अब ग्रिन पटाका

- साप्ताहिक संवाददाता

कार्तिक २०, २०७५

पटाका, जब दीपावली नजिकिन्छ, यो शब्द निकै सुनिन्छ । विस्फोटक भएकाले विभिन्न हानि–नोक्सानी हुने खतरालाई ध्यानमा राखी पटाका पट्काउन प्रतिबन्धसमेत लगाइने गरेको छ । भारतमा हालै त्यहाँको सर्वोच्च अदालतले एउटा फैसला गरेको छ, जसअनुसार तिहारमा रातको ८ देखि १० बजेसम्म मात्र पटाका पड्काउन सकिनेछ । त्यसैगरी अदालतले ग्रिन पटाका पड्काउन समेत सल्लाह दिएको छ । आखिर के हो त ग्रिन पटाका ? यसले किन प्रदूषण फैलाउँदैन ? यसका बारेमा अहिले चर्चा प्रारम्भ भएको छ । 

के हो ग्रिन पटाका ?

कुनै पनि पटाकालाई पोलुसन फ्री अर्थात् प्रदूषणरहित बनाउन सकिँदैन । यद्यपि सीएसआईआर अर्थात् काउन्सिल अफ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्चका वैज्ञानिकहरूले पटाका निर्माणका लागि एउटा फर्मुला तयार गरेका छन्, जसका आधारमा पटाकालाई ग्रिन पटाकाको सूचीमा राख्न सकिन्छ । ती पटाकामा धुलो सोस्ने क्षमता हुन्छ । त्यसैगरी ती पटाकाबाट हुने कार्बन उत्सर्जनको तह पनि कम हुन्छ । ती पटाकाबाट निस्कने पानीको अणुले धुलो र खतरनाक तत्वहरूलाई सोस्ने भएकाले प्रदूषण नियन्त्रणका लागि महत्वपूर्ण मानिन्छ । 

ई–पटाकाको प्रोटोटाइप तयार

भारतमा ई–क्र्याकर अर्थात इलेक्ट्रोनिक पटाकाको प्रोटोटाइप पनि तयार भएको छ । सीएसआईआरका वैज्ञानिकहरूले पटाका बनाउने उक्त फर्मुला भारतको पेट्रोलियम एन्ड एक्सप्लोसिभ्स सेफ्टी अर्गनाइजेनसन अर्थात पेसोसमक्ष प्रस्तुत गरेको छ । पेसोले त्यो फर्मुलालाई स्वीकृति प्रदान गरेपश्चात तिहारमा यस्ता पटाका पनि पड्काउन सकिने सम्भावना छ । 

ग्रिन पटाकाबाट ३६ प्रतिशत प्रदूषण कम

ग्रिन पटाकाबाट वातावरणका लागि खतरनाक नाइट्रस अक्साइड तथा सल्फर डाइअक्साइड जस्ता स–साना कणको उत्पादनमा ३० देखि ३५ प्रतिशत कमी ल्याउन सकिन्छ । 

पटाका निर्माणमा भारत दोस्रो स्थानमा

संसारमा सर्वाधिक पटाका निर्माण हुने देश चीन हो । दोस्रो स्थानमा भारत आउँछ । भारतको शिवकाशी पटाका उत्पादनको गढ मानिन्छ । भारतमा मुगल साम्राज्यको समय देखि नै पटाका पड्काउने चलन थियो । त्यतिबेला आतिशवाजी र पटाकाको प्रयोग हुन्थ्यो । त्यसपछि मात्र भारतमा गन पाउडर उपलब्ध भएको थियो । त्यसैले यसको प्रयोग पनि पछि भएको हो । 

स्वास्थ्यका लागि हानिकारक पटाका

प्रदूषण फैलाउन पटाकाको महत्वपूर्ण भूमिका हुन्छ । एकै समयमा धेरै मानिसले पटाका पड्काउने भएकाले पनि यस्तो भएको हो । यसबाट निस्कने धूवाँ सीधै हाम्रो शरीरमा जान्छ, जसका कारण दम तथा निमोनियाँ जस्ता फोक्सोसँग सम्बन्धित रोग बढ्नुका साथै श्वासप्रश्वासमा समस्या सिर्जना हुन सक्छ । 

तिहारको रौनक पटाका 

तिहारमा पटाका पड्काउँदा रौनक थपिन्छ । राति विभिन्न स्थानमा पटाका पड्काएर खासगरी बालबालिकाहरू रमाइरहेको पाइन्छ । यद्यपि यसमा विशेष सावधानी अपनाउनुपर्ने भएकाले कतिपय अवस्थामा पटाका पड्काउन प्रतिबन्ध लगाइएको हुन्छ । 

पटाका तिहारको मौसममा धेरै पड्काइने विस्फोटक पदार्थ हो । विभिन्न प्रतिबन्धका बाबजुद पटाकाको निर्माण एवं व्यापार बढिरहेको छ । नेपालमा विशेष गरी भारत र चीनबाट आयात गरिएका पटाका प्रयोग गरिन्छ । 

पटाकामा बारुद र अन्य विभिन्न विस्फोटक पदार्थ प्रयोग गरिन्छ । हवाई पटाका पड्काएर आकाशमा छोड्दा जताततै उज्यालो प्रकाश छरिन्छ । यसरी पटाकामा उज्यालो अर्थात प्रकाश राख्न विशेष प्रकारको रसायन प्रयोग गरिन्छ । रसायनअनुसार यसको रंग पनि फरक–फरक हुन्छ । 

नेपालमा विशेष गरी भारतमा बनेका पटाका आउँछन् । भारतमा पटाका निर्माणका लागि धेरै स्थानमा कारखाना स्थापना भएका छन् । ती कारखानाले सरकारले दिएको निर्देशन पालना गरेर मात्र पटाका निर्माण गर्न पाउँछन् । निर्देशन अनुसार जहाँ पटाका बनाइन्छ, त्यहाँ विद्युत्को सुविधा उपलब्ध गराइँदैन । विद्युत् उपलब्ध भयो भने सर्ट सर्किट भएर आगलागी हुने डर हुन्छ । पटाका बनाउने कारखानाको केही दूरीसम्म मात्र विद्युत् सेवा उपलब्ध गराइन्छ । 

पटाका निर्माणका लागि दुवैतर्फ खुला भएको टहरो बनाइएको हुन्छ । पटाका बनाउने स्थानमा प्रशस्तै उज्यालो होस् भन्ने उद्देश्यले यस प्रकारको टहरा बनाइएको हो । कुनै प्रकारले दुर्घटना भयो भने पनि तुरुन्तै भित्रका मानिसलाई बाहिर निकाल्न सकिन्छ भन्ने उद्देश्यले पनि यस प्रकारका टहरा निर्माण गरिन्छ । 

पटाका निर्माण धेरै चरणमा पूरा हुन्छ । एकै पटक बनाउँदा कुनै कारणले दुर्घटना भयो भने ठूलो नोक्सान हुन्छ । त्यसैले सकेसम्म कम नोक्सान होस् भन्ने उद्देश्यले धेरै चरणमा यसको निर्माण सम्पन्न गरिन्छ । 

भारतको शिवकाशीमा ठूलो मात्रामा पटाका निर्माण गरिन्छ । त्यहाँ यसका लागि अनेकांै कारखाना छन् । यसको पनि खास कारण छ । पटाका बनाउन सुख्खा मौसम अनुकूल मानिन्छ । शिवकाशीको मौसम भारतका अन्य स्थान भन्दा फरक छ । यहाँ तिहारको मौसम भन्दा पहिले खासै पानी पर्दैन । अन्य स्थानमा पानी पर्दा पनि यहाँ सुख्खा नै हुन्छ । तिहारको समयमा बल्ल उत्तर पुर्वी मौसम शिवकाशी पुग्छ । त्यो अवस्थामा यहाँबाट देशका अन्य भागमा पटाका पुर्‍याइ सकिएको हुन्छ । 

दुई प्रकारका पटाका

पटाका साउन्ड क्र्याकर र एरियल क्र्याकर गरी दुई प्रकारका हुन्छन् । धमाकेदार आवाज आउने पटाकालाई साउन्ड क्र्याकर भनिन्छ । आवाज आउने पटाका निर्माण गर्न पोटासियम नाइट्रेट, एल्मुनियम पाउडर तथा सल्फर प्रयोग गरिन्छ । त्यसबाहेक पटाकाका लागि कागज र अन्य सामग्री समेत प्रयोग गर्नुपर्छ ।

 

माथि हावामा गएर पड्किने पटाकालाई एरियल क्र्याकर भनिन्छ । रकेट तथा अन्य विभिन्न प्रकारका स्काई सटलाई एरियल क्र्याकर भन्न सकिन्छ । यसमा गन पाउडर राखिन्छ । यही पाउडरका कारण यसमा झड्का लाग्छ र पटाका हावामा उड्छ । 

रकेट तथा स्काई सटमा गन पाउडरको मात्रा यसको आकारका आधारमा तय गरिन्छ । रकेटको लम्बाईका आधारमा गन पाउडर राखिन्छ । ६ इन्चको रकेटका लागि २ ग्रामसम्म गन पाउडर आवश्यक हुन्छ । २ ग्राम गन पाउडरलाई सल्फरमा मिसाएर राखिन्छ । उक्त मिश्रणलाई ठोस बनाएर रकेटमा भरिन्छ । यसमा एउटा सुतली राखिन्छ, जसमा आगो लगाएर सल्काउन सकिन्छ । सल्फरमा मिसाइएको गन पाउडरमा आगोले भेट्दा नै झट्का लाग्छ र त्यसपछि रकेट हावामा उड्छ । 

पटाकाको धुवाँमा लगभग ७५ प्रतिशत पोटासियम नाइट्रेट, १० प्रतिशत सल्फर तथा १५ प्रतिशत कार्बन हुन्छ । यसमा कपर, जिंक नाइट्रेट, नाइट्रेट, म्याग्नेसियम, सोडियम, चारकोल, सल्फर, आल्मुनियम परकोलेट, बेरियम नाइट्रेट जस्ता रसायनसमेत प्रयोग गरिन्छ ।

प्रकाशित :कार्तिक २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्