साँधेको खसीको मासु

- साप्ताहिक संवाददाता

कार्तिक १, २०७५

साँधेको मासुको परिकार विशेषत: नेवार समुदायमा लोकप्रिय छ । राँगाको मासुबाट बनाइने यो परिकार खसीको मासुबाट समेत तयार पार्न सकिन्छ । हड्डी, छाला तथा बोसो नभएको खसीको मासुलाई पानीमा थोरै नुन हालेर १० मिनेट उमाल्ने अनि हल्का सेलाउन दिएपछि स–साना टुक्रामा काट्ने । एउटा प्यानमा थोरै तेल हालेर उसिनेको मासुलाई खैरो–रातो नहुन्जेल फ्राई गर्ने । 

लसुन, अदुवा, टिम्मुर, रातो खुर्सानी तथा गोलभेंडालाई राम्रोसँग पिसेर मासुमा हाल्ने । हरियो प्याज, सुकेको प्याज, धनियाँ तथा हरियो खुर्सानीलाई पातलो गरी काट्ने र मासुमा हाल्ने, कागतीको रस मात्राअनुसार तथा जिराको धूलो पनि हाल्ने । अर्को प्यानमा तोरीको तेलमा मेथी फुराएर बेसार हाल्ने र मोल्न राखिएको मासु झाँन्ने । झाँनेर फेरि मोलिसकेपछि यो परिकार खानका लागि तयार हुन्छ । 

मटन चप फ्राई

यो परिकार मूलत: पाकिस्तानका मुस्लिमहरूले आफ्नो धार्मिक अवसरमा तयार पार्छन् । स्न्याक्सका रूपमा खान मिल्ने यो परिकार खसीको करङको मासुबाट बनाइन्छ । यो परिकार बनाउनु पहिले खसीको मासुलाई प्रेसरकुकरमा प्याजको ठूलो टुक्रा, थोरै नुन, अदुवा, लसुनको पेस्ट तथा करिब १ सय मिलिलिटर पानी हालेर ३ सिठ्ठी पकाउने । यसरी पकाएपछि त्यसमा पानी बाँकी छ भने थप पकाएर सुकाउनुपर्छ । अर्को भाँडामा डेढ चम्चा कर्नफ्लोर, खुर्सानी तथा मरीचको धूलो, भुटेको जिरा अनि धनियाँको धूलो, नुन र दहीलाई बाक्लो ग्रेभी हुने गरी मोल्ने । 

उक्त ग्रेभीमा उसिनेको खसीको मासु हालेर चम्चाले चलाउँदै मोलेर १०–१५ मिनेट त्यत्तिकै छाड्ने । मासुमा राम्रोसँग मसला पसोस भनेर छोप्नु राम्रो हुन्छ ।अर्को प्यान वा कराईमा डिप फ्राई हुने गरी तेल तताउने । तेल राम्रोसँग तातेपछि मोलेर राखिएको खसीको मासुलाई एक–अर्कासँग नटाँसिने गरी फ्राई गर्ने । यो मासुको दुवैतर्फको भाग रातो भएपछि झिकेर सर्भ गर्न सकिन्छ ।

प्रकाशित :कार्तिक १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्