हँसाउनभन्दा पनि हाँस्न मन पराउँछु

- जनक तिमिल्सिना, कृष्ण भट्टराई

कार्तिक १, २०७५

ह्वाट द फ्लपजस्तो चर्चित कार्यक्रममार्फत कमेडीको दुनियाँमा अलग्गै छवि बनाएका सन्दिप क्षेत्री आफूलाई हँसिलो व्यक्तिका रूपमा चिनाउँछन् । दसैं विशेष कुराकानी गर्न समय लिएपछि उनले साँझ अबेर साप्ताहिककर्मी कृष्ण भट्टराई तथा जनक तिमिल्सिनालाई झम्सिखेलस्थित एक रेस्टुराँमा बोलाए, जहाँ उनी साप्ताहिककर्मीभन्दा पहिल्यै पुगेर वीरगन्जका आफ्ना बाल्यकाल साथी शार्दूल श्रेष्ठ र प्रमोदसँग कफी पिइरहेका थिए । त्यही क्रममा उनले खानपिन, हास्यव्यंग्य तथा दसैं अनुभवका सम्बन्धमा साप्ताहिकसँग लामै कुराकानी गरे । प्रस्तुत छ, क्षेत्रीसँगको अन्तर्वार्ताको सम्पादित अंश: 

दसैंमा कसरी रमाइलो गर्नुहुन्छ ? 

परिवारसँग भेटघाट नै हो । अहिले कामको सिलसिलामा धेरै भन्दा धेरै यात्रा गर्नुपरिरहेको छ । विवाह गरेकै पहिलो वर्षको दसैंमा विदेश जानुपर्‍यो, त्यसैले त्यो वर्ष परिवारसँग दसैं मान्न सकिएन । म प्राय: दसैंमा बाहिरै हुन्छु । यसपटक पनि नवमीसम्म उपत्यका बाहिर हुन्छु, भाग्यवश दसैंमा घर पुग्छु । पोखरा, चितवन तथा वीगन्जलगायतका ठाउँमा महिनाभरि कार्यक्रम छन् । 

दसैंमा मासु खाने र ड्रिक्स गर्ने त होला नि ? 

मलाई ड्याडीसँग पिउँदा एकदमै रमाइलो लाग्छ । दसैंको माहोल र रमाइलो इन्सिडेन्ट हुँदा कहिलेकाहीं पिउँछु । मेरो मूल घर वीरगन्ज हो, वीरगन्जमा दसैंका बेला पनि गर्मी हुने भएकाले हामी फ्रिजभरि बियर राख्थ्यौं । अल्कोहलको एडभोकेसी गरेको होइन, दसैंमा कहिलेकाहीँ चल्छ । पाँच वर्षअघिको दसैंमा ड्याडी र मैले बियर पियौं, हाम्रो दुई–दुई बोतल एक्ट्रिम कोटा थियो, पियौं, बुवाले भोलि नपिउने एक दिन ग्याप गर्ने भन्नुभयो । भोलिपल्ट बेलुका भएपछि मैले ड्याडीलाई यसो इसारा गर्दै भनें– के छ विचार, पिउने हो त ? बुवाले पनि पिउने र ? पिउँm न त भन्नुभयो । त्यस दिन पनि दुई बोतल पियौं । पिइसकेपछि फेरि बुवाले हिजो पनि पिइयो, आज पनि पिइयो, रेगुलर त पिउनु हुन्न यार भन्नुभयो । पर्सिपल्ट फेरि ड्याडीले रहर गरेजस्तो गरी पिउने त भन्नुभयो । हामीले त्यसैगरी दसैंभरि पियौं । यद्यपि ड्याडीले एभ्री टाइम अब ब्रेक गर्नुपर्छ भन्न छाड्नु भएन । त्यो क्षण सम्झँदा बडो रमाइलो लाग्छ ।

अहिले कत्तिको पिउनुहुन्छ ? 

अहिले त म अकेजनल्ली मात्र पिउँछु । मलाई फेस्टिव सिजनमा अथवा कुनै पनि बेला बुवासँग बसेर मदिरा सेवन गर्ने भनेपछि छुट्टै रमाइलो लाग्छ । 

पछिल्लो पटक बुवासँग कहिले पिउनुभयो ? 

केही दिनअघि मात्र हो । कोरियाबाट फर्कनेबित्तिकै हामी सँगै बसेका थियौं, पिऔं भन्नुभयो अनि पियौं । 

बुवाबाहेक पिउने ग्याङ पनि छ ? 

शार्दूल भन्ने मेरो साथी छ, उसको वजन नै १ सय २० किलो छ । ऊ भात मात्र खाएर मोटो भएको होइन, खानाको एकदमै सौखिन छ । ऊसँग बसेर कहिलेकाहीं खाइन्छ । एकदम मिल्ने र सँगै बसेर खाने साथी सुबोध त्रिपाठी हो, सुबोध त परिवारको सदस्यजस्तै छ । 

पिउनका लागि कुन ड्रिक्स बढी रुचाउनुहुन्छ ? 

तपाईंसँग खुल्ला भएर भन्छु, ह्विस्की भने बेलुका बसेर पिइदिउँm भनेर पिउँछु । साथीभाइ जम्मा हुँदा कहिलेकाहीं एक प्याक ह्विस्की पिइदिन्छु, तर बियर पिउन भने प्रोपर इन्भाइरमेन्ट चाहिन्छ । एकदम गर्मी छ भने कुरा अर्कै हो, कि रमाइलो वातावरण हुनुपर्छ । जस्तो म पोखरा पुगें भने बियर पिउँछु, पोखरा पुग्नेबित्तिकै मलाई बियर पिउन मन लाग्छ । मलाई बियर पिउन एकदमै प्रोपर वातावरण चाहिन्छ । 

त्यो वातावरणमा के–कस्ता कुरा हुनुपर्छ ? 

मन हलुका रमाइलो हुनुपर्छ नि । रिफ्रेस भएको फिल हुनुपर्छ अर्थात् मलाई एकदमै लाइटर मुडमा पिउन मन लाग्छ । कतिपय टेन्सन भयो भने बियर पिउँछन्, तर म टेन्सन भयो भने बियर पिउँदिनँ । मेरो साथीहरू अहिले यहाँ बियर पिइरहेका छन्, मलाई यस्तो वातावरणमा पिउन मन लाग्दैन । 

बियरको कुनै ब्रान्ड छ तपार्इंले पिउने ? 

त्यस्तो कुनै ब्रान्ड त छैन, तर नेपाली ब्रान्ड नै प्रिफर गर्छु, काल्र्सबर्ग, टुबोर्गहरू । युरोपमासाथीभाइले ड्राफ्ट बियर स्टोर गरेर राखेका हुन्छन् । त्यसको टेष्ट नै बेग्लै हुने । 

फेरि–फेरि खाऊँ–खाऊँ लाग्ने कुनै ब्रान्ड ? 

स्कटल्यान्डको ग्लेनफिडिक ह्विस्की सिंगल माल्ट मलाई एकदमै मन पर्छ । 

नशामा रहँदा तपाईंलाई के गर्न मन लाग्छ ? 

एकदमै रमाइलो गर्छु । म एकदम लिमिटमा पिउँछु, मैले एक्स्ट्रा पिएँ भने ९० एमएल हो । ३०–३०–३० एमएलका तीन पेग पिउने हो । मेरा साथीहरूको सर्कलै त्यस्तो छ । मलाई पिइसकेपछि एकदम रमाइलो गर्न मन लाग्छ, मैले आजसम्म पिएर झगडा गरेको, कसैसँग मुख लागेको छैन । बरु, सम्बन्ध बिग्रिएको मानिससँग कुरा मिल्छ । म कहिल्यै एग्रेसिभ हुन्न्, पिइसकेपछि मलाई बिग्रिएको कुरा पनि सपार्न मन लाग्छ । कतिलाई सामान्य अवस्थामा सरी भन्न सकिएको हुँदैन, यस्तो बेलामा सरी भन्छु । मात्ने गरी पिउनुमा कुनै मजा छैन । तपाईंको मस्तिष्क र शरीरलाई थाहा हुनुपर्छ मैले पिएको छु भन्ने कुरा । रक्सी पिएर झगडा गर्‍यो, रिसायो रे भन्ने नमीठो अनुभव पनि छैन मसँग । खाली बेलामा बरु मलाई झडङ्ग रिस उठ्छ । रक्सी पिएका बेला कसैले रिस उठाउँदा वा प्रोभोक गर्दासमेत म रिसाउँदिनँ । म एकदम क्लोज साथीहरूसँग मात्र पिउँछु । मलाई कस्तो लाग्छ भने एकदम मन मिल्ने र एकदम सुरक्षित हुने मानिसहरूसँग मात्र पिउनुपर्छ । म एक्लै कहिल्यै पिउँदिनँ । 

श्रीमतीसँग पिउनुभएको छैन ? 

उनी अल्कोहलिक होइनन् । उनी मासु पनि खाँदिनन्, शाकाहारी हुन् । मेरा लागि मीठो मासु पकाइदिन्छिन्, तर उनले मासु चाखेकी पनि छैनन्, उनी पूर्ण रूपमा शाकाहारी हुन् । 

मासु कत्तिको रुचाउनुहुन्छ ? 

एकदम रुचाउँछु । मलाई मासु मन पर्छ । 

कुन मासु बढी मन पर्छ ? 

आमाले गाली गर्दा मेरो मासु खा भन्नुहुन्थ्यो होइन ....हा हा हा.... तर होइन । मलाई खसीको मासु नै मन पर्छ । 

दसैंमा मासु कत्तिको खाइन्छ ?

म त्यस्तो धेरै मासु पनि खाँदिनँ । शार्दूल श्रेष्ठ मेरो स्कुल, कलेजदेखिको साथी हो, ऊ मासुको एकदम सौखिन छ, उसले हिजो मात्र मलाई वीरगन्जको प्रोपर सेकुवा पाउने ठाउँ रहेछ कालीमाटीमा, त्यहीँ लिएर गएको थियो । उसलाई काठमाडौंमा लोकल परिकारहरू कहाँ–कहाँ पाइन्छ सबै थाहा छ । प्रोपर सेकुवा र वीरगन्जतिर द्विप्याजिया भनिने मासु र प्याज बराबर भएको आइटम खायौं । मलाई धेरै होइन, सधैं खाइरहनुपर्ने तर थोरै भए पनि हुने हो मासु । मासुको ग्रेभी र मटकटिया सबैभन्दा बढी मनपर्ने आइटम हो । मटकटिया वीरगन्जको निकै राम्रो परिकार हो । 

भनेपछि खानपिनको सौखिन नै हुनुहुन्छ ? 

हो मेरा साथीसंगातीहरू नै खानपिनमै रमाउने खालका छन् । हामी आधुनिक परिकारभन्दा पनि लोकल खानेकुराको मज्जा लिन रमाउँछौं । चना, भुजा, पकौडा खाएर हुर्किएको मलाई ती चीज अझ बढी मन पर्छन् । मलाई पिज्जाभन्दा बढी प्याजी मन पर्छ । 

मानिसलाई फ्याट्ट हँसाइहाल्नुहुन्छ ? कहाँबाट आउँछ त्यस्तो खुराक ? 

हामी बडा हँसिला मानिस हौं । त्यसैले म फेसबुकमा मिष्टर ह्याप्पी लेख्छु । मेरो सर्कलमा म जस्तै हँसिला मानिसहरू छन् । म आफैं पनि हाँस्नुपर्ने, रमाइलो गर्नुपर्ने, त्यसैले कहाँबाट आउँछ भन्दा हामी जेमा पनि ह्यमुर देख्छौं । त्यो एउटा पर्सेप्सन रहेछ, किसानले एउटा काउली देख्यो भने त्यसमा तरकारी देख्छ, ब्यापारीले देख्यो भने प्रोडक्ट देख्छ, सेफले त्यसमा परिकार देख्छ, भोजन गर्ने मानिसले त्यसलाई खानाका रूपमा हेर्छ, हामी ह्युमरस देख्छौं । हाम्रो पर्सेप्सन नै ह्युमरस हुन्छ । 

मिठाइलाल क्यारेक्टर कसरी सिर्जना भयो ? 

तराईको क्यारेक्टर हो । त्यो सिर्जना गर्न मेहनत नै गर्नु परेन, किनभने हामी आफैं तराईका मानिस हौं । त्यहाँको लवज, बोलीबचन, सोच सबै थाहा छ । हामी तराईका मानिस जति पनि छौं, एकदमै इमोसनल हुन्छौं । हामी दोस्ती पनि इमान्दारीपूर्वक निर्वाह गर्छाैं, दुस्मनी पनि बडो इमान्दारीपूवर्क निर्वाह गर्छाैं । हामी प्रेम भाव भएका मानिस हौं, सफ्ट कर्नर भएका मानिस हौं । हाम्रै क्षेत्रमा अन्यत्र कहीँबाट नजितेका कृष्णप्रसाद भट्टराईलाई जिताएर प्रधानमन्त्री बनायौं । कहीँकतै तराईको आवाज दबाइएको थियो, त्यसलाई कसरी प्रतिनिधित्व गर्ने भनेर मिठाइलाल क्यारेक्टर मीठो तरिकाले सत्य बोल्ने मानिस रूपमा खडा गरेका हौं । इनोसेन्ट भैसकेपछि तपाईंले जे पनि बोल्न पाउनुहुन्छ, जान्ने टोपलेर बोल्नुभयो भने तपाईंको गल्ती मानिन्छ । यद्यपि इनोसेन्टल्ली तपाईं जे पनि सोध्न सक्नुहुन्छ । हामी तराईको दबिएको आवाज समेटेर एउटा मीठो तरिकाले बोलिदिने क्यारेक्टर खोजिरहेका थियौं, त्यसै क्रममा मीठो बोल्ने भएकाले मिठाइलाल नाम राखियो । हाम्रो गाउँमा मिठाइलाल भन्ने व्यक्ति पनि छ । तराई आन्दोलन भैरहेका बेला मिठाइलाल क्यारेक्टर बढी चर्चामा आयो । ब्यालेन्स गर्दै अघि लगेपछि सबैले रुचाए । 

तपाईंले मिठाइलाल यति लोकप्रिय होला भन्ने सोच्नुभएको थियो ? 

म कहिल्यै यो कुरा यस्तो होला भन्ने सोचेर गर्दिन । प्रत्येक चीज मैले इन्जोय गर्दै गरेको छु । म आफ्नो अन्तर्वार्ता आफैंलें धेरै पटक लिइसकेको मानिस हुँ । अहिले दुई चार जना मानिसले चिन्नुहुन्छ, एक–दुई देश घुमेको छु वाह गज्जब भएछ भन्ने फिल हुन्छ, तर मैले यो चीज पहिले नै फिल गरिसकेको थिएँ । मैले कलाकार बन्छु भन्ने सोचेको थिएँ, सफलता र असफलतालाई मैले कहिल्यै नापिनँ । मलाई टेलिभिजनमा कार्यक्रम गरेर विदेश गइन्छ भन्ने लागेकै थिएन । टेलिभिजनमा कार्यक्रम गर्न मात्र पाए हुन्थ्यो, त्यसले तलब नदिएपनि हुन्छ भन्ठान्थे । सुरुमा नेशनल टेलिभिजनमा चार वर्ष रहँदा टेलिभिजनका सम्बन्धमा निर शाह, दुर्गानाथ शर्माजस्ता व्यक्तित्वहरूसँग सिक्ने मौका पाएँ । त्यो टिभी बन्द भएपछि बेरोजगारजस्तै भइयो केही समय । त्यसपछि तराई टेलिभिजनमा केही समय काम गरे, त्यहाँबाट कान्तिपुर टेलिभिजनमा आएँ । 

कार्यक्रममा शब्दको पन्च हान्नुहुन्छ, रियलमा तपाईंलाई कसैले त्यसैगरी पन्च हान्दैनन् ? 

हान्छन् साथीभाइहरूले, उनीहरूका लागि म कलाकार नै होइन । साथीहरूले दुई रुपैयाँको पनि गन्दैनन्, म पनि साथीहरूका अगाडि कहिल्यै आफूलाई कलाकार मान्दिनँ । 

घरपरिवारमा तपाईं कत्तिको हँसाउनुहुन्छ ? 

घरपरिवारमा त मेरो औकात नै छैन, भगवान कसम । हँसाउने कोसिस गर्छु, सबैजना हँसिला छन्, मेरो परिवार नै मेरो पहिलो अडियन्स हो । घरपरिवारबाट विहान उठेदेखि पन्च आउँछ । उठ्ने बित्तिकै दूध लिएर आइज भन्ने आदेश आउँछ । दूध ल्याउनेदेखि छोरीलाई स्कुल छाड्नेसम्मका यावत् काम म आफैं गर्छु । मैले सिम्पल जानेको कुरा तपाईं भित्रबाटै खुसी हुनुहुन्न भने तपाईंले कहिल्यै अरूलाई खुसी दिन सक्न हुन्न । त्यसैले भित्रबाट खुसी भए मात्र बाहिर खुसी दिने हो, तर खुसी केमा हुने कसरी हुने त्यो आ–आफ्नो कन्डिसन हो । म हँसाउनभन्दा पनि एकदम हाँस्न मन पराउने मानिस हुँ । 

तीजको अवसर पारेर तपाईंले महिलाहरूमाथि बनाउनुभएको एउटा भिडियो भाइरल भयो ? त्यस्तो कन्सेप्ट कसरी आउँछ ? 

ए बाबा ! महिलाको क्यारेक्टर बनाउन अध्ययनै गरिरहनुपर्दैन, पीडित पुरुषहरूलाई अध्ययन गरे भैहाल्यो नि । हामी सबै पुरुषको जीवनमा एउटा न एउटा त्यस्तो घटना घटेको छ । मसँग त अहिले विवाहित पुरुषहरूको ब्रान्ड एम्बेसडर जस्तो व्यवहार गरिरहेका छन् । सबैको व्यथा मैले बोलिदिनुपर्ने अवस्था छ । 

त्यो पीडित पुरुषहरूको प्रतिनिधिमूलक कार्यक्रम थियो । त्यस्ता कथा सुनाउने पुरुषहरू पनि आए कि ? 

सुनेरै मैले त्यो कार्यक्रम तयार पारेको हो । मलाई के लाग्छ भने पुरुषका कारण श्रीमतीलाई दु:ख भयो भने त्यो ठूलो अपराध हो । मैले मेरी श्रीमतीलाई अझ धेरै माया गर्न थालेको मेरी छोरी जन्मिएपछि हो, मैले आफ्नी छोरीलाई जसरी हुर्काइरहेको थिएँ, त्यसैगरी उनका बुवाले पनि उनलाई हुर्काएका होलान् भन्ने लाग्यो, त्यसपछि श्रीमतीसँगको मेरो एट्याचमेन्ट नै छुट्टै भयो । हामीलाई कसरी हुर्काइयो भने श्रीमतीले केही भन्यो, प्रताडित बनायो भने पनि भैगो नि त भनेर बस्नुबाहेक केही उपाय छैन । एउटी श्रीमतीलाई श्रीमानले पिट्यो भने मलाई श्रीमानले पिट्यो भनेर उजुरी हाल्न जान्छन्, श्रीमतीले श्रीमान्लाई पिट्यो भने थुक्क लाछी श्रीमतीको पिटाइ खाने तँ भनेर उल्टै गाली गर्छन् । हामीले कहाँ जाने ? 

श्रीमतीहरू किन किचकिचे हुँदा रहेछन् ? 

मैले श्रीमतीका बारेमा अध्ययन गर्दै जाँदा के पाएँ भने श्रीमतीको अल्टिमेट विश्वासपात्र श्रीमान् मात्र हुँदो रहेछ । अनि श्रीमतीहरूलाई मेरो मानिस कसैले लगिदेला कि भन्ने इनसेक्युरिटी, केही बिग्रिएला कि भन्ने चिन्ता हुन्छ, यो उनको माया पनि हो । किनभने, आफ्नो परिवार छोडेर आउने बेलामा उनी सासू–ससुरा भनेर आएकी हुन्नन्, मेरी नन्द कति राम्री भनेर पनि आएकी हुन्नन्, नितान्त जुन मानिससँग विवाह गरेर गैरहेकी हुन्छिन्, त्यो एक्लो मानिसलाई मात्र देखेकी हुन्छन् । त्यसैले जोसँग बढी अपेक्षा हुन्छ, त्यहीसँग बढी पीडा हुन्छ । श्रीमतीले सबैभन्दा अपेक्षा गर्ने भनेको आफ्नो श्रीमानसँग नै हो । जहाँ अपेक्षा हुन्छ, त्यहाँ खुसी हँुदैन भनिन्छ । आशा भएपछि निराशा हुने सम्भावना उत्तिकै हुन्छ । आशा र अपेक्षा नै नभएको सम्बन्ध मीठासपूर्ण हुन्छ । त्यसपछि उनीहरू सानो–सानो कुराका किचकिच गर्न थाल्छन् । त्यसैले पुरुषले ती साना–साना अपेक्षाहरू सकेसम्म पूरा गर्ने प्रयास गर्नुपर्छ । 

उक्त कार्यक्रमपछि महिलाहरूबाट आलोचनात्मक प्रतिक्रिया आएनन् ? 

आए, महिला मित्रहरू भन्नुहुन्छ, तपाईं केटीमानिसलाई अति पेल्ने । मेरो जवाफ पनि कडै हुन्छ–तपाईंहरूले घरमा लोग्नेलाई पेल्न हुने, हामीले कार्यक्रममा ब्यंग गर्न नहुने ? केटाहरू एकदमै खुसी हुन्छन्, हेर क्या बोल्या छ यसले भनेर । उनीहरूले बोल्न नसकेको कुरा मैले बोल्दिरहेको हुन्छु । 

पहिले र अहिलेको दशैलाई कसरी सम्झनुहुन्छ ? 

पहिले दसैं साह्रै रमाइलो, छुट्टै मिठास । पहिले मेरो दसैं अक्सर मामाघरमा बित्थ्यो । एकपटक दसैंमा मैले २ सय ५० रुपैयाँ दक्षिणा पाएको थिएँ । घरमा पैसा राखेर अरूलाई ढोग्नुपर्ने, मामाघरमा टिका लगाएपछि पैसा पाइने । आठ वर्षजतिमा २ सय ५० रुपैयाँ दक्षिणा पाएपछि मलाई त्यो दक्षिणा यति भारी भयो कि यति नोट के गरूँ, बाल्दिउँm की क्या हो भन्ने भयो । पहिलेदेखि नै म घडीको एकदमै सौखिन, त्यो बेला टिकटिके घडि पाइन्थ्यो । त्यो २ सय ५० रुपैयाँले मैले घडी किनेँ । त्यो घडी लगाइसकेपछि आतंक भएन त ? म को–को न हुँ भन्या जस्तो भयो । हातमा घडी लगाएर बसेको तीन घण्टा भैसक्यो, कसैले टाइम सोध्दैनन् । कसैले टाइम नसोधिदिएपछि डिप्रेसनै भएँ नि म । घडी लगाएको के महत्व भयो त ? घडी लगाएको छु, कसैले टाइम नसोधेपछि मैले गएर मामालाई भने, ‘यार मामा कसैले टाइम नै सोध्दैनन् । म बच्चैदेखि चकचके, मामालाई फिल भएछ अनि मामाले मेरो मन राख्न भएपनि बेला–बेलामा टाइम सोध्न थाल्नुभयो, ‘भान्जा कति बज्यो ?’ म भन्थे, ‘एट थर्टिसिक्स, नाइन ट्वान्टी फाइभ ।’ यति भन्न पाउँदा मलाई सार्‍है खुसी लाग्ने । अहिले त्यो चिज कहाँ पाउनु ? अहिलेको दसैं सबैलाई खुसी पार्नुपर्ने दसैं । अरू खुसी भएको देखेर आफू खुसी हुने दसैं । पहिलेको त्यो खुसी अहिले हामी आफ्ना बालबच्चामा हेर्ने प्रयास गर्छौं । अहिले पनि मेरी आमाले दसैंमा मलाई लुगा किनिदिनुहुन्छ । आमाले मेरा लागि बच्चैदेखि किनिदिइहनुभएको, उहाँका लागि त म केही पनि होइनन नि त । न सेलिब्रेटी हुँ, न केही हुँ, केवल छोरा मात्र त हुँ । अहिले पनि मलाई दसैंमा आमाले सपिङ गर्न लानुहुन्छ । अहिले पनि हाम्रोमा दसैंमा सबैलाई एकजोर नयाँ लुगा किनि दिनुपर्ने चलन छ, त्यसमा मिठास पनि छ । त्यो उमेरका लागि त्यो दसैं राम्रो अहिलेको उमेरमा यो दसैं राम्रो । अहिले टिकटिके घडि लगायो भने त बर्बाद भैहाल्यो नि †

प्रकाशित :कार्तिक १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्