समाधान

- सुविन भट्टराई

मंसिर ३, २०७५

जाडोमा सिरकभित्र गुट्मुटिँदा पनि अझ जाडो भएको हुन्छ । देख्छु एकसरो पातलो लुगामा काम गरिरहेका मानिसहरू, लाग्छ, जाडोले त सिरकभित्र गुट्मुटिनेलाई नै बढी सताउँदो रहेछ । हिँड्छु यस्तोमा कुनै एक दिन आफैँसित बिरक्तिएर । महसुस यही हुन्छ— न्यानो त आफ्नै शरीरमा हुँदो रहेछ, जो जति चलमलायो उति नै भित्रबाट ताप आइरहने रै’छ । 

सबैभन्दा धेरै थकाइ, घरमा आराम गरेर बसिरहँदा लाग्छ । जब झोला बोकेर हिँड्छु कतै लामो यात्रामा, सारा थकाइ मेटिन्छ । जब कहिले दिनभरि काम गरेको हुन्छु, सबैभन्दा जाँगर त त्यसै दिन लाग्दो रै’छ । सबैभन्दा धेरै ऊर्जा त्यसै दिन आउने रै’छ । 

लाग्छ, थकाइ त आराम र अल्छी गर्नेहरूलाई पो बढी लाग्छ । थकाइ त काम नगर्नेलाई पो बढी लाग्दो रै’छ । मसँग दुवै अनुभव छन् । मेरो अनुभवले भन्छ, काम नगरी थाक्नु र काम गरेर थाक्नुमा त्यही भिन्नता छ, जस्तो भिन्नता सुन्निएर मोटाउनुमा र खाएर मोटाउनुमा हुन्छ । 

कहिलेकाहीँ घरमा एक घण्टा भोक सहँदा जो भेटिन्छ उसैलाई चार गाली गर्दै भए पनि दुई थाल खाना बजारेको हुन्छु । कुनै बेला जंगलमा भोकभोकै हिँड्दा–हिँड्दै गोजीमा भेटिएको एउटा टुक्रा सुपारी साथीसित आधाआधा बाँडेर खाँदाको तृप्तिले पनि केही घण्टा हिँडाएको थियो । लाग्छ, भोक त कम खानेलाई भन्दा धेरै खानेलाई नै बढी लाग्दो रहेछ । 

यति लामो जीवनमा म साना–ठूला, ठूला–साना दु:ख पर्दा बेस्मारी आत्तिएको छु । रोएको छु, चिच्याएको छु । देख्छु केही परिचितहरू जो ठूला–ठूला दु:ख र कष्ट पनि यसरी निलिदिन्छन् जसरी बाढीले रूखका बडेमानका मूढा निलिदिन्छन् । 

लाग्छ, कि दु:खी त सधैँ उही भैरहन्छ जो दु:खसँगै हिँड्न जान्दैन । कमजोर त्यही भैरहन्छ, जो कमजोर हुनु नै सबैभन्दा नमीठो कमजोरी हो भन्ने मान्यतामा बाँचिरहन्छ । हामी अक्सर भाग्नुमा समाधान खोज्छौँ । लुक्नुमा मुक्ति खोज्छौँ । हरसमस्यासँग पीठ देखाउँछौँ र छाती फुलाउन खोज्छौँ । कसैलाई जबरजस्ती धपाएर आफूलाई प्राप्त गर्न खोज्छौँ । 

यी सब क्षणिक हुन् । हामी भाग्ने हैसियत राख्छौँ भने कुनै चिजले हामीलाई लखेट्ने हैसियत पनि राख्न सक्छ । हामी कुनै अप्ठेरोसित लुक्न त सक्छौँ, तर उसले हामीलाई भेट्टाउने सामथ्र्य पनि राख्न सक्छ । 

कुनै समस्यालाई पीठ देखाउँदैमा त्यो सम्पूर्ण रूपमा टर्न सक्दैन । हाम्रा अघिल्तिर त्यो चिज छाती फुलाउँदै पुन: फर्कन सक्छन् । अनि कहिलेसम्म समस्याहरूसित लुकामारी खेलिरहने ?

धपाइएका चिजहरू लामखुट्टेलेझैँ झिँझो लगाउँदै पुन: झर्को लगाउन आउन सक्छन् । हरेक चिजसित जुध्नुपर्छ । त्यसको सामना गर्न सिक्नुपर्छ । तिनलाई भगाउन सक्नुपर्छ, कहिल्यै नफर्कने गरी । तिनलाई निभाउन सक्नुपर्छ कहिल्यै नबल्ने गरी । 

जाडो भयो भन्दैमा तीनवटा सिरक ओढ्यौँ भने शरीरले अझ मात्तिएर चौथो सिरक पनि माग गर्न सक्छ । पेटले मागेजति ख्वाएको ख्वायै गर्न लाग्यौँ भने शरीर रोगहरूको घर बन्न सक्छ । थाकियो भनेर आराम गरेको गर्‍यै गर्‍यौँ भने थकाइ झन्–झन् बढ्दै जान सक्छ । यसर्थ समस्यामा आफू समाहित हुने होइन । समस्यालाई सधैँ अर्को किनारामा राखेर हेर्नुपर्छ । समस्यालाई आफूबाट चुँडालेर परैबाट हेर्दै त्यसै अनुरूप जुध्नुपर्छ । 

समस्या जतिसुकै ठूलो होस्, त्यसको अघिल्तिर उभिएर, आँखामा आँखा जुधाएर ‘आइज, तँ र म भिडौँ’ भन्न सक्नुहुन्छ भने आधाउधी समस्या त तपाइंको आत्मविश्वास र हिम्मत देखेरै पाखा लाग्नेछन् । 

प्रकाशित :मंसिर ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्