जुवासम्बन्धी केही मिथक

- साप्ताहिक संवाददाता

कार्तिक २२, २०७५

तिहार भन्नेबित्तिकै धेरै नेपालीले जुवालाई पनि सम्झन्छन् । धार्मिक मान्यताअनुसार दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमादेखि तिहारसम्म जुवा खेल्नुलाई शुभ मानिन्छ । नेपालको सन्दर्भमा हेर्दा २००७ साल अघिसम्म नेपालमा जुवाले कानुनी मान्यता पाएको थियो । त्यो कालखण्डमा राज्यका तर्फबाट नै निश्चित समयका लागि जुवा फुकुवा गरिन्थ्यो । यसरी जुवा फुकुवा गरिएको समय रक्षाबन्धनदेखि तिहारसम्मलाई मानिन्थ्यो । 

नेपालको इतिहास हेर्ने हो भने युगान्तकारी घटना कोत पर्वको कारक पनि एक जना जुवाडे नै थिए । ऐतिहासिक दस्तावेजअनुसार तत्कालीन महारानी लक्ष्मीदेवीका विश्वासपात्र तथा प्रधानमन्त्री पदका दावेदार गगन सिंहको हत्या जुवाडे लाल झाले गरेका थिए । जुवा खेल्ने क्रममा कंगाल भएका लाल झालाई उसको ऋण तिरिदिने तथा थप रकम उपलब्ध गराउने सर्तमा जंगबहादुरले गगन सिंहको हत्या गर्न तयार गरेका थिए । 

काठमाडौंमा प्रचलित किंवदन्तीअनुसार मल्ल राजाहरूकी कुल देवी तुलजा भवानी राजा जयप्रकाश मल्लसँग हरेक औंसीको मध्यरात पासा खेल्थिन् । यसरी पासा खेल्ने क्रममा एकदिन तुलजा भवानीको रूपबाट मोहित भएका राजा जयप्रकाश मल्लले देवीसँग सम्भोग गर्ने मनसाय व्यक्त गरेपछि देवी रिसाएर अलप भइन । उक्त घटनापछि राजा जयप्रकाश मल्ललाई ठूलो पछुतो भयो । उनले पश्चाताप गर्दै फेरि देवीको आराधना गर्न थाले । राजाको आराधनापछि पग्लिएकी देवीले एकदिन राजालाई सपनामा अब आफू आउन नसक्ने तर आफ्नो दर्शन चाहने हो भने हरेक वर्ष एउटी कन्यालाई देवीका रूपमा स्थापित गरेर त्यसमा मेरो अनुहार हेर्नु भन्ने आदेश दिइन् । सोही आदेशअनुसार नै राजा जयप्रकाश मल्लले काठमाडौंमा इन्द्रजात्राका अवसरमा जिवित देवी कुमारीको पूजा गर्ने परम्परा चलाएको इतिहास छ । 

जुवाका सम्बन्धमा हाम्रो समाजमा तीनवटा धार्मिक कथा प्रचलित छन् । पहिलो कथाअनुसार पासा खेल्ने परम्पराको प्रारम्भ देवी पार्वतीले गरेकी हुन् । देवी पार्वती आफ्ना पति भगवान् शिवसँग फुर्सदका बेला मनोरञ्जनका लागि पासा खेल्थिन् । विशेष गरेर भगवान शिव र पार्वतीले यमपञ्चकका पाँच दिन लगातार जुवा खेल्थे भन्ने मान्यता छ । अझै पनि कतिपय मन्दिरमा देवी पार्वतीको पूजा गर्दा पासा समेत चढाइन्छ । 

अर्को कथाअनुसार पौराणिक पात्र राजा नल नामुद जुवाडे थिए । तत्कालीन भारतको शक्तिशाली समुदाय निषाधहरूका राजा नलकी रानीको नाम दमयन्ती थियो । दुवै आफ्नो रूप तथा गुणका कारण भारतवर्षभरि चर्चित थिए । तिनै राजा नल आफ्नो जुवासम्बन्धी लतका कारण राजपाट नै गुमाउन बाध्य भए । कथाअनुसार आफ्ना समकक्षी राजाहरूसँग जुवा खेल्ने क्रममा राजा नलले आफ्नो सर्वस्व हार्नुपरेको थियो । त्यसै कारण राजा नलले लामो समयवनबास समेत बेहोर्नुपरेको थियो । 

अर्को कथा महाभारतको हो । कथाअनुसार पाण्डवहरू जुवा खेल्न भनेपछि मरिहत्ते गर्थे । पाण्डवहरूको यही कमजोरीका कारण कौरवहरूले उनीहरूलाई जुवा खेल्न आमन्त्रित गरे । जुवाको त्यो खेलमा जेठा पाण्डव युधिष्ठिरले आफ्नो श्रीसम्पत्ति, राज्य मात्र गुमाएनन् आफ्ना भाइहरू एवं पत्नी द्रौपदीलाई समेत हार्न पुगे । त्यसपछि भएको द्रौपदी चिरहरणको घटनाले नै महाभारत युद्धको विजारोपण गरेको थियो । जुवा हारेका राजा युधिष्ठिरले त्यसपछि भाइहरू सहित बनवास र गुप्तवासमा जानुपरेको थियो । गुप्तबासका बेला राजा विराटको दरबारमा समेत राजा युधिष्ठिरले जुवाडे कंकका रूपमा बस्नु परेको थियो । 

जुवाका विषयमा हिन्दू धर्मशास्त्रमा धेरै ठाउँमा उल्लेख गरिएको छ । पासा वा चौसर भनिने खेलको उल्लेख ऋग्वेद तथा अथर्ववेदमा समेत हुन्छ । यी दुवै ग्रन्थको रचना इसापूर्व पाँच वर्षअघि भएको मानिन्छ । चौसर अथवा पासा खेलिएका प्रमाणहरू सिन्धुघाटीको सभ्यता मोहेन्जो दारो र हडप्पामा गरिएका उत्खननबाट समेत फेला परेका छन् । 

प्रकाशित :कार्तिक २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्