बाल्यकालको दसैँ अनुभव

- सुविन भट्टराई

आश्विन ३१, २०७५

घटस्थापनादेखि स्कूल, कलेज बिदा हुन्थे । अझ स्कुलमा घटस्थापना नलाग्दै आधाउधी जनसंख्या घटिसकेको हुन्थ्यो । सोह्रश्राद्धको अन्तिम अन्तिमतिरैदेखि क्लासहरू सुनसान हुन्थे । शिक्षकहरू पनि रहलपहल विद्यार्थीको नपढ्ने दवाबलाई मानिदिएर साथ दिइरहेका हुन्थे ।

अघिपछि मलाई खुब साथ दिने साथीहरू घटस्थापनापश्चात् उपलब्ध हुन असमर्थ हुन्थे । घटस्थापनाकै एक–दुई दिनको सेरोफेरोमा उनीहरूका बा–आमा कुम्लो कुटुरो कस्न थाल्थे । कोही पूर्वका साथी थिए, कोही पश्चिमका । कोही पहाडका, कोही तराइका । उत्साहित हुँदै उनीहरूको कोठामा पसेका बेला उनीहरू भने आफ्नो मूलघर जाने तरखरमा हुन्थे । 

‘अब दसैँ पछि आउने,’ कुनै साथी बुरुक्क उफ्रिँदै भनिरहेको हुन्थ्यो ।

‘अब तिहार पछि आउने,’ अर्को साथी अनुहारभरि उत्साह सोहेरेर यसो भनिरहेको हुन्थ्यो ।

मेरो अनुहारको चमकले पनि सायद उनीहरू जाने नाइट बसकै टिकट काटिसकेको हुँदो हो । 

साथीहरूको मूलघर जाने दिन म उनीहरूलाई बस चढाउन जान्थेँ । कसैलाई बसपार्कसम्मै छाड्न जान्थे । कसैलाई गौशालासम्म । उनीहरूका बाआमाको ‘पर्दैन भो नआऊ’ लाई अटेर गर्दै । 

साथी र उसका परिवारका सदस्यहरू बस चढ्थे । बसमा अरू पनि थुप्रै यात्रु हुन्थे । सबै आ–आफ्ना घर गैरहेका हुन्थे । सबैका परिवार कतै बाहिर छन् । सबैको यो उपत्यका छाडेर गैसकेपछि पर कतै एउटा गाउँ हुँदो हो । गाइँ, भैँसी कराइरहने एउटा गोठ हुँदो हो । नजीकै लिँगे पिङ हुँदो हो । घर नजिकै हरियो जँगल हुँदो हो । खोला, झरना, ताल, पोखरी आदि पनि हुँदा हुन् । भविष्य खोज्न जहाँ नै भौंतारिए पनि उनीहरूको एउटा मीठो बिगत त्यही गाउँमै हरहर बास्ना आइरहने भएर बसेको हुँदो हो । उनीहरू कहीँका हुन् । उनीहरूको जरा कहीँ छ । अघिपछि जतासुकै भौतारिएपनि कमसेकम दसैँमा उनीहरूलाई तान्ने एउटा गाउँ छ, एउटा ठाउँ छ । 

घर फर्कने क्रममा मन उदास उदास हुन्छ । आफैँलाई प्रश्न गर्छु, मेरा साथीहरू कहीँका हुन्, म चाहिँ कहाँको ? बाले दु:ख गरेर कमाएर ल्याएको हजार–हजार नोट तिरेर बुझाउने घरबेटीको घर मेरो होइन । यो काठमाडौँ मेरो होइन । म कहाँको ?

‘सुदुर पूर्वमा एउटा जिल्ला छ, खोटाङ, हामी त्यहीँका हौँ ।’ बा–आमा भन्नुहुन्थ्यो भन्न त । साथै यसो पनि भन्नुहुन्थ्यो, ‘न गाडी जाने बाटो छ, न प्लेन ओर्लने एयरपोर्ट छ । एक नाइट बस चढेर गएपछि तीन, चार दिन जंगलै–जंगल, बगरै बगर, उकालै–उकालो, ओरालै–ओरालो हिँड्नुपर्छ अनिमात्र पुगिन्छ ।’ बाहरूको कुरा अनुसार सात, आठदिन चाहिँ यात्रामै बित्ने रैछ । भन्नुहुन्थ्यो, ‘अलिक ठूलो हूनु, बलियो हुनु अनि जानु ।’

पछि केही ठूलो भएँ, बलियो भए,ँ अनि गएँ पनि । वास्तवमै दुर्गम रै’छ हाम्रो गाउँ । दसैँमा होइन । अरु नै अवसरहरूमा गइयो । गाउँ र दसैँलाई जोडीका रूपमा अझै हेर्न पाएको छैन । यतिका वर्षमा त काठमाडौँले पनि मलाई आफ्नै बनाइसक्यो, छाडेर जानै नदिने भयो । 

आज पनि दसैँको माहौलमा बसपार्क नजिकै पुग्दा टिकट काउन्टरमा लाग्ने भीडलाई निक्कैबेरसम्म नियाल्छु । आफ्नो घर जाने उत्साह र जोसमा पचासौँ मानिसलाई पन्छाएर टिकट पाउने जुन लालच उनीहरूको अनुहारमा देख्छु, मलाई उनीहरूको अनुहारले देखाइरहेको त्यो लालच प्रिय लाग्छ । दसैँका बेला नयाँ बसपार्क अथवा गौशालाबाट छुटेका बसमा मेरो भौतिक शरीर नभएपनि मेरा केही रहर हरेक सिटमा अलिकति ठाउँ बनाएर घुसेको हुन्छ भन्ने कुरा म कसरी बताउँm ? मेरा कुण्ठाहरूले म स्वयम्लाई पत्तो नदिई हरेक दसैँमा हरेक नाइटबस चढेर यात्रा गरिरहेको हुन्छ । मलाई बद्मास नभन्नुहोला, तर म यो स्वीकार गर्छु, मलाई हरेक दसैँमा यात्रा गरेर आफ्नो मूलघर जाने यात्रीको अलिकति उत्साह अहिले पनि चोर्न मन लाग्छ । 

प्रकाशित :आश्विन ३१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्