नेपाली चलचित्रमा लगानी बालुवामा पानी

- रामजी ज्ञवाली

मंसिर ४, २०७५

२०७४ सालको अन्तिम दिन प्रदर्शित चलचित्र नेप्टेका निर्माता तथा अभिनेता रोहित रुम्बाले सोही दिन एक मिडियामा भावुक हँुदै भने, ‘दुई रोपनी जग्गा बेचेर चलचित्र बनाएको थिएँ, तर न चलचित्रले हल पायो न दर्शकले हेर्न पाए । केही हलमा चलचित्र त चल्यो तर दर्शक आएनन् । अब ज्यान जाला चलचित्र बनाउँदिनँ ।’ रुम्बाले अब फेरि चलचित्र निर्माण गर्छन्/गर्दैनन् त्यो भविष्यको गर्भमा छ, तर उनले आजका दिनसम्म चलचित्र बनाउने सुरसार कसेका छैनन् । आफ्नो चलचित्र षड्यन्त्रपूर्वक असफल बनाइएको उनको दाबी छ । पत्रकारिताबाट चलचित्र निर्माणमा होमिएका ऋषि धमलाले विभिन्न दलका नेता, प्रहरीका हाकिमदेखि चर्चित चलचित्रकर्मीहरूलाई अनुराग देखाए । पहिलो दिनदेखि नै दिनैपिच्छे धमलाले नाम चलेका व्यक्ति ओसार्दै चलचित्र हल पुर्‍याए ।

अतिथिका रूपमा चलचित्र हेर्ने सबैले राम्रै प्रतिक्रिया दिए । त्यसरी हलमा पुर्‍याइएका उच्चपदस्थ व्यक्तिहरूले धमलाको चलचित्र हेरे तर दर्शकले हेरिदिएनन् । डेढ करोड लगानी गरिएको उनको चलचित्रले पानीसम्म मागेन । धमलाले आफ्नो चलचित्रले देशभरबाट कति कलेक्सन गर्‍यो, पत्तोसमेत पाएनन् । कुमारी हलको टिकट काउन्टरअगाडि भेटिएका धमलाले भने, ‘यसपालि यस्तै भयो, अर्को पटक बबाल चलचित्र बनाउँछु, जुन चलचित्रले नेपालको इतिहास बोल्नेछ । संसारभरका मानिसले हेर्न लायक चलचित्र बन्नेछ ।’ उनले भने, ‘पृथ्वीनारायण शाहदेखि अहिलेसम्मको नेपालको घटनालाई उक्त चलचित्रमा निकै सूक्ष्म ढंगबाट उतारिनेछ ।’ 

यही वर्ष प्रदर्शनमा आएको चलचित्र ‘बाँध मायाले’ का निर्माता तथा निर्देशक सविर श्रेष्ठ आफ्नो चलचित्रले लगानी उठाउन नसकेको स्वीकार गर्छन् । चलचित्र प्रदर्शनको दुई हप्तापछि भेटिएका श्रेष्ठ भन्छन्, ‘चलचित्र राम्रो बनाउन निकै मेहनत गरेको हुँ, खै किन चलेन कुन्नि †’ अब चलचित्र निर्माण गर्नुपुर्व पर्याप्त गृहकार्य गरेर मात्र काम अघि बढाउने उनको सोच छ । 

यी केही प्रतिनिधि पात्र मात्र हुन् । पछिल्ला केही वर्षदेखि नेपालमा चलचित्र निर्माणको क्रम त बढेको छ, तर ती चलचित्रले दिने नतिजा भने निराशजनक छ । धमाधम चलचित्र फ्लप हुँदा निर्माताहरू मात्र होइन, समग्र चलचित्रकर्मीहरूको टाउको दु:खेको छ । यद्यपि अचम्मको कुरा दिनैपिच्छे चलचित्रको छायांकन भैरहेको छ । हप्ताको ३ देखि ४ वटासम्म चलचित्र प्रदर्शन भैरहेका छन् । हप्तैपिच्छे नयाँ चलचित्र निर्माणको घोषणा भैरहेको छ ।

कहाँबाट आउँछ लगानी ?

एउटा सामान्य पसल खोल्दासमेत यो ठाउँ ठीक छ कि छैन भनेर राम्रोसँग सोचविचार गरिन्छ । कुनै सामान्य उद्योग खोल्दा बजार के कस्तो छ, राम्रोसँग अध्ययन गरिन्छ । सामान्य लगानी गरिने ठाउँमा त यति धेरै गृहकार्य हुन्छ भने करोडौं लगानी हुने चलचित्र उद्योगमा किन सामान्य तयारी बिनै चलचित्र निर्माण भैरहेका छन् ? चलचित्र धमाधम असफल हुँदासमेत किन नयाँ निर्माताको भीड लागिरहेको छ ? यो आफैंमा ठूलो प्रश्न हो ।

यसको जवाफ पनि गज्जबको छ । नाम चलेका एक कलाकार यसको रहस्य खोल्छन्, ‘एकपटक आफू ठगिएपछि ऊ आफ्नो लगानी फर्काउन पनि चलचित्र क्षेत्रमै क्रियाशील हुन्छ ।’ उनले थपे, ‘यहाँ थुप्रै बिचौलिया छन्, जसले ठग्नकै लागि दिनरात हावादारी गफ दिइरहेका छन् र अरूलाई जोगी बनाइरहेका छन् । थोरै निर्माता मात्र आफूखुसी ठुलो अध्ययन गरेर मात्रै चलचित्र निर्माणमा आएका हुन्छन्, जसले नाम र दाम दुवै कमाएका छन् । जसको पछिल्लो उदाहरण हो, छक्कापन्जा टिम ।’ दीपकराज गिरी र दीपाश्री निरौलाले नेपालको चलचित्र यात्रालाई यसरी मोडिदिए कि, चलचित्रको बजार खर्लप्पै उनीहरूको पोल्टामा गएको छ । विगतमा निरन्तर चलचित्र निर्माण गर्ने निर्माताहरू हिजोआज निकै सुस्ताएका छन् ।

६ महिनामा ५६ करोड करोड स्वाह !

वैशाखमा लिलिबिली, नेप्टे, स्वर्ग मेरो गाउँ, कोहलपुर एक्सप्रेस, ह्याप्पी डेज, डमरुको डन्डिबियो, भोर, हिरोज प्रदर्शन भए । जेठमा हैरान, कोसेली, सुनकेशरी, हरि, बेबी, आई लभ यू, अमेरिका ब्वाइज, चंगा र मट्टीमाला चलचित्र प्रदर्शन भए, तर कुनै पनि चलचित्रले लगानी उठाउन सकेनन् । असारमा प्रदर्शन भएका एक्स्ट्रा माया, ए सोल्टिनी, तिमी हुन्छौ जहाँ–जहाँ, चोखो माया, विरांगना, बाबु कान्छा, बोबी, यो पागल मन प्रदर्शन भए, तीमध्ये चलचित्र बोबीले मात्र लगानी सुरक्षित गर्‍यो । साउनमा भैरे, चक्कर, पण्डित बाजेको लौरी, चीं मुसी चीं, रोमियो एन्ड मुना, सुकुलगुन्डा, कायरा, झमकबहादुर, कहीँ कतै, टिन एज तथा पिरिम पर्‍या छन् प्रदर्शन भए, तर कुनै पनि चलचित्रले निर्मातालाई खुसी बनाउन सकेनन् । भदौमा मेरी मामु, साली कसको भेनाको, रोज, रामकहानी, नाइँ नभन्नु ल–५, रेनी, ब्ल्याक, जय शम्भु, मिस्टर भर्जिन, बार्‍हमासे प्रदर्शन भए । असोजमा निर्जला, कथा काठमाण्डौं, छिरिङ, अनुराग, धुम–३, इन्टुमिन्टु लन्डनमा, बाँध मायाले, जय भोले तथा छक्कापन्जा–३ प्रदर्शनमा आए । यो वर्षको ६ महिनामा ५४ वटा चलचित्र प्रदर्शन भएका छन् ।

५४ चलचित्रमध्ये प्रति चलचित्रको लगानी ६० लाखदेखि ३ करोड रुपैयाँसम्म छ । यो ६ महिनामा लिलिबिली, बोबी, रामकहानी, रोज, नाइँ नभन्नु ल–५ ले मात्र सन्तोषजनक व्यापार गरेका छन् भने अन्य ४९ चलचित्र पछारिएका छन् । एक चलचित्रमा औसतमा १ करोड १० लाख रुपैयाँ लगानी हुँदा पनि ६ महिनामा ५६ करोड ३५ लाख रुपैयाँ नेपाली चलचित्र उद्योगले गुमाएको छ । 

किन डुब्छन् चलचित्र ?

कथा चलचित्रको आत्मा हो, त्यसैमा चुकेको छ नेपाली चलचित्र । नेपाली चलचित्रका जानकारहरूका अनुसार अव्बल कथाको अभावमा निर्माताको लगानी डुवेको डुब्यै छ । अभिनेता सुनिल थापा भन्छन्, ‘कलाकारको पारिश्रमिक बढ्नु नराम्रो कुरा होइन, तर त्यसअनुसार चलचित्रले व्यापार गरेन भने परिणाम त राम्रो भएन नि †’ निर्माताको लगानी सुरक्षित गर्न सके अरू चलचित्र पनि बन्छन्, थापा भन्छन्, ‘निर्माता जोगी हुँदै गए भोली कसले चलचित्र बनाउँछ ?’ अभिनेता थापाका अनुसार राम्रो कथा र प्रस्तुतीकरण राम्रो भएका चलचित्र चलेका छन्, तर समग्र चलचित्र उद्योगको विकासका लागी भने सबै सुरक्षित हुनुपर्ने उनको तर्क छ । 

वरिष्ठ कलाकार नीर शाह जो–कसैले बुझेर मात्र चलचित्र क्षेत्रमा आउनुपर्ने तर्क गर्छन् । शाह भन्छन्, ‘कुनै चलचित्रको लगानी डुब्नु भनेको समग्र चलचित्र उद्योगको पैसा डुब्नु हो, त्यसकारण चलचित्रलाई पनि एउटा व्यवसायकै हिसाबले लिएर ठूलो अध्ययन तथा तयारी गरेर मात्र आउनुपर्छ ।’ स्क्रिप्ट राइटर प्रदीप भारद्वाजका अनुसार जबसम्म नेपाली चलचित्रको कथामा मेहनत गरिँदैन, तबसम्म स्थिति यस्तै हुनेछ । लामो समयदेखि स्क्रिप्ट लेख्दै आएका भारद्वाज भन्छन्, ‘एक हप्तामा यस्तो यस्तो खालको लभ स्टोरीको स्क्रिप्ट तयार पार्नुपर्‍यो भनेर निर्देशन आउँछ, एक वर्षसम्म बनाउनुपर्‍यो भनेर कसैले भन्दैन । यदि स्क्रिप्टमा मेहनत गर्न दिने हो भने चलचित्रको कथासमेत बलियो बनाउन सकिन्छ !’ भारद्वाज त्यस्ता प्रस्तावमा आफूहरू अलिकति व्यवसायिक भएको कुरा पनि स्वीकार गर्छन् । उनी भन्छन्, ‘उनीहरूले तोकेको समयमा स्क्रिप्ट तयार गर्न भन्छन्, हामीले पनि त्यसैअनुसार कम मेहनतमा काम सक्छौं अनि पैसा बुझ्छौं ।’ स्क्रिप्ट राइटर मौनता श्रेष्ठको भनाइ पनि त्यस्तै छ । चलचित्रको कथाभन्दा बाहिरी रंगीचंगी कुरामा बढी ध्यान दिँदा निर्माताको लगानी बालुवामा पानी भएको श्रेष्ठको दाबी छ ।

श्रेष्ठले भने, ‘दर्शकको ध्यान तान्ने पहिलो हतियार कथा हो, कथा बलियो नभएसम्म लगानी कहिल्यै सुरक्षित हुनेछैन ।’ यी दुई स्क्रिप्ट राइटरको कुरा सुन्ने हो भने पछिल्लो समय प्रदर्शित अधिकांश चलचित्र ‘निष्प्राण’ लाग्छन्, अर्थात् आत्मा नभएका चलचित्र । नाम चलेका एक चलचित्रकर्मी भन्छन्, ‘प्रि–प्रोडक्सनमा मेहनत छैन, चलचित्र निर्माण भएपछि पब्लिसिटीमा भएभरको शक्ति र सम्पत्ति खर्च गर्ने चलन छ, यहीँ नै छ समस्या ।’ चलचित्र भनेको सन्देशका साथ मनोरन्जन पनि प्रदान गर्ने खालको हुनुपर्छ । 

 

चलचित्र भाँडाकुटी खेल होइन

कस्ता चलचित्र चल्छन् ? कस्ता चलचित्र चल्दैनन् भन्ने कुरामा पर्याप्त सोच–विचार गरेर यो क्षेत्रमा प्रवेश गर्नुपर्छ । चलचित्रका आयाम र अवयवहरूलाई बुझेको हुनुपर्छ । यो कुरा कसैले सोच्दैन । कलाकार निर्मल शर्मा भन्छन्, ‘कतिपय चलचित्र निर्मातालाई त यो क्षेत्रको न्यूनतम आधारभूत ज्ञान समेत छैन, चलचित्र निर्माण भनेको केटाकेटी खेल्ने ठाउँ होइन ।’ 

निर्माता सन्तोष सेन चलचित्र उद्योगमा प्रोफेसनल ढगंवाट काम गर्ने मानिसको कमी भएको बताउँछन् । सेन भन्छन्, ‘सामान्य ज्ञानबिनै हावाको भरमा चलचित्र निर्माणमा होमिने अधिकार कसैलाई छैन ।’ कोठाभित्र बसेर अनुमान, कल्पना वा अन्दाजको भरमा निर्माण हुने नेपाली चलचित्रको नतिजा उक्त चलचित्रको प्रदर्शनका दिन छरप्रस्ट हुन्छ । अभिनेता राजेश हमालले दुई वर्षदेखि चलचित्रमा अभिनय गरेका छैनन् । राम्रो स्क्रिप्ट नभएकाले नै कसैलाई ओके नभनेको हमाल बताउँछन् । चलचित्र शकुन्तलापछि अन्य प्रोजेक्टमा नदेखिएका हमाललाई चलचित्र बाग्मतीबाट ठूलो आशा थियो, यद्यपि उक्त चलचित्र पनि नराम्रोसँग फ्लप भयो भने शकुन्तला पनि डुव्यो । हमालले भने, ‘पछिल्लो समय सम्भावना भएका कलाकारको जमात पनि छ, राम्रो बनाउँछन् कि भन्ने चलचित्रकर्मीले पनि खराब चलचित्र वनाउँदा अलिकति डर पो लाग्न थालेको छ ।’ हमालका अनुसार विगतमा अधिकांश नेपाली चलचित्रले लगानी उठाउँथे । उनले भने, ‘चलचित्र उद्योग चल्यो भने सयौंको परिवार पालिन्छ । यदि यो उद्योगलाई हामीले सुरक्षित गर्न सकेनौं भने हजारौंको रोजीरोटी गुम्छ ।’ हमाल अहिले चलचित्रको लगानी तथा कलाकारको पारिश्रमिक बढेकोमा आश्चर्यचकित छन् । उनी चलचित्रले कति रिटर्न दिन सक्छ, त्यसअनुसार मात्र लगानी गर्न निर्माताहरूसँग आग्रह गर्छन् । निर्माता प्रदीप उदय नेपाली चलचित्रमा ‘मुर्गा फसाउने’ प्रवृत्तिको अन्त्य नभएसम्म यो क्रम जारी नै रहने बताउँछन् । उदय भन्छन्, ‘हावाको भरमा विभिन्न अनलाइनमा करोडौं आम्दानी देखाएर समाचार आउँदा नयाँ निर्माता प्रलोभनमा फस्ने गरेका छन् ।’ चलचित्र कसले बनाउने हो, सुरुमा त्यो मान्छे इमान्दार हुनुपर्छ, उदय भन्छन्, ‘यहाँ ठग्नेहरूको जमात ठुूलो छ, नयाँ निर्माता नबुझी सामान्य प्रलोभनको भरमा आउनु आफैंमा घातक हुन सक्छ ।’ निर्देशक सुरज सुव्वा नाल्बो भन्छन्, ‘यो एउटा बिजनेस हो, कहिले घाटा कहिले नाफा हुनु स्वभाविक पनि हो तर धमाधम चलचित्र फ्लप हुनु राम्रो कुरा पक्कै होइन ।’ 

हतारमा घोषणा, फुर्सदमा पछुतो !

नेपाली चलचित्र उद्योगमा एउटा गज्जबको परम्परा पनि छ । चलचित्र निर्माणको घोषणा यति हतारमा गरिन्छ कि पछि त्यही कुरा गसिप बन्छ । विभिन्न विवादका कारण छायांकनमा गएको रानीमहल, निखिल उप्रेतीले निर्माण गर्ने भनिएको चलचित्र कमिटमेन्ट, ६० आवर्सजस्ता चलचित्र अहिले अलपत्र परेका छन् । त्यस्तै हतारमा घोषणा गरिएका दर्जनौं चलचित्र निर्माण हुन सकेका छैनन् । चार वर्षअघि चलचित्र न्यू इयर निर्माण हुने घोषणा भयो, तर यो चलचित्रको निर्माण अहिलेसम्म सुरु गरिएको छैन । केही वर्षअघि निर्देशक दीपेन्द्र के खनाललाई लिएर शर्मिला पाण्डेले अमेरिका जान चाहनेहरूले भोग्नुपर्ने पीडामा आधारित चलचित्र निर्माण गर्ने घोषणा भयो तर यो चलचित्र अहिलेसम्म सुरु भएको छैन । प्रदीप खड्कालाई लिएर सन्तोष सेनले दिपेन्द्र सरकार निर्माणको घोषणा गरे । यो चलचित्रको घोषणा भए पनि अहिलेसम्म निर्माणको अत्तोपत्तो छैन । सात वर्षअघि निर्देशक सुरेश दर्पण पोखरेलले कल गर्ल र एडल्ट निर्माणको घोषणा गरे तर अहिलेसम्म ती चलचित्र निर्माण हुन सकेका छैनन् । घोषणा भएर निर्माण सुरु नभएका यस्ता दर्जनौं चलचित्र यत्तिकै रोकिएका छन् । पछिल्ला तीन आर्थिक वर्षमा चलचित्र विकास बोर्डबाट इजाजत लिएका चलचित्रको सूची हेर्दा त्यसमध्ये ८० प्रतिशत पनि चलचित्र निर्माण हुन सकेका छैनन् । नाम नखुलाउने सर्तमा एक चलचित्रकर्मी भन्छन्, ‘पहिले चलचित्र घोषणा गर्ने अनि पछि मुर्गा खोज्ने परम्परा छ, मुर्गा नभेटिए चलचित्र बन्दैनन् ।’

धमाधम चलचित्र किन बने ?

नेपाली चलचित्र उद्योगमा वर्षमा १० वटाले पनि राम्रो व्यापार गर्न सकिरहेका छैनन् । चलचित्रको बजार दयनीय अवस्थामा भए पनि यदाकदा केही चलचित्रकर्मीले विश्व बजारको सपना पनि देखेका छन् । अभिनेता आर्यन सिग्देल भन्छन्, ‘आफ्नो तर्फबाट राम्रो काम गरेर नेपाली चलचित्रलाई विश्ववजारमा चिनाउने सपना छ, तर यसका लागि म एक्लो र अरू एक्लो ज्यानले खासै अर्थ राख्दैन ।’ आर्यनका अनुसार नेपाली चलचित्र उद्योगले कतिसम्म चलचित्र थेग्न सक्छ भन्ने यकिन नभै चलचित्र निर्माण हुँदा त्यसको असरसमेत निर्माताहरूमा परेको छ । एक निर्देशक भन्छन्, ‘मिडियामा छाउन पाइन्छ भनेर धेरै निर्माताहरू चलचित्र क्षेत्रमा होमिएका छन्, यो सस्तो लोकप्रियताको माध्यम सावित हुँदै आएको छ ।’

 

 

प्रकाशित :मंसिर ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्