गार्डेनिङमा विविधता

- लक्ष्मी भडारी थापा

कार्तिक १९, २०७५

 

घर बनाएर मात्र हुँदैन, त्यसमा थप आकर्षण र मनमोहक दृश्यका लागि सजावट एवं बगैंचाले ठूलो भूमिका निर्वाह गर्छन् । हिजोआज सानो घर बनाउने, घरमा कम लगानी गर्ने तर भित्री–बाहिरी सजावट र बगैंचा–फूलबारीमा बढी पैसा खर्चिने ट्ेरन्ड बढ्दो छ । तपाई बगैंचाप्रेमी हुनुहुन्छ तर तपाईंसँग पर्याप्त स्थान छैन भने पनि अब चिन्ता लिनु पर्दैन ? सम्बन्धित विशेषज्ञहरूको सल्लाह–सुझाव र सहयोगमा टेरेस, कर्नर तथा सिंढी मात्र होइन, भर्‍याङका रेलिङमा समेत गार्डेनिङ गर्न सकिन्छ । त्यसका लागि आफूसँग दृढ इच्छाशक्ति र प्रकृतिप्रेमी स्वाभाव अर्थात् प्रकृतिलाई माया र स्याहार गर्ने बानी मात्र आवश्यक छ । 

सानो स्थानमा गार्डेनिङ 

सानो स्थानमा चिटिक्कको बगैंचा बनाउन धेरै ठूला नहुने, १५ फिटभन्दा अग्ला नहुने, जाडोमा पात झर्ने फूल छनौट गर्नुपर्छ । सानो ठाउँमा विविधता ल्याउन होचा फूलका बोट जस्तै एजेलिया, क्यामेलिया, एक–दुई बोट गुलाब, हेभिस्कस, हेजका साथै सानो स्थानमा कार्पेट दुबो रोप्नुपर्छ । त्यसमा अलिकति सिजनल फ्लावर रोप्दा बगैंचा मुस्कुराउँछ । सबै बिरुवा मिलाइसकेपछि जमिन सम्याएर पानी नजम्ने गरी पानीको निकास तयार गर्नुपर्छ । जमिनलाई सुरुमै आकार दिनुपर्छ । माउन्टेन स्टायलको हो कि सम्म परेको बनाउने हो, समयमै निर्णय गर्नुपर्छ । त्यसपछि बगैंचामा रक बोल्डर (ढुंगा) राख्दा नेचुरलजस्तो देखिन्छ । बिरुवा रोप्दा अग्ला हुने बिरुवा बगैंचाको किनारमा तथा होचा बिरुवा फ्रन्टसाइड वा क्लियर भ्यूमा रोप्नुपर्छ । दूबो र फूल रोप्ने भागलाई हेजले छुट्याउनुपर्छ । सिजनल फूललाई समूह बनाएर रोप्नुपर्छ जसले गर्दा ती फूलले आँखालाई आनन्द आउने दृश्य प्रदान गर्न सक्छन् । प्राकृतिक रूपमा बिरुवा बढ्दै जाँदा जाडोमा हेभी छाँटकाँट गर्नुपर्छ भने वर्षातमा भने कम छाँटकाट गरी स–साना हाँगाबिंगा निकाले पुग्छ । वर्षातमा बढी कीरा–फट्यांग्रा आउने हुँदा सुरुमै आफैंले हटाउने, यदि कीरा–फट्यांग्रा बढ्दै गए भने मानिस तथा मित्रजीवलाई असर नपुर्‍याउने खालका औषधी छर्कनुपर्छ ।

(काठमाडांै नर्सरी, कपनका प्रबन्ध निर्देशक कुमार कसजू सँगको कुराकानीमा आधारित)

 

टेरेस गार्डेन

घर–कम्पाउन्डमा प्रशस्त खाली ठाउँ नभएको खण्डमा मानिसहरू प्राय: टेरेस गार्डेनिङको विकल्प रोज्छन् । भुइँमा भन्दा कौसीमा प्रशस्त घामको किरण पर्ने भएकाले टेरेस गार्डेनमा निश्चित बोट–बिरुवा अझ मौलाउँछन् जसलाई घामको किरण आवश्यक हुन्छ । यद्यपि टेटेस गार्डेनिङ गर्दा मलजलमा भने विशेष ध्यान पुर्‍याउनुपर्छ । विदेशतिर सय तलामाथि पनि विशाल गार्डेनिङ गरिएको पाइन्छ । हामीकहाँ भने यो ट्रेन्ड फस्टाउन थालेको धेरै भएको छैन । टेरेस गार्डेनमा फुल मात्र होइन, तरकारी, साना खालका फलका वृक्षलगायत क्याक्टस, फुल्ने–नफुल्ने दुवै प्रजातिका बिरुवा आदि रोप्न सकिन्छ । अहिले हामीले टेकुको अम्बे कम्प्लेक्समा तयार पारिरहेको टेरेस गार्डेन उत्पादनभन्दा पनि इको–फ्रेन्ड्ली सहर निर्माणमा लागि हो । टेरेस गार्डेनका अनेकौं फाइदा छन् । ठूलो जमिन नचाहिने, थोरै स्थानमा धेरै बिरुवा रोप्न सकिने, जस्तोसुकै प्रकृतिका बिरुवाका लागि उपयुक्त र सुरक्षित गार्डेनिङ यसका विशेषता हुन् । टेरेस गार्डेनका लागि बोरा, दही खाइसकेपछिका स–साना कत्तारी वा भाँडा, दूधको प्लास्टिक, माछा फ्रिजिङ गर्ने फमवाला बक्स, बोरा अथवा मुख काटिएका मिनरल वाटर वा कोक–फ्यान्टाका बोतल आदि प्रयोग गर्न सकिन्छ । सीधै टेरेसको भुइँमा माटो राखेर त्यसमा मलजल गर्दा एक त छत रसाउने समस्या हुन्छ भने अर्को कुरा बिरुवा पनि उत्ति फस्टाउँदैन । जमिनमा रोपिएका बिरुवाको तुलनामा यस्ता बिरुवालाई विशेष हेरचाह आवश्यक हुन्छ ।

(पुष्पविज्ञ रेखा महर्जनसँगको कुराकानीमा आधारित)

इनडोर तथा आउटडोर गार्डेनिङ

इनडोर गार्डेनिङ नभए पनि घरभित्र इनडोर प्लान्टहरू राख्न सकिन्छ । जति पनि ग्राहक इनडोर प्लान्ट किन्न आउँछन् उनीहरू सधैंका लागि अर्थात् बिरुवा नमरुन्जेलसम्मका लागि राख्न खोज्छन् जुन राम्रो होइन । त्यही स्थानका लागि प्लान्ट एक्सचेन्ज गरिरहनुपर्छ । एउटा इनडोर प्लान्ट धेरैमा १० दिनसम्म एक ठाउँमा राख्न सकिन्छ, कारण के भन्दा बिरुवालाइ पनि हावा, अक्सिजन चाहिन्छ । धेरैजसो मानिस विरुवा मर्न थाले पनि, पात पहेंलिएपछि मात्र सजग हुन्छन्, त्यो विल्कुलै ठीक होइन । हप्ता–दस दिनसम्म कोठाभित्र राखिएको प्लान्ट फ्रेस नै देखिए पनि घाम नलाग्ने स्थानमा बाहिर ल्याएर राख्नुपर्छ र त्यसको ठाउँमा अर्को बिरुवा रिप्लेस गर्नुपर्छ । यति गरेको खण्डमा कुनै पनि इनडोर प्लान्ट छिटै नष्ट भएर जाँदैन । इनडोर प्लान्ट छान्दा काँडेदार बिरुवा सकेसम्म छान्नु हँुदैन, किनभने त्यस्ता बिरुवा बालबालिकाका लागि जोखिमपूर्ण हुन सक्छन् । आउटडोर गार्डेनिङ गर्दा सबैभन्दा बढी मलजलमा ध्यान पुर्‍याउनुपर्छ । यसमा ९० प्रतिशत काम पानीले गर्छ । स्थान हेरेर आउटडोर प्लान्टेसन गर्नुपर्छ । घाम लाग्ने र नलाग्ने स्थानका लागि फरक प्रकृतिका बिरुवा छनौट गर्नुपर्छ । सेपिलो स्थानमा क्लोरोफाइट (गोडेदुबो), एजेलिया, केमेलिया जस्ता बिरुवा रोप्नु उपयुक्त हुन्छ भने पारिलो ठाउँमा गुलाब, बेगमबेली, धूपी आदि रोप्न सकिन्छ । आउटडोर गार्डेनको स्याहारमा समेत पानीकै प्रमुख भूमिका हुन्छ । दैनिक पानी र मासिक रूपमा मलजल गरेको खण्डमा बगैंचा सदावाहार सुन्दर देखिन्छ । रोग लाग्ने खालका बकुल्ला, सिमी, बोडी आदिका बिरुवाले बढी रोग निम्त्याउँछन् । फ्लावर गार्डेनमा यस्ता बिरुवा निषेध गरेकै राम्रो हुन्छ । बोटबिरुवालाई धूलोबाट जोगाउनुपर्छ । घरमा गार्डेन बनाइसकेपछि कुचोले बढारेको धूलो फुलको पातमा बस्ने हुँदा पानी हाल्ने मात्र होइन, दैनिक बोटबिरुवालाई पखाल्ने काम गर्नुपर्छ, जसले बिरुवालाई सदा तन्दुरुस्त राख्छ ।

(पीपल नर्सरीका रोशन श्रेष्ठसँगको कुराकानीमा आधारित) 

रेलिङ गार्डेनिङ

रेलिङ गार्डेनका लागि फरक–फरक रंगका बेगमबेली, ज्यास्मिन, बेगोनिया, भिनिस्टर, प्रेमलता, घडीफूल आदि उपयुक्त हुन्छन् । रेलिङ गार्डेनिङ गर्दा विशेष गरी बिरुवा नहुर्किएसम्म अर्थात् रोपेको एक वर्षसम्म नियमित हेरचाह गर्नुपर्छ । यसका लागि सपोर्टिभ टुल्सका रूपमा डोरी, तार आदि प्रयोग गर्नुपर्छ । रोपेको एक वर्षसम्म तीन–तीन महिनामा मल र नियमित पानी हालिरहनुपर्छ । रेलिङमा लहरे प्रकृतिका बिरुवा रोप्नुपर्छ । यस्तो रेस्लिङ आउटडोर हुनुपर्छ । वाल, गेट तथा गार्डेनमा भएका रेलिङहरूमा यस्तो गार्डेनिङ गरिन्छ । बिरुवामा रोग लागेको खण्डमा औषधी छर्नुपर्छ । रोपेको एक वर्षपछि यो हुर्किन्छ, त्यसपछि कहाँ–कहाँ पठाउने हो त्यसलाई कटिङ गरेर कुन एरियामा राख्ने, कस्तो आकार दिने आफैंले तय गर्नुपर्छ ।

(एस आर नर्सरी, धुम्बाराहीका सुनिल तामाङसँगको कुराकानीमा आधारित) 

ह्यांगिङ, विन्डोबक्सेस तथा भर्‍याङ गार्डेनिङ

वाल ह्यांगिङ र भर्‍याङ गार्डेनिङमा सेमी इन्डोर प्लान्ट प्रयोग हुन्छन् । यसका लागि घामको किरण कम चाहिने, लामो आयु भएका बिरुवा उपयुक्त हुन्छन्, जसमा एस्पिडस्टर, क्रिभिया, गु्रमलेड, ड्ेरसिना, नलिना, सेफलेरिया, टुफिड्यान्टर, फिल्रोडयान्ड्रोन, सर्न आदि प्रमुख छन् । यसका लागि भित्री कोठा हो भने घामको किरण कत्तिको आउँछ अथवा लाइट कत्तिको आउँछ, ध्यान पुर्‍याउनुपर्छ । भित्री कोठामा झ्यालहरू खुल्ला भएका र हावा पास हुने ठाउँ उत्तम हुन्छ । यस्ता बिरुवालाई धूलोबाट जोगाउनुपर्छ । धेरै सुख्खा नबनाउने, पातमा पानी छ्याप्ने, समय–समयमा मलजल दिने गर्ने । यसमा फुल्ने र नफुल्ने दुवै प्रकारका बिरुवा प्रयोग गर्न सकिन्छ । संस्कार–संस्कृति र परम्पराअनुसार गठेमंगलमा काँडेबिरुवा ढोकामा हाल्ने प्रचलन छ । मेरो विचारमा काँडेविरुवा अशुभ नै हँुदैनन्, तर बालबालिकाको सुरक्षाका लागि त्यसको प्रयोग नगरेकै राम्रो वा गरिहाले पनि बालबालिकाले नभेट्ने स्थानमा राख्नुपर्छ । इंग्ल्यान्डमा आविष्कार भएको विन्डोबक्सेस अहिले नेपालमा पनि विस्तार हँुदैछ । यसमा विशेषगरी जिरानियम, आइभी जिरानियम, पालरगोनियम जिरानियम, पिटुनिया, भर्वेना, इम्फ्याक्स आदि अर्किड प्रजातिका बिरुवा हुर्काइन्छ । ह्यांगिक तथा विन्डोबक्सेसमा प्रयोग हुने यी बिरुवा लामो समयसम्म टिक्छन् । 

(ब्याम्बो नर्सरी, विशालनगरका सुरेशजंग शाहीसँगको कुराकानीमा आधारित) 

प्रकाशित :कार्तिक १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्