भ्वाइस अफ नेपालको कोचका अनुभव

- महेश तिमल्सिना

मंसिर ९, २०७५

दीप श्रेष्ठ, कोच, द भ्वाइस अफ नेपाल 

मलाई द भ्वाइसको अर्गनाइजरहरूले धेरै पटक आग्रह गर्नुभयो अनि परिवारले पनि यस्तो शोमा कोचका रूपमा गैदिए हुन्थ्यो भन्ने चाहना राखेपछि मैले उक्त प्रस्ताव स्वीकार गरे । द भ्वाइस अफ नेपालले नेदरल्यान्डबाट फ्रेन्चाइस पाएको हुनाले सबै कुरा त्यहाँकै फम्र्याटमा गर्नुपर्ने थियो, जसले गर्दा सुरुसुरुमा अलि असजिलो महसुस भयो । हामीले त्यो फम्र्याटलाई राम्रोसँग पछ्यायौं । त्यही असजिलो फम्र्याटलाई फलो गरेको हुनाले नै अहिले राम्रो भैरहेको छ । यतिबेला द भ्वाइस अफ नेपालको लाइभ अडिसन चलिरहेको छ, तर मलाई यो अवधिसम्म आइपुग्दा ब्लाइन्ड अडिसन नै असाध्यै राम्रो लागेको छ । अझ रमाइलो पक्ष के भने हामीलाई कहाँबाट कति र कस्ता ट्यालेन्ट आउँदैछन् भन्ने केही पनि थाहा थिएन । अनि अर्को कुरा हामीले नचिनेको–नदेखेको मानिसको स्वर मन पराएर बज गर्ने काम पनि मलाई निकै रमाइलो लाग्यो । 

प्रमोद खरेल, कोच, द भ्वाइस अफ नेपाल 

सुरुमा यस्तो फ्रेन्चाइज गायन ट्यालेन्ट शो नेपाल भित्रिएको खबरले उत्साहित थिएँ । द भ्वाइस अफ नेपालको टिमले कोचका रूपमा सुरुमा मलाई नै छनौट गरेको थियो । यो रियालिटी सोका बारेमा नेपालीहरू अनभिज्ञ छन्, यसले कस्तो छाप छोड्ला, कस्ता ट्यालेन्ट आउलान् भन्ने समेत लागेको थियो । ब्लाइन्ड अडिसनमा निश्चित कोटा भएका कारणले मैले मन छुने केही आवाजलाई गुमाउनुसमेत पर्‍यो, जसलाई म अहिले पनि सम्झन्छु । ब्याटल राउन्डमा आफूले सिकाएका दुईमध्ये एक जनालाई छनौट गरेर अर्कोलाई बिदा गर्नुपर्ने थियो, जुन एउटा कोचका लागि एकदमै गाह्रो काम थियो । लाइभ शोमा पनि एक जना आफूले छानेर बाँकीलाई भोटिङका लागि पठाउनुपर्ने बाध्यता थियो । यसरी एक जनालाई मात्र छान्न पनि त्यत्तिकै चुनौती छ । विश्वका १ सय ९२ देशमा सफल यो फ्रेन्चाइज गायन ट्यालेन्ट शोले नेपालको संगीत क्षेत्रमा परिवर्तन ल्याउँछ भन्ने कुरामा म ढुक्क छु । यस्ता रियालिटी शोले नेपालका कुनाकाप्चामा लुकेर बसेका प्रतिभाहरूलाई बाहिर ल्याउँछ । 

सनुप पौडेल, कोच, द भ्वाइस अफ नेपाल 

द भ्वाइस विश्वको १ सय ९२ देशमा सफल भैरहेको फ्रेन्चाइस गायन ट्यालेन्ट शो हो । यो शो मैले धेरै पहिलेदेखि हेरिरहेको थिएँ । मलाई यो एकदमै मन पर्ने शो हो । यद्यपि नेपालमा यस्तो प्रकारको शो भित्रिएला भन्ने मैले सोचेको थिइनँ । अझ भन्ने हो भने त द भ्वाइस अफ नेपालको कोचका रूपमा आफूलाई पाउँला भन्ने कल्पनासम्म गरेको थिइनँ । मैले यसलाई आफ्नो जीवनको एउटा महत्वपूर्ण टर्निङ प्वाइन्टका रूपमा लिएको छु । हामीले छनौट गरेका ट्यालेन्टहरू सबै एकदमै राम्रो हुनुहुन्थ्यो, तर बाध्यतावश विभिन्न कारणले उहाँहरूलाई हामीले आउट गर्दै जानुपरेको छ । द भ्वाइस अफ नेपालले अबको पुस्तालाई संगीतमा प्रोत्साहित गर्छ भन्नेमा म विश्वस्त छु । हामीले अहिलेसम्म संगीतलाई मनोरञ्जनका रूपमा मात्र लिने गरेका थियौं । यद्यपि अब यसले मानिसलाई गम्भीर हुनसमेत बाध्य बनाउँछ भन्नेमा म ढुक्क छु ।

अभया सुब्बा, कोच, द भ्वाइस अफ नेपाल 

नेपालमा धेरै कलाकार छन् तैपनि मलाई नै द भ्वाइसको कोचका रूपमा छनौट गरिँदा निकै खुसी पनि लाग्यो, साथै नारीको सम्मान गरेजस्तो अनुभूति भयो । सुरुमा त मलाई अलि अप्ठेरोसमेत महसुस भएको थियो । घरी–घरी टेलिभिजनमा देखिरहने भएकाले कता–कता लाज पनि लाग्यो । मलाई ब्लाइन्ड अडिसनमा धेरै ट्यालेन्टहरू मन परे । त्यसो त मैले धेरै प्रतिभालाई आफ्नो टिममा ल्याउन निकै प्रयाससमेत गरें । सुरुमा त सबै ट्यालेन्ट मेरै टिममा आउँछन् भन्ने लागेको थियो, तर सोचेजस्तो हँुदो रहेनछ । मैले सुरु–सुरुमा अभयाले नौटंकी गर्छे भन्ने प्रतिक्रिया पनि सुनें, तर अहिले धेरैले माया गरेको अनुभूति गर्न थालेकी छु ।

प्रकाशित :मंसिर ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्