रिल्याक्सका लागि पिउँछु

  • चियर्स !

- साप्ताहिक संवाददाता

आश्विन २९, २०७५

 

मदिरा अर्थात् हाम्रो चलनचल्तीमा भनिने शब्द ‘दारु’ नेपाली समाजमा लोकप्रिय नै छ । कसैको जन्मदिन पर्‍यो कि विवाह भयो टुच्च नलगाउने हो भने समारोह वा उत्सव नै खल्लो अनुभव गर्छन् यसका पारखीहरू । घर–घडेरी–किनबेच गर्दा होस् वा सवारी साधन घर भित्र्याउँदा होस् खुसी सेलिब्रेट गर्न मदिरा नभै नहुने भएको छ । अझ चाडपर्वका बेलामा त यो नभइ हुँन्न । आजभोलिका युवाहरूले हरेक खालका खुसी र दु:खमा यसलाई साथी बनाएको पाइन्छ । दारु नपिउने व्यक्ति फेला पार्न मुस्किलै छ भन्दा फरक नपर्ला । साप्ताहिकका रामजी ज्ञवालीले मदिरा सम्बन्धमा कलाकार सुनिल थापासँग रमाइलो ‘मदिरा संवाद’ :

 

रिल्याक्सका लागि पिउँछु

 सुनिल थापा, अभिनेता

 

मदिराको उत्पत्ति किन भएको होला ?

मलाई लाग्छ नेगेटिभ दिमाग भएकाहरूले रक्सीको आविष्कार गरेका हुन् । यद्यपि हाम्रो समाजले जे कुरा पनि लिमिटेसनमा भयो भने त्यसलाई स्वीकार गर्छ कि जस्तो लाग्छ ।

 

मदिरा भएन जिन्दगी चल्ला कि नचल्ला ?

अफकोर्स चल्ला, किन नचल्नु ?

 

तपाईं रक्सी पिउनुहुन्छ ?

ढाँट्ने कुरै भएन, पिउँछु नि ।

 

रक्सी किन पिउन थालिएको होला ?

अरूले किन पिउँछन् भन्ने थाहा भएन, तर मचाहिँ रिल्याक्सका लागि पिउँछु ।

किन र के–का लागि भन्दा पनि हार्डवर्कअघि रिल्याक्स अनुभव गर्न पिउने बानी छ ।

 

कहिलेकाहीँ एकान्तमा सोच्दा, रक्सी पिएर ठीकै गरियो जस्तो लाग्छ ?

मानिसका आ–आफ्ना इच्छा हुन्छन् तर म खासमा एक्लै भएका बेला रक्सी पिउन रुचाउँछु ।

 

मदिरा पिउँदाका पार्टनर कस्ता छन् ?

सबै प्रकारका छन् । कुनै बार–बन्देज छैन ।

 

तपाईंले रक्सी पिउने कुराबाट परिवार खुसी छ त ?

यो कुरा त मेरो परिवारका सदस्यहरूसँगै सोध्नुपर्छ, म आफैंचाहिँ निकै खुसी छु ।

 

रक्सी पिउनैपर्ने कुरा हो कि छोड्नुपर्ने कुरा ?

यो व्यक्तिगत रुचिको विषय हो । कसैलाई पिउन मन लाग्छ पिओस्, पिउन मन लाग्दैन भने नपिए पनि केही फरक पर्दैन ।

 

तपाईंले कहिलेदेखि पिउन थाल्नुभएको ?

जब मैले पहिलो तलब पाएँ, त्यही दिनदेखि ।

 

रक्सी पिउने उपयुक्त समय कुन हो ?

दिनभर काम गरेर थाकेपछि रक्सी पिउँदा आनन्द आउँछ ।

 

कस्तो ठाउँमा बसेर रक्सी पिउँदा आनन्द आउँछ ?

मलाई टिभी अघि बसेर रक्सी पिउँदा रिल्याक्स अनुभव हुन्छ ।

 

आधुनिक परिवेशमा रक्सी परिहार्य बन्दै गएको हो ?

होइन, रक्सी नपिए पनि केही फरक पर्दैन । संसारका धेरै मनिस रक्सी पिउँदैनन् ।

 

सबैलाई थाहा छ, रक्सी पिएपछि झगडा बढी हुन्छ, के भन्नुहुन्छ ?

कुनै पनि कुराको निश्चित सीमा हुन्छ । उक्त सीमा पार गरेपछि यस्ता खालका समस्या देखा पर्छन् ।

 

रक्सी पिउँदा साथीभाइहरूसँग झगडा हुन्छ ?

अहिलेसम्म त्यस्ता खालका घटना घटेका छैनन् । खासमा म एक्लै बसेर नै रक्सी पिउँछु ।

 

रक्सी पिउँदा गरेको कुनै गल्ती ?

अहिलेसम्म त्यस्तो खास गल्ती गरेजस्तो लाग्दैन, सम्झना पनि छैन ।

 

रक्सी पिएकै कारण कहिल्यै कसैसँग सम्बन्ध बिग्रिएको छ ?

छैन, म रमाइलोका लागि पिउँछु । कसैसँग झगडा गर्न पिउने बानी छैन ।

 

तपाईंका बेस्ट ब्रान्ड कुन–कुन हुन् ?

सुरुमा ह्विस्की पिउँथे । अहिले भोड्का विशेष लाग्छ ।

 

 

 

रक्सीको आदतकै कारण कहिल्यै अपमानित हुनुपरेको छ ?

आजसम्म छैन र हुनेवाला पनि छैन ।

 

रक्सी नपिई कति लामो समय बिताउनुभएको छ ?

समय मिल्यो र मनले खोज्यो भने पिउने हो । त्यस्तो नभै हुँदैन भन्ने छैन ।

 

प्रकाशित :आश्विन २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्