धन गुमाउनेहरू

- साप्ताहिक संवाददाता

कार्तिक २२, २०७५

खर्बपतिहरूलाई कहिल्यै आफू सडकमा आउँछु भन्ने लागेको हुँदैन । उनीहरू जसरी रातारात सडकबाट खर्बपति भए त्यसरी नै रातारात सडकमा आएका घटना पनि प्रशस्तै छन् । तिनै केही खर्बपतिहरूको चर्चा : 

ईकी बाटिष्टा

ईकी बाटिष्टालाई कुनै बेला ब्राजिलका सर्वाधिक धनाढ्य व्यक्ति मानिन्थ्यो । ब्राजिलको प्राकृतिक स्रोत साधनको व्यापार गरेर उनले अहिलेको अमेरिकी डलर मूल्यअनुसार ४० खर्ब ९५ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जोडेका थिए । जब ईकीको व्यापार धराशायी हुन थाल्यो, त्यो यसरी तल झर्‍यो कि उनको ३५ अर्ब रुपैयाँ बराबरको सम्पत्ति माटो भयो । ९९ प्रतिशत सम्पत्ति गुमाएका ईकीलाई स्थानीय पादरीले तिमीले प्रकृतिको दोहन गरेर कमाएको सम्पत्ति प्रकृतिमै मिल्छ त्यसैले तिमीले प्रायश्चित गर्नु भने । पादरीको सल्लाहअनुसार ईकीले १ करोड ७५ लाख ५० हजार बराबरको सुनको असर्फी समुद्रमा अर्पण गरेका थिए । 

एलिजावेथ होम्स

मेडिकल परीक्षकका रूपमा थेरानोक्सको ख्याति विश्वभर थियो । त्यही कम्पनीका सिइओ थिइन्— एलिजावेथ । मानिसहरूको रगत परीक्षण गर्दा प्रयोग गर्ने औजार कम गुणस्तरको भएको पत्ता लागेपछि उनको कम्पनी धराशायी हुने क्रम बढ्दै गयो । कुनै समय कम्पनीको कुल सम्पत्ति ५ खर्ब २६ अर्ब ५० करोड रुपैयाँ थियो जसका कारण एलिजावेथ फोब्सको धनाढ्यहरूको सूचीमा पनि माथिल्लो पंक्तिमै थिइन् । तिनै एलिजावेथ यो घटना पछि मुद्दा मामिला, क्षतिपूर्ति र नाकाबन्दीका कारण ठूलो धनराशि गुमाउँदै सडकमा पुगिन् ।

 

माइकल पियर्सन

भालियन्ट फर्मास्युटिकल कम्पनीको ख्याति ठूलै थियो । यो कम्पनीको सेयर सूचीकृत थियो । सन् २०१६ मा यो कम्पनीको आकाशमा कालो बादल मडारियो, जसका कारण कम्पनीको सेयर मुल्यमा ८० प्रतिशत गिरावट आयो । उच्च पदमा कार्यरत एक कर्मचारी अपराधको अभियोगमा फसेपछि यो कम्पनी धराशायी हुने क्रम अझ बढेको थियो । यो कम्पनीका सिइओ माइकल पियर्सनले मात्र २१ अर्ब २९ करोड ४० लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपरेको थियो । कुनै समय ड्युक युनिभर्सिटीलाई चन्दा दिने माइकलको यो कम्पनीले अरु कम्पनी ठूलो रकम तिर्नुपर्ने, क्षतिपूर्ति तिर्नुपर्ने र प्रतिस्पर्धा गर्न नसक्ने भएपछि धराशायी भएको थियो । 

ओउब्रे म्याकक्लिनडोन

चिसापिकी इनर्जी कम्पनीलाई सन् २००० पछिको सर्वाधिक सफल कम्पनी मानिन्थ्यो । यसका मालिक थिए— ओउब्रे म्याकक्लिनडोन । उनले सन् २००० देखि २०१० सम्ममा कम्पनीको स्वामित्व १ खर्ब १७ अर्ब रुपैयाँबाट १५ खर्ब २१ अर्ब रुपैयाँ पुर्‍याएका थिए । सन् २०११ को अनुमानअनुसार ओउब्रेको मात्र कुल सम्पत्ति १ खर्ब ४० अर्ब ४० करोड रुपैयाँ थियो । उनको कम्पनीको सेयर बजारमा अत्यधिक चुलिएकै बेला यसरी धराशायी भयो कि सेयरको मूल्यमा ९० प्रतिशत गिरावट आयो । यो पीडा सहन नसकेर फरारी कार तीव्र गतिमा चलाउने सौख राख्ने ओउब्रेले आफूले चलाएको कार दुर्घटनामा पारेर प्राण त्याग गरे । 

विजय माल्या

भारतका बिजय माल्याको सान, सौकत र व्यापारको साम्राज्यको चर्चा कुनै बेला विदेशमा सम्म हुन्थ्यो । भारतको मदिरा उद्योगमा माल्याको साम्राज्य नै थियो । उनको किंगफिसर बियर र सोही नामको एयरलाइन्सले उनको व्यापारलाई चुचुरोमै पुर्‍याएका थिए । व्यापार फस्टाइरहेका बेला उनीसँग १ खर्ब ७५ अर्ब ५० करोड रुपैयाँ थियो । रइस जिन्दगी बिताउने माल्याले विभिन्न बैंकसँग लिएको ऋण तिर्न सकेनन् जसका कारण उनी भागेर बेलायत पुगे र त्यतै बस्न थाले । 

प्रकाशित :कार्तिक २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्