किन खाइन्छ मिठाई ?

- साप्ताहिक संवाददाता

कार्तिक २०, २०७५

चाडपर्व विशेष गरी तिहारमा गुलियो आधारित मिठाई तथा रोटी बढी खाइन्छ । अघिपछिको तुलनामा तिहारका बेला गुलियो खाइनुका पछाडि वैज्ञानिक कारण समेत छ । जाडोको ठीक अघि पर्ने तिहारमा खाइने गुलियोले शरीरलाई आवश्यक ऊर्जा सञ्चय गर्न सघाउँछ । त्यसबाहेक मिठाई शरीरको रोग प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि ल्याउँछ । नेपाल तथा भारतमा तिहारकै बेला पारेर मिठाईजन्य गुलियो पदार्थ बढी प्रयोग भए पनि प्राय: जाडो भैरहने युरोपेली देशहरूमा बाह्रै महिना गुलिया चकलेटको उच्च माग रहन्छ । 

गुलियोको इतिहास 

इशापूर्व ४ सय देखि ६ सय वर्ष अघिसम्म मानिसका लागि गुलियो खानाको स्रोत भनेकै प्राकृतिक रूपमा प्राप्त गुलिया फलफूल अथवा मह नै मानिन्थ्यो । पछि भारतीय उपमहाद्वीपमा उखुको गुण पत्ता लागेपछि उखु र उखुको रस नै गुलियोको स्रोत हुन पुग्यो । भारत हुँदै इरान पुगेको उखुले इरानमा व्यापक रूपमा परिष्कृत हुने मौका पायो । यही क्रममा पर्सियन खाद्यविज्ञहरूले गुँड तथा सख्खर (चिनी) बनाउने प्रविधिको विकास गरे, जुन बिस्तारै संसारभरि फैलियो । उखुको रसबाट विभिन्न थरिका मिठाई बनाउने क्रम चलेपछि त्यसले संसारभर नै लोकप्रियता पाउन थाल्यो । 

यसैगरी झन्डै ३ हजार वर्षअघि मध्य अमेरिका तथा मेक्सिकोमा कोका प्रयोग गरिन्थ्यो । त्यतिबेला मेक्सीकोमा रहेका एज्टेकहरू कोकाको धुलोलाई पानीमा उमालेर पिउँथे । १ हजार ५ सय वर्षअघि एज्टेकहरूले गुलियोको स्वाद पाएपछि त्यही कोकाको रसमा गुलियो हालेर पिउन थाले । त्यसरी पिउन बनाइएको रस कुनै एकदिन भाँडोमै जमेपछि उनीहरूले चकलेटको स्वाद पत्ता लगाए । एज्टेकहरूको अज्ञानतावश पत्ता लागेको त्यही गुलियो पदार्थ स्पेनिसहरूले अमेरिका पुगेपछि चाख्न पाए । त्यसपछि स्पेनिसहरूले १६औं शताब्दीको प्रारम्भमा कोकाको धुलो तथा गुलियो मिश्रित त्यही खाद्यपदार्थलाई युरोप पुर्‍याए । स्पेनिस उपनिवेशवादी सेनाका कमाण्डर कोर्टेजमार्फत स्पेन पुगेको त्यही खाद्यपदार्थ युरोपमा चकलेटको नाममा लोकप्रिय हुन पुग्यो । 

यस्तो चकलेट तथा चकलेट ड्रिङ्क बिक्री गर्ने पहिलो पसल बेलायतको लन्डनमा सन् १६५७ मा खुलेको थियो । त्यसपछि त्यस्तो चकलेट अनेक थरीका परिकारमा परिष्कृत हुँदै युरोपभरि फैलियो । अहिले हामीले प्रयोग गर्ने अनेक थरीका चकलेटहरूमा मुख्य अवयवका रूपमा कोका प्रयोग हुन्छ । अहिले उखुबाट बन्ने चिनी, कोकाबाट बन्ने चकलेट तथा दूध र दुग्धजन्य पदार्थ मिश्रण गरेर अनेक थरिका, गुलिया क्यान्डी, चकलेट, टफी तथा विभिन्न किसिमका मिठाई तयार पारिन्छ ।

प्रकाशित :कार्तिक २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्