मन्दिरमा बलि नदिऊँ

- रवीन्द्र अधिकारी

कार्तिक १, २०७५

मन्दिर भन्ने पवित्र शब्द सुन्नासाथ मनबाटै श्रद्धा जागेर आउँछ । जब मन्दिर परिसरमा पुगिन्छ तब त्यहाँको पर्यावरणले हामीलाई एकै क्षणका लागि भए पनि बेग्लै संसारमा पुर्‍याइदिन्छ । अध्यात्मको खोजीमा अहोरात्र ओहोरदोहोर गर्ने अनुयायीहरूको भीडमा कुनै दिन हामी पनि हुन्छौँ । धर्मचेष्टा वा अनुष्ठानबाट पाइने अजबको शान्ति र सुख सबै मन्दिरबाट पाइन्छ । दसैं सुरु भएलगत्तै मन्दिरमा दिनुहुँजसो भक्तजनको मेला नै लाग्छ । यो समयमा देवी मन्दिरहरूमा विशेष: पूजाआजा गरिन्छ भने शान्तिको पर्याय मानिने ती मन्दिरमा पशु वा पन्छी बलि समेत दिइएको पाइन्छ । मन्दिर पूजा–अर्चना गर्ने सार्वजनिक थलो हो जहाँ अनेकानेक जात तथा रिवाज मान्ने व्यक्तिहरू स्वतन्त्र रूपले आउन–जान सक्छन्, तसर्थ मनन गरौं : के मठ–मन्दिर वा देवालय पशु बलि दिने ठाउँ हो ?

बलि प्रथाका अनुयायी प्राय: हिन्दू धर्मको पनि शाक्त सम्प्रदायका हुन्छन्, जसले देवीको उपासनाको अन्तिम रूप नै बलि हो भन्ने विश्वास राख्छन् तथापि प्रकृति वा पृथ्वीलाई देवता मान्नेहरूले पनि बलिको परम्परालाई अङ्गीकार गर्दै आएको पाइन्छ । दसैंमा हिन्दूहरूले बलि दिन्छन् तर हिन्दू धर्मका मूल ग्रन्थहरूलगायत अन्य थुप्रै पुराणमा बलिलाई निषिद्ध गरिएको छ । पशुबलि एउटा ठूलो अनुष्ठान् भएकाले यसका लागि मेहनत र खर्च पनि ठूलै चाहिन्छ । त्यसैले त बलिको सम्पूर्ण विधि–विधान पुर्‍याउने परिवार राजकीय वा ठूलै खानदानको हुनुपथ्र्याे । पशुबलिको परम्पराले विशेषत: पशु हिंसाभन्दा पनि शक्तिको पूजा–आराधनालाई मात्र महत्व दिएको पाइन्छ । हिन्दू धर्ममा बलिको प्रक्रियामा खास गरी झट्का वा मार हान्ने विधि प्रयोग हुन्छ, जसमा एकै पटक खुकुरी वा तरवारले घाँटी छिनाउनुपर्छ । मुस्लिम समुदायमा घाँटी रेटेर बलि दिइन्छ, जसलाई हलाल वा जबिया भनिन्छ ।

भागवत् गीतामा भगवान् कृष्णले पशु हिंसा नगर्न भनेका छन् तै पनि बलि दिएको खण्डमा आफूले स्वीकार गर्ने किनभने बलि चढाइएको पशुको आत्मामा पनि आफू हुने कुरा सङ्केत गरेका छन् । शाक्त अनुयायीहरूले काली, भवानी वा दुर्गाको पूजामा कुखुराको भाले, हाँस, बोका, राँगा तथा अन्य पशुपन्छी बलि दिन्छन् । हिन्दू मात्र नभै तमिल सम्प्रदायमा पनि मुरुगन देवताका लागि पशुबलिको परम्परा व्याप्त छ । नेपालको बारा जिल्लामा अवस्थित गढीमाई मन्दिरमा दिइने पशुबलि विश्वमै उदाहरणका रूपमा लिइन्छ ।

संस्कार र परम्परा जसरी चलायो, उसै गरी चल्दै जाने कुरा हुन् । हामी सोच्न सक्ने प्राणी हौं । त्यही भएर ठीक–बेठीक उचित–अनुचित राम्रोसँग नियालेर परम्परालाई निरन्तरता दिनुपर्छ । राम्रोलाई आत्मसात् गर्नु र भावी पुस्तालाई सिकाउँदै जानु तथा नराम्रोलाई परिष्कृत् गर्दै लानुनै वर्तमान पुस्ताको जिम्मेवारी हो, बलिको सन्दर्भ यदाकदा धर्मिक ग्रन्थहरूले जोडे पनि मानिसले भक्तिका लागि बलि दिनैपर्छ भन्ने छैन । पवित्र धर्मस्थलमा रगतको दृश्य निश्चय नै राम्रो होइन । मानिसको खाद्य आवश्यकतालाई धर्मसँग छुट्याउनै नमिल्ने गरी जोड्नु हँुदैन । 

अब रह्यो मठ–मन्दिरमा पशु बलि कतिको उचित छ ? मन्दिर सर्वजनिक स्थल हो । मन्दिर सार्वजनिक सरोकारको विषय हुनुपर्छ । कसैले आफ्नो व्यक्तिगत मनोकांक्षा पूरा गर्न आफ्नो निजी बोका वा कुखुरा लगेर त्यस्ता ठाउँमा काट्न पाउँदैनन् । आफ्नो घरमा व्यक्तिगत मन्दिर छ भने त्यहाँ दिनुहोस् बलि, तर सार्वजनिक स्थानमा रहेको मन्दिरमा रगतको खोलो बगाएर मासु नखाने, रगत देख्न नसक्ने, हिंसा नरुचाउने मानिसलाई मन्दिर परिसर जानै नहुने स्थिति सिर्जना नगरिदिनुहोस् । 

अहिंसाका हिमायती बौद्धमार्गीहरू पनि मन्दिर पुग्छन् । जन्मजातै शाकाहारी र बालबच्चाहरू पनि मन्दिर दर्शन गर्न पुग्छन् । 

के अब उनीहरू सबैले एउटा पशु हत्याको साक्षी बन्नुपर्ने ? सार्वजनिक स्थानमा हत्याको तमासा देखाउनु उपयुक्त होइन । स्वास्थ्यकर मासु खाने हो भने पनि वैज्ञानिक पशु वधशालामा लगेर पशु बलि दिन सकिन्छ । मन्दिर अथवा खुला सार्वजनिक स्थानमा पशु बलि दिएर मासु बनाउने क्रममै कति कीरा तथा निला झिङ्गा आउँछन्, सबैले देख्नुभएकै छ । अनियन्त्रित रूपमा चढाइएका रगत तथा फालिएका मासुका टुक्रा एवं रौंले वातावरण कति प्रदूषित तुल्याउँछ, थाहा छ ? बधशालामा विधिवत् काटिएको मासु हाइजेनिक पनि हुन्छ । त्यसैले मन्दिरमा सात्विक बलि दिनुहोस् अनि घर वा निजी स्थानमा राजसी बलि दिनुहोस्, यसले धार्मिक एवं सामाजिक सहिष्णुतालाई पनि खलल पार्दैन र चाडबाडमा स्वस्थकर मासु समेत खान पाइन्छ । 

ravinems@iom.edu.np

प्रकाशित :कार्तिक १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्