दक्षिणा भेला पारेर तितौरा खान्थ्यौं

  • सूर्यमाला शर्मा, कलाकार

- साप्ताहिक संवाददाता

आश्विन २९, २०७५

 

सानोमा हामी दसैंको टीका लगाउन धर्मस्थलीभन्दा केही माथि ठूलोबाबा तथा काकाको घर जान्थ्यौं, मामाघर पुग्थ्यौं । त्यहाँ पित्तलको १० मोहर, तामाको ५ मोहर दिनुहुन्थ्यो त्यस्तो मोहर जम्मा गरेर हामी रुपैयाँ बनाउँथ्यौं । ठूली दिदी अलि ठूली भएकाले उनलाई अलि बढी दक्षिणा दिइन्थ्यो । म अनि चन्द्रमालाले बराबर पाउथ्यौं । हामी पाँच जना दिदीबहिनी र एक भाइ, टीका लगाइसकेपछि भेला भएर कसको पैसा धेरै भनेर गन्थ्यौं । 

पाएको पैसाले तितौरा किनेर खान्थ्यौं । मलाई टीका लगाएर पैसा दिएको भन्दा पनि आफूभन्दा ठूलाले ढोगेको साह्रै रमाइलो लाग्थ्यो । पछि ठूलो भएपछि चाहिँ खुट्टा ढोगाउनु हुने रहेनछ भन्ने लाग्यो । 

दसैंसँग हाम्रो अर्को सुखद संयोग पनि छ । अब आउने दसैंको टीकाको दिन हाम्रो विवाह भएको ३० वर्ष पुग्छ । विवाह भएपछि भने हामीले दक्षिणा लिन मानेनौं र खुट्टा ढोग्न पनि दिएनौं । ठूलाले मात्र होइन अहिले म आफ्ना छोराहरूलाई पनि खुट्टा छुन दिन्नँ । मैले सानोमा मोहरमा दक्षिणा पाउँथें, तर मैले छोरीलाई पहिलो पटक २० रुपैयाँ दक्षिणा दिएकी थिए । म छोराछोरी दुवैलाई टीका लगाइदिएर दक्षिणा दिन्छु । 

अहिले पनि छोराहरू टीका लगाइदिएपछि खै दक्षिणा भनेर पैसा माग्छन् । म बढीचाहिँ दिन्न सय रुपैयाँ मात्र दिन्छु । आजभोलि दसैं पहिलेको जस्तो मौलिक छैन, पैसाको महत्व घट्दै गएको छ । जुन उत्सुकताका साथ टीका लगाउन हिँडिन्थ्यो, अहिलेको पुस्तामा त्यस्तो उत्साह देखिँदैन । 

प्रकाशित :आश्विन २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्