चियर्स !

  • रक्सी पचाउन दिमाग चाहिन्छ : योगेश्वर अमात्य

- रामजी ज्ञवाली

आश्विन २८, २०७५

मदिरा अर्थात् हाम्रो चलनचल्तीमा भनिने शब्द ‘दारु’ नेपाली समाजमा लोकप्रिय नै छ । कसैको जन्मदिन पर्‍यो कि विवाह भयो टुच्च नलगाउने हो भने समारोह वा उत्सव नै खल्लो अनुभव गर्छन् यसका पारखीहरू । घर–घडेरी–किनबेच गर्दा होस् वा सवारी साधन घर भित्र्याउँदा होस् खुसी सेलिब्रेट गर्न मदिरा नभै नहुने भएको छ । अझ चाडपर्वका बेलामा त यो नभइ हुँन्न । आजभोलिका युवाहरूले हरेक खालका खुसी र दु:खमा यसलाई साथी बनाएको पाइन्छ । दारु नपिउने व्यक्ति फेला पार्न मुस्किलै छ भन्दा फरक नपर्ला । यसै सन्दर्भमा साप्ताहिकका रामजी ज्ञवालीले मदिरा सम्बन्धमा कलाकार योगेश्वर अमात्यसँग रमाइलो ‘मदिरा संवाद’ :

रक्सी पचाउन दिमाग चाहिन्छ

 

मदिराको उत्पत्ति किन भएको होला ?

सम्भवत: भगवान्ले मानिसलाई कोसेलीस्वरूप पठाएका हुन् मदिरालाई । देउताले मानिसहरू केही समय भए पनि रमाऊन् भनेर यसको उत्पत्ति गरेका हुन् कि जस्तो लाग्छ ।

मदिरा भनिने जिनिसलाई कसरी बुझ्नुहुन्छ ?

यो खाएपछि स्वर्ग पुगेजस्तो आनन्द आउँछ । खासमा मदिरालाई एक मात्रा अमृत, दुई मात्रा औषधि तथा तीन मात्रा विष भनिन्छ ।

मदिरा नभए जिन्दगी चल्ला कि नचल्ला ?

बाहुन, क्षेत्री लगायत अन्य जातजातिको कुरा थाहा भएन, तर हामी नेवारको चल्दैन ।

किन रक्सी पिउन थाल्नुभएको ?

त्यस्तो खास कारण त थिएन । रमाइलो गरौं भनेर अमेरिकामा हुँदा सुरु गरेको हुँ । एउटा बारमा पसियो, साइडमा टन्नै हिरोइनजस्ता युवतीहरू थिए, सबैले खाएको देखेर मैले पनि खाइदिएँ । पहिलो पटक मदिरा पिएको पनि त्यही दिन हो । 

तपाईं भावनाहरूको शिथिलताका लागि रक्सी पिउनुहुन्छ कि यसका अन्य आयामहरू पनि छन् ?

अन्य कारणहरू पनि छन् । जस्तै हामी यात्रा थाल्छौं त्यतिबेला मुड नै रमाइलो हुन्छ, त्यतिबेला मदिरा पिइन्छ । कुनै शनिबार रमाइलो गरौं न भन्ने हुन्छ । कथाले माग्छ अनि खाने हो । प्रहरीले सधैं समातेर मात्र हँुदैन नि । हाम्रो नेवारहरूमा त यसको निकै ठूलो महत्व छ । मानिस मरेपछि जलाएर फर्किएसँगै सुरुमा रक्सी, अदुवा र सिधे नुन खान दिइन्छ भने विभिन्न शुभकार्यमा समेत रक्सी पिउने चलन छ । हाम्रो सगुनमा रक्सी अनिवार्य जस्तै हुन्छ । रक्सी भएन भने त हाम्रो लाइफ नै चल्दैन ।

एकान्तमा बसेर सोच्दा रक्सी पिएर ठीकै गरियो जस्तो लाग्छ ?

अहिलेसम्म त ठीकै गरेजस्तो लागेको छ ।

तपाईंका मदिरा पार्टनर कस्ता छन् ?

हाम्रा बासँग स्वर्गीय नेता बीपी कोइरालाको राम्रै साँठगाँठ थियो । त्यतिबेला म निकै सानो भए पनि घरमा आएका पाउनाहरूलाई मदिरा टक्य्राउने मै हुँ । बीपी त्यतिबेला हाम्रो घरमा नियमित आइरहनुहुन्थ्यो । उहाँ बासँग भन्दा पनि मसँग बसेर रमाइलो गर्न रुचाउनुहुन्थ्यो । अहिले ठ्याक्कै यस्ता खालका मान्छे भन्ने छैनन् । मैले साना भनिएकाहरूदेखि राष्ट्रले उच्च कोटिमा राखेका व्यक्तिहरूसँगसम्म बसेर मदिरा पिएको छु ।

रक्सी पिउने कुरालाई लिएर परिवार खुसी छ त ?

नेवार परिवारमा जन्मिएकाले परिवार बेखुसी हुने त कुरै भएन । एकपटक मैले लामो समय मदिरा पिउन छोडेको थिएँ, त्यतिबेला पनि घरमा पाहुनाहरू आइरहन्थे । पाहुनालाई रक्सी ख्वाउँदा श्रीमतीले उहाँहरूलाई मात्र ख्वाउने ? तपार्इंले पनि खानुपर्छ भन्दै कराइन् र फेरि सुरु गरें ।

मदिरा सबैले पिउनुपर्छ भन्नुहुन्छ कि छोड्नुपर्छ भन्नुहुन्छ ?

स्वर्ग पुगेजस्तै आनन्द आउने भएकाले ठिक्क मात्रामा पिउने हो भने केही फरक पर्दैन भन्छु । किन छोड्नुपर्‍यो र ?

तपाईंका लागि रक्सी पिउने उपयुक्त समय कुन हो ?

साधारण हिसाबले साँझ ५ बजेपछि नै हो । यद्यपि म बिदाको दिन बिहान ६ बजेदेखि नै रक्सी पिउन पछि पर्दिनँ । एकपटक पोखराको तालवाराही होटलमा बिहान ६ बजे चिकन चिल्ली मगाउँदा मानिसहरू छक्क परेका थिए, तर त्यो मुड थियो ।

कस्तो ठाउँमा बसेर पिउँदा आनन्द आउँछ ?

ठ्याक्कै यस्तै भन्ने छैन । खासमा रक्सी पिइसकेपछि जहाँ पनि रमाइलो हुन्छ । वातावरण नै रमाइलो हुन्छ । जताततै स्वर्ग पुगेजस्तो आनन्द आउँछ ।

रक्सी पिएपछि साथीभाइहरूसँग झगडा हुन्छ ?

मेरा साथीभाइ झगडालु छैनन् । रक्सी पिउन थालेसँगै मलाई गिटार चाहिन्छ र म गीत गाउन थाल्छु । त्यसपछि झगडा–सगडा भन्ने कुरै हुँदैन ।

रक्सी पिउँदा गरेका केही गल्ती सम्झना छन् ?

रक्सी पिएसँगै जसलाई हेर्‍यो उसलाई देखेजस्तो, चिनेजस्तो लाग्छ । युवती देखें भने आफ्नै हुन् कि जस्तो हुन्छ । माया लागेर आउँछ । अहिलेसम्म त्यस्तो कुनै ठूलो गल्ती गरेजस्तो त लाग्दैन । यद्यपि एकपटक रक्सी पिइरहेका बेला एउटा गिलास साइडमा थियो, तीन–चार वर्षको छोराले त्यो पूरै पिइदियो, मलाई डर लागिरहेको थियो तर केही भएन ।

रक्सीले सिर्जनशील हुन कत्तिको सहयोग गरेको छ ? 

यो कुरा त तपाईंलाई पनि थाहा हुनुपर्छ । यो प्रश्नको जवाफ त गोपाल योञ्जन, नारायणगोपालहरूले अझ राम्रोसँग दिन सक्नुहुन्थ्यो ।

रक्सी पिएकै कारण कसैसँग सम्बन्ध बिग्रिएको छ ?

छैन, बरु धेरै साथीहरू थपिएका छन् ।

तपाईंको बेस्ट ब्रान्ड कुन हो ?

पिउन त धेरै प्रकारका ब्रान्ड पिएको छु, तर मलाई ग्रिनफिज नै उत्कृष्ट लाग्छ ।

वास्तवमा रक्सीको मात कस्तो हुन्छ ?

आहा, कति आनन्दको । स्वर्ग पुगेजस्तो । संसारको सबैभन्दा आनन्द दारु पिउँदा नै आउँछ ।

रक्सी नपिई कति लामो समय बिताउनुभएको छ ?

एकपटक आठ महिनाजति छोडेको थिएँ, श्रीमतीको करले फेरि सुरु गरें । त्यसपछि त्यति लामो समय छोडेको छैन ।

एकपटकमा कति पेगसम्म पिउनुहुन्छ ?

एक बोत्तल सजिलैसँग पिउन सक्छु ।

रक्सी पिएपछि भावनामा डुबी रोएको क्षण छ ?

छैन, म रक्सी पिएपछि रमाइलो गर्ने मानिस हुँ ।

आममानिसले कति प्याकसम्म पिउनुपर्छ ?

दुईदेखि चार प्याक ठीक हो । बाँकी कति सकिन्छ पिउँदा हुन्छ । रक्सी पचाउन शरीर मात्र भएर हुँदैन, दिमाग पनि चाहिन्छ ।

प्रकाशित :आश्विन २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्