ चियरको व्यवस्था हुनुपर्छ, तर काठमाडौं उपत्यकाका कतिपय दन्त अस्पताल दुई–तीनवटा चियर मात्र राखेर सञ्चालनमा छन् । 

 

के–के पर्छन् दन्त सेवामा

 दाँत सफा गर्ने, झिक्ने, नक्कली दाँत राख्ने

 बाङ्गोटिङ्गो दाँत मिलाउने, स्थायी तथा अस्थायी दाँत हाल्ने 

 गिजासम्बन्धी उपचार गर्ने

 त्यसका साथै मुखमा भएका सम्पूर्ण उपचार तथा परामर्श सेवा दन्त चिकित्सकबाट पाइन्छ ।

 

दाँतको उपचार कति महँगो ?

नेपालको उपचारशुल्क अन्तर्राष्ट्रिय बजारको तुलनामा सस्तो छ, तर नेपालीहरूको प्रतिव्यक्ति आयको तुलनामा भने यसको शुल्क केही महँगो देखिन्छ । युरोपियन मुलुकमा एउटा दाँत फिटिङ गर्दा कम्तीमा पनि ५० डलर पर्छ, तर नेपालमा करिब ५ सय रुपैयाँमा उक्त सेवा प्राप्त गर्न सकिन्छ । विश्व स्वास्थ्य सङ्गठनले मुखको रोगको उपचारलाई विश्वको चौथो महँगो उपचारमा राखेको छ । शरीरको प्रमुख द्वार मुख भएकाले मुख एवम् दाँतको रोग जटिल हुन्छ । अहिले सामान्य प्रकृतिको दन्त चिकित्सालय स्थापनाका लागि कम्तीमा १५ चेयर आवश्यक हुन्छ । एउटा चेयरका लागि करीब ५ लाख रुपैयाँ खर्चिनुपर्ने व्यवसायीहरू बताउँछन् ।

 

दन्तचिकित्सा अध्यापन भैरहेका कलेज तथा सिट संख्या

चितवन मेडिकल कलेज - ४०

किष्ट मेडिकल कलेज - ५०

युनिर्भसल कलेज अफ मेडिकल साइन्स - ४०

पिपल्स डेन्टल कलेज-  ५०

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान-  ५०

केयू स्कुल अफ मेडिकल साइन्स - ५०

काठमाडौं मेडिकल कलेज- ५०

नेपाल मेडिकल कलेज - ५०

कलेज अफ मेडिकल साइन्स - ४०

कान्तिपुर डेन्टल कलेज - ५०

गण्डकी मेडीकल कलेज - २५

नोवेल मेडिकल कलेज - ३५

      जम्मा : - ५ सय ३०

प्रकाशित :मंसिर ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्