राष्ट्र र राष्ट्रियता नै ठूलो कुरा रहेछ

- साप्ताहिक संवाददाता

कार्तिक १५, २०७५

बालकलाकारका रूपमा अभिनयको क्षेत्रमा प्रवेश गरेर स्थापित भएकी अभिनेत्री हुन्– बिपना थापा । बिपनाले अभिनेत्रीका रूपमा अभिनय गरेको पहिलो चलचित्र हो– जन्मभूमि, जुन २०५३ सालमा प्रदर्शन भएको थियो । त्यसपछि उनले करिब एक दशकसम्म नेपाली चलचित्रमा अभिनयबाहेक अन्य कुनै काम गरिनन् । २०६३ सालमा प्रदर्शित चलचित्र ‘वरमाला’ सम्म आइपुग्दा बिपनाले सहिदगेट, मामाभान्जा, ख्यालख्यालैमा, बेइमानी, राम बलराम, देवदूत, प्यारी बहिनी, जित, सगुन, अनाथ, रगत, शंकरजस्ता व्यवसायिक रूपमा सफल चलचित्रमा अभिनय गरिन् । २०६३ सालमा नेपाल मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेका आषुतोष भारद्वाजसँग प्रेम विवाह गरेर भारतको मथुरा पुगेकी बिपना त्यसयता अभिनयको रंगीन संसारमा छैनन् । यद्यपि विवाह गरेको झन्डै १२ वर्षपछि बिपनाले पुन: एक पटक नेपाली चलचित्रमा फर्कने सम्भावना व्यक्त गरेकी छिन् । साप्ताहिककर्मी कृष्०ा भट्टराईले अभिनेत्री थापासँग भारतको राजधानी नयाँ दिल्लीमा लामै कुराकानी गरेका थिए । 

दिल्लीमा के गर्दै हुनुहुन्छ ? 

नेपाली हेयरस्टाइलिस्ट नील डेविड कटवालले नयाँ दिल्लीमा आफ्नो नयाँ सलून उद्घाटन गर्न मलाई निम्त्याउनुभएकाले झन्डै तीन घण्टा ड्राइभ गरेर मथुराबाट दिल्ली आएकी हुँ । 

उद्घाटनका लागि तपाईंलाई नै किन छानिएको होला ? 

झन्डै १२ वर्षअघि काठमाडौं मलमा स्थापना भएको उहाँको पहिलो सैलुन पनि मैले नै उद्घाटन गरेको थिएँ, जसले उहाँलाई सफल बनायो । त्यसकारण उहाँ मलाई लक्की चार्म मान्नुहुन्छ । भारतको राजधानीमा खुलेको सैलुनले पनि सफलता पाउनेछ भन्ने विश्वासले उहाँले मलाई नै रोज्नुभएको हुन सक्छ । 

झन्डै दुई सय किलोमिटर ड्राइभिङ गरेर आउनुभएछ, भारतको हाइवेमा ड्राइभिङ गर्नु कत्तिको सुरक्षित छ ? 

पछिल्लो एक दशकमा भारतले सडक निर्माणमा निकै ठूलो प्रगति गरेको छ । ठूल्ठूला हाइवेहरू बनेका छन् । सडक राम्रो भएपछि ड्राइभिङ खासै गाह्रो हुँदैन । म मथुराबाट धेरै पटक आफैं ड्राइभ गरेर दिल्ली आएकी छु । 

दिल्लीमै पनि निर्धक्क ड्राइभिङ गरिरहनुभएको छ ? 

दिल्लीमा ट्राफिक बढि हुनाले जामको समस्या छ तर ड्राइभिङ गर्न असहज भने छैन । जीपीएस उपलब्ध हुने भएकाले लोकेसन खोज्न गाह्रो नहुने भएपछि भारतका हरेक शहरमा ड्राइभिङ सहजै लाग्छ । 

प्रसंग बदलौं, पछिल्लो पटकको नेपाल भ्रमणमा निकै व्यस्त हुनुभयो हैन ? 

त्यस्तो धेरै व्यस्त त थिइनँ, यद्यपि पछिल्लो पटकको भ्रमणमा सञ्चारकर्मीहरूले अलि बढी नै माया गर्नुभयो । छापादेखि अनलाइनसम्मका सञ्चारकर्मीलाई अन्तर्वार्ता दिँदैमा मेरो अधिकांश समय बित्यो । 

पहिले पनि काठमाडौंं पुग्नुहुन्थ्यो, यसपटकको भ्रमणमात्र चर्चामा आउने कारण के हो ? 

यसपटक म झन्डै सवा महिनाका लागि काठमाडौं गएकी थिएँ । छोरा कुशाग्रले स्वीमिङ गर्ने रहर गर्‍यो । दरबारमार्गस्थित उडल्यान्ड होटलमा स्वीमिङ गराउन जाने क्रममा केही चलचित्रकर्मीसँग भेट भयो । उक्त भेटपछि सामाजिक सञ्जालमार्फत म काठमाडौं पुगेको जानकारी सबैले पाउनुभयो । त्यसक्रममा चलचित्र विकास बोर्डले आयोजना गरेको नारी सशक्तीकरणसम्बन्धी कार्यक्रममा पनि सहभागिता जनाएँ । समाचारमा आइसकेपछि मेरा समकालिनदेखि नयाँ तथा पुराना सञ्चारकर्मीहरूले कुराकानी गर्न खोज्नुभयो । कुराकानी बढ्दै गएपछि योजनाबद्ध नै हो कि भन्ने जस्तो पनि देखियो । यद्यपि ती सबै कुरा अचानक भएका थिए । त्यसबाट नेपालमा आज पनि मलाई मन पराउने, माया गर्ने दर्शक उत्तिकै हुनु हुँदो रहेछ भन्ने प्रमाणित भयो । 

सञ्चारमाध्यमको सक्रियतालाई तपाईंको चलचित्रमा पुनरागमन गर्न सक्ने सम्भावनाका रूपमा पनि हेरिएको छ नि ? 

मेरो रगतमै अभिनय छ, त्यसैले ढिलो–छिटो अभिनयमा फर्कन्छु भन्ने कुरामा दुईमत छैन । यद्यपि, पछिल्लो पटक काठमाडौं जाँदा केही सार्वजनिक समारोहमा सहभागिता जनाउने क्रममा अलि बढी सक्रिय पनि भएँ । सञ्चारमाध्यममा अलि बढि नै आएँ । यसबाट पनि म चलचित्रमा आउन सक्छु भन्ने अनुमान गरिएको हो । 

चलचित्रमा आउने सम्भावना कत्तिको छ ? 

सम्भावना त शतप्रतिशत नै छ । यद्यपि अभिनयको मैदानमा आउँछु कि निर्मात्रीका रूपमा आउँछु कि अरू नै कुनै भूमिका आउँछु भन्ने कुराचाहिँ निश्चित भएको छैन । 

चलचित्रमा पुनरागमन गर्न लामै समय लगाउनुभयो त ? 

मेरो शरीर भारतमा रहे पनि मन भने नेपाली चलचित्रमै छ । म चलचित्रबाट धेरै टाढा भएकी होइन, केही वर्षको ग्याप मात्र लिएकी हुँ । 

सामान्यतया काठमाडौं पुगेका बेला के–के गर्नु हुन्छ ? 

वर्षको दुई–तीन पटक दुई–तीन साताका लागि काठमाडौंमा हुन्छु । त्यस क्रममा परिवार तथा आफन्तहरूसँग भेट्दैमा फर्कने बेला भैसक्छ । हरेक पटकको भ्रमणमा चलचित्र क्षेत्रका समकालिन साथीभाइसँग भेट्न मन लाग्छ, तर भ्याउँदिन । 

यो १२ वर्षको अवधिमा नेपाली चलचित्रलाई कत्तिको मिस गर्नुभयो ? 

विपना थापा अभिनयका लागि नै जन्मिएकी हो । त्यसकारण पनि मैले आफ्नो प्राणभन्दा प्यारो चलचित्र क्षेत्रलाई मिस नगरेको दिन छैन । यद्यपि १२ वर्षअघि विवाह भएपछि मेरो व्यक्तिगत जीवन प्रारम्भ भयो । नेपाल भित्रै विवाह भएको भए कुरा बेग्लै हुन्थ्यो होला, तर म भारतको मथुरा पुगें । आमा भएपछि जिम्मेवारी अझ बढ्यो । म घर–परिवार र छोरा हुर्काउनैमा व्यस्त भएँ । त्यति हुँदाहुँदै पनि घरमा एक्लै भएका बेला वा राति श्रीमान् ढिला घर आउँदा अनि छोरा सुतिसकेपछि म चलचित्र क्षेत्र सम्झेर धेरै पटक भक्कानिएकी छु । त्यति नै बेला, छेउमा सुतिरहेको छोराको अनुहार हेरेर चित्त बुझाउँथे, किनभने विवाह गर्ने, आमा बन्ने जीवन मैले नै रोजेकी थिएँ, जसमा म खुशी र सन्तुष्ठ पनि छु । 

आशुतोष भारद्वाजसँग विवाह गर्ने वातावरण कसरी बन्यो ? 

कथा अलि लामो छ । चलचित्र ‘वरमाला’ निर्माण हुने कुरा चल्दैथियो, जसमा म अभिनय गर्दै थिएँ । आशुतोषजी वरमालाका निर्माताको घरमा भाडामा बसेर एनएमसीमा एमबीबीएस गर्दै हुनुहुँदो रहेछ । निर्मातालाई आर्थिक समस्या भएपछि उहाँले सहयोग गर्नुभयो । चलचित्रमा लगानी गरेपछि उहाँ पनि निर्माता हुनुभयो अनि छायांकनस्थलमा आउन थाल्नुभयो । मसँग भेटघाट भएपछि हामी असल साथी बन्यौं । खै कुन बेलादेखि हो, हामीले एक–अर्कालाई मन पराउन थालेछौं । हामी दुवैले हाम्रो सम्बन्धका बारेमा आ–आफ्नो परिवारलाई जानकारी गरायौं । दुवै परिवारका सदस्य सहमत भएपछि हामी विवाह–बन्धनमा बाँधियौं । 

विवाहका लागि नेपाली युवक पनि त फेला पार्न सक्नुहुन्थ्यो नि ? 

यो भाग्य भन्ने कुरा पनि अचम्मको हुने रहेछ । अझ भाग्य आ–आफ्नो भन्ने त उखान नै छ नि । भाग्यमा लेखिएको कुरा मेट्न सकिंदैन रहेछ । म भगवानमा विश्वास गर्छु । त्यसैले मेरो विवाह भारतमा हुनुलाई पनि मैले भाग्य नै सम्झिएकी छु । भगवानले माथिबाटै मिलाएर पठाएको जोडीलाई कसैले पनि छुटाउन नसक्ने रहेछ । 

नेपालकै लोकप्रिय अभिनेत्री, बुहारी बनेर मथुरा पुगेपछिको जीवन कस्तो थियो ? 

सुरु–सुरुमा त केही अनौठो लागेको थियो । यद्यपि उहाँहरूको परिवार असाध्यै संस्कारी रहेछ । स्वास्थ्यसम्बन्धी आफ्नै व्यवसाय (अस्पताल सञ्चालन) गरेर बस्नुभएको रहेछ । नेपाल र नेपाली भनेपछि हुरुक्कै हुने स्वभावको परिवार रहेछ । त्यसैले मैले आजको मितिसम्म आशुतोषसँग विवाह गरेर मथुरामा स्थायी बसोबास गर्नु परेकोमा पछुतो मानेकी छैन । अहिले त मेरो छोरा नै १० वर्षको भैसक्यो अर्थात् हुर्किसक्यो । त्यसैले त म अहिले आएर पुन: नेपाली चलचित्रमा सक्रिय हुने कि भन्ने कुरा सोच्न थालेकी छु । 

अर्थात् ढिलो–छिटो तपाईंलाई चलचित्रमा देख्न पाइनेछ ? 

हो, पहिले बाबु पनि सानो थियो, चाहेर पनि काम गर्न सकेकी थिइनँ । अहिले त मैले बहाना बनाउने कुरा पनि केही छैन । दर्शकहरू नै मलाई पुन: चलचित्रमा हेर्न चाहनुहुन्छ भन्ने कुरा मैले सामाजिक सञ्जालमार्फत जानकारी पाइरहेकी हुन्छु । वास्तवमा विपना थापा अभिनेत्रीभन्दा पनि कलाकार हो । कलाकारलाई अभिनय गर्न उमेरले कहिल्यै छेक्दैन । त्यसैले म कुनै न कुनै रूपबाट सरप्राइज प्याकेज लिएर चलचित्रमा आउनेछु । त्यसका लागि अब धेरै समय कुर्नु नपर्ला । 

श्रीमान् तथा परिवारले आपत्ति जनाउने सम्भावना कत्तिको छ ? 

पत्याउनु हुन्न होला, विगतमा मलाई मेरै सासूले अभिनय गर्न आग्रह गरिरहनुहुन्थ्यो । अहिले पनि श्रीमान्ले चलचित्रमा फर्कन प्रेरित गरिरहनुहुन्छ । उहाँहरूको प्रेरणाले गर्दा नै म पुन: चलचित्रमा आउन तयार भएकी हुँ । 

भारतमा रहँदा नेपालका बारेमा कत्तिको अपडेट हुनुहुन्छ ? 

हरेक दिन, बिहान–बेलुका नै नेपालका अनलाइन, टेलिभिजन, पत्रपत्रिका इन्टरनेटमा हेरिरहेकी हुन्छु । कान्तिपुर, साप्ताहिक, कान्तिपुर टेलिभिजन, नेपाल टेलिभिजनजस्ता माध्यमबाट नेपालसँग सम्बन्धित प्राय: सबै समाचार थाहा पाइरहेकी हुन्छु । अहिले त युट्युबले नेपाललाई नजिकबाट नियाल्न झन् सजिलो भएको छ । 

२०७२ सालको भूकम्पलाई कसरी सम्झनुहुन्छ ? 

वैशाख १२ गतेका दिन म छोराको स्कुलमा उसलाई एड्मिसन गराउन आफैं ड्राइभ गरेर गैरहेकी थिएँ । सडकमा अस्वभाविक जाम देखें । मानिसहरू पनि घर–घरबाट बाहिर निस्किरहेका थिए । मैले कार रोकेर के भएको भनेर जिज्ञासा राखें । उनीहरूले ‘भूकम्प गएको थाहा पाइनौ, नेपालमा त बर्बादै भयो रे, सबै सखाप नै भयो रे’ भनेपछि म त बेहोस नै हुन्छु जस्तो भएँ । त्यहींबाट घर फर्कने क्रममा काठमाडौंमा पचासौं पटक फोन डायल गरें, कसैको पनि लागेन । घर पुगेर टिभी हेर्दा त झनै मन आत्तियो । झन्डै दुई घण्टापछि मेरो माइतीघर स्युचाटरमा फोन लागेपछि मात्र आफूलाई सम्हाल्न सकें । त्यसपछि पालैपालो सबै आफन्तलाई फोन गरें । ससुरा बिरामी भएर अस्पतालमा राखिएकाले तत्काल काठमाडौं आउन सकिन । झन्डै एक महिनापछि काठमाडौं आएर मेरो क्षमताले भ्याएसम्मको राहत सामग्री वितरण गरें । अहिले पनि त्यो दिन सम्झँदा जीउभरि काँडा उम्रन्छ । काठमाडौंमा भूकम्प भोग्ने भन्दा हामी बाहिर बसेकालाई भूकम्पले बढी पीडा दिएको महसुस त्यही दिन गरें । 

अनि भारतले लगाएको नाकाबन्दीलाई कसरी हेर्नुभयो ? 

यो राष्ट्र र राष्ट्रियता भन्ने कुरा पनि अचम्मको हुने रहेछ । छोरा, छोरी, श्रीमान्, सासु, ससुरा, प्रेमि–प्रेमिकाभन्दा पनि राष्ट्रियता नै ठूलो हुने रहेछ भन्ने कुरा त्यही नाकाबन्दीले अनुभव गरायो । मेरा श्रीमान्को परिवार तथा वरपरका मानिसहरू नेपाललाई असाध्यै माया गर्ने भएकाले नाकाबन्दीको विरोधमै हुनुहुन्थ्यो । वास्तवमा त्यो बेलाको नाकाबन्दी दुबै देशको राजनैतिक कारणले भएको रहेछ, नेपाल–भारतको सिमा क्षेत्रका मानिसहरूलाई भिडाएर आफ्नो उद्देश्य पूर्ति गर्न खोज्ने केही सीमित नेताका कारणले त्यो भएको रहेछ । यद्यपि, त्यो बेला भारतले नेपालमा किन नाकाबन्दी गर्‍यो भन्ने कुरा मलाई अहिलेसम्म थाहा छैन, तर जे कारणले नाकाबन्दी गरिएको भए पनि त्यो ठीक थिएन भन्ने त्यो बेला पनि लागेको थियो, अहिले पनि लाग्छ । 

पछिल्लो समयको नेपाली चलचित्रलाई कसरी बुझ्नुभएको छ ? 

नेपाली चलचित्रलाई नजिकबाट बुझ्ने भनेकै युट्युबमा देखिने चलचित्र सम्बन्धि समारोहका रिपोर्टहरू हुन् । त्यसबाहेक युट्युबमै उपलब्ध गीत तथा चलचित्रबाट पनि प्रशस्त जानकारी लिइरहेकी हुन्छु । नेपाल गएका बेला चलचित्रकर्मीहरूसँगको भेटघाटबाट पनि धेरै कुरा थाहा पाइरहेकी हुन्छु । ती सबै कुरा थाहा पाएपछि भने मलाई असाध्यै दु:ख लागेको छ । म निराश पनि छु । मैले भेटेका मेरा अग्रज तथा समकालीन कलाकारहरूबाट मैले जे–जे सुनें, त्यसले मलाई निराश बनाएको हो । 

त्यस्तो निराश हुनु पर्ने गरी के सुन्नुभयो ? 

म गलत पनि हुनसक्छु, तर मैले सुने अनुसार नेपाली चलचित्रमा अहिले रेस्पेक्ट अर्थात् सम्मान भन्ने कुरा नै छैन रे । अनुशासन र इमान्दारिता पनि हराउँदै गएको छ रे । जीवनका यी तीन महत्वपूर्ण कुरा नै नभएपछि नेपाली चलचित्रको विकास कसरी हुन्छ ? नेपालमा अहिले धेरै नयाँ कलाकारको आगमन भएको छ, उनीहरूले आफूभन्दा अग्रजलाई रत्तिभर सम्मान नगर्ने कुरा सुनें । आफैंलाई सर्वश्री मान्ने नयाँ कलाकारहरूको संख्या बढिरहेको रहेछ । निर्माता होस् कि निर्देशक, पत्रकार होस् कि समिक्षक, नयाँ कलाकारहरूले आफूबाहेक अन्यलाई सम्मान नगर्ने कुराले मलाई निराश बनाएको हो । 

त्यस्ता कलाकारलाई के भन्न चाहनुहुन्छ ? 

पहिले हामी सानो बजेटका चलचित्रमा पनि धेरै मेहनत गथ्र्यौं । चलचित्रको युनिट भनेको एउटा परिवार जस्तै हुन्थ्यो । अहिले एक जना अभिनेताले लिने पारिश्रमिकमा पहिले एउटा चलचित्र नै तयार हुन्थ्यो । आर्थिक रूपमा यत्तिको परिवर्तन भए पनि अनुशासन, सम्मान तथा इमान्दारिता नहुँदा हाम्रो क्षेत्र अघि बढ्नुको साटो उल्टो पछि पर्छ । यस्तै भैरह्यो भने यो उद्योगको विकास कसरी होला ? म ती नवप्रतिभाहरूलाई के भन्न चाहन्छु भने कृपया त्यस्तो नगर्नुहोस् । आफूभन्दा ठूलालाई सम्मान, सानालाई माया गर्दा आफू सानो हुने होइन । स–साना कुरा मनन गरेर यो क्षेत्रलाई नै परिवार मान्न थाल्नुहोस् । कामलाई पूजा गर्नुहोस् । पेसाप्रति इमान्दार हुनु होस् । यसो भयो भने नेपाली चलचित्रले पनि विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्छ । एकता नै बल हो भन्ने कुरा सधैं सम्झिरहनुहोस् । 

प्रकाशित :कार्तिक १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्