गाउँको दसैँ

- सुविन भट्टराई

कार्तिक १०, २०७५

सहर जतिसुकै सभ्य, सालिन, समृद्ध वा सम्पन्न होस्, गाउँको गन्धै बेग्लै । गाउँको गीत मीठो । गाउँको घाम मीठो, गाउँको शीत मीठो । गाउँको दिन मीठो । गाउँको रात मीठो । झर्के थालमा पस्केको सागभात मीठो । 

हर ढुँगा, खोला, धारा, भीर, पहरा, टार, लेक, बेसी, चौतारा सबै चिजको रौनक अद्भूत । झन् त्यसमाथि दसैँको रौनक । 

जीवनमा पहिलो पटक दसैँ र गाउँलाई सँगसँगै, छेउमै लपक्कै, टाँस्सिएर बसेको देख्न पाएँ । गाउँले दसैँलाई र दसैँले गाउँलाई च्याप्पै अंकमाल गरेको देख्न पाएँ । 

गाउँमा त बाटो हिँडिरहेको अपरिचित पनि परिचितझैँ लाग्ने । गाउँमा त बाटो बिराए पनि कतै हराइन्न झैँ लाग्ने । गाउँमा त हराए पनि आफैँलाई भेट्टाएजस्तो लाग्ने । 

० ० ०

देखेँ यो पटक, दसैँले गाउँलाई कति सिँगार्दो रै’छ । गाउँ पनि सिँगारिएर गाउँm या नाचूँझैँ हुँदो रै’छ । घर–घरमा, ठाउँ–ठाउँमा हालिएका साना, मझौला, ठूला पिङमा चचहुइ गर्दै गुञ्जिएको आवाजमा गाउँले वर्षभरिको न्यास्रो मेट्दो हो । अघिपछि लिटरौँ खेर गैरहेको पानी, दसैँमा थापेर खाइदिने केही अञ्जुलीहरू थपिँदा वर्षौंदेखि झोक्राइरहेको धारो पनि खुसीले झन् रसाउँदो हो । टिपेर खाने धेरै हातहरू देख्दा लटरम्म अम्बा फलाएर पहेँलपुर भएको बोट पनि मुस्कुराएर गुलाबी भैरहेको हुँदो हो । फलेर पनि टिपिदिने हातहरू कम हुँदा सधैँभरि मन धेरै गुलियो बनाएर बस्ने कागतीको बोट पनि मानिसहरूको चहलपहल देख्दा खुसीले झन् अमिलिँदो हो । 

चप्पल फट्कार्दै धुलौटे बाटोमा हिँड्ने पाइलाहरू धेरै हुँदा अल्छी मानेर सुतिरहेको धुलो पनि उड्न पाएर मखलेल भएको हुँदो हो । 

जसै आउँछन् गाउँमा गाउँलाई सम्झेर लगभग हराइसकेकाहरू, घरीका घरी केरा, बोटबाट यो पटक त बोटमै कुहिनु नपर्ने भो भनेर चाँडै पाक्ने सुरसार कस्दो हो । 

यसपटक त मेरो गाउँमा पनि बाटो पुगेछ । दुर्गम भएकाले नै मेरो गाउँले कति गम खाएको थियो । दुई–तीन दिन हिँडेपछि मात्र पुगिने मेरो गाउँ केही घण्टामै पुगिने भएछ । सोचेँ, पर गाडीको हर्न बजेको सुन्दा सिंगै गाउँको कान ठाडो हुँदो हो । गाउँको बस चल्ने भए त्यही गाडीकै आवाज पछ्याउँदै उहीँ झोला बोकिदिन पुग्दो हो । गाडीकै हर्न प्रत्येक पल्ट बज्दा बूढा, चाउरिएका पैतालाहरू त्यतै बढेर कमजोर आँखाले गाडीबाट ओर्लंदै गरेका अनुहारहरूमा आफ्नो छोरा, बुहारी, नाति, नातिनीको अनुहार पहिल्याउन खोज्दो हो । कसैले भेट्टाउलान् र थोते दाँत देखाउँदै हाँस्दा हुन् । कसैले नभेट्लान् र चाउरिएको निधार अझै खुम्च्याउँदा हुन् । 

मेरो गाउँ, जहाँ म जन्मिएँ । जहाँ म खेल्न पाइनँ, बस्न पाइनँ, रुन पाइनँ, हाँस्न पाइनँ, तर पनि एउटा मसिनो धर्सोले यो गाउँले मलाई बाँधेको छ । जो केही गरी पनि चुँडाउन सक्दिनँ र चाहन्नँ पनि । परिचयका खातमाथि जति खात किन नथपिऊन्, मेरो परिचयको सिरानमा त्यही गाउँको नाउँ टाँगिएको हुन्छ । जहाँसुकैको हावापानीमा हुर्किऊँ, बढूँ, दुब्लाऊँ, मोटाऊँ, खिइऊँ, हुँ त म यही गाउँको बीउ । बीउले माटो पनि कहीँ बिर्सन सक्छ र ?

गाउँलाई भनेर जिन्दगीमा कहिल्यै केही दिन नसकेको मजस्तो कंगालले गाउँलाई यतिका वर्षमा तीन दिन, केवल तीन दिन मात्र दिँदा गाउँले मलाई ३ सय करोडभन्दा पनि धेरैको खुसी दिएको छ । कसैले दिन सिकोस् त गाउँबाट । 

सहरमा सधैँ दसैँ आयो र यस्सै टाप कसेर गयो । गाउँमा दसैँ आयो र मस्तिष्कभरि एउटा मीठो छाप छोडेर गयो । 

० ० ०

निधारको टीका उक्किएझैँ, अन्तत: हामी पनि गाउँबाट उक्किएर फेरि सहर झरिसक्यौँ । साँच्चै हामीले छाडेर आएपछि गाउँ पनि शून्य भो होला त ? जसरी गाउँलाई छाडेर आएपछि हामी शून्य शून्य भएका छौँ । 

प्रकाशित :कार्तिक १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्