त्यति बेलाको दसैं

- भैरव रिसाल

आश्विन २८, २०७५

९१ वर्षको यो उमेरमा म पुराना दिनहरू झलझली सम्झिरहेको छु । म भक्तपुरको ताथली गाउँमा जन्मिएको हुँ । पछि हामी त्यहाँबाट दधिकोट बसाइँ सर्‍यौं, जहाँ म हुर्किएँ, बढें । मेरो पढाइचाहिँ लुभुमा भयो । दसैं नजिकिँदै जाँदा म दधिकोटको चित्रपुरमा मनाएका दसैं सम्झन्छु । 

जब दसैं आउँथ्यो, गाउँभरि चिउरा कुट्ने चलन थियो । थापा चिनियाँ धानको त्यो चिउराबाट छुट्टै खालको बास्ना आउँथ्यो । मलाई त्यो चिउरा एकदमै मन पथ्र्यो । त्यसको स्वाद निकै मीठो हुन्थ्यो । फेरि त्यो चिउरा दुर्लभ पनि मानिन्थ्यो । हामी दधिकोटबाट च्याङ्ग्रा लिन रानीपोखरी आउँथ्यौ । हिंडेर रानीपोखरी आउन ३ घण्टा लाग्थ्यो । त्यतिबेला ७ मोर, ४ रुपैयाँ, ९ मोर तथा ५ रुपैयाँमा च्याङ्ग्रा किन्न पाइन्थ्यो । तिब्बतबाट रसुवा, सिन्धुपाल्चोक हुँदै काठमाडौंसम्म च्याङ्ग्रा ल्याइन्थ्यो । कस्तो गार्‍हो हुन्थ्यो भने रानीपोखरीबाट च्याङ्ग्रा भक्तपुर एक्लै जान नमान्ने । चार–पाँच वटा च्याङ्ग्रा भयो भने मात्र हिंड्न मान्ने । 

सबैले च्याङ्ग्रा, भेडा, खसीको भँुडी सफा गर्न मान्दैनथे । त्यस्तो काम आई लाग्यो कि हामी केटाकेटीहरूलाई अघि सारिन्थ्यो । मलाई सबैभन्दा मीठो लाग्ने भनेकै भित्र्याँस, कलेजो, फोक्सो, मृगौला, मुटु, फियो अनि बोसे आन्द्रा । पाक्न पनि छिटो, खान पनि मीठो । मासु खान पाइने भनेकै ठूलो दसैंमा मात्र थियो । अरू बेला अर्थात् चैते दसैं, साउने संक्रान्ति, माघे संक्रान्तिमा त पेटभरि मासु खान पाइँदैनथ्यो । बल्ल–बल्ल खान पाइएको छ भनेर पचाउन सक्ने भन्दा बढी खाइन्थ्यो अनि पेट लागेर हैरान हुन्थ्यो । कसैको घरमा सिंगै च्याङ्ग्रा, भेडा, खसी हुन्थे भने कसैको घरमा थोरै मासु किनेर राखिएको हुन्थ्यो । अहिले पनि म मासु खान्छु । दाँत नभएको भागमा मासु अड्किन्छ, तै पनि मन पर्छ । पहिले सानोमा दसैं निकै रमाइलो हुन्थ्यो । कुनै जिम्मेवारी हुँदैनथ्यो । अहिले पनि रमाइलै लाग्छ, तर यतिबेला जिम्मेवारी, दायित्वहरू छन् । 

यतिबेला सेतो तथा रातो रंगले घर पोत्थ्यौं । अग्लो भर्‍याङ राखेर घर पोत्ने चलन थियो । बारीमा भटमास उखेल्ने, मकै भाँचेर थन्क्याउने, ढोड काट्ने, बारीमा मल हाल्ने, तोरी छर्ने आदि काम गरिन्थ्यो । पुरुषभन्दा महिलाहरूले काम बढी हुन्थ्यो । दसैंमा नयाँ लुगा हालिन्थ्यो । वर्षमा एकपटक नयाँ लुगा लगाउन पाइन्थ्यो, त्यो पनि सूचीकारले सिलाउन भ्यायो भने मात्र । हामी मामाघर जान्थ्यौं । मावलीघर भक्तपुरको ताथली पुगेपछि एकदमै रमाइलो हुन्थ्यो । मामाघर जाँदा पेडा र मिठाई लाने चलन थियो । पेडा र मिठाई सबै ठाउँमा किन्न पाइँदैनथ्यो । कुनै–कुनै ठाउँमा मात्र किन्न पाइन्थ्यो । 

गाउँमा लिंगे पिङ हालिएको हुन्थ्यो, हामी चौरमा हालिएको लिंगे पिङमा झुम्मिन्थ्यौं । देउताको थानमा पनि उस्तै भीड हुन्थ्यो । टीकाको दिन अझ बढी मानिस हुन्थे । चण्डीपाठ गरिन्थ्यो, दुर्गा कवच पाठ हुन्थ्यो । केटाकेटीहरूको आकषर्ण भनेकै नयाँ लुगा, रक्ति–चिउरा तथा मासु–भात थियो । मोजा लगाउने चलन नै थिएन । जुत्ता भने किनिन्थ्यो । दौरा, सुरुवाल र स्टकोट लगाउने चलन थियो यो बेला । एक तोला सुनको २ सय रुपैयाँ पथ्र्यो । पैसाको ठूलो महत्व थियो । पैसा महँगो थियो । जे सामान किन्नुपर्दा पनि सस्तोमा पाइन्थ्यो । दोस्रो विश्वयुद्धपछि वि.सं. १९९६ ताका कपडा, खानेकुरालगायत सबै कुरा महँगा हँुदै गए । मेरा बा सुपारी खानुहुन्थ्यो । १ पैसाको १२ तथा २ पैसाको २५ टुक्रा सुपारी आउँथ्यो । त्यतिबेला स्वारी–पुरी, नरिवल, मिठाई, पेडा, बर्फी, खजुरी, मनभोग किन्न खुब मन लाग्थ्यो । 

केही वर्षअघि पार्किन्सन भएर मैले कलम चलाइनँ । मैले दुई वर्ष लेख्न सकिनँ, पछि जाँगर पलाउन थाल्यो अनि बिस्तारै लेख्न थालें । म अचेल आलोचनात्मक लेखहरू लेख्छु । मैले वि.सं. २०१२ मा लोकसेवा पास गरें । काम खोज्दै जाँदा हाल खबर दैनिकमा काम पाइयो । पत्रकारका रूपमा मेरो पहिलो तलब १ सय रुपैयाँ थियो । मसँग नयाँ साइकल पनि थियो । त्यतिबेला साइकल हुनु भनेको अहिले हेलिकप्टर हुनुजस्तै थियो । 

२००२/०३ सालतिरको कुरा हो, एकपटक दसैंमा गाउँमा हैजा फैलियो । बाक्लो बस्ती थियो । निकै मानिस मरे । गाउँमा फोहोर पनि अति थियो । त्यतिबेला कसैसँग रेडियो थिएन । राणाहरूले दोस्रो विश्वयुद्धताका रेडियो ल्याए । अरू कसैले रेडियो ल्याएको थाहा पाए सजाय हुन्थ्यो । त्यतिबेलाका गुप्तचरहरू एकदमै तगडा थिए । एकपटक कर्ण शाक्यका बुबाले ठूलो फिलिप्स रेडियो किनेर असन बजारमा राखे । त्यो रेडियो हेर्न सारा मानिसहरू झुम्मिन्थे । त्यो रेडियोभित्र मान्छे कहाँ छ ? भन्ने जिज्ञासा सबैमा हुन्थ्यो । चेतना एवं सञ्चारका दृष्टिकोणले २००७ साल नेपालका लागि कोसेढुंगा सावित भयो । 

प्रकाशित :आश्विन २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्