मलेखुका स्वादिष्ट माछा

- हरिहरसिंह राठौर

मंसिर ३, २०७५

 

मलेखु (धादिङ)– त्रिशूली नदीमा मारिएका माछा हुन् वा तराईबाट आयात गरिएका माछा, मलेखुका होटलमा विशेष प्रकारले तारिएका माछाको स्वाद बेग्लै हुन्छ । काठमाडौं भित्रिने र बाहिरिने नाका भएका कारण पनि मलेुखको माछाले पर्याप्त बजार पाएको हो । मलेखुमा दैनिक सयौं मानिस माछा खानकै लागि पुग्छन् । मलेखुमा विगत १६ वर्ष देखि तराईबाट आएका २० जना युवा माछा मारेर वा बेचेर दैनिक २ देखि ४ हजारसम्म आम्दानी गर्छन् । मलेखुमा त्रिशूलीको माछा बेच्ने निश्चित पसल छन् । सहर र वाम माछा केही महँगोमा बिक्री हुन्छन् भने ती माछा आफन्तहरूलाई उपहारका रूपमा समेत पठाइन्छ । 

 पृथ्वी राजमार्ग भएर जाने र आउने जो–कोहीलाई मलेखुको माछाको स्वादले तान्छ । त्रिशूली नदीको चिसो पानीमा पाइने माछा विशेष स्वादको हुने भएकाले पनि धेरैको मन लोभिने गरेको छ । जाडो मौसममा माछा खानु स्वास्थ्यका दृष्टिले समेत उपयोगी मानिने र स्थानीय स्तरमा उत्पादित माछाका साथै त्रिशूली नदीमा जाल हानेर निकालिएका लोकल माछा पाइने हुनाले मलेखु क्षेत्रमा माछा खान आउनेहरूको चहल पहल बाक्लिन्छ । 

माछाका परिकार मात्र बनाउने मलेखुका ६० वटा जति होटल लगायत मुग्लिनसम्मका २ सय होटल तथा रेस्टुराँले माछाका परिकार बेच्छन् । मलेखुमा मात्र दैनिक ८ देखि १० क्विन्टल ताजा माछा बोकेको गाडी पुग्छन् । राजमार्ग वरपरका अन्य होटलमा दैनिक ५ देखि ७ क्विन्टल साना माछा भित्र्याइन्छ । मलेखु बजारमा मलेखु खोला, त्रिशूली नदी, स्थानीय पोखरी तथा चितवनबाट ल्याइएका माछा पाइन्छन् । सुरुका दिनहरूमा मलेखु खोला र त्रिशुली नदीको मात्र माछा पाइने यो बजारमा २०५० साल साउन ४ गते मलेखु खोलामा गएको बाढीका कारण खोलाको ढड्यानहरू बगाएपछि माछा बस्ने कुरहरू भत्किए भने त्यसपछि तराई क्षेत्रका माछाले प्रवेश पाए । अहिले मलेखुमा असला, कत्ले, झिंगे, वाम आदि माछा समेत उपलब्ध हुँदै आएका छन् । 

जाडो मौसम सुरु भएसँगै पृथ्वी राजमार्ग हँुदै यात्रा गर्ने यात्रुहरू पनि माछा खान मलेखुमा रोकिने क्रम बढेको छ । अफ सिजनमा समेत दैनिक ५ सय किलो माछा खपत हुने मलेखु क्षेत्रमा अहिले झन्डै १ हजार किलो माछा खपत हुने स्थानीय व्यवसायी सुशील थापा बताउँछन् । थापाका अनुसार जाडो मौसम सुरु भएपछि सुकेका र नसुकाइएका सिल माछाको व्यापार समेत वृद्धि हुन्छ । 

मलेखुका होटलमा माछाका पारखीहरूको चाहनाविपरीत त्रिशूलीका माछा कमै पाइन्छन् । जिल्लामा उत्पादित माछाले मात्र बजारको माग धान्न नसकेपछि तराईका विभिन्न जिल्ला तथा भारतबाट समेत माछा आयात गर्नुपर्ने बाध्यता रहेको व्यवसायीहरू बताउँछन् । व्यवसायी लक्ष्मी मगरले भनिन्– माग बढेसँगै अन्यत्रबाट माछा आयात गर्नुपर्ने अवस्था छ । त्रिशूली नदीमा पाइने स्थानीय प्रजातीका माछा विभिन्न कारणले लोप हुँदै गएकाले पनि मलेखु बजारमा तराईका माछा आयात गर्नुपरेको हो ।

सबैभन्दा पहिले माछा 

बेच्ने छविलाल

मलेखुमा छविलाल मरहठ्ठाले माछाको व्यवसाय प्रारम्भ गरेका हुन् । उनले स्थानीय खोलाको आधा किलो माछा तथा १ किलो आलुबाट सुरु गरेको माछा तथा चपको व्यवसायले आज मलेखु बजारलाई देश विदेशसम्म प्रसिद्ध बनाएको छ । छविलालले वि.सं. २०३५ को फागुन महिनामा माछाको व्यवसाय सुरु गरेपछि यहाँ वरपर माछाको व्यवसाय गर्नेहरूको संख्या बढ्दै गएको हो ।

एक दिन एक जना चेपाङले त्रिशूली नदीमा जालमा पारेको माछा बेच्न ल्याए । मैले त्यही माछा तारेर बेच्न राखे । पहिलो दिननै उक्त आधा किलो माछा बिक्यो । भोलिपल्ट ती चेपाङलाई पुन: माछा मारेर ल्याउन आग्रह गरे भने उनले ल्याएको माछा तारेर र सिलमा सुकाएर बेच्न थाले । त्यसपछि माछा र चप खानेहरूको संख्या बढ्न थाल्यो, —महरठ्ठाले बताए ।

त्यतिबेला पोखरा–काठमाडांैको बाटो भर्खर–भर्खर खुलेको थियो । त्यो रुटमा दैनिक ८ वटा गाडी मात्र चल्थे । त्यति वेला उनी ५० पैसा प्रतिगोटा चप र ५ रुपैयाँ प्रति प्लेट माछा बेच्थे भने अहिले १० रुपैयाँ प्रतिगोटा चप र १ सय ६० रुपैयाँ प्रतिप्लेट माछा बेच्छन् ।

विगत सम्झँदै मरहठ्ठाले राजदरबारका सदस्यसमेतले आफूसँग माछा किनेको दाबी गरे भने पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा शर्मा होटलको नाम लिएर माछा किन्न आएको समेत बताए । छविलालले माछा–चप बेच्न थालेपछि अरूले पनि त्यसको सिको गर्न थाले । बिस्तारै पसल र ग्राहक थपिँदै गए । अहिले यहाँ माछा–चप मात्र बेच्ने करिब १ सयवटा होटल छन् ।

प्रकाशित :मंसिर ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्