अमेरिका बसेर समस्या देखाउने भीडको हिस्सा बन्न चाहिनँ

- भिषा काफ्ले

मंसिर ५, २०७५

संखुवासभा, मादी, मूलखर्कका २७ वर्षीय सूर्य कार्कीले अमेरिकाको कलेज अफ एटलान्टाबाट सस्टेनेबल बिजनेस एवं डेभलपमेन्ट इकोनोमिक्समा ब्याचलर तथा चीनको तासिङहुवा युनिभर्सिटीबाट म्यानेजमेन्ट अफ इकोनोमिक एन्ड बिजनेसमा मास्टर्स गरेका छन् । सामान्य परिवारमा जन्मिएका कार्की अहिले युनाइटेड वल्र्ड स्कुल, नेपाल तथा दियालो फाउन्डेसनका संस्थापक एवं निर्देशक पनि छन् । शैक्षिक जागरण ल्याउन अमेरिका छोडेर नेपाल फर्किएको बताउने कार्की नेपालमा सामुदायिक विद्यालयबाटै गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ र त्यो गुणस्तरीय शिक्षा सबैको पहँुचमा पुर्‍याउन सकिन्छ भन्नेमा ढुक्क छन् । सपना देख्न सिकाउने शिक्षाले मात्र नेपाली समाजमा परिर्वतन सम्भव भएको र आफूहरू त्यो सपना देखाउने शिक्षाको अभियानमा लागेको उनी बताउँछन् । कार्की र उनको संस्थाले गरेको मेहनतको मूल्यांकन गर्दै प्रत्येक वर्ष विश्वका धनीहरूको सूची प्रकाशित गर्ने फोब्र्स म्यागजिनले उनलाई २०१७ मा सोसल इन्टरप्रेनर युवाहरूमध्ये एसियाका उत्कृष्ट ३० मा राखेको थियो भने हालसालै विश्वकै सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले कम्युनिटी लिडरसिप कार्यक्रमअन्तर्गत ५० हजार अमेरिकी डलरको फेसबुक कम्युनिटी फेलो प्रदान गरेको छ । उनको संघर्ष र गर्दै गरेका कामको विषयमा साप्ताहिकका भिषा काफ्लेले गरेको कुराकानी : 

फेसबुकले पहिलो पटक नेपालका एउटा युवालाई काम गर्ने थप हौसला प्रदान गरेको हो ?

फेसबुकजस्तो विश्वकै उत्कृष्ट सामाजिक सञ्जालले हामीले सञ्चालन गरेको युनाइटेड स्कुल अफ नेपाललाई रिकोनाइजेसन गर्नु नै ठूलो कुरा हो । नेपालमा दर्ता भएर काम गरिरहेको एउटा संस्थालाई सम्मान गर्नु भनेको विश्वभरि नै नेपाल र हाम्रो स्कुल चिनिनु हो । यसले हाम्रो स्कुललाई अन्तर्राष्ट्रिय रूपमा ब्रान्डिङ गर्न सहयोगसमेत गरेको छ । यति ठूलो संस्थाले हामीलाई सहयोग गरिरहेको छ । अब नोभेम्बरमा गिभिङ ट्युस्डे हुन्छ । त्यो दिन युनाइटेड वल्र्ड स्कुल नेपाललाई फेसबुकको मुख्यपृष्ठमा राखिनेछ । त्यो भनेको यस्तो ठाउँ हो, जहाँ विश्वका जुनसुकै दाताले हामीले गरेको काम हेर्न सक्छन् । त्यति गरिनु भनेकै हाम्रो नेपाललाई चिनाउने मौका हो । हाम्रो मोडललाई विश्वले नै मान्दै जाने प्रक्रिया हो । हामीले सामुदायिक शिक्षालाई जुन तरिकाले बढाएका छौं त्यसलाई फेसबुकले मान्यता दिएको हो र यो राम्रो मोडल हो है भन्ने कुरा स्वीकार गरेको हो । 

 

सामुदायिक विद्यालयमा यहाँहरूले गर्ने काम के हो ?

हामी सबै काम गर्छौं । नयाँ विद्यालय स्थापना गर्नेे, भैरहेका संरचनालाई पुनर्निर्माण गर्नेदेखि सञ्चालन गर्नेसम्मका सबै काम गर्छौं । स्थानीय सरकारले नयाँ विद्यालय चाहिएको छ, तपार्ईंंहरूले साथ, सहयोग दिनुपर्‍यो भनेपछि हामी तत्पर हुन्छौं । हामीले पहिलेदेखि नै सञ्चालनमा रहेका तीनवटा विद्यालय स्थानान्तरण गरिसकेका छांै । 

 

सञ्चालनमा रहेका सामुदायिक विद्यालय र तपार्ईंंहरूको सहयोगपछिको सामुदायिक विद्यालयमा के फरक हुन्छ ? 

सामुदायिक विद्यालयहरू परम्परागत रूपमा चलिरहेका छन् । हामीे त्यसलाई यूडब्लूएस (युनाइटेड वल्र्ड स्कुल)को मोडलमा सञ्चालन गर्छांै । 

यूडब्लूएस मोडल भनेको के हो ?

गुणस्तरीय शिक्षा गरिबलाई । यो भनेको गन्न, पढ्न, लेख्न र सपना देख्न सिकाउने शिक्षा हो । हामीलाई के थाहा छ भने यी चार कुरा गुणस्तरीय शिक्षाबाट मात्र पूरा हुन्छ । 

यो हाम्रो जस्तो ठाउँमा कसरी सम्भव छ ? 

हामी तल्लो तहदेखि नै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने प्रणालीको विकास गर्छौं । एउटा गरिबको छोराले अंग्रेजी माध्यमको विद्यालयमा गएर कहिल्यै पढ्न पाउँदैन । हामी उक्त गरिब विद्यार्थीको समस्या समाधान गरेर अंग्रेजी माध्यमबाट शिक्षा प्रदान गर्छौं । अहिले सामुदायिक विद्यालयहरूले एउटा विद्यार्थीलाई एक वर्ष अन्डर वानमा राख्छन्, त्यसपछि कक्षा १ मा लगेर हालिदिन्छन् । त्यसपछि क्लास चढाउँदै लगेर पढाइ बिगारीदिन्छन् । हामीले त्यसलाई परिवर्तन गरी सामुदायिक विद्यालयमै नर्सरीमा हाल्छौं । त्यो समयमा उनीहरू विद्यालय आउन सक्छन् । एलकेजीमा उनीहरूले शब्दहरू चिन्न सिक्छन् र कक्षा १ मा गएर किताब देख्छन् । यो हाम्रो मोडल हो । 

सामुदायिक विद्यालयलाई आफ्नो मोडलमा कसरी ढाल्नुहुन्छ ? 

समुदायले हाम्रो मोडलको माग गरेपछि स्थानीय सरकारको सिफारिस अनिवार्य हुन्छ, जसमा हामीलाई काम गर्न दिने अनुमतिदेखि हामीले काम गर्दाका बखत पूर्ण सहयोग गर्न तयार हुने प्रतिबद्धता खोज्छौं । त्यसपछि हामी विद्यालय स्थापना गर्ने क्षेत्रको छनौट गर्छौं । हामी आफ्नै नयाँ संरचना बनाउने प्रस्ताव राख्छौं । किनभने अहिले सामुदायिक विद्यालयहरूका भवन शिक्षामैत्री छैनन्, शिक्षामैत्री भवन बनाउने अनुमति पाएपछि नयाँ र यदि पहिलेदेखि नै छ भने स्थानान्तरण गरेर बनाउँछौं । अहिलेसम्म हामीले ७ वटा विद्यालय स्थानान्तरण गरेर बनाएका छौं । त्यसका साथै हामी खेल मैदान पनि माग्छौं । यसको कारण, विद्यालय जस्तो भए पनि त्यहाँ विद्यार्थीले फक्रन पाउनुपर्छ भन्ने हो ।

यसमा समुदायको सहभागिता के हुन्छ ?

विद्यालय निर्माण गर्दा समुुदायको ३० प्रतिशत लगानी अनिवार्य हुन्छ । त्यो लगानी नगदमा हुँदैन । श्रमदानमा हुन्छ, चर खन्ने र चर पुर्ने काममा समुदायले श्रमदान गर्नुपर्छ । त्यसपछि विद्यालय बनाउँदा जति पनि काठ लाग्छ त्यो सामुदायिक वनबाट नि:शुल्क उपलब्ध गराउने हो । यसको कारण के हो भने समुदाय एकजुट भएमात्र सामुदायिक वनले काठ उपलब्ध गराउँछ । त्यो समुदाय कत्तिको एकजुट छ र शिक्षाका लागि जुट्न सक्छ भन्ने मूल्यांकनको आधार पनि हो । साझेदारीमा ९० प्रतिशत समुदायले हस्ताक्षर गरेको हुनुपर्छ । साझेदारीमा गाउँमा भएका सबै बालबालिकालाई अनिवार्य रूपमा विद्यालय पठाइन्छ भन्ने प्रतिबद्धतासहितको हस्ताक्षर अनिवार्य हुनुपर्छ । यदि यस्तो प्रतिबद्धता पालन नभए विद्यालय बन्द हुनेछ भनेर स्पष्ट लेखिएको हुन्छ । हाम्रो मोडलमा विद्यालय सञ्चालन हुँदा सुरुका ५ वर्ष व्यवस्थापन र सुधारको जिम्मा हामीले लिन्छौं । ५ वर्षको लगानीको उपलब्धि हेरेर थप ५ वर्ष काम गर्छाैं । यदि समुदायले राम्रो सहयोग गरेको छ भने लगानी दोब्बर गरेर प्रविधिमैत्री शिक्षातर्फ जान्छौं । 

कस्ता स्थानका विद्यालय लिनुहुन्छ ?

जुन ठाउँमा विद्यार्थीको पहुँच कम छ । विद्यार्थी संख्या धेरै छ तर शिक्षकको संख्या कम छ, हामी त्यस्तो विद्यालय लिन्छांै । जहाँ अपुग छ हामी त्यहाँ पुग्छौं । 

तपार्ईंंहरूको लगानी के–केमा हुन्छ ? 

एउटा सामुदायिक विद्यालयलाई सरकारले मसलन्द खर्च भनेर वर्षको १५ हजार रुपैयाँ दिन्छ । त्यसले केही पनि हुँदैन, त्यो मिलाउन वैधानिक भ्रष्टाचार नगरी सुखै छैन । हामी मसलन्दका रूपमा सम्पूर्ण शैक्षिक सामग्री उपलब्ध गराउँछौं । शिक्षक नभएको स्थानमा थप शिक्षक उपलब्ध गराउँछौं । विद्यार्थीलाई झोला, पेन्सिल र कापी दिन्छौं । झोलाकै कारण बालबालिका विद्यालय आउन प्रेरित भएको पाएका छौं । पुस्तक हामीले परिवर्तन गरेको अवस्थामा दिन्छौं । प्राय: हामीले विज्ञान, सामाजिक तथा अंग्रेजीका पुस्तक परिवर्तन गरेका छौं । 

सामुदायिक विद्यालयमा पनि पुस्तक परिवर्तन गर्न पाइन्छ ?

पाइन्छ, पाठ्यक्रममा आधारित भएर नै हामी यस्तो परिर्वतन गर्छाैं, किनभने सरकारी विद्यालयमा अध्यापन भैरहेका यी विषयमा हामीले कमजोरी पायौं । पुराना पुस्तकबाट हामीले सोचेको गुणस्तर अभिवृद्धि हासिल गर्न सकिँदैन भन्ने लागेर परिवर्तन गरिएको हो । हामी व्यवस्थापनसहित गुणस्तरीय शिक्षामा हुने लगानी कम हुन दिँदैनौ । 

 

अहिलेसम्म कतिवटा विद्यालय तपाईंहरूको व्यवस्थापनमा सञ्चालन छन् ?

हालसम्म २४ बटा सञ्चालनमा छन् । सञ्चालनमा रहेका मध्ये संखुवासभामा २० वटा र गुल्मीमा ४ वटा सञ्चालनमा आइसकेका छन् भने २ वटा निर्माणका क्रममा छन् । 

नयाँ कतिवटा सञ्चालनको तयारीमा हुनुहुन्छ ?

अहिले सरकारसँग गरेको सम्झौताअनुसार सन् २०२० सम्ममा ३५ पुर्‍याउनुपर्नेछ, तर हामीले २०१९ मै सबै सुरु गरिसक्छौं । 

यति चाँडो कसरी सम्भव हुन्छ ? 

हाम्रो विद्यालय भवन बन्ने समय निकै छोटो हुन्छ । जस्तो हामी एउटा ७ कोठे भवन ३४ दिनमा सक्छौं । लागत पनि सरकारको भन्दा एक चौथाइ कम हुन्छ । गुणस्तर सरकारले अहिले बनाइरहेको भन्दा राम्रो हुन्छ । 

सरकारीभन्दा पनि सस्तो बन्न सक्छ ? 

सरकारी काम तहबाट गर्नुपर्ने हुन्छ, सामान खरिद सीधै फ्याक्ट्रीबाट हुँदैन । टेन्डरअनुसार तोकिएको स्थानबाट गर्नुपर्छ । मूल्यांकन तोक्दा पनि पहाड, तराई र हिमाल भनेर तोकिएको हुँदो रहेछ । क्षेत्रअनुसार त्यति बढी असन्तुलन नहुनुपर्नेमा भैरहेको छ । मलाई लाग्छ, सरकारको अनुमानित लागत अध्ययन गर्ने विधिमै समस्या छ । हामी सिधै फ्याक्ट्रीबाट सामान लिन्छौं । एक स्थानमा काम सक्दा उब्रिएका सामान अर्को स्थानको भवन निर्माणमा लगाउँछौं । सरकारी टेन्डरमा उब्रिएका सामग्री खेर जान्छन् । अर्को महत्वपूर्ण कुरा के भने हाम्रो कार्यक्रममा समितिले पैसा छुन पाउँदैन । सबै काम समितिले नै गर्छ, सामानको माग गर्छ, ढुवानीको लागत निकाल्छ त्यसका आधारमा हामी सामान किनेर विद्यालयमा पुर्‍याउँछौं । जति चाहिन्छ त्यतिमात्र किन्छौं । 

सरकारीमा एउटा प्रक्रिया छ त्यति हुँदा पनि आर्थिक अनियमितताको कुरा आउँछ भने तपाईंहरूले सीधै सामान किन्दा पारदर्शिताको कुरा उठ्दैन ?

खरिद प्रक्रिया समितिमार्फत सम्पन्न गरिन्छ भने टेन्डर खुलाउनु पर्दैन भन्ने उल्लेख छ । हामी विद्यालय बनाउनुअघि नै सबै कुराको अध्ययन गरेर लाग्ने खर्च समुदायमा स्पष्ट देखाइदिन्छौं र प्रत्येक खरिद र काम पछि खर्च सार्वजनिक गर्छौं । हाम्रो अनुमान सबैभन्दा बढी ३० लाख रुपैयाँसम्म हुन्छ । प्रत्येक खरिदको लागत तथ्यांक समितिले राख्छ । हामीले किनेर ल्याइदिने मात्र हो । काम समितिमार्फत गर्ने हो । बिल भुक्तानी मात्र हामी गर्छौं । 

सामुदायिक विद्यालयको गुणस्तर कमजोर हुनुको कारण के रहेछ ? 

सबैभन्दा ठूलो कुरा समुदायसँग विद्यालयप्रति अपनत्वको भावना छैन । अपनत्व नहुनुको कारण अशिक्षा हो । पछिल्ला तीन वर्षको अनुभवमा समाजमा यदि कोही एक जना शिक्षित छ र उसले मेहनत गर्‍यो भने परिवर्तन सम्भव छ । त्यसपछि अशिक्षा हटाउने पहिलो दायित्व भनेको सरकारले जनताको करबाट पढाउन पठाएका शिक्षकको हो । गुणस्तर अभिवृद्धि गर्ने माध्यम भनेको तिनै शिक्षकहरूबाटै हो । अधिकांश शिक्षकमा दायित्वबोध पाइँदैन । समुदायले आफ्नो दायित्व नलिँदा शिक्षकलाई थप हाइसन्चो हुन्छ । एउटा शिक्षकले साच्चै दायित्वबोध गरेर एउटा बालकको भविष्य मेरो हातमा छ भन्ने सम्झने हो भने त्यो बच्चाको भविष्य सुरक्षित हुन्छ ।

भविष्यको सपना देख्न कस्तो शिक्षा चाहिन्छ ?

म पनि एउटा दुर्गम गाउँमा जन्मिएको हुँ । मेरा काकाका छोराहरू पनि त्यही गाउँमा जन्मिएका हुन् । मेरा फुपूका छोराहरू पनि त्यही जन्मिएका–हुर्किएका हुन् । फरक के थियो भने म कक्षा तीनसम्म मात्र सरकारी विद्यालयमा पढेर काठमाडौं आएर पढें, समयले मलाई अमेरिकासम्म पुर्‍याएर फेरि नेपाल ल्यायो । अहिले गुणस्तरीय शिक्षा अनिवार्य छ भन्ने अभियानमा लागेको छु । मेरो अनुभव के छ भने सरकारी विद्यालयमा कहिल्यै पढेर के हुन्छ भनेर सिकाइँदैन । उसले के देखेको हुन्छ भने ऊ एउटा शिक्षक बन्न सक्छ, अर्को ट्याक्टर ड्राइभर बन्न सक्छ अनि अर्को सीधै खाडी पुग्न सक्छ । किनभने उसका कोही न कोही आफन्त त्यहीं छन्, तर शिक्षा भनेको बाटो र सपना देखाउन सक्ने हुनुपर्छ । हाम्रो सोचाइ के भएको छ भने पैसा तिरेर पढेकाले मात्र सपना देख्न सक्छन् र भविष्य पनि उनीहरूको मात्र छ । 

त्यसो भए सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई कसरी सपना देख्न सक्ने बनाउने त ? 

त्यसलाई थोरै मात्र परिर्वतन गरी दिने हो भने सम्भव छ । हाम्रो व्यवस्थापन समितिहरू अत्यधिक पावरफुल छन् । उनीहरूमा हामीले दायित्वबोध गराइदिने हो भने सामुदायिक विद्यालयहरू निजीभन्दा धेरै गुणा राम्रा हुन्छन् । 

 

गरिब विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्छ भन्ने सूर्य कार्की आफैंले कतिको गुणस्तरीय शिक्षा पायो ?

मैले कक्षा ३ सम्म गाउँमै पढेको हुँ । हामीलाई आमाले ज्यादै दु:ख गरेर हुर्काउनुभएको थियो । म अहिले जे छु, मेरी आमामा भएको शिक्षाप्रतिको आशाको कारणले हो । उहाँले कक्षा ३ सम्म मात्र पढ्नुभएको हो । विवाहपछि मेरो बुबा कमाउन बाहिर जानुभयो, उहाँ धेरै पछि मात्र फर्कनुभयो । हामीसँग समय बिताउनु भएन । आमाले हामी तीन जना दाजुभाइलाई एक्लै हुर्काउनुभयो । खान–लाउन पुग्दैनथ्यो । घर जंगलको बीचमा थियो । मीठो खान दसंै नै कुर्नुपथ्र्यो । त्यस्तो जिन्दगी ज्युँदा–ज्युँदै पनि आमालाई आफू पढ्न नपाएको भोक रहेछ । उहाँलाई गाउँमा पढाएर केही हुँदैन भन्ने लागेर ३ कक्षामा पढ्दा–पढ्दै काठमाडौं पठाउनुभयो । मैले पढ्ने मौका पाएँ । बुढानीलकण्ठबाट प्लस टु गरे । त्यसपछि छात्रवृत्ति पाएर युनाइटेड वल्र्ड कलेज पढ्न पाएँ । विश्वका १८ वटा देशमा यो कलेज छ । मैले भेनेजुएला पुगेर कृषि पढे । मैले हिमालयशमशेरले उपलब्ध गराउनुभएको छात्रवृत्तिमा पढेको हुँ । सबै खर्च उहाँले नै बेहोरिदिनुभयो, मेरो आफ्नो त हैसियत नै थिएन । 

सामुदायिक विद्यालयमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्छ भन्ने कहाँबाट प्रेरणा मिल्यो ? 

म भाग्यको एउटा ठूलो उदाहरण नै हुँ । आमाले मलाई घरबाट ननिकाल्नुभएको भए म पनि आज त्यही खाडीतिरै हुन्थे होला । अमेरिकामा पढ्दा–पढ्दै पहिलो वर्ष बिदाको समयमा नेपाल फर्किएर आफ्नो गाउँ नजिकैको सामुदायिक विद्यालयको कक्षा ४ मा गणित पढाउन गएको थिएँ । मैले १ र १ जोड्दा कति हुन्छ भनेर सोधें, तर कसैले पनि १ र १ एघार हुन्छ भनेनन् । सबैले १ र १ भनेर उत्तर दिए । १२ लाई १ र २ भन्थे, बाह्र भन्न सकेनन् । ४ कक्षाका विद्यार्थीको त्यो स्थितिप्रति मलाई टीठ लाग्यो । सरकारी विद्यालयहरू परिवर्तन भएका रहेनछन् । आमाले मलाई सधैं भन्नुहुन्थ्यो, तँ त पढिस्, गाउँमा उस्तै छ, कसैले पढ्न पाएका छैनन् । त्यो कुराले मलाई भित्रैदेखि चित्त दुख्यो । मलाई लाग्यो, केही गर्नु छ भने गुणस्तरीय शिक्षाको विकल्प छैन । आउने पुस्तालाई आफ्नो निर्णय आफैं र विवेकका साथ गर्न सक्ने बनाउनुको विकल्प छैन भन्ने लाग्यो । शिक्षाबिना देशको विकास सम्भव छैन भन्ने लागेर गाउँमा एउटा राम्रो विद्यालय बनाउँछु भन्ने अभियानमा लागें, त्यतिबेला म १९ वर्षको थिएँ । 

त्यो हिम्मत कहाँबाट आयो ?

हामीले तनहुँ र स्याङ्जामा नि:शुल्क पढाउने दुईवटा निजी विद्यालय खोलिसकेका थियौं, कृषि र शिक्षा जोडेर । गाउँको यस्तो अवस्था देखेपछि मेरो नेटवर्कलाई मात्र सक्रिय गरें भने एउटा विद्यालय सञ्चालन गर्न सक्छु भन्ने हिम्मत आएको हो । त्यतिबेला सामुदायिक विद्यालयमा काम गर्छु भन्ने योजना थिएन । एउटा विद्यालय खोल्छु भन्ने मात्र थियो, जसले मेरो मनलाई शान्ति दिन्थ्यो । 

विद्यालय चलाउने त्यति दह्रो नेटवर्क कुन थियो ?

मैले अमेरिका बस्दा दियालो फाउन्डेसन भन्ने संस्था स्थापना गरिसकेको थिएँ । कृषि, सौर्य ऊर्जा र शिक्षामा लगानी गर्ने उद्देश्य थियो । त्यही संस्थामार्फत युनाइटेड वल्र्ड स्कुलसँग काम गर्ने इच्छा राखें । त्यो स्कुल युनाइटेड वल्र्ड युनिभर्सिटीमा पढेका सिनियरहरूले खोलेको संस्था हो । दियालो र युनाइटेड वल्र्ड स्कुलले मिलेर काम गर्ने भनियो । नेपाल आएपछि विद्यालयलाई दिगो सञ्चालन गर्न सधै मागेर मात्र हुँदैन भनेर सामुदायिक विद्यालयसँग मिलेर काम गर्न थालियो । सरकार र समुदायसँगको सम्बन्धलाई प्रभावशाली बनाउन सकियो भने हाम्रो काम दिगो हुन्छ । त्यही भएर सामुदायिक विद्यालयलाई आफ्नो मातहतमा ल्याएर समुदायसँग सहकार्य गरी समुदायलाई नै परिचालन गरी विद्यालय सञ्चालन गर्ने मोडलमा काम सुरु गरियो । 

पाँच वर्षमा विद्यालयलाई फुत्तै छोडेर हिँड्दा फेरि भद्रगोल हुँदैन ?

हामीले यो कुरा सोचेकै हो । हाम्रो मोडलमा बनाउने दाता एउटा हुन्छ, सञ्चालन गर्ने दाता अर्को हुन्छ । सञ्चालन गर्ने दातासँग १० वर्षको सम्झौता हुन्छ । उसले १० वर्षसम्म विद्यालय सञ्चालन गरिरहेको हुन्छ । १० वर्षका लागि दिगो भैहाल्छ । ५ वर्षसम्म मात्र किन विद्यालयसँग सम्झौता गर्छौं भने अब दाताले बिस्तारै छोड्छ है । समुदायले राम्रो सहयोग नगरे दाताले छोड्छ है भन्ने दायित्वबोध दिन हो, तर लथालिंग नहोस् भनेर १० वर्षसम्मका लागि दातासँग सम्झौता गरिन्छ । त्यति बेलासम्म सरकारसँग सम्झौता गरी हाम्रो मोडल राम्रो हो, अब यो सरकारको जिम्मेवारीमा जानुपर्छ भन्ने हो । 

फेसबुकसँग प्रत्यक्ष जोडिनुभएको छ, अब त्यसबाट कसरी फाइदा लिन सकिन्छ ?

अब शिक्षा र प्रविधिलाई जोड्नुको विकल्प छैन । हाम्रो देश भूपरिवेष्टित छ । यस्तो देशमा काम गर्न सक्ने भनेको वायरलेस हो । त्यो भनेको प्रविधि हो । त्यसको प्रयोग गरी लगानी जुटाउने र गुणस्तरीय शिक्षा प्रदान गर्ने हो । त्यही प्रविधि प्रयोग गरी अहिले श्रम बेचिरहेको नेपालले व्यवस्थापक बेच्ने शिक्षा दिनुपर्छ । श्रम बेच्दा महिनाको २५ हजार रुपैयाँ कमाउँछ भने व्यवस्थापक बेच्न सकियो भने कम्तीमा २ लाख रुपैयाँ आउँछ । यस्ता कुरामा विकास गर्न फेसबुक नेटवर्कको प्रयोग गर्नुपर्छ । 

हाम्रो शिक्षा प्रणालीमा देखिएको ठूलो कमजोरी के हो ? 

हामी सपना देख्ने शिक्षा दिँदैनौ । विद्यालय तहदेखि नै व्यावहारिक शिक्षा दिनुपर्नेमा चुकेका छौं । 

अहिले हाम्रो देशको समस्याको जड के हो भन्ने लाग्छ ?

धेरैजसोले राजनैतिक क्षेत्रमा समस्या देखेका छन्, तर मैले समाजमा समस्या देखेको छु । राजनीति र विकासको सेतु समुदाय नै हो । कुनै पनि कुरा समुदायले चाह्यो भने मात्र सम्भव छ । 

युवाहरू राजनीतिबाट टाढा बस्न सम्भव छ ?

राजनीति हरेक कुरामा छ । नेतै भएर मात्र राजनीति गर्नुपर्छ भन्ने छैन । हाम्रोमा प्रधानमन्त्री हुन वा मन्त्री हुन मात्र राजनीति गरिन्छ । त्यो भनेको सक्रिय राजनीतिमा लागेर नेता हुने मात्र हो, तर राजनीतिमा लाग्नु भनेको जनतालाई शिक्षित बनाउनु हो । एउटा युवाले राजनीतिमा लागेर समुदायलाई एकजुट बनाउन सकेन भने उसले कुनै पनि समयमा यो देश बिग्रिएको छ वेकामे छ भन्ने अधिकार राख्दैन । 

सपनाको देश अमेरिका पुगेको एउटा युवा नेपाल फर्किएर गल्ती गरें भन्ने लाग्दैन ?

म प्रस्ट उद्देश्य बोकेर नेपाल आएको हुँ । विदेश बसेको भए म फेसबुकमा स्टाटस हेर्थे अनि धारणा बनाउँथे— ‘यो देश कति बिग्रिएको, कति नराम्रो, कति बदमास नेताहरू ।’ मैले समस्याको हिस्सा बन्न चाहिनँ, म समस्याको समाधानको पाटो हुन नेपाल आएको हुँ  । समस्या दुई किसिमका हुन्छन् । एउटा समस्या मात्र देखाउने र अर्को समस्याको समाधान दिँदा पनि त्यसलाई नस्वीकार्ने । मलाई यी दुवै कुराको हिस्सा बन्न मन लागेन । नेपालमा परिवर्तन हुनैपर्छ भन्ने मेरो ठूलो चाहना छ । परिवर्तन भन्दैमा अमेरिका नै हुनुपर्छ भन्ने छैन । नेपाल नेपाल नै हुनुपर्छ । हामीलाई मात्र अलिकति विकास चाहिएको छ । विदेशी पैसाबाट अलिकति टाढा हुनुपर्नेछ । हामीले भीख माग्ने परिपाटीबाट माथि उठ्न सक्नुपर्छ ।

 

प्रकाशित :मंसिर ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्