राजनका उन्मुक्त अनुभव

- किशोर नेपाल

कार्तिक २३, २०७५

नेपाली रंगमञ्चको अवस्था निकै दारुण छ । प्रारम्भिक समयको कुरा गर्ने हो भने बालकृष्ण सम, गोपालप्रसाद रिमाल, विजय मल्ललगायतका सशक्त नाटककारहरूले आफ्नै प्रयत्नमा नाटक प्रदर्शनको चाँजोपाँजो मिलाउँथे । बालकृष्ण सम यस्ता कुरामा निकै अगाडि थिए । सुधारवादी राणाका रूपमा उनको पहिचान बनेको थियो । त्यसैले देशमा सामाजिक परिवर्तनका साथै सांस्कृतिक जागरण ल्याउन नाट्य विधाको प्रयोगमा उनी निकै सचेत थिए । नेपाली समाजमा रंगमञ्चको बीजारोपण राणा शासकहरूले नै गरेका थिए । महाराज–महारानीको मनोरञ्जनका लागि दरबारभित्र नाटक मण्डली र नौटंकी टोली बोलाएर जात्रा चलाउने चलन थियो उतिबेला । नाटकहरूको शोध एवं अनुसन्धानमा भने जगदीशशमशेर राणाको भूमिका निकै प्रभावकारी थियो । 

यही पृष्ठभूमिमा, बहुदलीय र निर्दलीय राजनीतिक व्यवस्थाकाबीच २०३६ को जनमत संग्रहपछि नेपाली रंगमञ्चले फडको मार्‍यो । त्यतिबेलाका नाट्यकर्मीहरूले आफ्नो क्षमताअनुसार नाटकको विकासमा निकै योगदान गरे । सुनिल पोखरेल त्यही समयका चहेता नाट्यकर्मी थिए, जो नाट्य शास्त्रको विधिवत् अध्ययनका लागि भारतको राजधानीमा रहेको नेसनल स्कुल अफ ड्रामामा भर्ना भए । सुनिल आफ्नो अध्ययन सिध्याएर त्यहाँबाट फर्केर आउँदा देशको राजनीति दुरुह थियो । स्वतन्त्रताको आन्दोलनलाई सघाउन अशेष मल्लले सडक नाटक प्रस्तुतिमा अग्रसरता देखाए । कलाकारहरू सडक नाटकतर्फ आकर्षित भए । सडक नाटक नेपाली नाटकको इतिहासमा एउटा ट्रेन्डका रूपमा स्थापित भयो । नेपालका सामान्य मानिसले पहिलो पटक नाटकको स्वाद पाए । यही समयमा देखिएका अनुप बराल नाटकमा नयाँ धारका जन्मदाता थिए । अशेष र सुनिल दुवैको भन्दा बेग्लै थियो अनुपको उपस्थिति । सिर्जनात्मक शैलीमा तीनै जना भिन्न थिए । 

संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र पुनस्र्थापनापछिको समयसम्ममा सुनिल पोखरेल नेतृत्वको आरोहण र अशेष मल्ल नेतृत्वको सर्वनाम दुई स्थापित नाट्य समूहका रूपमा देखा परे । सुनिलको आरोहणले गुरुकुलको स्थापना गरेपछि नेपाली नाटक एक प्रकारले नयाँ युगमा प्रवेश गर्‍यो । नाटकका गतिविधिहरू बाक्लिए । अभि सुवेदीजस्ता विद्वान् समालोचकहरूको रुचि बढ्यो नाटकमा । यही समयमा नेपाली रंगमञ्चले एकसाथ दर्जनौं कलाकारलाई प्रोत्साहित गर्‍यो । राजन खतिवडा तीमध्ये एक थिए । राजन भन्छन्, ‘गुरुकुलको प्रोडक्टभन्दा गौरव महसुस हुन्छ । नेपाली रंगमञ्चका दुई निर्देशक सुनिल र अनुपको नाटकमा ‘कन्टेन्ट’ बलियो हुन्छ । त्यसैले त्यस्तो नाटकमा काम गर्न मन लाग्छ । कति नाटकले दर्शकको ब्ल्याकमेलिङ गर्छन्, इमोसनल ब्ल्याकमेलिङ । यो राम्रो प्रवृत्ति होइन ।’

राजनको विचारमा ‘अहिलेका धेरैजसो उत्साही कलाकारले एकसरो जीवन मात्र देखेका छन् । उनीहरूले असामान्य अवस्थामा बाँचिरहेका मानिसका दु:ख देखेका छैनन् । हामी कर्णालीकै कुरा गरौं । मुगुमा रहेको रारा तालको अवर्णनीय सौन्दर्यमा हामी रमाउँछौं । त्यहीं तलको गमगढीमा बोलिने भाषा हामी बुझ्दैनौं । सामान्य मानिसको जीवन कति कष्टकर छ, त्यसको यथार्थ अवस्थाको मापन गर्न सक्दैनौं । जन–जीवनको यथार्थ तस्बिर प्रस्तुत नगरेसम्म नाटकको सान्दर्भिकता स्थापित हुन सक्दैन भन्ने बुझनुपर्छ नाटकमा लागेका कलाकारहरूले ।’

गुरुकुलले मञ्चन गरेका दुईवटा प्रयोगात्मक नाटक ‘कर्णाली दक्षिण बग्दो छ’ र ‘सुइना कर्णाली’ उतिबेला निकै लोकप्रिय भएका थिए । कर्णाली दक्षिण बग्दो छ नाटकमा राज्यको उपेक्षाका कारण कामको खोजीमा दक्षिण लागेका नेपाली जनताको कथाव्यथा थियो भने सुइना कर्णालीले संघीयताका फाइदाहरूको परिकल्पना थियो । तर, तिनको लोकप्रियता प्रभावका हिसाबले यथेष्ट थिएन । राजन भन्छन्, ‘पहिले त हामी निकै रमाएका थियौं नाटकको सफलतामा, तर पछि हामीले धेरै कुरा रियलाइज गर्‍यौं । सुनिल सरले पनि ‘रियलाइज’ गर्नुभयो : नाटकमा काम गर्नेले दूरगामी दृष्टिकोण राख्नैपर्छ । समाजमा नाटकको प्रभावकारिताका लागि स्कुलिङको आवश्यकता छ ।’ 

नेपाली रंगमञ्चको वर्तमान अवस्थाका बारेमा राजनको दृष्टिकोण अलि कडा खालको छ । उनको विचारमा अहिले जति पनि निर्देशक रंगमञ्चमा सक्रिय छन्, ती कसैको पनि आफ्नै शैली छैन । हामी सिनियर जुनियर जे–जति छौं सबै विरोधाभासपूर्ण प्रयोगमा लागेका छौं । हाम्रो पुस्तासँग समाउने हाँगो छैन । सबै परिचयको संकटमा छन् । नाट्य क्षेत्रको विकास नभएसम्म हामी संकटापन्न नै रहनेछौं । अहिलेको हाम्रो असुरक्षाका निश्चित आयाम छन् । नाटकका दर्शक छैनन् । हामीले दर्शकको निर्माण हुने हिसावले काम गर्न पाएका छैनौं । नाटक निर्माण गरेर ‘ल हेर्न आउनुहोस्’ भन्दै सम्भावित दर्शकलाई निम्त्याउनु हाम्रो नियति बनेको छ । यसले गर्दा नाटकले हामीमा गहिरो छाप छोडन सकेको छैन ।

राजनका दु:ख यति मात्र छैनन् । उनी नाटकका समालोचक नभएकोमा पनि छटपटिएका छन् । झूर काम गरे पनि, राम्रो काम गरे पनि प्रतिक्रिया आउने परिपाटी नभएपछि कामको मूल्यांकन हुन सक्दैन । त्यस्तो शून्यको अवस्थामा नाटक निर्देशनको काम गर्ने कसरी ? अनि, थिएटरहरूका बीच आपसी संवादको उत्तिकै खाँचो छ । थिएटरवालाका बीचमा प्रतिस्पध्र्दाको ठाउँ नै छैन, तर पनि थिएटरहरू एक–अर्कासँग भयभीत देखिन्छन् । सहयोगी भाव नै छैन ।

‘नाटक मानिसको आवश्यकता हो भन्ने विश्वास सरकार र सार्वजनिक उपक्रमका कुनै तहमा पनि देखिएको छैन,’ राजनको अनुभव छ, ‘थिएटरका लागि लामो समयसम्मको चिन्तनकै अभाव छ हामीमा । राजनको बुझाइमा यो विश्वासहीनताको अवस्थाले बिमल सुबेदी र घिमिरे युवराजजस्ता समर्थ कलाकारलाई पनि हल्लाएको छ । 

कला, साहित्य र संस्कृतिको जगेर्ना गर्ने काममा राज्य जिम्मेवार भएन, राजन भन्छन्, ‘विदेशीहरू हाम्रो संस्कृतिको अध्ययन गर्न आउँछन् । हामीसँग सिक्छन् । आफ्नो देश फर्किएर त्यही अध्ययनका आधारमा उत्पादन गर्छन् अनि त्यही उत्पादन हामीलाई नै हाँसी–हाँसी बेच्छन् ।’

अहिले दर्शकलाई रुवाउने, तर्साउने, नचाउने हिसाबले नाटक बनेका छन् । यो पूरै सिनेमाको प्रभावमा भएको कुरा हो । नाटक भनेको प्रक्रियाले हुने सिर्जना हो । नाटक ‘अक्षरश:’ हुँदैन । समाजका तर्फबाट नाटकको व्याख्या प्रस्तुत गरेर यसलाई स्थापित गराउने प्रयास भएको छैन, राजन भन्छन् ।

हालै सरकारले आरोहण, सर्वनाम, शिल्पी र पोखरा थिएटरलाई २० लाख रुपियाँका दरले सहयोग उपलब्ध गराएको छ । सरकारले थिएटरलाई सहायता गर्नु हाम्रो देशको हकमा राम्रो मानिए पनि यसले अनिष्ट पनि ल्याउन सक्छ । आफूले सहयोग उपलब्ध गराएका थिएटरसँग सरकारले अवाञ्छित सहयोग माग्यो भने के गर्ने ? सरकारको ‘कृपा पाउनु’ सुन्दर कुरा हो तर त्यस्तो कृपा नि:शर्त र नि:स्वार्थ हुनुपर्छ ।

अहिलेसम्म १८ वटा नाटकको निर्माण गरिसकेका छन् राजनले । २४ वटा नाटकमा उनको भूमिका छ । राजन भन्छन्, ‘चरणदास चोर र माइला डटकममा अभिनय गर्दा मज्जा आएको थियो । त्यस्तो मज्जा हम्मेसी लिन पाइदैन ।’

प्रकाशित :कार्तिक २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्