यतिबेलाका ईश्वर

- किशोर नेपाल

मंसिर ८, २०७५

उतिबेलाको कुरा नगर्दै बेस । अहिलेको जस्तो आफ्नो फोटो आफैं खिचेर रमाउने बेला थिएन त्यो । डिजिटल प्रविधिको अनुसन्धान जारी थियो । मोबाइल थिएन । ल्यान्डलाइन फोनलाई अग्लो एन्टेनामा जोडेर ‘हाते’ फोन चलाउँथे बिजनेस म्यानहरू । युवा–युवतीहरू बजारमा भर्खर आएको नयाँ प्रविधि पेजरमा रमाउन थालेका थिए ।

फोटोग्राफी नै महँगो भएको त्यो जमानामा भिडियोग्राफी गर्नु र त्यो पनि चितवनमा गर्नु अनौठो र रोचक अनुभव थियो । नारायणघाट बजार निवासी ईश्वर जोशी आफ्नो अनौठो र रोचक अनुभव नेपाली समाजमा बाँड्ने युवा थिए त्यतिबेला । अहिले उनलाई आफैंले भोगेका, आफ्नै अनुभवमाथि झन्डै विश्वास लाग्दैन । उनी झस्किन्छन् र भन्छन् : ओहो ! हामी कहाँबाट कहाँ आइपुगिसकेका छौं ।

घोप्टेभीरमा एभरेस्ट एयरको विमान दुर्घटनाको रिपोर्टिङ गरेर सुरु भएको जोशीको फोटो पत्रकारिताको ‘रजत जयन्ती वर्ष’ हो यो । फोटो पत्रकारितामा उनको खासै रुचि थिएन, तर तात्कालिक आवश्यकता पूरा गर्न उनले क्यामेरा नचलाई धरै पाएनन् ।

उनको रुचि वन्यजन्तुको फोटोग्राफीमा छ । यसका लागि चितवन उपयुक्त भूमि पनि हो । चितवन यस्तो ठाउँ हो जहाँ सधै वन्यजन्तुको ‘भीड’ देख्न पाइन्छ । विभिन्न जीवजन्तुको लस्कर हेर्न चितवनमा पर्यटकहरूको भीड लाग्छ । ईश्वरको अनुभवमा नेपालले वन्यजन्तुको अवलोकन गर्न आउने अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि चाहिने सुविधा जुटाउन सकेको छैन । निकुञ्ज क्षेत्रवरिपरि थुप्रै होटल खुलेका छन्, तर ती होटलले पर्यटकको रुचि र आवश्यकताअनुरूप सेवा दिन सकेका छैनन् । जंगल पर्यटनका बारेमा पर्यटकलाई आकर्षित गर्ने प्रचार पनि भएको छैन । अहिले जे–जति पर्यटक आएका छन् तिनलाई ल्याउन चितवन, खासगरी सौराहा क्षेत्रका, व्यवसायीहरूले निकै मेहनत गरेका छन् ।

नेपाल टेलिभिजनका समाचारदाता हुन्– ईश्वर जोशी । उनी चितवनबाट बीबीसीका लागि समेत काम गर्छन् । उनले साथीहरूको अनुरोध र मागमा काठमाडौंबाट प्रकाशित हुने पत्रपत्रिकालाई पनि फोटो समाचार उपलब्ध गराएका छन् । पहिले चितवन र बाहिरका मानिसहरू वन्यजन्तु फोटोग्राफीलाई गैंडा पत्रकारिता भन्थे । आफूले सञ्चारमाध्यमका लागि गरेको फोटोग्राफीमा उनी आफैंलाई रमाइलो लागेको रिपोर्टिङ चितवनको गैंडाको बबई उपत्यकामा स्थानान्तरण थियो । नेपालका एकसिंगे गैंडाहरूलाई देशका प्रमुख निकुञ्ज क्षेत्रमा बसाइँ सार्ने सरकारी योजनाअनुरूप गैंडाको बसाइँसराइ उपयोगी साबित भएको बताइन्छ ।

‘त्यतिखेर चितवनमा एकल महिलाको अभियान चलेको थियो । जता हेरे पनि झपक्कै राता लुगा लगाएका एकल महिलाहरू । नेपालमा चलेको यो अभियानलाई संसारभरि नै सञ्चारमाध्यमहरूले निकै ठूलो प्राथमिकता दिएका थिए । गैंडाको स्थानान्तरण त्यत्तिकै रोचक विषय थियो,’ जोशी आफ्नो सम्झनाको झोला खोतल्दै बताउँछन्, ‘ती समाचार संसारभर पठाउन सकेकोमा आफैंलाई गर्व लाग्छ । मेरो रुचि र शोख दुवै राजनीतिक समाचारमा भन्दा सामाजिक एवं सांस्कृतिक घटनाक्रममा केन्द्रित छ ।’

नेपाली जनताले जस्तै ईश्वर जोशीले पनि २०४६ को राष्ट्रिय जन–आन्दोलनपछि देशमा ठूलो परिवर्तन आउने आशा गरेका थिए । त्यतिबेला गणेशमान सिंह चितवन आउँदा उनको जिपको पछिपछि जनता बडो उत्साहका साथ दौडिन्थे । ईश्वर ती दृश्यलाई क्यामेरामा कैद गर्थे । बिस्तारै त्यो उत्साह सेलायो । मानिसहरूमा निराशा र वितृष्णा देखा पर्‍यो । ईश्वरको उत्साह पनि सेलायो । 

त्यस्तै भयो २०६२–६३ को जन–आन्दोलनपछि पनि । आन्दोलनको परिणाम युगान्तकारी परिवर्तन आयो देशमा । राजतन्त्रको अन्त्य भयो, 

तर जनताको आशामा फेरि पनि तुषारापात भयो ।

ईश्वरको विचारमा— नेपालमा पत्रकारहरूको पारिश्रमिक अत्यन्तै कम छ । यति थोरै पारिश्रमिक अन्यत्र कतै पनि दिइँदैन । पैसाकै हिसाबले काम गर्ने हो भने नेपालको सञ्चार क्षेत्रतिर हेर्दै नहेरे हुन्छ । अर्को कुरा, सरकारी होस् वा गैरसरकारी, संचार माध्यममा चर्को राजनीतिक ‘डोमिनेसन’ छ । स्तरीयताको कुरा गर्ने हो भने समाचारपत्रहरू नै स्तरीय र भरोसालाग्दा छन् । हामीकहाँ अनलाइन पत्रकारिता हतारमा चल्छ । त्यता धेरै विकृति छन् ।

ईश्वर बाथ रोगले पीडित छन् । विस्तारित उपचारपछि अहिले उनको स्वास्थ्यमा सुधार आएको छ । उनमा फोटो पत्रकारिताको जोश अझ घनीभूत भएको छ ।

प्रकाशित :मंसिर ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्