फेरि बिउँझियो लिग फुटबल

- साप्ताहिक संवाददाता

कार्तिक १०, २०७५

 

प्राय: दोहर्‍याएर भनिन्छ, लिग कुनै पनि देशको फुटबलका लागि मेरुदण्ड हो । लिग नियमित आयोजना हुनु पर्ने प्रतियोगिता हो, यसमा अन्यथा केही सोच्नु पर्ने कुनै विषय छैन । यद्यपि नेपालमा लिग फुटबललाई लिएर राजनीति हुन्छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वमा रहेर कसले लिग गर्न सक्यो, अथवा सकेन्, त्यसले नै राजनैतिक मुद्दाको रूप लिन्छ । यो नै नेपाली फुटबलको विडम्बना हो ।

 

पछिल्ला केही वर्ष नेपाली फुटबलका लागि संक्रमण काल रह्यो र त्यसक्रममा लिग नै हुन सकेन । यसको एक प्रमुख कारण भुकम्प पनि रह्यो, तर जति बेला यही भुकम्प प्रमुख कारण हुन छाडेको थियो, तर पनि लिग हुन सकेन् । विश्वास नहुन सक्छ, नेपालमा अन्तिम पटक लिग भएको ०७० सालमा हो । यस अर्थमा नेपालमा लिग नभएको पनि पाँच वर्ष भैसकेको छ । यसबीच एक पुस्ताले नै लिग खेल्न पाएन र धेरै खेलाडी विस्थापित भए ।

 

जे होस, एन्फामा नयाँ नेतृत्वसँगै लिग सुरु भैसकेको छ । अहिलेसम्म सहिद स्मारक लिग ए डिभिजनका दुई खेल भएका छन् । पहिलोमा एनआरटी र आर्मीले बराबरी खेले । अर्कोमा संकटाले सरस्वतीलाई हरायो । त्यसयता लिग स्थगित भएको थियो, बंगलादेशमा भएको बंगबन्धु गोल्डकपका कारण । डिफेन्डिङ च्याम्पियनका रूपमा प्रतियोगिता खेलेको नेपाल लिग चरणबाट नै बाहिरिएपछि अब फेरि लिगले आफ्नो बाटो लिनेछ, अर्को अर्थमा अब वास्तविक रूपमा लिग सुरु हुनेछ ।

 

रेलिगेसन विनाको लिग

नेपाली फुटबलमा लिग फुटबललाई लिएर सबैभन्दा ठूलो समस्या हो, यसको ढाँचा एकै खालको नहुनु । एकातर्फ लिगमा सहभागी टिममा पनि कहिल्यै समानता देखिएन । त्यो भन्दा पनि ठूलो लिगलाई कसरी खेलाउने त्यो पनि निश्चित भएन् । २०४६ सालदेखिका लिगलाई मात्र आधार मान्ने हो भने प्रतियोगिता समूह विभाजन भएर पनि खेलाइएका छन्, शीर्ष छ टिमबीच सुपर सिक्सको अवधारणामा पनि खेलिएको छ । अझ डबल लिगमा पनि खेल भएका छन् ।

 

यसपटक त्यस्तो केही हुने छैन, सिंगल लिगका आधारमा खेल हुनेछ । त्यसको अर्थ, यसपटकको लिगमा सहभागी १४ टिम सबैले एक–अर्कासँग एक–एक पटक प्रतिस्पर्धा गर्नेछन्, जसमा कुल ९१ खेल हुनेछन् र त्यसले दिनेछ, विजेता । यसपटकको लिगमा यसअघि कहिल्यै नभएको एउटा नियम हुनेछ र त्यो हो, रेलिगेसन नहुनु । त्यसको स्पष्ट अर्थ, यसपटक पुछारमा रहने टिम तल्लो डिभिजनमा झर्ने छैन, त्यसैले क्लबहरूलाई यसको तनाव हुने छैन । 

 

रेलिगेसन लिगको आधारभूत तत्व भएपनि यसपटक एन्फाले आँखा चिम्लिने प्रयास गरेको छ । एन्फाको दाबी छ, लामो समय घरेलु फुटबल अवरुद्ध रहेको स्थितिमा लिग हुनु नै ठूलो कुरा हो । फेरि लिगका लागि क्लबहरू आपंैm तयार छैनन्, पर्याप्त खेलाडी पनि उपलब्ध छैनन् । त्यसैले यसपटकको लिगमा कुनै क्लब झर्ने छैनन् । यो विषयलाई लिए धेरै वाद विवाद पनि भए, धेरै आलोचना पनि भए । यद्यपि आखिर लिग रेलिगेसन विनानै चल्ने भयो ।

 

अबको प्रश्न हो, लिगमा यसको प्रभाव कस्तो हुनेछ ? एन्फाले लिगको पुछारमा रहने टिमको केही अंक अर्को संस्करणको लिगमा काट्ने नियम पनि बनाएको छ । त्यसको स्पष्ट चित्र पछि मात्र देखिने छ । अहिले तत्काल भने रेलिगेसन नहुने भएपछि क्लबले लिगमा धेरै खर्च गरेका छैनन्, त्यसैले तयारी पनि राम्रो छैन । यस्तो परिस्थितिमा प्रदर्शन पनि कमजोर हुने डर छ । धेरै क्लबले लिगको मध्य भागमा रहने योजना बनाएका छन् । त्यसैले एन्फाको रेलिगेसन विना लिग गर्ने निर्णय कति ठीक वा बेठीक हो, त्यो पछि देखिनेछ नै ।

 

खेल मिलोमतोको तनाव

नेपाली फुटबलको सबैभन्दा ठूलो समस्या हो, खेलका क्रममा हुने, मिलोमतो । कसैले आधिकारिक रूपमा नभनेपनि सबैलाई स्पष्ट थाहा छ, विशेषत: लिगमा पर्याप्त म्याच फिक्सिङ हुन्छन् । यसपटकको लिगमा सहभागी १४ टिममध्ये कसैले पनि दाबी गर्न सक्ने छैनन् कि हामीले कुनै पनि बेला खेल मिलोमता गरेनौं भनेर । यसै कारण नेपाली फुटबलले खेल मिलोमतोको ठूलो दुर्घटना बेहोरिसकेको छ । त्यसैले एन्फाको दाबी छ, यसपटक त्यस्तो हुने छैन । 

 

एन्फाले खेल मिलोमतो नहोस् भनेर आफ्नो पूरा ध्यान यसमा केन्द्रित हुने जनाएको छ । यसका लागि एन्फाले प्रत्येक खेलको सूक्ष्म रूपमा अध्ययन गर्ने पनि बताएको छ । यसपटकको लिग साँच्चै खेल मिलोमतो विना संचालन गर्ने हो भने एन्फाले पर्याप्त गृहकार्य गर्नु पर्नेछ । यो सम्भव भयो भने यसले नेपाली फुटबलमा नयाँ आयाम थप्ने छ । यद्यपि यो काम सजिलो छैन र रेलिगेसन विनाको लिगका कारण यसले थप समस्या सिर्जना गर्न सक्छ ।

 

लिगको इतिहास 

समग्र नेपाली खेलकुद इतिहासमै सबैभन्दा पुरानो र अहिलेसम्म जीवन्त चलिरहेको प्रतियोगिता हो, सहिद स्मारक लिग । नेपालमा लिग फुटबल कसरी सुरु भयो भनेर खोज्न धेरै पछाडि फर्कनुपर्छ । सात सालतिरको कुरा हो, नरशमशेर भारतको मोहमडन स्पोर्टिङ क्लबबाट फुटबल खेल्थे । उनले नै पहिलो पटक नेपाली फुटबलको विकास गर्न लिग फुटबलको आवश्यकता महसुस गरे । नेपाल फुटबल संघको स्थापना ०४ सालमै भैसकेको थियो । 

 

त्यति बेला नेपाली फुटबल राणाहरूको दरबारबाट बिस्तारै सर्वसाधारणसम्म पुग्न थालेको थियो । नेपालमा लिग फुटबल सुरु गर्न त्यो समयको नेपाल पुलिसको पनि ठूलो योगदान रह्यो । पुलिस फोर्स टिमले पद्मशमशेरले सुरु गरेको रामजानकी कप सात सालपछि लगातार तीन पटक जित्यो र शिल्ड नै पचायो । २०११ सालमा नेपाल पुलिसले नेपाली फुटबललाई निरन्तरता दिन एउटा नयाँ ट्रफी दियो, जुन ‘शहीद स्मारक ट्रफी’ थियो । 

 

त्यही वर्षदेखि विधिवत: रूपमा सहिद स्मारक लिग फुटबल सुरु भयो । उक्त ट्रफीमा २०११ आश्विन १७ गतेको मिति अंकित छ र लेखिएको छ, ‘राष्ट्रपिता श्री ५ महाराजाधिराज त्रिभुवन वीरविक्रम शाहका सुनेतृत्वमा एकतान्त्रीक शासनविरुद्धमा विक्रम सम्वत २००७ सालको जनमुक्ति संग्राममा प्राण वलिदान गर्ने अमर सहिदहरूको चिरस्मृतार्थ श्री प्रगोदबा जीवी याकथुम्बा आइजीपी र नेपाल पुलिसका अफिसरहरूले चढाएको श्रद्धाञ्जली ।’ 

 

पहिलो संस्करणको लिग फुटबल महावीर–११ ले जितेको थियो । नेपाल फुटबल संघ अस्तित्वमा रहेसम्म यसको आयोजना १५ पटक सम्भव भयो । अखिल नेपाल फुटबल संघले भने २०३२ सालयता यसको आयोजना गर्न थालेको हो । आरसीटीले २०२८ देखि ३० सम्म लगातार तीन पटक लिग जितेर पुरानो ‘सहिद स्मारक ट्रफी’ मा कब्जा जमायो । अहिलको सहिद स्मारक ट्रफी भने नयाँ हो ।

 

सहिद स्मारक लिग विजेताहरू

वर्ष          टिम

२०११ महावीर–११

२०१२ नेपाल पुलिस

२०१३ नेपाल पुलिस

२०१४ सैनिक–११

२०१७ एनआरटी ‘ए’

२०१९      एनआरटी ‘ए’

२०२० विद्या ब्यायाम

२०२३ महावीर–११

२०२४ फ्रेन्डस क्लब

२०२५ देउराली क्लब

२०२६ महावीर–११

२०२७ देउराली क्लब

२०२८ आरसीटी

२०२९ आरसीटी

२०३० आरसीटी

२०३२     ब्वाइज युनियन

२०३३ सुनाखरी क्लब

२०३४ अन्नपूर्ण क्लब

२०३५ एनआरटी

२०३६ आरसीटी

२०३८ आरसीटी

२०३९ अन्नपूर्ण

२०४० संकटा

२०४१ आरसीटी

२०४२ संकटा

२०४३ मनाङ–मस्र्याङ्दी

२०४४ मनाङ–मस्र्याङ्दी

२०४६ मनाङ–मस्र्याङ्दी

२०५२ एनआरटी

२०५४ थ्री स्टार

२०५७ मनाङ–मस्र्याङ्दी

२०६० मनाङ–मस्र्याङ्दी

२०६१ थ्री स्टार

२०६२ मनाङ मस्र्याङ्दी

२०६३ पुलिस

०६६/६७ पुलिस

२०६८ पुलिस

२०६९ थ्री स्टार

२०७० मनाङ मस्र्याङ्दी

प्रकाशित :कार्तिक १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्