कृत्रिम चन्द्रमा बनाउँदै चीन

- साप्ताहिक संवाददाता

मंसिर ३, २०७५

चिनियाँ वैज्ञानिकहरूले सन् २०२० सम्ममा कृत्रिम चन्द्रमा निर्माण गरेर सहर झिलिमिली पार्ने महत्वकांक्षी योजना अघि सारेका छन् । चीनको सिचुवान प्रान्तको राजधानी छेङ्दु सहरमा वैज्ञानिकहरूले कृत्रिम चन्द्रमा बनाउने तयारी गरिरहेको चाइना डेलीले जनाएको छ । 

सूर्यबाट आएको प्रकाशको किरणलाई उक्त चन्द्रमाले ऐनाजस्तै प्रतिविम्बित गर्ने वैज्ञानिकहरूले जनाएका छन् । यस्तो चन्द्रमालाई सडकबत्तीको विकल्पका रूपमा अघि सारिएको छ । सडकबत्तीको तुलनामा कृत्रिम चन्द्रमाले अझ राम्रो उज्यालो दिने बताइएको छ । 

वैज्ञानिकहरूले उक्त चन्द्रमा वास्तविक चन्द्रमाभन्दा ८ गुणा बढी चम्किलो हुने अनुमान गरेका छन् । यो चन्द्रमाले पृथ्वीबाट ५ सय किलोमिटर टाढा आफ्नो अक्षमा रहेर पृथ्वीलाई परिक्रमा गर्नेछ । टाइन फू न्यू एरिया साइन्स सोसाइटीका प्रमुख वू चेनफुङले चाइना डेलीलाई बताएअनुसार उक्त महत्वकांक्षी योजनाले आकाशको पूरै भागलाई भने उज्यालो बनाउने छैन । 

छेङ्दु सहरले विद्युत्मा वार्षिक १७ करोड ३० लाख डलर खर्च गर्दै आएको छ । कृत्रिम चन्द्रमाले सडकबत्तीमा खर्च हुने रकम बचतसमेत गर्ने बताइएको छ । यस्तो चन्द्रमाले प्राकृतिक विपत्ति पर्दा एवं विद्युत् अभाव हुँदासमेत काम गर्नेछ । 

कृत्रिम वस्तु अन्तरिक्षमा राखेर राति पृथ्वीलाई उज्यालो बनाउने यो पहिलो प्रयास भने होइन । न्युयोर्क टाइम्सका अनुसार सन् ९० को दशकमा रूसले पृथ्वीको परिक्रमा गर्दै सूर्यको प्रकाश प्रतिविम्बित गर्ने एउटा अर्बाइटल ऐना अन्तरीक्षमा पठाएको थियो । सन् १९९९ मा ऐना आकाशमा जलेपछि यो परियोजना असफल भएको थियो । 

गत जनवरीमा एउटा अमेरिकी संस्थाले अन्तरिक्षमा कृत्रिम तारा पठाउँदा वैज्ञानिकहरूले त्यसको विरोध गर्दै यस्ता कृत्रिम ताराले प्रकाश प्रदूषण निम्त्यिाउने खतरा बढाउने दाबी गरेका थिए ।

प्रकाशित :मंसिर ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्