भाइरल ब्वाइ

- मिलन संग्रौला

कार्तिक १, २०७५

 

 

 

बडो मुस्किलले बसको टिकट मिलेको थियो त्यो पनि अन्तिम लहरको । दसैंंमा घर जाने मुस्किलको मजा पनि बेग्लै हुन्छ । सहूँ–सहूँ लाग्ने । मनलाई सहनशील बनाउँदै आफ्नो सिटमा बसे । जे होस्, दसैंंमा घर जानु अरुबेलाको जस्तै सस्तो र सजिलो हुँदो हो त, दसैं, दसैं कहाँ भैरहन्थ्यो ? ब्यागलाई माथि राखें । धूलो सोहोरिएर टाउकालाई अभिषेक गर्‍यो । रिस त उठेकै हो । अरू बेला भएको भए कन्डक्टरलाई बोलाएर व्यंग्यमिश्रित सुझाव दिन्थें तर दसैंं पर्‍यो । हुन त दसैंंमै हो हट्नुपर्ने सारा धूलोमैलो, तर घर नपुगी हट्न के सुरु हुन्थ्यो ? त्यतिन्जेलाई धूलो, मैलो, गन्ध, बासी आदि सबैलाई यात्राका भरपर्दा सारथी मान्नैपर्‍यो । 

 

बिस्तारै यात्रीहरू भरिदै गए । सबैजना दसैंंको हतारमा, दसैंंको उत्साहमा । भारीभारी सामानले डिकी, हुट हुँदै सिटमाथिको र्‍याकसम्म अटेसमटेस हुँदै थिए, तर मानिसहरू भने एकदमै चंगा देखिन्थे । हप्ता–दस दिनलाई शहरको भारीपनबाट मनले विश्राम पाउने अनुभूति उनीहरूको अनुहारमा नाँचिरहेको प्रस्टै देखिन्थ्यो । अन्तिम लहरको ठीक बीचको सिट । फोल्डिङको त कुरै छाडौं । सिटको अडेस लाउने भाग गोमन साँपको जस्तो उल्टै आफैतिर निहुरिएको थियो । घाँटी सिधापारो कि गिदी नै दुख्ने गरी टाउको थिचिन्थ्यो । अगाडि खुट्टा राख्ने ठाउँ पनि थिएन । प्यासेज थियो । तैपनि मन लाग्दा सिधासम्म पार्न मिल्ने रहेछ अनि बसले सित्तैमा खेलाइदिने चाकाचुलीको त कुरै छाडौं । अन्तिम लहरको पिङ । दसैंंमा भुइँ छाड्ने अभ्यास यहींबाट सुरु हुँदै थियो ।

 

झ्यालतिरको सिटमा एकजना दाह्रीवाला भाइ आइपुग्यो । ठूलो ब्याग थियो उसको । ब्यागलाई थन्क्याउनुभन्दा अघि क्यामराको सानो ब्याग निकाल्यो उसले । मैले उतिर चासो राखेको देखेपछि मुस्कराउँदै मतिर हात बढायो, ‘म सम्राट । न्यू भाइरल नेपाल युट्युब च्यानल चलाउँछु । हेर्नु’भा छ ?’

मैले छैनको संकेतमा टाउको हल्लाएँ । त्यसपछि उसले नै थप्यो, ‘हेर्नुभा छैन भने, प्लिज सर्च, भिउ, लाइक, कमेन्ट एन्ड सेयर द रियल भाइरल नेपाल ।’ म मुस्कुराएँ मात्र । मेरो देब्रेतिरको सिटमा कोही आउन बाँकी नै थियो । एकछिनमा त्यसलाई ताक्दै आईपुग्यो एउटा चौध–पन्ध्रको देखिने किशोर । भारीको नाउँमा ऊसँग एउटा स्कुले ब्याग थियो । त्यसलाई काखमा राख्दै सिटमा अडियो ऊ । 

 

‘तपार्इं टिचर हो ?’

एक्कासि केटोले निकै चंख स्वरमा मलाई बोलायो । 

‘अरे कसरी थाहा पायौ तिमीले ?’

‘गोजीमा मार्कर भएपछि थाहा हुन्न त ?

स्कुल छुट्टी भएपछि सिधै झोली कुम्ली कसेर हतारमा हिँड्नुपरेको थियो, बल्लबल्ल मिलेको बस पनि छुट्ला भन्ने पिरले । केटोको बाठोपनले म ऊतिर खिचिएँ । 

‘भाइ कतिमा पढ्छौ ? ’

‘नौमा पढ्थें ।’

‘पढ्थे मतलब अहिले पढ्दैनौ ?’ 

‘मतलब अब दसमा पढ्छु ।’ 

‘कसरी ? फाइनल एक्जाम आउन अझ छ महिना छ ।’ 

‘उम्.... । कसरी भनें नि, म अब मामाकोमा बसेर पढ्ने हो ।’ 

‘कता हो नि मामाघर ? ’ 

‘काँकड्भिट्टा ।’ 

ऊसँग अझै गफिने सुर चल्दै थियो, युट्युबरले एक्कासी डिस्टर्ब गर्‍यो । 

‘भाइलाई एक्टिङ पनि आउँछ ?’ 

‘आउँछ नि ।’ 

‘देखाऊ त एक–दुईवटा ।’ 

केटोले कबड्डीको दयाहाङ राई र भद्रगोलको पाँडे बाबैको हुबहु अभिनय गरेर हँसायो । अगाडितिरका मान्छे समेत उसको अभिनयले तानिएर पछाडि मुन्टो फर्काउँदै थिए । 

 

उसको अभिनयमा दम देखेर, युट्युबरले क्यामेराको ब्याग खोल्यो र अन गर्दै केटोतिर तेस्यार्यो । 

‘ल भाईको एक्टिङ जाओस् त यार पाँच सात मिनेटको ।’ 

‘ए मेरो भिडियो हालेर पैसा कमाउनी, मलाई चाहिं के नि ?’ 

‘हत्तेरी भाई, भर्खर दश हजार सब्क्राबइर पुगेको छ, मनिटाइजेसन एप्रुभ नै भा छैन । अब भाइको भिडियो भाइरल भएर हामी दुवैको भाग्य चम्किन्छ कि के थाहा ?’ 

‘आकाशको फल, आँखा तरी मर् ।’ केटोले उखान छाँट्यो । 

 

‘अपुई भ्यू त झनै खत्रा रै’छ । लु जाओस् यार अब । ल रेडि, वान टु थ्री, रोलिङ ।’ युट्युबर निकै उत्साहित देखियो । 

युट्युबरको रोलिङ कमान्डपछि केटोको अनुहारमा एक्कासी बादल मडारिन थाल्यो । अघिसम्म कमेडी गर्दै हँसाएको केटो एक्कासी रुँलाझैं गर्न थाल्यो । ऊ जुरुक्क उठ्यो र क्यामेरातिर हेर्दै त्यही भावमा आफू पोखिन थाल्यो । तब मात्र थाहा भो, केटो भावुक अभिनयमा उत्रिसकेको रहेछ । 

 

‘ए मेरो बाबा, ए मेरीआमा । मान्छे हुँ तर आजसम्म मान्छे हुनुको अनुभूतिबाट किन वञ्चित भैरहेछु ? सुगाझैं पिंजडामा कैद छु । किन ? सुनको कचौरामा जति नै मीठो चारो हाल्दिए पनि तृप्त छुइनँ म । किन ? जान्नुको नाममा सुगाले रट्ने दुई–चार डायलग भन्दा फरक छैन मैले लिइरहेको शिक्षा । किन ? नौ महिना गर्भमा सुरक्षा दिएर जन्माएथ्यौ आमा तर आज दिनको नौ–नौ घण्टा खुट्टा खुम्चाएर कैदीझैं बसिरहँदा मेरो दु:खमा किन आँखा चिम्लिरहेकी छौ आमा ? हात समाएर हिंड्न सिकायौ बाबा, तिनै पाइलाहरू कुज्याएर राख्दा किन मौन भैदिन्छौ बाबा ?

 

बिहानै कोचिङ क्लासमा लखेट्छौ, दिनभरी स्कुलमा पट्यार लाग्दा काला अक्षरहरू सार्न लगाउँछौ, बेलुकी फेरि ट्युसन नामको गृह कैद पनि चलाउँछांै अनि त्यसपछि पनि एकैछिन तिमीहरूसँग हाँसेर बस्न खोज्दा किन आँखा तर्छौ मेरो बाबा, मेरी मामु ? सानैदेखि म्युजिक र एक्टिङमा मेरो मन बसेको बुझेर पनि त्यहाँबाट धपाइ छाड्यौ किन मलाई ? स्कुलको म्युजिक क्लबको मेम्बर बन्छु भन्दा, अंग्रेजी भाषा जान्नुपर्छ भनेर जबरजस्ती किन इङलिस क्लबमै मेरो नाम टिपाइदियौ बाबा ? अनि फेरि मलाई पट्यारलाग्दो पाठ घोकाउन कोठाभित्र थुनेर आफूहरू चाहिँ होमी थिएटर घन्काउँदै नेपाल आइडल र भ्वाइस अफ नेपाल हेरेर रमाउँछौ । किन ? आजकाल मैले मेरो मनको भाषा गुमाउदै गइरहेको छु बाबा । जुनसुकै भाषा सिके पनि मनको भाषा गुमेको आत्मविश्वासले मलाई भविष्यको कुन क्षेत्रमा अब्बल पार्ला त मामु ?

 

केही भन्न खोज्दा चुप लागेर पढ्न बस भन्नुभन्दा परको शब्दहरू नसुनेको वर्षौं बितिसकेछ बाबा । एक्लोपनले मभित्रको फ्रस्टेसनलाई उमालिरहेको मैले कहिले जनाउन सकिन मामु । बेलामौका हजुरको मोबाइलमा मौका मारेर युट्युब हेरेको थाहा पाउँदा बाबाले हजुरले गाली खानुपर्छ मामु । त्यसदिनको हजुरहरूको भान्सा नै अलिनो बन्छ । मलाई त रुचि नभएको धेरै भैसक्यो । 

 

आफूभन्दा भारी झोला भिरेर, महाकाव्य जस्ता नोटहरू लेखेर अनि बाह्र बजेसम्म बसेर सक्दा पनि स्याबासी नपाइने होमवर्कहरूसँग जुधेर एक पल पनि बस्न सक्दिनँ म । अब आफ््नै दुनियाँमा पाइला राखेर आफ्नो बाटो आफैँ बनाउन चाहन्छु म । मलाई माफ गरिदिनुहोस् प्रियबाबा, मामु । सके हजुरहरूको नाम चम्काउँला, नसके बदनाम चाहिं पार्ने छैन । अलबिदा ।’

 

‘वाहवाह । क्या एक्टिङ गरिदेऊ मेरो भाइ । आऊ एक हग गरौं ।’ युट्युबरले क्यामरा झोलामा हालेर केटोलाई हग गर्‍यो । 

‘यस्तो राम्रो स्क्रिप्ट चाहिं कसले लेख्दियो भाइ ?’ 

युट्युबरको प्रश्नमा केटो अक्मकायो र भन्यो, ‘ए, ए । हाम्रो स्कुलको ड्रामा सरले ।’ 

मलाई भने अरु कसैले भन्दा उसको मनले नै स्क्रिप्ट लेखेझैं महसुस भैरहेथ्यो ।

 

बस आफ्नै गतिमा गुडिरहेको थियो । म बाहिरको अन्धकार र दौडिरहेका उज्यालाका थोप्लाहरूलाई हेर्दै सोचमग्न थिएँ । केटोलाई सोध्नुपर्ने प्रश्नहरू मनमा मडारिइरहेका थिए । तर भावुक अभिनयको थकानले हो वा आफूभित्रको पिरले निकास पाएर हो, केटो आँखा चिम्म गरेर निदाउन थाल्यो । बिस्तारै उसको टाउको मेरो काँधमा अडेस लाग्यो । अरुबेला भएको भए त्यो अप्ठेरो सहने परिस्थितिमा कदापि हुन्नथें, तर किन हो त्यसबखत मलाई मेरै भाइले मेरो काँधमा विश्राम मागेझैं लाग्यो । 

कसो–कसो निदाइएछ । बिउँझदा उज्यालोले आफ्नो अस्तित्व देखाइसकेको थियो । बसले कोसीपार गरिसकेको थियो । केटो मस्त निन्द्रामा थियो । एकाध घण्टामा म झर्ने ठाउ आइपुग्यो । म ओर्लिन लाग्दा हेरें, केटो उठेर आँखा मिच्दै थियो । उसको नाम पनि सोध्न बिर्सिएछु । युट्युबर झ्यालबाट बाहिरको बिहानी दृश्य खिच्न मस्त थियो ।

 

घर पुगेर केही बेर सुस्ताएपछि मोबाइलको संसारमा सयर गर्न थाल्दा देखें, युट्युबर न्यु भाइरल नेपालमा हालेको भिडियो भाइरल बन्दै थियो । हेरें, केटोको स्क्रिन एक्ट अझ सानदार देखिदो रहेछ । भिडियो हेरिसकेपछि फेरि फेसबुकमा फर्किएँ । फेसबुके भित्तामा सेयर गरिएको एउटा सुचना देखेर मेरो आँखा च्यात्तिरहे, मुख आँ भैरह्यो । 

 

सूचनामा केटोको तस्बिरसहित लेखिएको थियो, किशोर हराएको सुचना । चौध बर्षको सुमेश प्रधान काठमाण्डौंबाट एक दिनदेखि बेपत्ता .....।’ 

एकछिनपछि होसमा फर्किएँ र तुरुन्त प्रहरीको सयमा फोन गरेर हराएको केटो बसमा काँकटरभिट्टातर्फ लागेको सुचना दिएँ । 

तर.... । पछिसम्म मैले फलो गरिरहें । केटो फेला परेको सूचना मैले पाइनँ । अहिले पनि युट्युबमा सयर गर्दा आशामा हुन्छु, केटो सानदार अभिनयका साथ फेरि फिर्ता पो भएको छ कि ?

प्रकाशित :कार्तिक १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्