विवाहका लागि म कसैको पर्खाइमै छु : निरुता सिंह

- साप्ताहिक संवाददाता

मंसिर १०, २०७५

 

नेपाली चलचित्रकी कुनै समयकी स्टार अभिनेत्री हुन्– निरुता सिंह । दर्पणछायाँ, माइती, मन मन्दिर, दक्षिणा, सिउँदोको सिन्दूर, आफ्नो घर आफ्नो मान्छेजस्ता सफल चलचित्रमा अभिनय गरिसकेकी निरुता झन्डै एक दशकभन्दा बढी समय नेपाल बाहिर रहिन् । पीडा र दु:खका कथा हुन् वा माया–प्रेमका कथा दुवैमा उत्तिकै फिट हुने निरुता भारतको दार्जीलिङमा जन्मिएकी हुन् । यसअघि ‘नाइँ न भन्नु ल–५’ मा अतिथि भूमिकाका देखिएकी निरुता मह सञ्चारको ब्यानरमा निर्माण भैरहेको ‘दाल भात तरकारी’ बाट पुन नेपाली चलचित्रमा फर्कने तरखरमा छिन् । उनको कमब्याक, नेपाली चलचित्रमा उनको अनुभव, आगामी योजना आदि विषयमा केन्द्रित रहेर साप्ताहिकले सिंहसँग गरेको कुराकानी : 

 

 निरुता सिंह, अभिनेत्री

 

लामो समयपछि नेपाली चलचित्रमा देखिँदै हुनुहुन्छ, कस्तो अनुभव भैरहेको छ ? 

मेरो परिचय नै नेपाली चलचित्रले स्थापित गरेको हो । अहिले म जे छु त्यो नेपाली चलचित्रले नै दिएको हो । त्यसैले मेरो फस्ट इनिङ सकिएर सेकेन्ड इनिङ सुरु हुँदैछ । यसका लागि म निकै उत्साहित छु । मेरो दोस्रो इनिङको सुरुवात एकदमै राम्रो ब्यानरबाट हुँदैछ । अर्को कुरा, अग्रज कलाकारहरूसँग काम गर्ने मौका पाएकी छु, त्यसैले एकदमै खुसी छु ।

 

तपाईं एक पुस्ताको अभिनेत्री हुनुहुन्थ्यो, अहिले पछिल्लो पुस्ताका नयाँ–नयाँ अभिनेता–अभिनेत्री आइरहेका छन् । उनीहरूसँगको सम्भावित प्रतिस्पर्धालाई कसरी लिनुभएको छ ? 

म जहिले पनि नयाँ कुरा सिक्न चाहन्छु, आफूलाई अपडेट राख्न खोज्छु । हाम्रो पालामा सबै कुरा अलग थिए । अहिले सबै कुरा डिजिटलाइज्ड भएको छ । अहिलेका अभिनेता/अभिनेत्रीहरू पनि सबै कुरा सिकेर परिपक्व भएर आउनुभएको छ । हाम्रो पालामा अहिलेको जस्तो इन्टरनेट, गुगल आदि थिएनन् । त्यसैले म नयाँ कलाकारहरूसँग आफूलाई अपडेट गर्न चाहन्छु ।

 

नेपाली चलचित्रका थुप्रै नयाँ कलाकार आएका छन् । ती मध्ये कसको सम्भावना बढी देख्नुहुन्छ ? 

यसैको बढी सम्भावना छ भन्न सक्दिनँ । मैले अहिलेसम्म जति पनि अभिनेता–अभिनेत्रीसँग देखभेट गरें, सबैलाई राम्रै पाएको छु । सबैको आ–आफ्नै खुबी छ, जसले गर्दा नेपाली चलचित्रको भविष्य एकदमै राम्रो देखिन्छ ।

 

नेपाली चलचित्रमा २५ वर्ष बिताउनुभयो, आफ्नो अनुभव सुनाइदिनुहोस् न ? 

जतिबेला म चलचित्रमा प्रवेश गरें । त्यतिबेला सिक्स्टिनको क्यामेराबाट चलचित्र खिचिन्थ्यो । एउटा क्यामेराम्यानले ओके भनेपछि सट ओके हुन्थ्यो । त्यो सिन कस्तो खिचिएको छ भन्ने कुरा निर्देशकलाई समेत थाहा हुँदैनथ्यो । त्यतिबेला चलचित्र निर्माणका लागि बजेट पनि एकदमै कम हुन्थ्यो । ३० देखि ३५ लाख रुपैयाँको हाराहारीमा चलचित्र निर्माण गरिन्थ्यो । ६० लाख रुपैयाँ पुग्यो भने चलचित्रको बजेट धेरै भयो भन्ने चर्चा हुन्थ्यो । हामीले त्यतिबेला करोडौं रुपैयाँ लगानी भएका हिन्दी चलचित्रसँग प्रतिस्पर्धा गर्नुपथ्र्यो, जसले गर्दा हिन्दी चलचित्र त्यस्तो छ, नेपाली चलचित्र यस्तो छ भन्ने कमेन्ट आउँथ्यो । त्यतिबेलाको प्रतिस्पर्धा एकदमै गाह्रो थियो । तैपनि हामीले त्यतिबेलाका प्राविधिकहरूलाई सम्मान गर्नैपर्छ, किनभने उहाँहरूले त्यति सानो बजेटमा पनि राम्रो नतिजा दिनुहुन्थ्यो । प्रविधिको राम्रो विकास नभैसकेको स्थितिमा देखे–सुनेको भरमा काम गर्नुपथ्र्याे । त्यो समय र अहिलेको कुरा गर्ने हो भने धेरै नै फरक छ । अहिले सबै कुरामा प्रविधिको विकास भएको छ, जसले गर्दा अहिलेको चलचित्रको गुणस्तर हेर्दा कुनचाहिँ हिन्दी चलचित्र हो, कुनचाहिँ नेपाली चलचित्र हो छुट्याउन गाह्रो पर्छ । 

 

मुम्बईमा त्यहाँको चलचित्रका बारेमा बुझ्ने मौका पाउनुभयो । नेपाली चलचित्र उद्योग र मुम्बई चलचित्र उद्योगबीच कसरी तुलना गर्नुहुन्छ ? 

सबैभन्दा ठूलो कुरा त उनीहरूको बजार एकदमै ठूलो छ । नेपाली चलचित्र उद्योग र बलिउड फिल्म इन्डस्ट्रीको फरक नै यही हो । हाम्रो बजार एकदमै सानो छ । यद्यपि अहिले बाहिरी देशहरूमा पनि नेपाली चलचित्र जान थालेको छ, यो अलग कुरा हो । अर्को कुरा, उनीहरूको चलचित्रमा करोडौं–अर्बौं लगानी हुन्छ । हामी त्यस्तो बजेट धान्न सक्दैनौं । उनीहरू प्रविधिमा एकदमै अगाडि छन्, हामीकहाँ त भर्खरै यसको प्रयोग प्रारम्भ भएको छ । प्रविधिमा हामी भर्खरै बामे सरेर उभिन सक्ने भएका छांै । हिँड्न त अझै कति छ कति ? त्यसैगरी उनीहरू कामलाई गम्भीर रूपमा लिन्छन्, तर हामी चाहिँ भैहाल्छ र चलिहाल्छ भन्छौं । यस्तो भैहाल्छ र चलिहाल्छले चाहिँ हुँदैन । उनीहरू चलचित्र सुटिङमा जानुभन्दा पहिले गम्भीर टेबल वर्क गर्छन् । त्यसमा अलिकति पनि तलमाथि हुँदैन । म उनीहरूको सुटिङ हेर्दा, व्यवस्थापकीय पक्षसमेत नियाल्थें । त्यो देख्दा हे भगवान् हाम्रो नेपाली चलचित्र उद्योगमा यस्तो परिवर्तन कहिले आउला भन्ने लाग्थ्यो । त्यसैले नेपाली र बलिउड चलचित्र उद्योगबीच धेरै फरक छ । तैपनि हामीले यति थोरै बजेट अनि निकै सानो बजारमा धेरै सुधार गरेका छौं, गुणस्तरमा धेरै सुधार ल्याएका छौं । 

 

बलिउडबाट प्राप्त अनुभव नेपाली चलचित्रमा लागू गर्न कत्तिको सम्भव छ ? 

एउटा कलाकारका नाताले मैले दिने भनेको १ सय १० प्रतिशत राम्रो गुणस्तर हो । म चलचित्र दक्षिणाको पहिलो दिनको सुटिङमा जसरी आत्तिएकी थिएँ, अहिले पनि भोलि सुटिङ भनेपछि त्यत्तिकै आत्तिन्छु । हरेक दिन नै मलाई मेरो सुटिङको पहिलो दिन हो जस्तो लाग्छ । आज मैले यो गर्नुपर्छ, यस्तो तयारी गर्नुपर्छ, यो मिलाउनुपर्छ, कसरी सेटमा जाने, कसरी राम्रो गर्ने भन्ने पहिले पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ ।

 

अब जीवनशैलीको पनि कुरा गरौं, तपाईं भारतमा बस्दा दैनिकजसो के गर्नुहुन्थ्यो ? 

भारतमा मेरा साथीहरूको प्रोडक्सन हाउस छ । त्यहाँ चलचित्रसम्बन्धी काम हुन्छन् । त्यसमा उनीहरूले मलाई सल्लाहकार राखेका छन् । उनीहरूलाई म नेपाली चलचित्रकी अभिनेत्री भन्ने थाहा छ । उनीहरू गुगलबाट मेरा बारेमा सबै कुरा जानकारी पाएपछि छक्क परेछन् । मैले अभिनय गरेको चलचित्र पनि हेरेछन्, अनि हाम्रो बजार अलि सानो भए पनि अनुभव भने धेरै भएको भनेर मलाई सम्मान गर्छन्, जसले गर्दा भारतमा भए पनि मैले सधैं नेपाली चलचित्रकै प्रतिनिधित्व गरें । उनीहरू जोसँग चिनाउँदा पनि ऊचाहिँ नेपालको सुपरस्टार हो, ऊ हाम्रो सल्लाहकार हो भनेर चिनाउँथे । उनीहरूको यस्तो सम्मान देखेर मलाई गर्व महसुस हुन्छ । 

 

एक समय नेपाली चलचित्रमा रजाइँ गर्नुभयो, त्यसपछि चटक्कै छाडेर जानुभयो । त्यहाँका सुरुका दिनहरू असहज भएनन् ? 

म मानसिक रूपमा तयार भएरै भारत गएकी थिएँ । त्यतिबेला म इन्टेरियर डिजाइनिङ सिक्न मुम्बई पुगेकी थिएँ । त्यो मेरो रुचिको विषय थियो, तर विभिन्न कारणले त्यो विषय सिक्ने मौका मिलेन । अर्को कुरा मैले नेपाली चलचित्रमा यति धेरै काम गरिसकें, अब मैले ब्रेक लिनैपर्छ भन्ने लागेको थियो । जहिले पनि त्यही काम गर्दा एकरसता भैसकेको थियो । त्यतिबेला मलाई जति पनि प्रस्ताव आए सबैजसो चलचित्रका कथा उस्तै खालका थिए । अर्को कुरा, त्यतिबेला नेपाली चलचित्रको बजार पनि केही सुस्ताएको थियो । राम्रा चलचित्र बन्नै छाडिसकेको अवस्था थियो । जस्तो चलचित्र बनाए पनि हुन्छ भन्ने भैसकेको थियो । कुनै प्राविधिक परिवर्तन महसुस भैरहेको थिएन, चलचित्र क्षेत्रको स्थिति बिग्रिएर गैरहेको थियो । म नेपाली चलचित्र क्षेत्रलाई माया गर्ने मान्छे हुँ, म यसलाई फस्टाएको हेर्न चाहन्छु तर त्यतिबेला नेपाली चलचित्रमा आएको विकृति टुलुटुलु हेर्न सक्ने अवस्था नभएपछि म भारत हान्निएकी हुँ ।

 

भारत बस्दा तपाईंले नेपालको सबैभन्दा धेरै सम्झने कुरा के थियो ? 

हरेक कुरा । यहाँका प्रत्येक गल्ली, यहाँको खानादेखि लिएर यहाँका राम्रा–नराम्रा सबै कुरा । 

 

पहिले जति सुन्दर देखिनुहुन्थ्यो अहिले पनि तपाईंको सुन्दरतामा कुनै कमी देखिँदैन । आफूलाई कसरी फिट राख्नुहुन्छ ? 

त्यो त तपाईंहरूको नजरमा भर पर्ने कुरा हो । तैपनि यो सुन्दरता मलाई भगवान्ले नै वरदानमा दिनुभएको हो । 

 

नेपाली चलचित्रको सकारात्मक र नकारात्मक पक्ष केलाइदिनुहोस् न ? 

अहिले नेपाल चलचित्र विकास बोर्ड छ, जसले गर्दा राम्रो काम हुने अपेक्षा गर्न सकिन्छ । चलचित्रको प्राविधिक पक्ष पनि राम्रो हुँदै गएको छ । यो सकारात्मक पक्ष हो । अब नकारात्मक पक्षचाहिँ के छ, त्यो मैले भनिहाल्न सक्ने अवस्था छैन । त्यसका लागि मैले यहाँ बसेर केही अनुभव लिनैपर्छ । अब म निरन्तर यतै रहन्छु, त्यसैले केही नकारात्मक पक्ष पाएँ भने भनुँला ।

 

भनेपछि, अब नेपालमै बस्ने योजना छ ? 

अहिले म चलचित्र ‘दाल भात तरकारी’का लागि नेपाल आएकी छु । यसबीच अरू थुप्रै चलचित्रबाट पनि अफर आइरहेको छ । अहिले गर्न लागेको चलचित्रमा राम्रोसँग काम गर्छु । अर्को कुरा अब मैले राम्रा चलचित्रमै काम गर्नुपर्छ भन्ने सोचेकी छु । अहिले मैले अभिनय गर्न लागेको चलचित्रमा मैले अभिनय नगरेको भए सायद मैले जीन्दगीभर पछुताउनु पथ्र्याे । 

 

दर्पणछायाँकी लभर गर्ल निरुता अहिले दाल भात तरकारीमा आमाको भूमिका निर्वाह गर्दै हुनुहुन्छ, यसबीच तपाईंमा के–कस्तो परिवर्तन आएको छ ? 

उमेर एउटा नम्बर मात्र हो । आफूले त्यसलाई कसरी लिने भन्नेमा भर पर्छ । मैले दर्पणछायाँमा अभिनय गर्नुभन्दा पहिले नै अभिनेता दिलीप रायामाझीकी आमाको भूमिका निर्वाह गरिसकेकी थिएँ । त्यसपछि मात्र मैले दर्पणछायाँमा अभिनय गरेकी हुँ । त्यसमा आमाको मेरो भूमिका दर्शकहरूले रुचाउनुभएको थियो । मैले दर्पणछायाँमा कलेज पढ्ने केटीको भूमिकामा अभिनय गरें । त्यसमा मलाई दर्शकले रुचाउनु होला–नहोला भन्ने आशंका वा डर मनमा थियो, तर आजसम्मको मेगा हिट चलचित्र नै त्यही भयो । त्यसैले कलाकारले हरेक चरित्रमा अभिनय गर्नुपर्छ । 

 

पछिल्लो समय हास्य चलचित्र बढी बन्न थालेका छन्, अहिले तपाईं त्यस्तै प्रकृतिको चलचित्रमा अभिनय गर्दै हुनुहुन्छ, कस्तो लागिरहेको छ ? 

एकदमै उत्साहित छु । किनभने मैले अहिलेसम्म हास्य चलचित्रमा अभिनय गरेकी छैन । दर्शकहरूले नै निरुता जहिले पनि सिरियस भूमिकामा देखिने अभिनेत्री हुन् भन्नुहुन्छ । त्यसैले अहिले हास्य चलचित्रमा अभिनय गर्न पाउँदा एकदमै उत्साहित छु । 

 

मुम्बई चलचित्र उद्योगबाट नेपाली चलचित्र उद्योगले सिक्नैपर्ने कुराचाहिँ के हो ?

नेपाली चलचित्र उद्योगले मात्र होइन, बलिउड चलचित्र उद्योगले पनि सिक्नुपर्ने कुरा धेरै छ । हामी यहाँ जसरी नेपाली चलचित्र क्षेत्रमा यो सुधार गर्नुपर्‍यो भन्छौं, त्यसैगरी उनीहरूले पनि हलिउड हेरेर हाम्रो यस्तो छ उनीहरूको कति राम्रो छ भन्छन् । त्यसैले उनीहरूले पनि सिकिरहेका छन् । यो सिक्ने–सिकाउने कुरा अथाह सागर हो । सिकेर कहिल्यै सकिँदैन । 

 

अहिलेसम्म अविवाहित हुनुहुन्छ, उमेर घर्कियो जस्तो लाग्दैन ? 

म कसैको पर्खाइमै छु । कोही त आउला नि मेरो जीवनमा पनि । जुन दिन आउँछ त्यो दिन अवश्य भन्नेछु । अनि नआउन पनि सक्छ । फेरि मैले विवाह नगर्न खोजेकी पनि होइन, सम्भवत: मैले चाहेको मान्छे, मेरो जीवनमा आउने मान्छेको साइत नजुरेको होला । 

प्रकाशित :मंसिर १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्