राष्ट्रिय खेलकुद घोषणा गर्दै पछि सर्दै

- साप्ताहिक संवाददाता

मंसिर ३, २०७५

सबै कुरा घोषणाअनुरूप नै भएको भए अहिले पूरा नेपाल खेलकुदमय हुनुपथ्र्यो । चारैतिर १३ औं दक्षिण एसियाली खेलकुद (साग) को चहलपहल हुन्थ्यो, तर त्यस्तो केही छैन । एकपटक घोषणा भएको मितिअनुसार प्रतियोगिता नहुने त भयो नै, त्यसभन्दा ठूलो कुरा अब यो प्रतियोगिता कहिले हुन्छ, त्यो पनि तय छैन । नेपाली खेलकुदको कामै भएको छ, प्रतियोगिताको मिति घोषणा गर्ने, कुनै पूर्व तयारीबिना, अनि लाचारीमा त्यसलाई पछि सार्ने । 

पूर्वनिर्धारित कार्यक्रमअनुसार दक्षिण एसियाली खेलकुदको सर्वोच्च प्रतियोगिता फागुनमा हुनुपथ्र्यो । दक्षिण एसियाका अरू देशतिर बुझ्नुपर्छ, त्यहाँका खेलाडी, खेल पदाधिकारी तथा मिडिया सबैको एउटै चासो छ, साग कहिले हुन्छ ? उनीहरूले लगातार ताकेता पनि गरिरहेका छन्, तर नेपाली खेलकुदको नेतृत्व गरिरहेकाहरू भने लाज पचाएर चुपचाप बसिरहेका छन् । एउटा तथ्य निश्चित थियो, फागुनमा कुनै पनि स्थितिमा साग हुन सक्दैनथ्यो । त्यसैले यसलाई ६ महिना पछाडि सारिएको छ । युवा तथा खेलकुद मन्त्रालयको हालै बसेको बैठकले सागको नयाँ मिति पनि अगाडि सारेको छ र त्यो हो, सन् २०१९ को सेप्टेम्बर र अक्टोबरको समय, तर जुन प्रकारले नेपालमा प्रतियोगितासम्बन्धी तयारी चलिरहेको छ, दाबी गर्न सकिन्छ, सारिएको उक्त मितिमा पनि साग हुनेछैन । यसले दक्षिण एसियामै नेपाली खेलकुदको साख कमजोर बनाएको छ । साग नियमित नहुनुमा सबैभन्दा बढी जिम्मेवार नेपाल नै साबित हुँदैछ । 

इतिहास पल्टाउने हो भने नेपालले पहिलो दक्षिण एसियाली खेलकुद सन् १९८४ मा आयोजना गरेर सुरुवातको श्रेय त लियो, तर सन् १९९९ मा आठौं साग आयोजना गर्न उत्तिकै सुस्तता देखायो । त्यतिबेला साग खेलकुदको मिति घोषणा गर्दै सार्दै अन्तत: प्रतियोगिता लगभग तीन वर्षपछि धकेलिएको थियो । त्यसयता यो रोगले पूरा प्रतियोगितालाई च्याप्यो । अब स्थिति कस्तो छ भने अबको साग कहिले हुन्छ, तय छैन । प्रतियोगिता जति पछाडि धकेलिन्छ, उत्तिकै नयाँ मितिका लागि गाह्रो हुने तय छ । 

यसबीच श्रीलंकाले १३ औं साग आफूले गर्ने इच्छा देखाएको थियो । श्रीलंकाली मिडियाले यस्तै खाले समाचारसमेत दिए । श्रीलंकाको दाबी थियो, नेपालले समयमै साग गर्न सक्दैन भने यसपटक हामीलाई अवसर दिनु उपयुक्त हुन्छ, त्यसपछि फेरि नेपालले यो प्रतियोगिता आयोजना गर्न सक्छ, तर अहिले यसको पनि सम्भावना समाप्त भएको छ । श्रीलंकामा अहिले ठूलो राजनैतिक संकट छ र त्यसकै कारण त्यहाँको खेलकुद पनि पछाडि जान बाध्य हुनेछ । 

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस विषयमा औपचारिक रूपमा केही बोलेका छैनन, तर उनले अनौपचारिक रूपमा भने निर्धारित समयमै साग नहुने मात्र होइन, अब कहिले हुने हो, त्यसका सम्बन्धमा पनि बोल्न सकिरहेका छैनन । यता राष्ट्रिय खेलकुद परिषदको स्थिति पनि उस्तै दयनीय छ । परिषद्का सदस्य सचिव केशवबहादुर विष्टले पनि लगातार ठूला–ठूला दाबी त गरिरहेका छन्, तर त्यसलाई पूरा गर्ने कुनै काम देखाउन सकेका छैनन् ।

दशरथ रंगशालाको 

सुस्त पुर्ननिर्माण

लामो समययता नेपालमा कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेको छैन र यसको कारण हो, समयमै दशरथ रंगशालाको पुनर्निर्माण हुन नसक्नु । विशेषत: फुटबलले धेरै ठूलो अवसर गुमाइरहेको छ । फुटबलमा साना–ठूला प्रतियोगिता त भैरहेका छन्, तर दशरथ रंगशाला खेल्न योग्न नहुँदा धेरै अप्ठ्यारो स्थिति छ । आर्थिक रूपमा पनि नेपाली फुटबललाई उत्तिकै घाटा भैरहेको छ, तर दशरथ रंगशालाको पुर्ननिर्माण आफैमा सुस्त छ । 

नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको भनेर दाबी गरिएको दशरथ रंगशाला ०७२ को भुकम्पले जीर्ण भएको थियो । नेपालमा १३ औं साग समयमै हुन नसक्नुको सबैभन्दा ठूलो कारण पनि यही हो । परिषद्कै दाबी मान्ने हो भने दशरथ रंगशाला पूर्ण रूपमा तयार हुन्, अझै असारसम्म कुर्नुपर्ने हुन्छ, फागुनसम्म तयार हुने त प्यारापिट र कभर्ड हल मात्र हो । भीआईपी प्यारापिट र ट्रयाक कहिले तयार हुने हो, त्यो कुरा स्वयं सदस्य–सचिव विष्टलाई समेत थाहा छैन । 

अहिले चीन सरकारको प्राविधिक सहयोगमा दशरथ रंगशालाको पुनर्निर्माण भैरहेको छ । दशरथ रंगशालाको पुनर्निर्माणकै लागि भनेर यसपटकको बजेटमा १८ करोड रुपैयाँ छुट्याइएको छ । दशरथ रंगशाला समयमै तयार नहुनुको एउटा कारण सुरुमा यसको पुनर्निर्माणको जिम्मा सेनाले लिनु र पछि त्यसबाट पछाडि हट्नु हो । भूकम्प आउनुभन्दा धेरै अघि नै दशरथ रंगशालाको पुनर्निर्माण सुरु भएको थियो, तर त्यसले कहिल्यै गति लिन सकेन । 

राष्ट्रिय प्रतियोगिता 

पनि अनिश्चित

जसरी दक्षिण एसियाली खेलकुदका लागि अहिले काठमाडौं व्यस्त हुनुपथ्र्यो, त्यस्तै नेपालगन्ज र त्यस वरिपरिको केही स्थान आठौं राष्ट्रिय खेलकुदका लागि व्यस्त हुनुपर्ने हो, तर आठौं राष्ट्रिय खेलकुद पनि घोषित समयमै नहुने निश्चित भैसकेको छ । सुरुमा भनिएको थियो, यसपटकको राष्ट्रिय खेलकुद मंसिर २१ देखि २९ गतेसम्म हुनेछ, तर राखेप आपैंmले भनिसकेको छ, अब उक्त समयमा प्रतियोगिता हुँदैन । अब कहिले हुन्छ, ठोस रूपमा दाबी गर्न सकिने स्थिति पनि छैन । 

यस पछाडिको प्रमुख कारण भौतिक पूर्वाधार समयमै निर्माण नहुनु नै हो अथवा गर्ने कार्यक्रम भए पनि त्यसअनुसारको बजेट नआउनु हो । बाँके र बर्दियाका अधिकांश खेल स्थल निर्माणधीन अवस्थामै सीमित छन् । अझ अधिकांश पूर्वाधारको निर्माण प्रगति २५ प्रतिशत मात्र भएको तथ्य पनि बाहिर आएको छ, त्यहाँका आयोजकले अझै पनि ठूलठूला दाबी गरिरहेका छन्, तर साँच्चै प्रतियोगिता कहिले हुने हो, त्यो भने अनिश्चित नै छ ।

खेलाडी मारमा

प्रतियोगिताको मिति घोषणा हुने र पछि त्यसलाई सार्ने परम्पराले सबैभन्दा बढी मारमा कोही परेका छन् भने ती खेलाडी नै हुन् । अब प्रतियोगिताका लागि कहिले तयारी गर्ने, कति समयका लागि अभ्यासरत रहने, त्यो सबैमा खेलाडीहरूबीच अन्यौल छ । नेपालमा राष्ट्रिय खेलकुद घोषित समय अन्तरमा नियमित हुन्थ्यो भने त यसका धेरै संस्करण सम्पन्न भैसकेका हुन्थे, तर समयमै नहुने रोगका कारण नेपाली खेलकुदमा अनेकौं पुस्ताले यो प्रतियोगिता नै खेल्न पाएन । 

यस्तै स्थिति दक्षिण एसियाली खेलकुदलाई लिएर पनि छ । नियमित आयोजना नहुँदा धेरै खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै साग खेल्ने सपना पूरा गर्न सकेका छैनन् । दीपक विष्ट नेपाली खेलकुदका सबैभन्दा सफल खेलाडी हुन् । उनले तेक्वान्दोमा ४ वटा स्वर्ण पदक जिते । साग नियमित भएको भए उनले त्योभन्दा बढी स्वर्ण जित्न सक्थे । विष्ट मात्र होइन, नेपाली खेलकुदका अधिकांश खेलाडीलाई यसमा सधैं गुनासो रहनेछ ।

प्रकाशित :मंसिर ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्