नर्सिङमा छ अवसर

- साप्ताहिक संवाददाता

मंसिर १, २०७५

यही वर्ष स्टाफ नर्स उत्तीर्ण आश्मा पनेरु कामको तयारीमा छिन् । काठमाडौंका तीनवटा अस्पतालमा एप्लाई गरेकी आश्मालाई दुईवटा अस्पतालले ग्रिन सिग्नल दिइसकेका छन् । कुन अस्पताल छान्ने भन्ने निर्णय गरिनसकेकी आश्मा अध्ययनपछि भविष्य सुनिश्चित हुने देखेरै यो विषय अध्ययन गरेका बताउँछिन्— भविष्यमा बेरोजगार बस्नु पर्दैन भनेर नर्सिङ रोजेकी हुँ । मानवीय संवेदनासँग जोडिएको पेसा भएकाले पनि पहिलेदेखि नै नर्स हुने धोको थियो ।

केही वर्ष यता नेपालमा नर्सिङप्रति युवतीहरूको चासो बढ्दै गएको छ । सम्मानजनक पेसा र हत्तपत्त बेराजगार रहनु नपर्ने विषय भएका कारण पनि यो शिक्षाप्रति चासो बढ्दै गएको हो । सामाजिक उत्तरदायित्व, सामाजिक सेवा तथा सुनिश्चित भविष्यका कारण अभिभावकहरू पनि आफ्ना छोरीलाई यो शिक्षाप्रति प्रेरित गरिरहेका छन् । 

वढ्दो जनसंख्या तथा त्यससँगै खुलेका अस्पताल, नर्सिङ होम्स तथा पोलिक्लिनिकका साथै विभिन्न स्वास्थ्यसम्बन्धी परियोजनाहरूमा काम पाउन सजिलो हुनुका साथै विदेशबाट पनि स्टाफ नर्सका लागि राम्रो अवसर आउने हुँदा छात्राहरू यसतर्फ अकर्षित भैरहेको पाइन्छ । 

नेपालमा हाल व्यवसायिक तालिम परिषद्मार्फत निजी क्षेत्रले सञ्चालन गरेका तथा विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिएका ३ सयभन्दा बढी कलेजले नर्सिङसम्बन्धी अध्यापन गराइरहेका छन् । ती कलेजबाट प्रवीणता प्रमाणपत्रदेखि स्नातकोत्तर तहसम्म गरी एक वर्षमा ५ हजार ५ सयभन्दा बढी नर्स उत्पादन हुने नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक तारा पोख्रेल बताउँछिन् । नेपाल नर्सिङ काउन्सिलको तथ्यांकअनुसार हाल नेपालमा ४९ हजारभन्दा बढी स्टाफ नर्स छन् भने ८ सय ५३ जना विदेशी नर्सले नेपालमा काम गर्न अस्थायी लाईसेन्स लिएका छन् । 

बढ्दो सहरीकरण, अन्तर्राष्ट्रिय बजार, जनमानसमा स्वास्थ्यप्रति बढ्दो चेतनाका कारण अस्पतालहरूको संख्या थपिदै जाँदा नर्सहरूको रोजगारी पनि सुनिश्चित हुँदै गएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पीसीएल नर्सिङ गरेकी गोमा नराल बिरामीको सेवाका लागि नर्सिङतर्फ आकर्षित भएको बताउँछिन्, ‘यो यस्तो पढाइ हो जुन पढेको कुरा तत्काल व्यवहारमा लागु हुन्छ ।’ मनमोहन अस्पताल, काठमाडौंमा दुई वर्ष काम गरी थप अध्ययनका लागि अस्ट्रेलिया पुगेकी नराल भन्छिन्— विदेशमा रोजगारी र थप अध्ययन सहज हुने हुँदा नर्सिङतर्फ आकर्षित भएकी हुँ । प्राविधिक विषय, त्यसमा पनि मेडिकल विषयको माग विदेशमा बढी भएका कारण छात्राहरू यसतर्फ आकर्षित हुनु स्वभाविक रहेको प्राध्यापक तारा पोख्रेल बताउँछिन् । मेडिकलसँग सम्बन्धित कोटामा विदेशबाट माग भएको तथ्यांक हेर्ने हो भने त्यसमा नर्सको माग सबैभन्दा बढी छ । नेपाली नर्सका लागि युरोप, अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्डजस्ता मुलुक प्रमुख गन्तव्य हुन् । नेपालमा हरेक वर्ष उत्पादन हुने नर्सको ठूलो संख्या स्वदेशमै खपत भए पनि त्यसको आधिकारिक तथ्यांक भने कतै पाइँदैन । विशेष गरी नर्सिङ अध्ययन गरेका ७५ प्रतिशत छात्रा बिदेसिएको प्राध्यापक पोखरेलको दाबी छ ।

विभिन्न खालका छात्रवृत्ति तथा डोनेसनमा अध्ययन गर्न पाइने त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालन भैरहेका नर्सिङ क्याम्पसहरूमा महाराजगन्ज नर्सिङ क्याम्पस, ललितपुर नर्सिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, वीरगन्ज नर्सिङ क्याम्पस, नेपालगन्ज नर्सिङ क्याम्पस, विराटनगर नर्सिङ क्याम्पस आदि छन् । कम शुल्कमा अध्ययन गर्न पाइने हुँदा यी क्याम्पसमा नाम निकाल्न निकै मुस्किल छ । त्यसैगरी वीर अस्पतालको नाम्समा ४० जनाले अध्ययन गर्न पाउँछन् । सिटिइभिटीबाट स्वीकृति लिएर सञ्चालन गरिएका कलेजहरूमा पढ्न भने ४ देखी ५ लाख रुपैयाँसम्म खर्च लाग्छ ।

 

ब्याचलर इन नर्सिङ

पहिले दुई वर्षको स्नातक अहिले अन्तर्राष्ट्रिय स्तरसँग मिलाउन तीन वर्षको बनाइएको छ । नर्सिङमा स्नातक गर्न चाहनेहरूका लागि दुईवटा बाटो छ । एउटा पीसीएल नर्सिङ गरेर निश्चित अवधि सेवा गरिसकेपछि बीएन नर्सिङ गर्न पाइन्छ भने अर्को आईएस्सी सकेपछि बीएस्सी नर्सिङ गर्न पाइन्छ । बीएन गरेकाहरू सुरुदेखि नै व्यवहारिक शिक्षा लिएर आएका हुन्छन् भने बीएस्सी गर्नेहरू सैद्धान्तिक रूपमा अब्बल मानिन्छन् । नेपालको परिवेशमा बीएन गरेकाहरूलाई स्वास्थ्य संस्थामा रुचाइन्छ भने शैक्षिक क्षेत्रमा बीएस्सीलाई प्राथमिकता दिइन्छ ।

 

ख्याल गर्नुपर्ने कुरा

इच्छशक्ति : सबैभन्दा ठूलो कुरा इच्छाशक्ति हो । जुनसुकै अवस्था आए पनि म नर्स भएर बिरामीको सेवाभावमा कमी आउन दिनेछैन भन्ने इच्छाशक्ति हुनुपर्छ । साथै यो व्यवहारिक विषय पनि भएको हँुदा लगावबिना उत्तीर्ण गर्न निकै गाह्रो हुन्छ । 

व्यवहार : नर्स हुने व्यक्तिको व्यवहार सधै मिजासिलो हुनुपर्छ । बिरामीसँग उसको भावना र व्यवहार हेरेर त्यसलाई ट्याकल गर्न सक्ने खुबी हुनुपर्छ, जसले गर्दा आफ्नो व्यवहारबाट बिरामीलाई थप पीडा नहोस् ।

इमोसन कन्ट्रोल : नर्समा हुनुपर्ने अर्को महत्वपूर्ण खुबी भनेको जस्तोसुकै समयमा पनि आफुलाई कन्ट्रोल गर्न सक्नु हो । बिरामीको बहकाउमा लाग्नु वा भावनामा बग्नु हुँदैन । नर्स भएपछि ठूला–ठूला घटना हुँदा पनि त्यसलाई नियन्त्रण गर्न सक्ने हुनुपर्छ । 

सम्मान : बिरामी, बिरामीका आफन्तका साथै सामाजिक, व्यवहारिक, धार्मिक एवं सांस्कृतिक पक्षलाई समान तरिकाले सम्मान गर्न सक्नुपर्छ । त्यसका साथै बिरामीको भाषा बुझ्नु वा बुझ्न खोज्ने प्रयास गर्नु सक्षम नर्सको खुबी हो । 

सक्दिनँ भन्नु हुँदैन : अंग्रेजीमा एउटा भनाइ छ, नर्सले भन्नै नहुने शब्द हो— ‘नेभर से नेभर’ । कहिलेकाहीं यस्तो अवस्था पनि आउँछ कि लगातार २४ घण्टासम्म पनि बिरामीको सेवा गर्नुपर्ने बाध्यता हुन्छ । त्यस्तो बेला म गर्न सक्दिन भनेर भन्नु हुँदैन । त्यसका साथै बिरामी र आफन्तलाई हतोत्साहित बनाउने शब्द पनि बोल्नु हुँदैन।

नर्स भएकोमा गर्व गर्ने : नर्सले जहिले पनि गर्व गर्ने कुरा हो— ‘म नर्स हुँ’ । यदि यो कुरामा गर्व गर्न सकिँदैन भने कहिल्यै असल नर्स बन्न सकिँदैन ।

नर्सिङ शिक्षामा पनि विभिन्न तह छन् । जस्तै: प्रवीणता प्रमाणपत्र, स्नातक, स्नातकोत्तर तथा पीएचडी । यीमध्ये स्नातक, स्नातकोत्तर र पीएचडीचाहि नर्सिङ व्यवस्थापन, खोज तथा अनुसन्धानसँग सम्बन्धित छन । नर्सिङ पेसामा लागेकाहरूले विभिन्न कठिनाइसँग जुध्नुपर्छ । यस्तो सेवालाई राज्यले उचित सेवासुविधा एवं सुरक्षाको प्रत्याभूति दिएर स्वदेशमै रोजगारीको व्यवस्था मिलाउनुपर्छ, यसका लागि प्रशासनिक तहबाटै ठोस कदम उठाउनु अत्यावश्यक देखिन्छ ।

प्रकाशित :मंसिर १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्