मटन अफगानी ग्रेभी

- साप्ताहिक संवाददाता

आश्विन ३१, २०७५

नामैले थाहा पाउनु भयो होला, खसीको मासुको यो परिकार कुन देशमा खाइन्छ भन्ने कुरा । मटन अफगानी ग्रेभी बनाउन हड्डी सहितको मासुको टुक्रालाई प्रेसर कुकरमा हाल्ने । यदि मासुमा बोसो छ भने तेल नहाले पनि हुन्छ, यदि छैन भने हल्का तेल हाल्ने । त्यसमा अदुवा, लसुन तथा प्याजको पेस्ट १/१ चम्चा, थोरै नुन र हल्का पानी हालेर दुई सिट्ठी पकाउने । यदि त्यसमा पानी बाँकी रह्यो भने पानी सुकाउने । पानी सुकेपछि काँचो तेल एक चम्चा हालेर चलाउने । यसो गर्दा मासुमा चमक आउँछ । 

अर्कातर्फ मिक्सरमा हरियो धनियाँ, अदुवा, लसुन तथा प्याजको टुक्रा अनि हरियो खुर्सानीमा थोरै पानी हालेर पिस्ने । त्यसलाई डेक्चीमा खन्याएपछि उक्त मिक्सरमा एक कचौरा दही, दूधको तर वा नौनी, फ्रेस क्रिम छ भने एक डाडु हाल्ने र आधा कचौरा पानी समेत हालेर हल्का चलाउने । उक्त घोललाई पनि पहिलेकै डेक्चीमा खन्याउने । पकाएर सेलाएको मासुलाई उक्त घोलमा मिसाउने र त्यसमा दुई चम्चा चाट मसला, गरम मसला, १ चम्चा कसुरी मेथी पाउडर, मरिचको धूलो, ४–५ चम्चा तेल, दुई वटा कागतीको रस तथा थोरै नुन हालेर मोल्ने । यो मिक्सलाई फ्रिज छ भने १ घन्टा म्यारिनेट हुन दिने । यदि फ्रिज छैन भने छोपेर राख्ने । अब कराईमा थोरै तेल तताएर उक्त मासुको टुक्रालाई दुवैतर्फ रातो खैरो नहुन्जेल तार्ने । 

अर्को कराईमा थोरै तेलमा सुकुमेल तथा ल्वाङ तताउने । तातेपछि उक्त ग्रेभी हाल्ने र पकाउने । ग्रेभी बाक्लो नहुन्जेल चलाउँदै पकाइरहने । ग्रेभी राम्रोसँग पाकेपछि त्यसको तेल र मसला छुट्टिन्छ, त्यसमा अगाडि फ्राई गरिएको मटन हाल्ने र दुवैलाई चलाउँदै पकाउने । यता एउटा कचौरामा गोल बाल्ने र उक्त कचौरालाई अफगानी ग्रेभीको बीचमा राखेर गोलमाथि सुकुमेल, ल्वाङ तथा मख्खन डढाउने र ग्रेभी राखिएको भाडाको बिर्को लगाएर केहीबेर छोपिदिने । धूवाँ आउन छाडेपछि मटन अफगानी ग्रेभी तयार हुन्छ ।

 

प्रकाशित :आश्विन ३१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्