किन लाग्छ रक्सी ?

- साप्ताहिक संवाददाता

आश्विन २९, २०७५

रक्सी धेरै प्रकारका हुन्छन् । हामीलाई सबै प्रकारका ब्रान्ड उत्तिकै प्रिय: लाग्दैनन् । खासमा रक्सी कसरी बनाइन्छ र त्यो के हो भन्ने कुरा धेरैलाई थाहा हुँदैन । अन्न तथा फलफूलमा मर्चा र यसको काम गर्ने यिस्ट नामक फङ्स समूहको जीवाणु हालेर कुहाएर जाँड बनाइन्छ । हामीले पिउने रक्सीचाहिँ खासमा एथनल हो । ब्याक्टेरियल जीवाणु भन्ने बित्तिकै हानिकारक मात्र हुँदैनन्, यी जीवाणुमध्ये कतिपय लाभदायकसमेत हुन्छन् । दही जमाउन वा सेल फुलाउन पनि यस्तै प्रकारका जीवाणु प्रयोग गरिन्छ । हाम्रो ठूलो आन्द्रामा पनि करिब ४ सय प्रकारका लाभदायक ब्याक्टेरिया हुन्छन् । 

अन्न तथा फलफूलमा केही मात्रामा चिनी पनि हुन्छ, त्यही तत्व नै रसायनिक प्रतिक्रियाद्वारा रक्सी बन्छ । रक्सी कति कडा भनिन्छ । खासमा कडा भन्ने कुरा त्यसमा मिसिएको पानीको मात्राले निर्धारण गर्छ । जाँड नउमाली बनाइने छ्याङ, बियर, वाइन आदिमा बढीमा १५ प्रतिशतसम्म अल्कोहल हुन सक्छ, बाँकी पानी हुन्छ । त्योभन्दा बढी प्रतिशत अल्कोहल भएको रक्सी बनाउनुपरे जाँडलाई तताएर वाष्पीकरणको माध्यमले अल्कोहलमा पानीको मात्रा घटाउनुपर्छ र तताउँदा निस्किएको बाफलाई कुनै माध्यमले पसिनाका रूपमा संकलन गर्नुपर्छ । घरमा रक्सी बनाउँदा तताइएको जाँडलाई माथि चिसो पानी भएको भाँडाले छोप्नुको कारण अल्कोहल रुपी बाफलाई चिसोमा ठोक्काएर तरल बनाई तल झार्नु हो । 

घरपाला रक्सी बनाउँदा १० पटकसम्म पानी फेरिन्छ । तीन पटकसम्मको रक्सीमा अल्कोहलको मात्रा बढी हुने भएकाले तीनपाने रक्सी कडा भएको हो । पानी १ सय डिग्री सेल्सियसमा वाष्पीकरण हुन्छ भने अल्कोहल ७८ दशमलव ३ डिग्रीमा तसर्थ ७८ दशमलव ३ डिग्री नजिकको रक्सी बढी कडा र १ सय डिग्री नजिकको रक्सी कम कडा हुन्छ । हामीले पिउने रक्सीको सिसीमा जति प्रतिशत प्रुफ भनेर लेखिएको हुन्छ, त्यसको ठीक आधा अल्कोहल र बाँकी पानी छ भन्ने बुझ्नुपर्छ । जस्तै भोड्कामा ७० प्रतिशत प्रुफ लेख्नुको अर्थ त्यसमा ३५ प्रतिशत अल्कोहल छ भन्ने हो । हामीले खाने ठोस खाना पचेर मसिनो सानो आन्द्रा हुँदै शरीरमा पुग्न केही समय लाग्छ, तर रक्सी पच्नु पर्दैन । खाने बित्तिकै २० प्रतिशत जति आमाशयले नै सोस्छ, बाँकी तुरुन्तै सानो आन्द्रामा पुगी सोसिएर रगतमा मिसिन्छ र शरीरका सबै कोषमा पुगी आफ्नो प्रभाव देखाउन थाल्छ । यही प्रभाव पर्नु नै रक्सी लाग्नु हो ।

रक्सीको असरले मानिसको केन्द्रीय स्नायु प्रणालीको गति नै कम हुने भएकाले यसरी परिवर्तित व्यवहारहरू कमजोर प्रकारका र अस्वभाविक हुन्छन् । थोरै पिउँदा थोरै प्रभाव हुने भएकाले अनौठो, रमाइलो प्रकारको, थकाइ, पीर, चिन्ता बिर्सिए अनुभव हुन्छ, तर बढी सेवन गर्दा शरीर नै विषाक्त भै शरीर तथा मस्तिष्क दुवैमा नकारात्मक प्रभाव पर्छ ।

रक्सी पिएको व्यक्ति धंगधंगाउनु, बोली लार्बराउनु, ध्यान नपुर्‍याउनु, अलमलमा पर्नु आदि मस्तिष्क प्रभावित हुनुका परिणाम हुन् । त्यसका अतिरिक्त रक्सी पिएका बेला बढी गफ गर्ने, हल्ला गर्ने, जोस्सिने, रिसाउने, अपराध गर्न समेत सुरिने, कपडामै पिसाब गर्ने आदि परिणाम पनि मस्तिष्कले सही गतिमा सही सूचना दिन नसक्नुका परिणाम हुन् । परिणामहरू पनि नसाको असरअनुसार फरक हुँदै  जान्छन् । सुरुमा रमाइलो गरिरहेको मानिसले झगडा गर्न थाल्नु त्यसैको उदाहरण हो ।

रक्सी लागेको मानिसले गाडी चलाउन सक्छु भन्नु पनि अस्वाभाविक अवस्थामा स्वाभाविक क्रिया गर्न सक्छु भन्ने रक्सी प्रभावित भावना हो । वास्तविकतामा उसले नपिएको बेलाझैं गाडी चलाउन सक्दैन । अत्यधिक रक्सी सेवन गर्‍यो भने त अल्कोहल प्वाइजनिङ नै हुन्छ । बान्ता गर्नु, निद्रा नलाग्नु, बेहोस वा अचेत हुनु, रगतमा चिनीको मात्र एकदम घट्नु वा बढ्नु, शरीरको तापक्रम एकदम घट्नु र कुनै–कुनै बेला रक्सी लागेकै अवस्थामा मृत्यु हुनु अल्कोहल प्वाइजनिङका परिणाम हुन् । रक्सीका कारण निद्रा नपुग्दा दृश्य कम हुन्छ, टाउको दुक्छ अनि सारा शरीर नै मानसिक तथा शारीरिक रूपले शक्तिहीन र थकित हुन्छ ।

 

प्रकाशित :आश्विन २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्