जाडो महिनामा देखिने प्रमुख रोग

- डा. शेरबहादुर पुन

मंसिर ९, २०७५

 

इन्फ्लुएन्जा भाइरस : हावाको माध्यमबाट सर्ने यो भाइरस यो सिजनमा पनि देखा परिसकेको छ । छिटो सर्ने र समुदायलाई नै संक्रमित गर्न सक्ने भएकाले जोखिममा रहेका वर्गले यसप्रति चनाखो हुनुपर्छ । दम, उच्च रक्तचाप, मधुमेह, अंग प्रत्यारोपण गरेका, बालबालिका तथा वृद्धवृद्धा (६५ वर्ष माथिका) हरू यो भाइरसको जोखिममा पर्ने समूह हुन् । घरमा अरू सदस्यलाई संक्रमण नसरोस् भनेर घरबाहिर हुँदा हातलाई बारम्बार नाक, मुख तथा आँखामा लानु हुँदैन । संक्रमित व्यक्तिभन्दा एक मिटर परै बस्नुपर्छ र घर फर्किएपछि राम्रोसँग साबुन–पानीले हात धुनुपर्छ । संक्रमित भैसकेको अवस्थामा भने घरमा अलग्गै बस्नुपर्छ । घरका कुनै सदस्य जोखिममा भए एक हप्ता–दस दिनजति दूरी कायम राखे परिवारमा अरूलाई सर्ने सम्भावना कम हुन्छ । हाल यो भाइरसविरुद्धको खोप सर्वसुलभ भैसकेकाले जोखिममा रहेका जो–कोहीले यो खोप लिन सक्छन् । 

कोल्ड डायरिया : यो जाडोयाममा बढी देखिने एक प्रकारको भाइरल डायरिया हो । पाँच वर्षमुनिका बालबालिकालाई खासगरी रोटाभाइरस नामक कीटाणुले दु:ख दिन्छ भने वयस्कहरूमा नोरो भाइरसले डायरिया र बान्ता गराउँछ । रोटाभाइरसले तीन वर्षमुनिका बालबालिकामा बढी प्रभाव पार्छ । यो भाइरस विश्वमै पखाला र बान्ताबाट हुने बालबालिकाहरूको मृत्युको सबैभन्दा प्रमुख कारण हो । नेपालमा यसको खासै गहिरो अध्ययन नभए पनि पखाला र बान्ताका कारणले भर्ना हुने बालबालिकामध्ये झन्डै ३३ प्रतिशत यही भाइरसबाट प्रभावित भएको पाइन्छ । एसियाली देशहरूको समग्र अध्ययन गर्ने हो भने यसकै कारणले झन्डै ५० प्रतिशत बालबालिका पखाला र बान्ता भएर भर्ना भएको पाइन्छ । ‘विन्टर भोमिटिङ बग’ को नामले समेत चिनिने नोरो भाइरस खासगरी वयस्कहरूमा देखिने गरेको छ । पानी जस्तो पातलो दिसा र बान्ता हुनु यसका मुख्य लक्षण हुन् भने संक्रमण भएको दुई दिनभित्र यी लक्षण देखापर्छन् । संक्रमित व्यक्तिको दिसा वा बान्ता, खानेकुरा तथा पानीबाट यो भाइरस सहजै सर्न सक्छ । यो खासगरी पार्टी, स्कुल वा नर्सिङ संस्थाहरूमा अचानक प्रकोपका रूपमा देखा पर्न सक्छ । व्यक्तिगत सरसफाइ र सफा खानेकुरा नै यसबाट जोगिने मुख्य उपाय हो । रोटा भाइरसविरुद्धको खोप विकास भैसकेको र यो अत्यन्तै प्रभावकारी देखिएकाले नेपालमा पनि यसलाई बालखोप कार्यक्रमअन्तर्गत राख्नुपर्ने देखिन्छ ।

उच्च रक्तचाप : यो समस्या भएका मानिसहरूले आफ्नो रक्तचापप्रति विशेष ध्यान पुर्‍याउनुपर्छ । जाडोमा ह्दयघातको सम्भावना पनि वृद्धि हुन्छ । यो समयमा चिसोका कारणले रक्तचाप अचानक बढ्न गै मुटुलाई बढी भार पर्न सक्छ । यो समयमा आफूले लगाउने पहिरन तथा आफू बस्ने कोठा न्यानो हुनुपर्छ । घर बाहिर निस्कँदा न्यानो टोपी, गलबन्दी, पन्जा आदि लगाउनुपर्छ ।

दम : चिसो हावाका कारण दमका बिरामीको श्वास–प्रश्वासका नलीहरू साँगुरिँदा सास फेर्न गार्‍हो हुन्छ । यस क्रममा खोकी लाग्ने तथा छाती कसिनेसमेत हुन सक्छ । त्यसमा पनि फ्लु भाइरसले आक्रमण गरे स्वास्थ्य अवस्था गम्भीर हुन पुग्छ । तसर्थ खासै जरुरी काम नपरी घरबाट बाहिर निस्कनु हुँदैन भने निस्कनैपरे हलुकासँग स्कार्फले नाक–मुख छोपेर निस्कनुपर्छ । त्यस्तै हरेक वर्ष फ्लुविरुद्धको खोप लगाउन सकिन्छ । दमको नियमित औषधि छोड्नु हुँदैन ।

जोर्नीको पीडा : चिसोमा जोर्नी दुख्ने समस्यासमेत देखा पर्छ । यसको ठोस कारण देखाउन नसकिए पनि जाडोमा शारीरिक क्रियाकलाप कम हुनाले बढी पीडा भएको अनुभूति हुने अनुमान गरिन्छ । तसर्थ घरमै बसेर शारीरिक क्रियाकलाप जस्तै संगीत सुन्दै नाच्ने, घरको सरसफाइ गर्ने, घर वरिपरि बगंैचामा व्यस्त रहने तथा घरभित्रै पनि यता–उता हिँडडुल गर्दा पनि जोर्नीको पीडा कम हुन्छ ।

मद्यपान गर्नु हुँदैन

जाडोमा रक्सीको सेवन घातक हुन्छ । रक्सीले शरीरभित्र रहेको तातोलाई बाहिर निकाल्ने काम गर्छ, जसले गर्दा खाउन्जेल र केही समयका लागि तातो भएको अनुभूति भए पनि रक्सीको असर सकिएपछि भित्री तातो पनि हराउँछ र तातो उत्पादन गर्ने शक्तिमा ह्रास आई कठ्याग्रिएर मृत्यु हुने सम्भावना वृद्धि हुन्छ ।

                       (लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कार्यरत छन् । )

प्रकाशित :मंसिर ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्