आजदेखि पोखरा प्रिमियर

- राजाराम पौडेल

कार्तिक ९, २०७५

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता आज शुक्रबारदेखि पोखरा रंगशालाको क्रिकेट मैदानमा प्रारम्भ हुँदैछ जसमा बिहान ११ बजेको उद्घाटन खेलमा विराटनगर टाइटन्सले घरेलु टिम पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्नेछ । यो प्रतियोगितामा विराटनगर टाइटन्स, चितवन राइनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, हुलास काठमाडौं रोयल्स तथा एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टिमले भाग लिएका छन् । 

११ दिनसम्म चल्ने प्रतियोगिताअन्तर्गत दोस्रो दिन कात्तिक १० गतेदेखि बिहान ९ बजे र दिउँसो सवा १ बजे गरी लिग चरणका दुई खेल हुनेछन् । दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोज बुटवल ब्लास्टरसँग भिड्नेछ । 

सोही दिनको अर्को खेलमा हुलास काठमाडौं रोयल्सले एक्स्पर्ट धनगढी ब्लुजसँग प्रतिस्पर्धा गर्दैछ । 

कात्तिक ११ गते पहिलो खेल विराटनगर टाइटन्स र एक्स्पर्ट धनगढी ब्लुजकाबीच हुनेछ भने दोस्रो खेलमा बुटवल ब्लास्टर र पोखरा पल्टनले प्रतिस्पर्धा गर्नेछन् । कात्तिक १२ गते पहिलो खेल विराटनगर टाइटन्स र हुलास काठमाडौं रोयल्सकाबीच हुनेछ भने दोस्रो खेलमा चितवन राइनोज र पोखरा पल्टनले खेल्नेछन् । कार्तिक १३ गते कुनै खेल हुने छैन । 

कात्तिक १४ गतेको पहिलो खेलमा चितवन राइनोज र एक्स्पर्ट धनगढी ब्लुजले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेल विराटनगर टाइटन्स र बुटवल ब्लास्टरकाबीच हुनेछ । कात्तिक १५ गते पहिलो खेल चितवन राइनोज र हुलास काठमाडौं रोयल्सबीच हुनेछ । दोस्रो खेलमा एक्स्पर्ट धनगढी ब्लुज र बुटवल ब्लास्टरकाले प्रतिस्पर्धा गर्नेछन् । कात्तिक १६ गते पहिलो खेल पोखरा पल्टन र एक्स्पर्ट धनगढी ब्लुज तथा दोस्रो खेल बुटवल ब्लास्टर र हुलास काठमाडौं रोयल्सकाबीच हुनेछ । कात्तिक १७ गतेको पहिलो खेल हुलास काठमाडौं रोयल्स र पोखरा पल्टन तथा दोस्रो खेल विराटनगर टाइटन्स र चितवन राइनोजबीच हुनेछ ।

लिग चरणमा हरेक टिमले पाँच खेल खेल्नेछन् । पाँच खेलबाट सर्वाधिक अंकप्राप्त गर्ने शिर्ष स्थानको टिमले सिधै फाइनल खेल्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहेका टिमबीच अर्को प्रतिस्पर्धा हुनेछ । दोस्रो र तेस्रो टिमबीच बिहान ९ बजे फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ भने कात्तिक २० गते फाइनल हुनेछ । 

यो प्रतियोगिताका लागि पोखरा रंगशालामा ४ वटा पिचका साथै ४ हजार ५ सय दर्शक क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको छ । पोखरा प्रिमियर लिग क्रिकेटका लागि उमेश पटवाललाई प्रतियोगिता निर्देशक नियुक्त गरिएको छ । पटवालसँग नेपाली राष्ट्रिय टिम तथा अफगानस्तानी टिमका लागि समेत व्याटिङ कन्सल्ट्यान्टका रूपमा काम गरेको अनुभव छ । पीपीएल क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले समेत मान्यता प्रदान गरेको छ । 

तीन महिनाको निरन्तर मेहनतपश्चात् तयार भएको खेल मैदानको आउटलुक उत्कृष्ट रहेको राष्ट्रिय टिमका कप्तान तथा चितवन राइनोजका मार्की पारस खड्काले बताएका छन् । पोखरामा हिमश्रृंखला हेर्दै क्रिकेट खेल्न पाइने भएका कारणले समेत पीपीएलका खेलाडीहरू उत्साहित छन् । प्रतियोगीतामा सहभागी ६ वटै फेन्चाइज टिमका खेलाडीलाई पोखरामा ६ वटा छुट्टाछुट्टै होटलमा राखिएको छ । यो प्रतिस्पर्धाको अवलोकन आईसीसीले गर्नेछ ।

प्रकाशित :कार्तिक ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्