छायाँ संसार

- अविरल थापा

कार्तिक १२, २०७५

 

 

हिजोआज मानिसहरू चौतारामा, घुम्तीमा, चोकमा, चियापसलमा त्यति भेटिँदैनन् । कुनै मानिस भेट्नुपर्‍यो वा उसलाई खोज्नुपर्‍यो भने इन्टरनेटमार्फत सामाजिक सञ्जालको छायाँ संसारमा पस्नुपर्ने हुन्छ । आजकाल मानिस यसमै बिउँझिन्छन्, यसमै निदाउँछन् । यसमै हाँस्छन्, यसमै रुन्छन् । यसमै खान्छन्, यसमै चुट्छन् । कसको घरमा गाई ब्यायो, कसको घरमा मानिसदेखि लिएर कसको घरमा कुकुर बिरामी भयो, कसको खलकमा को मर्‍यो लगायतका सबै कुरा यही छायाँ संसारबाटै थाहा हुन्छ । यस्तो लाग्छ, छायाँ संसारमा नहुने मानिसले दुनियाँमा के भैरहेको छ, थाहै पाउँदैनन् । 

फेसबुक, इन्स्टाग्राम तथा ट्विटर नेपालमा चलेका सामाजिक सञ्जाल हुन् । यसमा घरबारका कुरादेखि लिएर दरबारका विषयसम्ममा हल्कादेखि गम्भीर बहस एवं हल्लाखल्ला हुन्छन् । यसमै भएको सल्लाह र हल्लाले मन्त्रीको पद खुस्किनेदेखि लिएर राजनैतिक उतारचढावसम्म ल्याएको छ । कसैलाई खेद्नेदेखि लिएर कसैलाई भगवान् बनाउन पनि सामाजिक सञ्जाल उत्तिकै प्रभावकारी देखिएको छ । यहीमार्फत नाम र दाम कमाउनेदेखि लिएर बदनामी कमाउने पनि उत्तिकै छन् । कसले कुन प्रयोजनका लागि चलाएको छ, कसले सदुपयोग गरेको छ, कसले दुरुपयोग गरेको छ, त्यहीअनुसार फल पाएको छ । सामाजिक अभियान चलाउन र छिटो सन्देश प्रवाह गराउन यो संसारभर प्रभावकारी पाइएको छ । हाल चलिरहेको मि टु अभियानले ठूलो हलचल पैदा गरिरहेको छ । मानिसहरूले व्यक्तिगत रूपमा मनको वह पोख्नदेखि लिएर खँदिला कुरा प्रवाह गर्नसम्म यसको उत्तिकै प्रयोग गरेका छन् । यसैमार्फत घरबार जोडिनेदेखि लिएर तोडिनेसम्मका घटना पनि घटिरहेकै छन् । हिजोआज त कसैको विवाहको कुरा चल्यो भने पनि फेसबुकमा केटाको वा केटीको फोटो हेरम् न भन्ने भैसक्यो । फेसबुकमा देखाइने गतिविधिमार्फत नै यो मानिस यस्तो होला, उस्तो होला भनेर अनुमानसमेत लगाइन्छ । मानौं त्यहाँ देखाएको र लेखेको कुराबाहेक त्यो मानिसको बाँकी संसार नै छैन बाँकी कुरा र बाँकी जीवन नै छैन । 

सामाजिक सञ्जालमा कसले के कुरा हाल्छ, के लेख्छ, के देखाउँछ, त्यो मानिसको व्यक्तिगत रुचि र उसको व्यक्तित्वअनुसार पनि हुनसक्छ । उसले त्यहाँ देखाउने जीवनशैली र व्यक्त गर्ने विचारभन्दा बेग्लै पनि उसको सोच र जीवन हुन सक्छ, तर देख्ने र हेर्नेका लागि यस्तो भ्रम पैदा हुन्छ कि त्यो नै अन्तिम सत्य हो । देखाइएको र देखिएको संसार नै सबै थोक हो । यस्तो लाग्छ, हामी सबैलाई एक–अर्काका बारेमा सबैकुरा थाहा छ । कसले के गर्दैछ, को कता गयो, कसले के खायो, सबै थाहा छ । कसको सन्तान जन्मियो, कसको विवाह भयो, कसले पुरस्कार जित्यो, को सुखमा छ, को दु:खमा छ, सबै थाहा छ जस्तो लाग्छ । सबैले सबैलाई चिनेका छौं जस्तो पनि हुन्छ, तर ९० प्रतिशतसँग त हाम्रो कहिल्यै भेट पनि हुँदैन । 

९५ प्रतिशतसँग त दोहोरो कुराकानी पनि हुँदैन, तर पनि चिनेका छौं भन्ने भ्रम भैरहन्छ । चिनेको छैन भनूँ भने दिनहुँ देखिइरहन्छन्, चिनेको छु भनूँ भने दोहोरो कुराकानी कहिल्यै भएको हुँदैन । कहिलेकाहीँ त फेसबुकमा देखेको मानिस बाटोमा भेट्दा कहाँ देखे–देखेजस्तो लाग्छ, तर झट्ट नाम याद आउँदैन । आफूले मात्र चिनेको हो कि उसले पनि याद गरेको छ, टुंगो हुँदैन । बोलाउन हुने हो कि नहुने हो, देख्दा हाँस्ने हो कि, नचिनेको जसरी हिंड्ने हो कि, के गर्ने–के गर्ने हुन्छ । आफूले चिनेर बोलाउँला, तपाईं को भनेर भन्दिने हो कि भन्ने संशय भैरहन्छ । हामी आफ्नै चिनेका साथीहरूसँग पनि वास्तविक जीवनमा नभेटेको महिनौं वा वर्षौं भैसक्दो रै’छ, तर दिनहुँ मोबाइल वा कम्प्युटरको स्क्रिनमा देखेपछि भेटिरहेको छु भन्ने हुँदो रै’छ । कहिलेकाँही भेटिहालियो भने पनि अँ मलाई तेरो के–के भैरहेको छ, सबै थाहा छ भनिहाल्छन् । मानौं, त्यहाँ देखिएबाहेक सोध्न पर्ने र बुझ्न पर्ने कुरा कसैको केही बाँकी छैन ।

कसैको दु:ख देखाउने बानी हुँदैन तर उसलाई आफ्नो मिल्ने साथीलाई भेटेरै मनको कुरा आदान–प्रदान गर्न मन लागेको हुनसक्छ । साथीले राम्रो कुरा मात्र देखेर भनिदिन्छ कि तेरो जिन्दगीमा त मस्ती नै मस्ती छ है । सञ्जालभरि साथी नै साथी छन् तर आपत्मा हारगुहार माग्नुपर्‍यो भने पाँच जना साथी भेट्न गार्‍हो पर्छ । खोक्रो सहानुभुति, फोस्रो माया, देखावटी साथ, होमा हो, भावशुन्य समवेदना दिने सयौं भेटिन्छन् तर अँगालो हालेर रुने र काँध थाप्ने साथी छायाँ संसारमा फेला पर्दैनन् । कोही मर्‍यो भने रेस्ट इन पिस लेख्ने हजारौं हुन्छन् तर मलामी जान र दु:खमा साथ दिन असल साथी मात्र आउँछन् ।

छायाँ संसारले हाम्रो संवेदनालाई, हार्दिकतालाई, आत्मीयतालाई दिनदिनै मार्दैछ । बोल्न मन लागेको मानिससँग खुलेर कुरा गरौं । नभेटी, नबुझी, नजिक नपुगी कसैका बारेमा त्यसै धारणा नबनाऔं । एकफेर एक कप चिया खाएरै गफ गरौं न त भनेर कसैसँग भेट्नुहोस् त, छायाँ संसारको मानिस असली संसारमा बेग्लै लाग्न सक्छ । भेट्दैमा के नै जान्छ र, कि कसो ? 

facebook.com/abeeralthapa

Twitter@abeeralthapa

प्रकाशित :कार्तिक १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्