जबर्जस्ती अप्रेसन

- यमुना अर्याल, काफ्ले

कार्तिक १३, २०७५

नयाँ बानेश्वरकी २६ वर्षीया रमिला खतिवडा (नाम परिवर्तन) अघिल्लो साता घरमै बेथा लागेर अस्पताल पुगिन् । नियमित परीक्षण गराएको अस्पतालमा पुग्दा उनी बेथाले थप थल्लिएकी थिइन् । नर्सहरूले उनको अवस्था हेरे, भिडियो एक्सरे गर्न लगाए, सबै अवस्था सामान्य थियो । नर्सहरूले नै तपाईंको नर्मल डेलिभरी हुन्छ भने । एक घन्टापछि पाँच घर खुलिसकेको छ अब केही घन्टामा शिशु जन्मिन्छ आत्तिनुपर्दैन भन्दै आफन्तलाई ढाडस दिए । दुई दिनअघि सोही अस्पतालमा स्वास्थ्य परीक्षण गराउन जाँदा रमिला तथा शिशुको अवस्था सामान्य भएका कारण परिवारसमेत नर्मल शिशु जन्मिने कुरामा ढुक्क थियो । दुई घन्टापछि फेरि नर्सहरूले रमिलाका श्रीमान्लाई बोलाए र भने— हेर्नुस् न शिशुको धड्कन सुनिएन तुरुन्त अप्रेसन गर्नुपर्ने भयो । 

आधा रात भैसक्यो, अघिसम्म नर्मल हुन्छ भन्ने अहिले किन एक्कासि अप्रेसन गर्नुपर्‍यो ? रमिलाका श्रीमान् जंगिए । रमिला पनि यत्रो बेथा खपिसकें एकैछिन पीडा सहेर नर्मल नै शिशु जन्माउँछु भन्दै थिइन् तर नर्सहरूले जिद्दी गरे— शिशुलाई केही भयो भने हामीलाई केही भन्न पाउनुहुन्न, बेलैमा भनेका छौं शिशुको धड्कन सुनिएन तुरुन्त अप्रेसन गर्नुपर्छ । जन्मने बेलाको शिशुको भविष्य जोडिएको छ, परिवारमा पहिलो सन्तानको स्वागत गर्नुपर्नेछ, त्यसैले रमिलाका श्रीमान् रगतको खोजीमा एकान्तकुना गए, रगत ल्याए, धरौटीको रकम दाखिला गरे अनि त्यसपछि अप्रेसनमार्फत तीन केजीको छोरा जन्मियो । 

अस्पतालबाट डिस्चार्ज भैसकेकी रमिला र उनका आफन्तहरू अस्पतालको व्यवहारबाट खुसी छैनन् । सुरुमा सबै ठीक छ, नर्मल हुन्छ भनेपछि पैसाको जोहो पनि त्यसैअनुरूप गरियो तर अन्त्यमा एक्कासि अप्रेसन गर्नुपर्छ भनेपछि त्यति धेरै पैसा खोज्न आधा रातमा कहाँ जाने ? अस्पतालको पैसा कमाउने दाउ हो भन्छन् उनीहरू । अप्रेसन नै गर्नु थियो भने सुरुमै भन्न सक्थे, एकातिर बेथाको पीडा अर्कातिर अप्रेसनको पीडा, रमिला दोहोरो पीडामा परिन् । 

पुस महिनाको पहिलो साता एकजना आफन्तको कुरुवा बसें प्रसूति गृहमा । प्रसूति हुने समय पुगेका लहरै १२ जना महिला बेडमा थिए । पहिलेको तुलनामा नर्सहरूको व्यवहार निकै बदलिएको पाएँ । नर्सहरूको बोली–बचन राम्रो थियो, अस्पतालको शौचालयको हरिबिजोग भए पनि नर्स तथा राउन्डमा आउने सिनियर डाक्टरहरूको व्यवहार निकै राम्रो थियो । कतिपय महिला बेथा खप्न नसकेर अप्रेसन गर्देऊ भनिरहेका थिए, चिच्याइरहेका थिए तर नर्सहरू अप्रेसन गर्ने भए निजी अस्पतालमा गएको भए हुन्थ्यो । यहाँ त केही सीप लागेन भने मात्र अप्रेसन हुन्छ, नर्मल हुने केसमा अप्रेसन हुँदैन, आमा बन्न त्यति सजिलो छैन केही समय धैर्य गर्नुस् भन्दै सम्झाइरहेका थिए । प्रसूतिगृहको दुई दिनको बसाइमा त्यहाँ एउटा पनि अप्रेसन भएको देखिएन । गर्भवतीहरूले जति रोइकराइ गरेर अप्रेसन गर्देऊ भने पनि नर्मल हुने केसमा बेथा लम्बियो तर अप्रेसन गरिएन ।

एक सहकर्मी साथी माघको पहिलो साता आमा भइन् । गर्भ रहेदेखि नै अप्रेसन गरेर सन्तान जन्माउने रहर थियो उनको । अस्पतालमा पुगी अप्रेसन गरेर शिशु जन्माइन् उनले । शिशु र आमाको अवस्था नर्मल हुँदाहुँदै पनि उनले सामान्य अवस्थाबाट प्रसूति हुने आँट गरिनन् । बेथा खप्न सक्दिन, दिदीको पीडा देखेरै तर्सिसकें । म त अप्रेसन गर्ने हो भन्ने ती साथीले आफ्नो रहर पूरा गरिन् । प्रसूति गृह तथा सिभिल अस्पतालमा सकभर अप्रेसन गराउँदैनन् भन्ने मान्यताका साथ टाढाटाढाका गर्भवती महिलाहरू त्यहाँ पुग्छन् । जगातीबाट प्रसूति हुन सिभिल अस्पताल आएकी एउटी महिलाले आफ्नो घरनजिक प्रशस्तै अस्पताल भए पनि सिभिलमा अप्रेसन गर्नुपर्दैन भनेर यति टाढा आएको बताइन् । सुरुदेखि नै सिभिलमा स्वास्थ्य परीक्षण गराउँदै आएकी ती महिला निजी अस्पतालमा केही नभए पनि अप्रेसनको डर देखाइहाल्ने भएका कारण सिभिल अस्पताल रोजेको बताउँदै थिइन् । सबै अवस्था सामान्य भए पनि चार घर खुलेपछि शिशुको धड्कन अलि कम भएको भनेर नर्सहरू आत्तिए, सिनियर डाक्टर आएर आत्तिनुपर्दैन नर्मल नै हुन्छ भनेपछि नर्सहरू ढुक्क भए । आधा घन्टापछि छोरी जन्माएँ । निजी अस्पतालमा गएको भए यस्तो भयो उस्तो भयो भनेर तुरुन्तै अप्रेसन गर्दिन्थे उनीहरूलाई आमा वा शिशुको भन्दा पनि पैसाको महत्व हुँदो रहेछ, –उनी भन्दै थिइन् । 

सामान्य प्रकृतिले सुत्केरी हुन नसक्ने अवस्था सिर्जना भए मात्र शल्यक्रिया गरेर शिशु जन्माउनुपर्ने हो तर नेपालमा अहिले अप्रेसन गरेर शिशु जन्माउने लहर नै चलेको छ । एक अध्ययनअनुसार विश्वमा शल्यक्रिया नै गर्नुपर्ने अवस्था एक सय महिला सुत्केरी हुँदा ५ देखि १० जनामा मात्र आउँछ । नेपालमा भने अनेकौं कारण देखाएर डरैडरमा अप्रेसन गराउने घटना बढिरहेका छन् । भरसक सामान्य विधिबाटै शिशु जन्माउनुपर्छ । जटिल परिस्थिति देखिए मात्र चिकित्सकको सल्लाहमा अप्रेसनमार्फत शिशु जन्माउनुपर्ने भए पनि चिकित्सकको सल्लाहभन्दा पनि गर्भवती महिला, उनका श्रीमान् वा परिवारको चाहना, अन्य आफन्तको देखासिकी तथा अनेकौं तर्कवितर्कमा अल्झिएर जानाजान अप्रेसनमार्फत शिशु जन्माउने क्रम बढिरहेको छ । अझ अहिले त ज्योतिषीकहाँ जाने, राम्रो साइत निकाल्ने र सोही साइतमा समय नै नपुगी अप्रेसन गरेर शिशु जन्माउने नयाँ चलन पनि चलिरहेको छ सहरमा, जसका कारण आमा तथा शिशुको स्वास्थ्यमा समस्या देखिन थालेको छ । 

विश्व स्वास्थ्य सँगठन (डब्लुएचओ) ले सिजेरियन सेक्सन (सी सेक्सन) अर्थात् अप्रेसन गरी शिशु जन्माउने कार्यलाई बढीमा १५ प्रतिशतमा सीमित राख्न अपिल गरेको छ । प्राकृतिक रूपमा शिशु नजन्माउनु आमा र शिशु दुवैका लागि घातक भएको पनि डब्लुएचओले जनाएको छ । नेपालकै कुरा गर्ने हो भने सरकारी अस्पतालमा २८ प्रतिशत मात्र सिजरिङ डेलिभरी भए पनि निजी अस्पतालमा यो संख्या निकै बढी देखिन्छ । निजी अस्पतालले कुल संख्याको ९३ प्रतिशतभन्दा बढी अप्रेसन गराएर शिशुलाई जन्म दिएको तथ्यांक छ । निजी अस्पतालमा हरेक शुल्क महँगो हुने र सुत्केरी हुन आउने महिलाबाट बढी रकम असुल्न पाइने भएकाले पनि धेरै सिजेरियन डेलिभरी हुने गरेको तथ्य जगजाहेर नै छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार गत आर्थिक वर्षमा उपत्यकामा जम्मा ३३ हजार ८ सय ३ जनाको डेलिभरी भएको छ जसमध्ये १२ हजार १ सय ५९ जनाको शल्यक्रिया गरी शिशु जन्माइएको छ, ‘उपत्यकामा ३६ प्रतिशत डेलिभरी शल्यक्रियाका माध्यमबाट भएको पाइन्छ भने निजी अस्पतालमा ‘सिजेरियन’ डेलिभरी पाँच गुणाले बढेको देखिन्छ । खासगरी राजधानीमा ओम, ग्रान्डी तथा बयोधा अस्पतालमा धेरै हुन्छन् शल्यक्रियाद्वारा शिशु जन्माउने घटना । ग्रान्डी ८३ प्रतिशत, ओम ८७ प्रतिशत, बयोधा ९९ प्रतिशत एवं भ्याली मातृत्व अस्पताल तथा नर्सिङ होमले ८५ प्रतिशत (उनीहरूकहाँ पुगेका गर्भवतीहरूमध्ये) अप्रेसन गरेका छन् । चिकित्सकहरूले नै शिशु जन्मने समयअघि नै गर्भवती महिलालाई मानसिक रूपमा तयार रहन आग्रह गर्ने र नमाने समस्या आउने भन्दै सल्लाह दिने, विगतका केही घटना देखाएर मानसिक रूपमा तर्साउने गरेको स्वयं महिलाहरू गुनासो गर्छन् । विश्व स्वास्थ्य सँगठनको मान्यताअनुरूप बढीमा १५ प्रतिशत मात्र अप्रेसन गर्न पाइन्छ । यद्यपि नेपालमा त्यसको ठीक उल्टो अवस्था छ । 

सामान्य नजरले हेर्दा पनि अनुमान लगाउन सकिन्छ निजी स्वास्थ्य संस्थाहरू नर्मल डेलिभरी गराएर जोखिम मोल्न चाहँदैनन् । निजी अस्पतालमा गर्भवती आमा तथा शिशुमध्ये कसैको मृत्यु भए तोडफोड हुने, हूलदंगा हुने एवं अनावश्यक तनाव खेप्नुपर्ने भएका कारणले पनि निजी अस्पतालहरू शल्यक्रियाका माध्यमबाट शिशु जन्माउन बाध्य भएका हुन सक्छन् । जे होस् प्राकृतिक तरिकाले शिशु जन्मने अवस्था हुँदाहुँदै, आमा र शिशुको ज्यान सुरक्षित हुँदाहुँदै अनेकौं डर–त्रास देखाएर जबर्जस्ती अप्रेसन गराइन्छ वा परिवार नै अप्रेसनका लागि तयार हुन्छ भने त त्यसमा भन्नु केही छैन तर सामान्य तरिकाले प्रसूति हुने अवस्थामा पनि अनावश्यक रूपमा अप्रेसन गर्न बाध्य तुल्याइन्छ भने त्यस्तो अस्पताललाई के भन्ने ? सामान्य अवस्था हुँदाहुँदै, परिवारको चाहना विपरीत, आमा र शिशुको ज्यानलाई खतरा नहुँदा–नहुँदै पनि अप्रेसनका लागि बाध्य पारिन्छ भने त्यस्ता अस्पतालविरुद्ध कानुनी उपचार खोज्न सकिन्छ कि सकिँदैन ? यो बहसको विषय हुनसक्छ । बाध्यतामा अप्रेसन गर्नु जायज हो, आमा र शिशुको ज्यानलाई खतरा छ भने त्यो जोखिम पनि मोल्नुपर्छ तर सामान्य अवस्था हुँदाहुँदै पनि अनेकौं डर–त्रास देखाएर अप्रेसन गराउनु कति जायज हो ? स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित सरोकारवालाहरूको ध्यान जानु जरुरी छ । 

सामान्यभन्दा शल्यक्रियामार्फत बढी 

शल्यक्रियामार्फत सन्तान जन्माउनेमा सहरी क्षेत्रका महिला बढी छन् । काठमाडौं उपत्यका तथा सहरोन्मुख जिल्लाहरूमा शल्यक्रिया गराई गर्भवती हुनेहरूको संख्या बढ्दै गएको परोपकार प्रसूति गृह थापाथलीका निर्देशक प्रा.डा. जागेश्वर गौतम बताउँछन् । आधुनिक सुविधा एवं प्रविधिको प्रयोग शहरी क्षेत्रमा बढी हुने हुँदा यसो हुनु स्वभाविक भएको उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार झापा जिल्लामा सामान्य शल्यक्रिया गराउनेभन्दा पनि शल्यक्रियामार्फत सन्तान जन्माउने महिलाहरूको संख्या बढी छ । झापामा गत वर्ष ८ हजार ८५ जनाले शल्यक्रिया गराएका छन् भने सामान्य प्रसूति गराउने ७ हजार ७ सय ७६ जना छन् । यो जम्मा गर्भवती हुने महिलाको ५१ प्रतिशत हो । झापापछि प्रतिशतका आधारमा बढी शल्यक्रिया गराउने ललितपुरका छन् जसको संख्या ४५ प्रतिशत छ । त्यसैगरी काठमाडौं ३६, कास्कीमा ३३, भक्तपुरमा ३०, मोरङमा २८ तथा रूपन्देहीमा २३ प्रतिशतले शल्यक्रियामार्फत सन्तान जन्माएका छन् । संख्याका आधारमा भने सबैभन्दा बढी काठमाडौंमा ११ हजार ९ सय १९ जनाले शल्यक्रियामार्फत सन्तान जन्माएका छन् । 

संक्रमणको जोखिम

डा. जागेश्वर गौतम

प्रसूतिरोग विशेषज्ञ

शल्यक्रियामार्फत प्रसूति गराउने प्रक्रिया र प्राकृतिक रूपमा हुने प्रसूतिमा धेरै फरक छन् । प्राकृतिक रूपमा सन्तान जन्माउँदा आमाको स्वास्थ्य सही अवस्थामा आउन थोरै समय लाग्छ भने शल्यक्रियामार्फत लामो समय लाग्छ । 

शल्यक्रियामार्फत हुने प्रसूतिमा रगत बढी जाने सम्भावना हुन्छ, जसले ज्यानकै जोखिमसमेत हुन्छ । संक्रमणको सम्भावना पनि बढी हुन्छ । प्राकृतिक रूपमा प्रसूति गराउँदा पनि कम्प्लिकेसन नआउने होइन । यद्यपि शल्यक्रिया गरेको जति संक्रमणको सम्भावना हुँदैन् । शल्यक्रिया गर्दा बनेको घाउ निको हुन महिना दिनसम्म लाग्न सक्छ । 

त्यसो हो भने शल्यक्रिया नै नगर्ने त भन्ने कुरा पनि आउन सक्छ । शल्यक्रियामार्फत प्रसूति गराउने केही अवस्था छन् । गर्भस्थ शिशुको धड्कन बिग्रियो, पहिलो सन्तान अप्रेसन गरेर निकालिएको छ भने, टेस्टट्युब बेबीबाट सन्तान जन्माउने हो भने, प्रसूति हुने समयमा आमाको प्रेसर, सुगर बढेको छ भने, गर्भस्थ शिशु बढ्न सकेको छैन भने, बच्चा आउने बाटो सानो छ तर बच्चा ठूलो छ भने वा शिशु तेर्सो बसेको छ भने अनिवार्य रूपमा शल्यक्रिया गर्नैपर्ने हुन्छ । सामान्य तरिकाले प्रसूति हुने सम्भावना छ भने स्वास्थ्यका हिसाबले शल्यक्रिया नगरेकै उपयुक्त हुन्छ । सामान्य प्रसूति हुँदा खर्च पनि कम लाग्छ ।

५० हजार युवती आमा

नेपालमा प्रत्येक वर्ष २० वर्षमुनिका ५० हजारभन्दा बढी किशोरी आमा बन्ने गरेका छन् । मन्त्रालयको तथ्यंकअनुसार गत वर्ष ५२ हजार २ सय ८४ किशोरी गर्भवती भएका थिए । १ लाख २५ हजार किशोरीले पहिलो गर्भ जाँच गराए पनि सन्तान जन्माउनेहरूको संख्या आधाभन्दा कम देखिएको हो, जसमा १३ हजार ३ सय ३४ जनाले सरकारको मान्यताप्राप्त स्वास्थ्य संस्थामा गर्भपतन गराएका छन् । अन्य ६५ हजार ५ सय १८ को भने कुनै तथ्यांक छैन । तुलनात्मक रूपमा सबैभन्दा बढी सल्यानमा ३७ प्रतिशत किशोरी गर्भवती भएका थिए । त्यसैगरी पश्चिम रुकुममा ३४, पूर्वी रुकुममा ३३, जाजरकोट ३० प्रतिशत किशोरी गर्भवती भएका छन् । त्यसैगरी हुम्ला, दैलेख तथा रोल्पामा २७ प्रतिशत, सुर्खेतमा २६ प्रतिशत र मुगु एवं दाङमा २५/२५ प्रतिशत किशोरी आमा भएका छन् ।

 

( यो आलेखमा प्रयोग गरिएका सबै तस्बिरहरु एजेन्सी मार्फत लिइएका हुन् । )

प्रकाशित :कार्तिक १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्