तिहार र खुसी

- सुविन भट्टराई

कार्तिक २२, २०७५

बाहिर बत्तीको झिलिमिली छ, तर भित्र म निभेको छु ।’ यो पंक्ति मेरो उपन्यास ‘समर लभ’ को हो । लक्ष्मीपूजाको दिन प्रेम वियोगको पीडामा छट्पटाइरहेको एउटा पात्रको मनैदेखिको बिलौना हो यो । 

कुनै–कुनै तिहारमा म स्वयम्लाई पनि यो स्तरको नैराश्यताले नघेरेको होइन । बाहिर जतिसुकै उज्यालोको साम्राज्य फैलिएको होस्, भित्र पीडाको अन्धकारमा खुम्चिएर म नबसेको होइन । बाहिर घामले नुहाएर हाँसेको हुन्थ्यो सयपत्रीको थुँगो, भित्र मेरा आँखा ओसिलो अनि मन गहु्रंगो । 

धेरैजसो तिहारले घरको आँगन मात्र होइन, मनै उज्यालो र झलमल्ल बनाएर गयो अनि केही तिहार यस्ता पनि आए जसले ओठमा खेलिरहेको थोरै हाँसो पनि खोसेर लग्यो । मन उदास भयो भने न उसलाई दसैँको आभास हुन्छ, न तिहार खास लाग्छ । मनै खिन्न भयो भने जतिसुकै राम्रो चिज पनि बकवास लाग्छ । 

तिहार सयपत्री र मखमलीको थुँगोमा मात्र आएर हुँदैन । तिहार झकिझकाउ बजारमा मात्र आएर हुँदैन । तिहार सेलरोटी र अनरसाका गन्धले मात्र पनि ल्याउने होइन । तिहार देउसी र भैलीको लयमा मात्र खोजेर भेटिन्न । तिहार सप्तरंगी टीकाको लर्कोमा मात्र टाँसिने होइन । तिहार जुवा, तास र मदिराको खालमा त झन् कहाँ भेटिएला र ? तिहारको रौनक सबैभन्दा पहिले मानिसको मनमा आउनुपर्छ । तिहार आएको छनक मानिसको मनका बगैँचामा आशाको फुल फुलेर हुनुपर्छ । जब मानिसभित्र उत्साहको दियो बल्न थाल्छ, त्यही हो तिहार आएको प्रमाण । मानिसभित्रका चाहनाहरू जब मगमगाउन थाल्छन्, त्यही हो तिहारको वास्तविक गन्ध । 

मन खुसी भयो भने हर दिन तिहार, मन दुखी भए त न दसैँ, न तिहार, सब बेकार । हाम्रो जीवन त्यति धेरै लामो पनि छैन कि उदासीहरूलाई सर्पलाई दूध ख्वाएर पालेझैँ सधैँभरि पालेर बसिरहन सकौँ । हामी दु:खी हुने, बिलौना गर्ने, रिसाउने अनेक झिनामसिना बहाना खोज्छौँ । चाडवाड नै सही, खुसी हुने बहाना त भेटिएको छ, तैपनि मन खोलेर खुसी हुँदैनौँ । 

सबैका आ–आफ्ना दु:ख आ–आफ्ना नैराश्यता, आ–आफ्ना बिलौना । कतिपयलाई चाडवाड आएको होइन, चाडबाडले लखेटेझैं लाग्छ, काँधमा बढेको जिम्मेवारीको भारले जो थिचिएको छ । भाइटीका लगाउने भाइ परदेशमा छ, दिदीको दु:ख यता आफ्नो देशमा बेग्लै । देउसी खेल्न जाने ठूलो रहर छ तर साथी छैनन्, कसैका यस्ता बिलौना पनि त होलान् । 

कारणहरू अनगिन्ती छन्, दुखी हुनलाई । अनि कहाँबाट आओस् त वास्तविक तिहार ? कसरी हुन सकोस् त मानिसको मन गुलजार ? यसरी त क्यालेन्डरमा पल्टिएको कात्तिक महिनाको पृष्टमा रातो अंकको मुन्तिर लेखिएको लक्ष्मीपूजा वा गोवद्र्धन पूजा अथवा भाइटीकाभन्दा बढी केही हुँदैन तिहार । जो किन मनाउने ? भन्ने प्रश्नको जवाफमा पनि क्यालेन्डरले मना भनेर सूचना दिएको छ, त्यसैले भन्ने स्तरकोभन्दा माथ्लो कोटीको जवाफ आउँदैन ।

तिहार अरूले पनि मनाउँछन्, त्यसैले म पनि मनाउँछु भन्ने कारणले मनाउने होइन । तिहार मात्र होइन, कुनै पनि चाडबाड, उत्सव, पर्व, अरूको देखासिकीमा आत्मसात् गर्ने होइन । चाडवाड भनेको विशुद्ध आफ्नै लागि मनाउने हो । आफ्नै खुसीका लागि मनाइने हो । आफ्नै खुसीले मनाउने हो । कसैको पनि खुसी नचोरी मनाउने हो । भरसक आफूभित्रको खुसीलाई फैलिएर अरुसम्म पुर्‍याउने गरी मनाउने हो । 

एक बरस मे एक ही बार 

जगती होली की ज्वाला

एक बार ही लगती बाजी

जलती दीप की माला

दुनियावालो किन्तु किसि दिन

आ मदिरालयमे देखो

दिनको होली रात दिवाली

रोज मनाती मधुशाला ।

भारतीय कवि हरवंश राय बच्चनको ‘मधुशाला’ शीर्षकको कविताले भलै मधुशालामा हरदिन दिउँसो होली र राती दिपावली मनाउने कुरा गरेको होस्, हामीले समग्र जीवनलाई नै त्यस्तै मधुशाला बनाउन सक्छौँ, जहाँ हरदिन होली र हररात दीपावली होस् । चाडबाड होस् वा खुसी खोज्न क्यालेन्डर नै पल्टाइरहनु नपरोस् । 

 

प्रकाशित :कार्तिक २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्