दसैंको दक्षिणा

- अविरल थापा

आश्विन २७, २०७५

 

मआठ–नौ वर्षको हुँदो हुँ, दसैंमा बुबाले टीका लगाइदिएर सबैलाई पाँच–पाँच रुपैयाँ दक्षिणा दिनुभयो तर मलाई दिनुभएन । सामान्यत: हाम्रो समाजमा छोरी मान्छे जतिलाई दक्षिणा दिने र छोरालाई पछि अंश खान्छन् भनेर चाडबाड वा श्राद्धमा दक्षिणा नदिने चलन छ, तर त्यतिबेला, भाइ–बहिनी सबैले पैसा पाए, तर बुबाले मलाई दिनुभएन । उक्त व्यवहारले मेरो मन असाध्यै कुँडियो र म भलभल आँसु निकालेर रुँदै गोठतिर पुगें । म रोएको देखेर बुबाले माया गरेर पैसा दिनुको साटो उल्टै एक झापड दिनुभयो ।

त्यसपछि हजुरबुबा कुद्दै आउनुभयो र मलाई सम्हाल्नुभयो अनि बुबालाई गाली पनि गर्नुभयो । हजुरबुबाले आफैं दस रुपैयाँको नोट देखाएर फकाउन खोज्नुभयो । हजुरबुबाको मायाले म फकिएँ तर त्यही बेला मैले मनमनै प्रण गरें कि अब म कहिल्यै आफ्नो व्यक्तिगत रहर र इच्छा पूरा गर्न बुबासँग कहिल्यै पैसा माग्नेछैन । सबैलाई पैसा दिएर मलाई किन पैसा दिनुभएन र उल्टो मलाई किन पिट्नुभयो ? मैले कहिल्यै बुझ्न सकिन तर त्यो व्यवहार र पिटाइले मलाई ठूलो पाठ सिकायो । त्यसपछि मैले आफैं कमाएर देखाउँछु र बुबाको कमाइ कहिल्यै खानु नपरोस् भनेर प्रण गरें । 

स्कुल सकिएपछि नै म कसरी आत्मनिर्भर हुने भन्ने बाटोतर्फ लागेेंं । मैले बुबासँग मलाई यस्तो गर्न यति पैसा चाहियो, मलाई यो किन्दिनु, मलाई यो खान मन लाग्यो भनेर कहिल्यै भनिन र आजसम्म आफ्ना लागि भनेर एक पैसा पनि मागिनँ । मेरो बालसुलभ मस्तिष्कमा परेको चोट र आफैं कमाएर देखाउँछु भन्ने ईखले मलाई आत्मनिर्भर हुन धेरै समय लागेन र पछाडि फर्केर पनि हेर्नु परेन । 

पितृसत्तात्मक हाम्रो समाजमा लोग्नेमानिसलाई मामाघर र ससुरालीमा मात्र दक्षिणा दिने चलन छ । सानो छँदा मामाघर वा दक्षिणा पाइने ठाउँमा गएर दक्षिणा थाप्न पनि मज्जा हुन्थ्यो । कसको दक्षिणा कति भयो भनेर गन्न, दक्षिणा कति पाइयो भनेर एकान्तमा गएर हेर्न र आफ्नो धेरै भएका बेला धक्कु लगाउनुको आनन्द नै बेग्लै हुन्थ्यो । दसैंमा पाइने नयाँ नोटको बास्ना र कट्कट् गर्दै गन्दा आउने रमाइलो बयान गरी साध्य छैन । त्यतिबेला दक्षिणा जम्मा गरेर सय रुपैयाँ पुर्‍याउन पनि हम्मे हम्मे पथ्र्यो । धेरै पाइन्छ भनेको ठाउँमा थोरै पाइन्थ्यो । सय पुर्‍याउन खोज्यो मरिकाटे पुग्दैनथ्यो । एक साल त कति भयो भनेर गन्दागन्दै कतिबेला कहाँ हरायो कि कसैले चोरिदियो कुन्नि, बीस रुपैयाँको नयाँ नोट नै गायव भयो । त्यो बीस रुपैयाँ सम्झ्यो भने अहिले पनि थक्थकी लाग्छ । जे होस्, बाल्यकालमा दसैंमा मामाघर गएर मान–सम्मान पाउन र दक्षिणा लिन मज्जा नै हुन्थ्यो । 

दसैंमा दक्षिणा लिनेलाई त मज्जै आउँछ तर दिनेलाई कसरी पुर्‍याउने भन्ने पिरलो हुन्छ । हुनेलाई त भएको अलिअलि बाँड्दा खासै फरक नपर्ला तर नहुनेलाई र धेरै आफन्त तथा इष्टमित्र भएकाहरूलाई मार पर्छ । अर्को खट्किने कुरा दक्षिणा दिनेले पनि टीका थाप्नेको हैसियत हेरेर दक्षिणा दिन्छन् । ठूलो पद र धनी मानिस छ भने उसैले धेरै दक्षिणा पाउँछ नहुनेले अलि कम पाउँछ । खासमा नहुनेलाई धेरै दिनुपर्ने हो तर शक्तिको नियम दक्षिणा लेनदेनमा समेत लागू हुन्छ । 

कति त कमजोर र गरिब आफन्तकहाँ मीठो खान पाइँदैन र दक्षिणा पनि धेरै दिँदैन भनेर टीकै लगाउन जाँदैनन् । गरिब आफन्तलाई उनीहरू टीका लगाउन आइदिएकोमै खुसी मिल्छ भन्ने कुरा धनीहरूले बुझ्दैनन् । सद्भाव र आशीर्वाद थाप्न जाने कुरालाई पनि कसैले पैसा र शक्तिअनुसार भेदभाव गर्छन् भने ती आफन्त होइनन्, स्वार्थी हुन् । कसले कति दिएर कसलाई नै पुग्छ र ? तर दसैंलाई कतिपय मानिसले आफ्नो आर्थिक हैसियत र रवाफ देखाउने पर्वका रूपमा पनि लिन्छन् । दक्षिणाको लोभमा टीका थाप्न जानेहरू र टीका लाउन आउनेहरूको हैसियत हेरेर दक्षिणा र मान–सम्मानमा उचनिच गर्ने दुवै सम्बन्धका व्यापारी हुन् । 

अर्को कुरा, दसैंमा नयाँ नोट समात्नुको मज्जा बेग्लै हुन्छ । उही मूल्यको पुरानो नोट भए पनि नयाँ नोटको भाउचाहिँ धेरै हो जस्तो लाग्छ । नेपाल राष्ट्र बैंकले दसैंमा नयाँ नोट निकाल्ने र साटन पाइने चलन चलाएर पनि होला, दसैंमा दक्षिणामा नयाँ नोट लिने–दिने बानी परेको हुनुपर्छ । गाउँघरतिर नयाँ नोट लिएर गएर साटिदिनेहरूको रवाफ पनि बेग्लै हुन्छ । 

दसैंमा साना केटाकेटीलाई यो छोरा यो छोरी भनेर नछुट्याई सबैलाई समान दक्षिणा दिएर खुसी पारौं र उनीहरूले हामी दुवै समान वा बराबर हौं भन्ने महसुस गरुन् । धनीले हाम्रो त यतिखर्च भयो नि भनेर धक्कु नलगाउँm, गरिबले गच्छेअनुसार व्यवहार टारौं तर आफन्तको मन जित्न ऋण नकाढौं । 

सबैलाई दसैंको शुभकामना । 

facebook.com/abeeralthapa

Twitter@abeeralthapa

प्रकाशित :आश्विन २७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्