महिला फुटबलको ठूलो उपलब्धि

- साप्ताहिक संवाददाता

कार्तिक ३०, २०७५

‘सबै खेलाडीलाई बधाई !’ प्रशिक्षक हरि खड्काले सामाजिक सञ्जालमा यो सन्देश छाडेपछि मात्र ढुक्क हुन सक्ने स्थिति बन्यो । एसियाली ओलम्पिक महिला फुटबल छनौट–२०२० को नियमका सम्बन्धमा अन्त्यसम्म पनि अन्यौल थियो । कति टिम कसरी अघि बढ्ने हुन्, प्रस्ट हुन सकेको थिएन । त्यसबीच प्रशिक्षक खड्काको सन्देशले केही राहत दियो । आखिर त्यो नै सत्य सावित भयो र नेपालले महिला फुटबलमा ऐतिहासिक फड्को मार्‍यो । 

यो नेपाली फुटबलले महिलातर्फ हात पारेको अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो । नेपालमा महिला फुटबलको लामो इतिहास छ, तर गुनासो रहने गरेको छ, महिला फुटबलको वर्तमान गतिविधि निकै कमजोर स्थितिमा छ । केही भैरहेकै छैन, विशेषत: घरेलु फुटबल । त्यसमाथि नेपालले जति पनि अन्तर्राष्ट्रिय फुटबल खेल्यो, अन्त्यमा भारतको हातबाट पराजित हुँदै निराश हुनुपरेको थियो । 

यसपटक स्थिति केही फेरिएको छ । नेपालले महिला फुटबलको ओलम्पिक छनौटमा सहभागिता जनाएको यो नै पहिलो अवसर हो । छनौट म्यानमारको यान्गुनमा भएको थियो र त्यहाँ जानुअघि प्रशिक्षक खड्काले भनेका थिए, हाम्रो उद्देश्य छनौट नै हो । उनले आफ्नो वचन राखेका छन् । यान्गुन जानुअघि नेपालले तीन मैत्रीपूर्ण खेलका लागि चीनको भ्रमण गरेको थियो र यसले पनि नेपालको प्रदर्शनमा सुधार ल्याउन प्रशस्त मद्दत पुर्‍यायो । 

नेपालको समूहमा थिए, आयोजक म्यानमारसँग भारत र बंगलादेश । नेपालका लागि धेरै हदसम्म यो कठिन समूह नै थियो । नेपालले आफ्नो पहिलो खेल भारतसँग १–१ को बराबरीमा टुङ्ग्यायो । बाँकी दुई खेलको कथा पनि त्यही रह्यो । म्यानमारसँग पनि १–१, अन्त्यमा बंगलादेशविरुद्ध पनि १–१ । तीनै खेलमा नेपालले सुरुवाती अग्रता त लियो, तर त्यसलाई अन्त्यसम्म कायम राख्न सकेन । यो दृष्टिकोणले नेपालको रक्षापंक्तिको मानसिकताका सम्बन्धमा प्रश्न उठाउने स्थान पनि हुन सक्छ । 

यद्यपि त्योभन्दा पनि महत्त्वपूर्ण तथ्य के हो भने नेपालले प्रत्येक खेलमा गोल गरेको थियो र कुनै पनि खेलमा हार बेहोरेन । यही दुई तथ्यले नेपाललाई अन्तत: सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिकको छनौटको दोस्रो चरण पुर्‍याएको छ । नेपालका लागि गोल गर्ने खेलाडीमा म्यानमारविरुद्ध निरु थापा, भारतविरुद्ध सावित्री भण्डारी र बंगलादेशविरुद्ध फेरि कप्तान निरु नै रहिन् । लिग चरणको समाप्तीमा म्यानमार पहिलो तथा भारत दोस्रो स्थानमा रहे । 

नेपालको छनौट सम्भव हुनुका पछाडि सबै समूहको तेस्रो स्थानमा रहेका टिममध्ये उत्कृष्ट दुईभित्र रहन सक्नु हो । नेपाल जस्तै तेस्रो स्थानमा रहने टिम थिए, ताजाकिस्तान, लेबनान र प्यालेस्टान । नतिजा र गोल अन्तरको आधारमा नेपाल र प्यालेस्टाइन उत्कृष्ट दुई टिम सावित भए, तेस्रो स्थानमा रहने । प्रशिक्षक खड्काको नेपाली महिला फुटबलका सम्बन्धमा निचोड छ— ‘अवसर र सुविधा दुवै मिल्ने हो भने नेपाली महिला फुटबलले यो भन्दा धेरै राम्रो गर्न सक्छ ।’

प्रकाशित :कार्तिक ३०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्