क्यासिनो र ग्याम्बलिङका रमाइला तथ्य

- साप्ताहिक संवाददाता

कार्तिक २१, २०७५

 

क्यासिनो र ग्याम्बलिङ साथै जोडिने शब्द हुन् । यो संसारमा ग्याम्बलिङ अर्थात् करोडौं रकमको जुवा खेल्नेहरू प्रशस्तै छन् । यही क्यासिनो र ग्याम्बलिङको क्षेत्रमा विभिन्न रोचक परिदृश्य पनि देख्न तथा सुन्न पाइन्छ । 

 

जापानका ग्याम्बलरहरू कानुनमा भएका विभिन्न कमजोरी खोज्दै जुवा खेल्छन् । क्यासिनोका लागि चर्चित मकाउमा स्थानीय मानिसहरूलाई ग्याम्बलिङ खेल्न प्रतिबन्ध छ । अमेरिकाको लास भेगास क्यासिनोका लागि संसार प्रसिद्ध छ । त्यहाँको क्यासिनो चलाउन भारतीयहरूको समेत ठूलो भूमिका छ ।

 

फेडएक्सको उद्धार

हालको प्रचलित कम्पनी फेडएक्स कुनै बेला डुबिसकेको थियो । यद्यपि यसका संस्थापकले ग्याम्बलिङबाटै २७ हजार डलर कमाए र आफ्नो कम्पनीलाई डुब्नबाट जोगाए । सन् १९७३ मा यसका संस्थापक फ्रेडरिक स्मिथले लास भेगासको क्यासिनोमा उक्त जुवा खेलेका थिए । उनी आफूसँग बचेको ५ हजार डलर लिएर क्यासिनो पुगेका थिए र जितेको पैसाले कम्पनीको ऋण तिरेका थिए । 

 

क्यासिनोमा जेल

ग्याम्बलिङ एउटा ठूलै उद्योगसमेत मानिन्छ । यसै कारण कुनै बेला अमेरिकाको नेभाडामा क्यासिनोसहितको जेल निर्माण गरिएको थियो । सन् १९३२ देखि १९६७ सम्म चलेको उक्त क्यासिनो ३५ वर्षपश्चात् बन्द गरियो । 

 

मोनाकोमा क्यासिनो, तर खेल्दैनन् मोनाकोबासी

मोनाकोको मोन्टे कार्लो क्यासिनोलाई ग्याम्बलरहरूको स्वर्ग मानिन्छ । मोनाकोका नागरिकहरूले भने उक्त क्यासिनोमा खेल्न पाउँदैनन् । राजकुमार क्यारोलिनले उक्त प्रतिबन्ध लगाएका हुन् । क्यासिनोको आय विदेशीहरूबाट मात्र उठाउनु पर्छ भन्ने उनको मान्यता थियो । त्यसकै परिणामस्वरूप हाल मोनाकोका नागरिकले आयकर तिर्नु पर्दैैन । 

 

स्यान्डविचको आविष्कार क्यासिनोमा

हाल प्रचलित स्यान्डविच वास्तवमा क्यासिनोमै आविष्कार भएको थियो । सन् १७६५ ताका जोन मोन्टागु नामका एक प्रख्यात ग्याम्बलर थिए । उनी खाना खानकै लागि ग्याम्बलिङ टेबल छोड्न चाहँदैनथे । त्यसैले उनले आफ्ना कामदारलाई स्लाइस ब्रेडको बीचमा केही मासुजन्य परिकार राखेर ल्याउन भने । त्यसपछि त्यस्तो परिकार तयार पनि पारियो र जोनले जुवा खेल्न पनि पाए । त्यसैका आधारमा आजको स्यान्डविचको जन्म भएको थियो । 

 

सबैभन्दा सानो क्यासिनो

संसारकै सबैभन्दा सानो क्यासिनोको कुनै ठेगाना भने छैन । लन्डनमा भएको ग्रसभेनर क्यासिनोलाई सबैभन्दा सानो क्यासिनो मानिन्छ र यसमा गेमिङ टेबल, डिलर, बार र टीभी राखिएको छ । यो एक प्रकारको मोबाइल क्यासिनो हो र यसमा खेल्दै सहर घुम्न सकिन्छ । यसैबाट अर्को क्यासिनोमा बिना शुल्क जान सकिन्छ । 

 

स्लट मेसिनमा फलफूलको चित्र

गेम खेलिने स्लट मेसिनको ह्विलमा किन फलफूलको चित्र हुन्छ ? यसका पछाडि पनि रोचक तथ्य छ । सन् १८८० तिर ती स्लट मेसिनबाट फलफूलको सुगन्धसहितका चुइगम निस्कन्थे । यसबाट विभिन्न ड्रिंक्स र सिगार समेत निकाल्न सकिन्थ्यो । पछि मात्र यसबाट क्वाइन निकाल्न थालिएको हो । 

 

पहिलो स्लट मेसिन क्यासिनोमा थिएन

सन् १८९५ मा मेकानिक चाल्र्स फेले पहिलो स्लट मेसिन आविष्कार गरेपछि त्यसलाई क्यासिनोमा खेलिएको थिएन । उनको ‘लिबर्टी बेल’ मेसिन सान फ्रान्सिस्कोको अटो सपमा राखिएको थियो । कार मर्मत गराउन आउने ग्राहकहरू त्यसमा रमाउँथे । यो मेसिन निकै लोकप्रिय हुन थालेपछि क्यासिनोहरूले ग्याम्बलरहरूका लागि यसको प्रयोग गर्न थालेका हुन् ।

 

स्लट मेसिन बन्नुभन्दा पहिले विभिन्न प्रकारका ग्याम्बलिङ मेसिनहरू बार तथा पबहरूमा देखिन्थे । यस्ता मेसिनमा पैसा तिर्ने कुनै मेकानिज्म नभएकाले बार टेन्डरहरूले सिगार र बियर जस्ता पुरस्कार खेलाडीलाई दिन्थे । 

 

ग्याम्बलिङको राजधानी होइन लास भेगास

धेरैले अमेरिकाको लास भेगासलाई ग्याम्बलिङको राजधानी मान्छन्, तर व्यवहारमा मकाउ वास्तविक राजधानी हो । सन् २०१२ सम्म लास भेगासको तुलनामा मकाउको क्यासिनोको आय ५ गुणा बढी थियो । मकाउमा ७५ प्रतिशत आय जुवाबाटै उठ्छ । 

 

लास भेगासको पहिलो क्यासिनो महिलाको

लास भेगासको पहिलो क्यासिनो मेमे स्टकर नामक महिलाको नाममा खुलेको थियो । उनी स्थानीय अखबारका सामाजिक पेजमा लेख लेख्ने प्रतिष्ठित महिला थिइन् । स्टकरका श्रीमान्सँग जोडिन नचाहेकाले उनले आफ्नै नाममा क्यासिनो खोलेकी थिइन् । 

 

जापानमा क्यासिनो खेल्न प्रतिबन्ध

जापानमा कानुनी रुपमा क्यासिनो खेल्न प्रतिबन्ध छ, तै पनि जापानीहरू विभिन्न नाममा क्यासिनो जस्तै खेल खेलिरहेका हुन्छन् । जापानमा ‘पाचिन्को पार्लर’ स्लट मेसिन जस्तै एक प्रकारको गेम हो । यसमा प्रयोग गरिने सिल्भर बललाई अल्कोहल, टोयज तथा अन्य पुरस्कार प्राप्त गर्न प्रयोग गरिन्छ । 

 

क्यासिनोमा एटमिक ककटेल

सन् १९५१ पश्चात अमेरिकाको डिपार्टमेन्ट अफ इनर्जीले लास भेगास भन्दा ६५ माइल टाढा एटम बम परीक्षण गरेको थियो । उक्त दृश्य लास भेगासका क्यासिनोहरूबाट समेत देखिएको थियो र रात नै दिनमा परिवर्तन भएको थियो भने त्यहाँको वाणिज्य विभागले यसको खुसीयालीमा एटम बम पार्टीको आयोजित गर्न आह्वान समेत गरेको थियो । उक्त आह्वानअनुरूप लासभेगासका क्यासिनो बारहरूमा ‘एटमिक ककटेल’ को आयोजना गरिएको थियो । त्यस क्रममा एक क्यासिनोमा त ‘मिस एटमिक इनर्जी’ ब्युटी प्याजेन्टसमेत सम्पन्न गरिएको थियो ।

 

 चीनमा आविष्कार भएको भए पनि हामीले आज प्रयोग गर्ने कार्ड डेकको डिजाइन फ्रान्समा गरिएको थियो । 

 

 अमेरिकाका पूर्व राष्ट्रपति रिचार्ड निक्सनले पोकरको सेलर वापत कमाएको पैसालाई सन् १९४६ को निर्वाचन अभियानमा प्रयोग गरेका थिए । 

 लास भेगासका ८७ प्रतिशत बासिन्दा ग्याम्बलिङसँग सम्बन्धित कार्य गर्छन् । 

 

 अमेरिकाका ३८ प्रतिशत बासिन्दाले ग्याम्बलिङका लागि लास भेगासको भ्रमण गरेका छन् । 

 ल्याक ज्याक अनलाइन र क्यासिनोहरूको सर्वाधिक लोकप्रिय गेमका रूपमा प्रचलित छ । 

 

 क्यासिनोहरूमा धेरै प्रकारका भिडियो पोकर देखिने भए पनि यी सबै क्लासिक गेममा आधारित छन् । 

 अठारौ शताब्दीतिर गैरकानुनी ग्याम्बलरहरूले प्रहरी गिरफ्तारीबाट जोगिन क्र्याप डाइस खाएर निल्थे । 

 

 सन् ७० को दशकमा क्यासिनो जाने मानिसहरूको औसत उमेर ३५ देखि ५५ वर्ष थियो । हाल यो उमेर बढेर १७ देखि ७० वर्ष पुगेको छ । 

 क्यासिनोहरूमा सेलफोन प्रयोग गर्न प्रतिबन्ध छ । यद्यपि अनलाइन क्यासिनोमा भने सेलफोनको प्रयोग गर्न पाइन्छ । 

 

 संसारको सबैभन्दा ठूलो क्यासिनो अमेरिकाको कनेक्टिकटमा छ र यसलाई फक्सउड क्यासिनो भनिन्छ । 

 ब्ल्याक ज्याक कसले आविष्कार गरेको हो भन्ने विषयमा इटालियन तथा फ्रेन्चहरूबीच अझै पनि विवाद छ । 

 

 क्यासिनोको सबैभन्दा पुरानो गेम ‘रूलेट’ हो । 

 लास भेगासको म्याककारन इन्टरनेसनल एयरपोर्ट संसारकै आठौं व्यस्त एयरपोर्ट हो । त्यहाँ दैनिक ८ सय ५० उडान हुन्छ र २५ लाख मानिसले मासिक रूपमा लासभेगासको भ्रमण गर्छन् । ती मध्ये अधिकांश ग्याम्बलिङकै लागि त्यहाँ पुगेका हुन्छन् । 

 

 थुप्रै सार्वजनिक आयोजनाहरूमा ग्याम्बलिङ र चिट्ठाको पैसा प्रयोग गरिन्छ । चीनको ग्रेट वाल निर्माणमा समेत यसको प्रयोग गरिएको बताइन्छ । 

 अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका विद्यार्थीहरूले सन् १९७९ देखि २००० सम्म ब्ल्याक ज्याक टिममा सहभागी भएर यसलाई कानुनी रुपमा योग्य र काउन्टिङ टेक्निकको निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

 

 लास भेगासमा हाल सम्म सबैभन्दा बढी स्लट एक २५ वर्षीय इन्जिनियरले जितेका छन् । उनले मेगाबक्स स्लट मेसिनबाट ३ करोड ९७ लाख १० हजार ८ सय २६ डलर हात पारेका थिए । 

 जिम्बाब्बेका तत्कालीन राष्ट्रपति रोबर्ट मुगाबेले सन् २००० मा २ हजार ६ सय डलरको लट्री जितेका थिए । उनी लट्री जित्ने एक मात्र आधुनिक राष्ट्र प्रमुख हुन् । 

प्रकाशित :कार्तिक २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्