दसैंको दक्षिणाले किनेको महत्वपूर्ण कुुरा के हो ?

- महेश तिमल्सिना

आश्विन २८, २०७५

पहिले–पहिले मलाई दसैंको दक्षिणा लिन लाज लाग्थ्यो । म आफूले पाएको दक्षिणा धेरैजसो ममीलाई दिन्थें । केही पैसाले आफूलाई आवश्यक सामान किन्थें । त्यसमध्ये मैले दसैंको दक्षिणाबाट एउटा नोट बुक किनेको याद छ । 

टिका प्रसाईं, गायिका 

अहिलेसम्म दसैंमा पाएको दक्षिणाले त्यस्तो केही किनेको सम्झना छैन । त्यो पैसा त तास खेलेरै सिध्याउँछु । 

आँचल शर्मा, अभिनेत्री

सानो छँदा दसैंको दक्षिणा जम्मा गरेर कपडा किन्थेँ । पछि अलि ठूली भएपछि मैले दक्षिणाको पैसाले सुनको सिक्री बनाएकी थिएँ । 

अनिता चलाउने, गायिका 

दसैंको दक्षिणाले मैले किनेको महत्वपूर्ण कुरा एउटा कुखुराको चल्ला हो, त्यो पोथी रहेछ । त्यो कुखुरीले यति धेरै अण्डा दियो कि बयान गरी साध्य छैन । 

राजनराज शिवाकोटी, 

गायक तथा संगीतकार 

मैले यू क्यान विन पुस्तक किनेर पढेको थिएँ । अहिले त्यही पुस्तकले देखाएको बाटोमा हिँडिरहेको छु । 

दिपेश कार्की, मोडल 

मैले दसैंमा पाएको दक्षिणाले पहिलो पटक मासु किनेकी थिएँ । 

पूर्णिमा लामा, अभिनेत्री 

सानै हुँदाको कुरा हो । मैले मामाघरमा कति दक्षिणा पाएको थिएँ, त्योचाहिं याद छैन तर मैले त्यो पैसाले सिधै चलचित्र हलमा गएर चलचित्र ढुकढुकीको टिकट किनेको थिएँ । 

मुस्कान ढकाल, निर्देशक

बाल्यकालको दक्षिणा चकलेट खाएरै सकिन्थ्यो । गत वर्षको दसैंमा १२ सय जति दक्षिणा उठेको थियो । त्यो पैसा फिल्मको टिकट किन्दैमा सकियो । पछि पपकर्न खाने पैसा चाहिँ आफैंले हाल्नुपर्‍यो ।

निर्जन थापा, मोडल 

दसैंमा दक्षिणाभन्दा धेरै आशीर्वाद पाएर होला मेरो त दक्षिणा नै ओझेलमा पथ्र्यो । त्यसैले त्यस्तो महत्वपूर्ण कुरा किनेको सम्झना छैन । अलिकति भएको दक्षिणा साथीहरूसँग खाँदैमा ठिक्क हुन्थ्यो । 

सुशीला गौतम, गायिका 

मैले दसैंमा पाएको दक्षिणाले ममीलाई कपडा किनिदिएकी थिएँ । 

जाङमु इन शेर्पा, मोडल

म सानो छँदा जहिले पनि दसैंको दक्षिणाबाट ककवाला पेस्तोल किन्थेँ । मलाई आर्मीमा भर्ती हुने ठूलो इच्छा थियो, तर चलचित्रमा आएँ । 

विनोद न्यौपाने, अभिनेता

मैले दसैंमा पाएको दक्षिणाले पहिलो पटक ५ सय रुपैयाँको साइन्टिफिक क्यालकुलेटर किनेको थिएँ । 

कालीप्रसाद बाँस्कोटा, 

गायक तथा संगीतकार 

मैले दसैंमा पाएको दक्षिणाले हातको औंलामा लगाउने एउटा औंठी किनेकी थिएँ । 

रजनी केसी, अभिनेत्री 

दसैंमा पाएको दक्षिणाले तिहारमा दाजुभाइहरूका लागि सामान किन्छु भने तिहारमा पाएको दक्षिणाले चाहिं आफूलाई चाहिएको सामान किन्ने गरेकी छु । 

आस्था राउत, गायिका 

बाल्यकालमा दसैंको दक्षिणाको ठूलो महत्व हुन्थ्यो । म दसैंमा मामाघरबाट प्रशस्तै दक्षिणा पाउँथें । त्यो दक्षिणाले मैले मिकासा कम्पनीको एउटा भलिबल किनेको थिएँ । 

याम क्षेत्री, गायक 

मैले दसैंमा पाएको दक्षिणाले पहिलो पटक प्लास्टिकको चश्मा र घडी किनेको थिएँ । 

शिवहरि पौडेल, हास्यकलाकार 

त्यसरी सामान किन्न सक्ने गरी दक्षिणा पाएको छैन । सबैतिरको जम्मा गर्दा बढीमा २ सयजति हुन्थ्यो । त्यो पैसा चकलेट खाँदैमा सकिन्थ्यो । त्यसैले दसैंमा पाएको दक्षिणाले नै अहिलेसम्म त्यस्तो स्मरणीय सामान किनेको छैन । 

पल शाह, अभिनेता 

मैले दसैंमा पाएको दक्षिणाले जिन्सको पाइन्ट किनेको थिएँ । 

रामजी खाँड, गायक 

स्कुल पढ्दा मामाले २ सय रुपैयाँ दक्षिणा दिनुभएको थियो । त्यसमा अलिकति पैसा थपेर मैले स्कुल ड्रेस सिलाएको थिएँ । 

प्रकाश सपूत, गायक तथा मोडल

महत्वपूर्ण कुरा किन्ने दक्षिणाचाहिँ कहिल्यै पाइएन । हार्मोनियम किन्ने ठूलो धोको थियो, हार्मोनियम किन्न दक्षिणाबाट आएको पैसाले कहिल्यै पुगेन ।

रामचन्द्र काफ्ले, गायक 

म करिब १२ वर्षको हुँदा मामाघरबाट पाएको दसैंको दक्षिणाले एक दर्जन स्केच पेनको प्याकेट किनेको थिएँ । मलाई सानोमा ड्रइङ गर्न खुबै मन लाग्थ्यो । 

लक्ष्मण पौडेल, निर्देशक

मैले सानैमा मामाघरबाट पाएको दक्षिणाले धरान गएर ४ सय ५० रुपैयाँको चस्मा किनेको थिएँ । 

पृथ्वीराज प्रसाईं, अभिनेता 

मैले आजभन्दा धेरै पहिले मामाघरबाट पाएको दसैंको दक्षिणाबाट ३० रुपैयाँको हातमा लगाउने घडी किनेको थिएँ । 

अर्जुन तिवारी, छायाँकार 

मैले ८ वर्ष पहिले दशैंमा पाएको दक्षिणा जम्मा गरेर गितार किनेको थिएँ । 

सलोन बस्नेत, अभिनेता 

 

 

प्रकाशित :आश्विन २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्