सामाजिक सुरक्षामा, असामाजिक खतरा

- मनोज गजुरेल

कार्तिक १६, २०७५

सामाजिक सुरक्षाको असामाजिक खतरा..... उसले तपाईंको केही बिगारेको छैन, तर पनि त्यसको अनुहार देख्यो कि झनक्क रिस उठ्छ ! कोही हामीप्रति सधैं सकारात्मक छ, तर पनि ऊप्रति हामी जहिल्यै नकारात्मक हुन्छौं ! यस्तो किन हुन्छ, त्यसका थुप्रै कारण होलान् । एउटा कारण ग्रह हुन सक्छ । ग्रह नमिल्दा काटाकाट, मिलेपछि चाटाचाट भनेको यही होला । 

ग्रह भन्नाले कुण्डलीको ग्रह मात्र बुझ्नु हुँदैन, यो हाम्रो आन्तरिक स्वभाव पनि हो । स्वभाव सकारात्मक छ भने नकारात्मकताभित्र पनि थुप्रै राम्रा कुरा भेटिन्छ । नकारात्मक दृष्टिले मात्र हेर्ने हो भने जति नै राम्रो कुरा आए पनि नराम्रो बाहेक केही फेला पर्दैन । 

प्रसङ्ग, सरकारले ल्याएको ‘सामाजिक सुरक्षा योजना’को हो । नेपाली मजदुरहरूको जीवनमा दूरगामी प्रभाव पार्ने यो योजना गाली गर्नुपर्ने, विरोध गर्नुपर्ने योजना पटक्कै होइन, तर पनि हामी यसलाई हाँसो र व्यंग्यको विषय बनाइरहेका छौँ । किन होला ? यसका दुईवटा कारण छन् ।

 एउटा विरोधका लागि विरोध । अर्को कार्यान्वयनका लागि दबाब । जनताको आलोचना जायज छ, तर विपक्षले केवल विरोधका लागि विरोध मात्र गरेको देखिन्छ । स्वस्थ आलोचना प्रतिपक्षको धर्म हो । विरोधका लागि विरोध गैरजिम्मेवारपन हो । अझ आमसमुदायका निमित्त दूरगामी प्रभाव पार्ने योजना हो भन्ने कुरा बुझेर पनि बुझ पचाउनु थप गैरजिम्मेवारी हो । 

हो, प्रचार भड्किलो भयो । यसको आलोचना गर्नुपर्छ । हल्लाभन्दा पहिले काम गर्नुपथ्र्यो । यसमा विरोध गर्न सकिन्छ, तर यो सम्पूर्ण अभियान नै गलत छ भनेर भड्किनु र भड्काउनु विपक्षको धर्म होइन, विपक्षको धर्मका नाममा अन्धविश्वासको प्रचार हो । जहाँसम्म मैले बुझेको छु, सामाजिक सुरक्षा योजनाको यो जुन कार्यक्रम छ, यो युगौंदेखि चल्दै आएको ‘हुने खाने र हुँदा खाने’ बीचको खाडल पुर्न ल्याइएको योजना हो । 

यो विभेदलाई अन्त्य गर्न आएको सामाजिक न्यायको अवधारणा हो । यसको कार्यान्वयन हुन्छ कि हुँदैन ? नेताहरू कति इमान्दार हुन्छन् ? बोलेका कुरा पुर्‍याउँछन् कि पुर्‍याउँदैन् ? बोली र व्यवहार कति इमान्दारितका साथ मिलाउँछन् ? हो, यी कुरामा चाहिँ शंका छ । त्यही खबरदारी, दबाब, व्यंग्यको हतियार उठेको सही हो, तर यो योजना नै गलत हो भन्ने किसिमका कुरालाई सही मान्न सकिँदैन । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकहरूको जीवनमा दूरगामी प्रभाव पार्ने कुरामा शंका छैन । यसले समुदायमै जन्मदेखि मृत्युसम्म सामाजिक सुरक्षाको प्रत्याभूति गर्न सक्छ । यसको कार्यान्वयनमा सरकारको प्रभावकारिता र सम्बन्धित सबैको इमान्दारिता रह्यो भने साँच्चै एउटा नयाँ युगको थालनी हुनेछ । होइन भने जनताले भनेझैं समृद्धि नयाँ टोल–टोलमा होइन, केवल बिजुलीका पोल–पोलमा मात्र आउनेछ । कार्यान्वयनका बाधक तत्व धेरै छन् । तीमध्ये पहिलो, सरकारमा रहेको प्रचारमुखी शैली हो । पहिले हल्ला गर्नु र काम गर्ने बेला निदाउनु सत्ताधारीहरूको पुरानै स्वभाव हो । जनता जागेका बेला केही गरेजस्तो गर्ने, जनता निदाएका बेला मस्ती गर्न थाल्ने बानी नत्याग्ने हो भने यो योजना पनि हात्ती आयो हात्ती आयो— फुस्सा हुनेछ ।

त्यसबाहेक सरकारी पार्टीभित्रकै खिचातानी, प्रतिपक्षको पराजित कुण्ठा, विरोधी मानसिकता, नेपालको दुरावस्था देख्न लालायित देशी–विदेशी पक्ष, विकृत तथा भ्रष्ट कर्मचारीतन्त्र, कामचोर र अल्छे श्रमिकहरूकै कारण यो कार्यक्रम प्रभावकारी नहुने खतरा पनि छ । सामाजिक सुरक्षा दिवस घोषणा भएको दिन एकातिर प्रधानमन्त्री भाषण गर्दै थिए भने अर्का कुनामा सहभागीहरू नै भन्दै थिए, ‘हामी कुरा जनताका गर्छौं, तर यो सहर प्रधानमन्त्रीको फोटोले भरिएको छ । मुलुकका लागि काम गर्दैछौं कि आफ्नो प्रचार ?’ यति भनेपछि बुझ्नेलाई इसारा काफी छ । बरु त्यसको खर्च त्यही योजनाको कोषमा राखेको भए हुन्थ्यो । 

पुर्‍याउनुपर्नेले बुद्धि पुर्‍याएन भने अब हामीले त पुर्‍याउनुपर्‍यो । भड्किलो प्रचार यो योजनाको असुन्दर पक्ष हो, तर पनि यही आधारमा जनतामा नैरास्यता भर्नु हुँदैन । यदि सरकारको यो सुनौलो र ऐतिहासिक अभियान असफल भयो भने यसको कारक हाम्रो नकारात्मक सोच र प्रवृत्ति हुनेछ । सामाजिक सुरक्षा सबैको सरोकारको विषय हो, त्यसैले यो व्यवहारमा लागू होस् । सबैको घैंटोमा घाम लागोस्— शुभकामना !

प्रकाशित :कार्तिक १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्