तिहारमा भर्चुअल गेम

- साप्ताहिक संवाददाता

कार्तिक १८, २०७५

तिहारमा रमाइलो गर्ने विभिन्न उपाय छन्, तर प्रविधिका कारण अब रमाइलोका लागि साथीभाइसमेत नचाहिने भएको छ । स्मार्टफोनमा विभिन्न प्रकारका खेल खेलेर पनि समय बिताउन सकिन्छ । तास नै खेल्नका लागि पनि स्मार्टफोनले सहयोग पुर्‍याउँछ । कम्प्युटर भए अझ ठूलो स्क्रिनको थप मजा लिन पाइन्छ । अनलाइन रूपमा विभिन्न खेल डाउनलोड गरेर खेल्न सकिन्छ । नेपाली डेभलपरहरूले पनि नेपाली सन्दर्भका विभिन्न गेम निर्माण गरेका छन् । तीमध्ये कतिपयका एप्ससमेत उपलब्ध छन् । भर्चुअल रूपमा खेलिने यस्ता गेमबाट पनि पर्याप्त मनोरञ्जन प्राप्त गर्न सकिन्छ । 

म्यारिज

म्यारिज तासका तीन जोडी मिलाएर खेलिन्छ । दुई देखि ५ जना ब्यक्ति प्रत्येकलाई २१–२१ वटा तास बाँडिन्छ । म्यारिजका पनि विभिन्न नियम छन् । ती नियमका कारण पनि यो खेल निकै रुचिकर हुन्छ । यो खेल भुस डटकममा उपलब्ध छ । 

धुम्बल वा झ्याप

झ्यापको नियम भने निकै सामान्य छ र नयाँ व्यक्तिले पनि यो गेमका बारेमा एक मिनेटमै बुझ्न सक्छ । यद्यपि यसका लागि खेलाडी सदैव चनाखो रहनुपर्छ र आँखा पनि सबैतिर लगाइरहनुपर्छ । भुस डटकममा उपलब्ध धुम्बललाई तीव्र गतिको गेम मानिन्छ । 

बाघचाल

बाघचाल एउटा बोर्डमा दुई जना व्यक्तिले खेल्ने खेल हो । यो खेलको विकास रावणकी श्रीमति मन्दोदरीले गरेको मानिन्छ । भनिन्छ— मन्दोदरी लंकामा एक्लै हँुदा यही गेम खेल्थिन् । एक जना ब्यक्तिले चारवटा बाघ र अर्कोले २० वटा बाख्रा लिएर खेलिने यो खेलका लागि ओबाघचाल डटकममा जान सकिन्छ ।

नेपाल जिल्ला

नेपाललाई ७५ जिल्लामा बाँडिएको छ । यो त्यसैका आधारमा निर्माण गरिएको स्मार्ट पजल गेम हो । यसमा नेपालको नक्सामा जिल्लाहरूलाई सही स्थानमा मिलाएर राख्नुपर्छ । कम्प्युटरको माउसलाई विभिन्न जिल्लामा पुर्‍याएर क्लिक गर्दै यो गेम खेल्न सकिन्छ । जति छिटो स्थान मिलाएर राखिन्छ, त्यति नै बढी स्कोर आउँछ । यो खेल वन्डरनेपाल डटकम मार्फत खेल्न सकिन्छ ।

स्ल्याप नेता (एन्ड्रोइड एप)

यो एन्ड्रोइड एप गेम हो । नामबाट पनि यसको अर्थ थाहा हुन्छ । यसमा विभिन्न क्यारेक्टरलाई गेमको निर्देशन अनुसार थप्पड हानिन्छ । जब नेता अर्थात् कुनै क्यारेक्टर बोल्न थाल्छ, खेलाडीले त्यसलाई थप्पड हान्नुपर्छ । यो खेल गुगल प्ले स्टोरबाट डाउनलोड गरेर खेल्न सकिन्छ । 

हनुमान–मिसन सञ्जीवनी

यो रामायणको कथामा आधारित गेम हो । यो एन्ड्रोइड एपका रूपमा उपलब्ध छ । रामका भाई लक्ष्मणलाई चोट लाग्दा हनुमान विशेष प्रकारको जडिबुटी अर्थात सञ्जीवनीको खोजीमा हिमालय पर्वततर्फ लाग्छन् । त्यसैलाई आधार मानेर यो गेम डिजाइन गरिएको छ । यो गेममा हनुमान हिमालयतर्फ जाँदाको यात्रालाई निकै रोचक ढंगले प्रस्तुत गरिएको छ । बाटोमा विभिन्न राक्षससँग लड्दै आफ्नो लक्ष्यमा पुगिने यो गेम विभिन्न लेभलमा उपलब्ध छ । एक लेभलपछि अर्को लेभलमा जान सकिन्छ । यसलाई पनि गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । 

गो बनाना

गो बनाना बाँदर र केरासम्बन्धी एन्ड्रोइड गेम हो । त्यसमा घचेट्दै धेरै केरा जम्मा गर्न सकिन्छ । यो गेम क्लासिक, एड्भान्स र टाइमर गरी तीन भर्सनमा उपलब्ध छ । खेल्दै जाँदा कोकोनटलाई हिट गरियो भने खेल नै समाप्त हुन्छ । त्यसैले यसमा सचेत हुनुपर्छ । यसलाई गुगल प्ले स्टोरबाट डाउनलोड गरी खेल्न सकिन्छ । 

प्रकाशित :कार्तिक १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्