छड्के

  • लघुकथा

- मुक्तिनाथ घिमिरे पथिक

आश्विन ३०, २०७५

 

अप्रत्याशित रूपमा सुनको मूल्य अकासिएपछि सुन खरिदकर्ता हच्किए । गहना गृहमा समेत काँचो सुनको अभाव देखियो । सुन ४० वर्ष यताकै सबैभन्दा महँगो भएपछि लगानीकर्ता अन्य क्षेत्रमा मोडिए तर सुनको कारोबार ठप्प नै भएको भने कहीँ पनि देखिएन । आकस्मिक रूपमा श्रीमतीले सोही समयमा गहनाको माग गरेपछि ऊ धर्मरायो ।

लेखनको क्षेत्रमा प्राप्त अनुभव र बढ्दो उमेरको लाभ लिँदै उसले श्रीमतीलाई केही समय शान्त त पार्‍यो तर अस्थायी शान्ति लामो समय टिकेन । जब श्रीमतीको कचकच बढ्दै गयो ऊसँग कुनै अस्त्र बाँकी रहेन । ‘दुईमहिने ‘फिल्ड वर्क’ सकेर आउँदा म तिमीलाई रोज्जा छड्के तिलहरी ल्याइदिउँला,’ भावुक भएर श्रीमतीको चिउँडो मुसार्दै उसले अन्तत: श्रीमान्लाई आश्वस्त तुल्यायो र भोलिपल्टै हान्नियो ‘फिल्ड वर्क’का लागि ।

अनुपस्थित श्रीमान्को पर्खाइमा दुई महिना चाउरिएकी तरुनी श्रीमती श्रीमान्को आगमनसंँगै धपक्कै बली । अझ श्रीमान्ले हरियो पोतेमा उनिएको चौबीस क्यारेट सुनको दुई तोलाको छड्के तिलहरी बिलसहित जिम्मा लगाएपछि त उसको खुसीको सीमा नै रहेन । ऊ नाच्न थाली छड्के ढल्काएर । श्रीमतीको माग पूरा गर्न समर्थ भएकोमा उसले पनि रुञ्चे हाँसो फुत्कायो । भोलिपल्ट दुवै बजार डुल्न निस्किए । उक्त अनपेक्षित यात्रामा श्रीमतीले दाहिने काँधबाट ढल्काएर देब्रे कम्मरको टेकोमा चम्काएको छड्के त धेरैले देखे तर श्रीमान्को देब्रे कम्मरमाथिको १२ इन्च लामो छड्के आलो घाउ भने कसैले देखेनन् ।

प्रकाशित :आश्विन ३०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्