आहै ! झिलीमिली

- अविरल थापा

कार्तिक १८, २०७५

 

दसैं र तिहार नेपालीका दुई ठूला चाड हुन् । झट्ट हेर्दा हिन्दूले मात्र मनाउने जस्तो लागे पनि सबैले लामो बिदा हुने भएकाले आ–आफनो तरिकाले यो समयलाई भेटघाट र घुमफिरमा बिताउँछन् । सहरमा भएकाहरू गाउँ जान्छन्, विद्यालय छुट्टी हुन्छ र मौसम पनि घमाइलो हुन्छ । 

तिहारको अझ बहुआयामिक पाटो छ । दसैं सक्किएको एक महिना नबित्दै आउने यो चाड पशुपन्छीसँग मानिसको सम्बन्ध, फूल, उज्यालो अनि दाजुभाइ–दिदीबहिनीको प्रेममा केन्द्रित छ । धार्मिक पक्ष आफ्नो ठाउँमा होला तर यसको सामाजिक एवं मनोवैज्ञानिक पाटो पनि उत्तिकै छ । काग, कुकुर, गाई तथा गोरुको पूजा गर्नुले यी पशुपन्छीको मानिसको जीवनशैलीसँगको नाता र महत्व बोध गराउँछ । सन्देशवाहकका रूपमा कागको पूजा गर्नु, घरको रेखदेख गरेको हुनाले कुकुरको पूजा गर्नु, दूध दिएर परिवारलाई पोषण प्रदान गरेकाले गाईलाई पुज्नु र पहिले केही साधन नहुँदा कृषि उत्पादनका लागि जोतिएर सहयोग गरेकोमा गोरुको पुजा गर्नुले मानिसले उनीहरूप्रति देखाएको सम्मान तथा प्रेम झल्काउँछ । त्यसैगरी सँगै जन्मी–हुर्किएका दाजुभाइ–दिदीबहिनी वर्षको एकपटक भए पनि सकेसम्म अनिवार्य भेटेर एक–अर्कालाई पुजा प्रेम र सम्मान देखाउनुले परिवारमा भ्रातृत्वको महत्व कति हुन्छ भन्ने देखिन्छ । 

तिहारसँग जोडिएको अर्को पक्ष भनेको फुल हो । शरदयाममा फुल्ने गोदावरी र मखमली साथै सयपत्री फूल तिहारका लागि विशेष प्रयोग गरिन्छन् । घर, पसल वा आफू काम गर्ने थलो तिहारका बेला फूलमालाले विशेष रुपमा सजाइन्छ, जसले सौन्दर्य बढाउनुका साथै सुगन्ध फैलाएर वातावरण नै मनमोहक बनाइदिन्छ । पसल व्यवसायमा ग्राहक आकर्षित हुन्छन् भने घर पनि सफा राखी फुलले सजाउँदा रौनक नै अर्कै हुन्छ । व्यापारीहरूलाई त कुनै पनि पर्व कमाउने अवसर नै हो । नेपालमा समेत तिहारका बेलामा करोडौंको फूलको व्यापार हुन्छ र आयातसमेत गरेर माग धान्नुपर्ने अवस्था छ । फूलको खेतीमा लाग्नसके युवाहरूलाई यसमा पनि अवसर छ भन्ने यहाँबाट पनि देखिन्छ । त्यसैगरी भाइटीकाको दिन दाजुभाइको दीर्घायुको कामना गर्दै लगाइदिने मखमली फूललाई मायाजस्तै कहिल्यै ओइल्याउँदैन भनेर प्रेमको प्रतिकका रूपमा समेत लिइन्छ । 

अचेल प्रशासनले दुर्घटना बढेको तथा ध्वनि प्रदूषण बढाएकाले पटाका पडकाउन अनि किनबेच गर्न रोक लगाएको छ । नत्रभने यसको झिलीमिली र हल्लाले गाउँसहर नै गुञ्जायमान हुन्थ्यो । तैपनि लुकिछिपी बाल्ने र पडकाउने त भैहाल्छन् । तिहारका बेला लक्ष्मीपूजाको दिन सबैले आफनो घर–पसल, आँगन उज्यालो पार्न अनेकथरी दियो, आधुनिक बिजुली बत्ती आदि बालेर जतिसक्दो चमक ल्याउन र लक्ष्मी आउने भएका कारण समृद्धि बढ्ने विश्वास गर्छन् । तिहारमा बिजुली बत्तीको व्यापार पनि करोडौंमा हुन्छ, तर देखासिकी र अरूभन्दा के कम भनेर अनावश्यक खर्च गर्नु चाहिँ राम्रो होइन । 

तिहारका बेला भारत र नेपालका सहरहरूमा विशेष झिलीमिली हुन्छ । यतिबेला बजार डुल्नुको मज्जा र तरंग बेग्लै हुन्छ । त्यसैगरी लक्ष्मीपूजा र गोरुपुजाको दिन खेलिने देउसीभैलोले समग्र समुदायमै सम्बन्ध र भाइचारा बढाउन टेवा पुर्‍याउँछ । एक–अर्काको घरमा गएर गीत गाउँदै नाचगान गर्दा वातावरण नै रमाइलो हुन्छ र त्यस क्रममा सबै आपसी वैरभाव बिर्संदै रमाउँछन्, तर हिजोआज संस्कृति कम विकृति बढ्दै गएर यसलाई कमाउने धन्दाका रूपमा लिदै गएको हो कि जस्तो पनि देखिन्छ । सामाजिक कामका लागि देउसी–भैले आयोजित गर्नु त ठिकै हो तर यति दिनैपर्छ भनेर खेल्न जानु र धम्क्याउनु विकृति सिवाय केही होइन । त्यसैगरी तिहारमा गाउँमा विशेष गरेर रुचि भएका पुरुषहरू अनि सहरमा नारी–पुरुषसमेत जुवातासमा भुलिन्छन् । मनोरञ्जनका लागि सामान्य स्तरको खेल खेल्नु मनाशिव होला तर ठूलै रकम हारजित हुने गरी अखडा नै खडा गरेर तनावमा आउने गरी वा घरखेत नै जाने गरी यसमा लाग्नु कसैका लागि पनि राम्रो होइन । प्रहरीले निगरानी गरिरहेको त हुन्छ तर आफू स्वयं आत्मनियन्त्रित भै मनोरञ्जन गर्नु स्वास्थ्यवद्र्धक हुन्छ । 

अझ पहिले–पहिले त श्रीमतीलाई समेत जुवाको खालमा थापेर हारजित भएको कथा सुन्दा त्यति बेलाको मानवता र सभ्यता कस्तो थियो भनेर आश्चर्यभकित भइन्छ । यो समयमा युवाहरू अनियन्त्रित तवरले मदिरामा डुब्दा, होहल्ला र झगडामा उत्रिँदा गम्भीर प्रकारका हिंसासमेत भएका छन् । आफ्नो, परिवारको तथा समग्र समाजको स्वास्थ्य र शान्तिमा खलल पुग्ने कार्य नगर्न युवाहरू स्वयं सचेत रहन जरुरी छ । तिहारमा पकाइने ताजा सेलरोटी र अन्य मिठाईले खानपानको तौरतरिका र महत्व दर्साउँछन् । ठाउँ र मानिस अनुसारको स्वाद हुने भएकाले आपसमा बाँडेर खानु र कोसेली दिनुको मज्जा बेग्लै हुन्छ । 

यसरी तिहार एउटा चाड भए पनि यसका बहुआयाम छन् । आफ्नो हैसियतअनुसार खर्च गरौं, संयमित भएर खानपान अनि मनोरञ्जन गरौं । आहै झिलीमिली झिलिमिली केको झिलीमिली !

Facebook.com/abeeralthapa

Twitter@abeeralthapa

प्रकाशित :कार्तिक १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्