नयाँ लुगाको बास्नाले दसैं आएको थाहा हुन्थ्यो

  • करिष्मा मानन्धर, अभिनेत्री

- साप्ताहिक संवाददाता

आश्विन २६, २०७५

म सानै उमेरदेखि सिन्धुपाल्चोकस्थित मामाघरमा हुर्किएँ । ७/८ वर्षसम्मको दसैं मामाघरमै मनाए । हजुरबुबाले लुगा सिलाउने मानिसलाई घरमै बोलाएर एक हप्तासम्म लुगा सिलाउन लगाउनुहुन्थ्यो । बहिनी र मलाई स्कुल जाँदा लगाउने सर्ट–फ्रक, जाडोका लागि मोटा–मोटा नेपाली ढाकाका सुरुवाल तथा भोटा सिलाईदिनुहुन्थ्यो । यसरी सिलाउन ल्याइएको नयाँ लुगाबाट छुट्टै बासना आउँथ्यो । त्यो वासना चलेसँगै अब दसैं आयो भन्ने लाग्थ्यो । 

एकातिर कपडा सिलाउने काम चलिरहन्थ्यो, अर्कातिर घर लिपपोत गरेर चिटिक्क बनाइन्थ्यो । ओढ्ने–ओछ्याउने सिरक–डसना घाममा सुकाउने काम पनि हुन्थ्यो । घर वरपर ढकमक्क फूल फुलेर दसैं आएको आभास दिन्थे । वरपरका दाजुभाइहरू मिलेर रोटेपिङ, लिङ्गेपिङ लगाउँथे । हजुरआमाले भक्तपुरबाट भरियाहरूलाई बोकाएर दसैंको सामान ल्याउनुहुन्थ्यो । 

८ वर्षपछि भने म आफ्नै घर गोदावारी आए । यहाँ आएपछि दसैंमा आमाले सपिङ्ग गरिदिनुहुन्थ्यो । त्यति बेला अहिलेको जस्तो ट्राफिक जाम हुँदैनथ्यो । उहाँ हिँडेरै असन पुगेर सामान ल्याउनुहुन्थ्यो । त्यतिबेला मामाघरमा हुँदा जस्तो लुगाको महत्व लाग्न छाडिसकेको थियो । १८ वर्षको उमेरमै मेरो विवाह भयो । विवाहपछि मेरा लागि लुगाको त्यति महत्व भएन । छोरी तथा स्टाफहरूलाई आफूले लत्ताकपडा आदिको व्यवस्था गरिदिनुपथ्र्यो ।

 अहिले त नयाँ लुगाका लागि दसैं नै कुर्ने चलन पनि छैन । हामीले मात्र होइन केटाकेटीहरू समेत दसैंमा नयाँ लुगालाई त्यति महत्व दिँदैनन् । कलाकार भैसकेपछि म हुलाकीलाई समेत बोनस दिन्थे । उनले वर्षभरि मेरा फ्यानका चिठी ल्याइदिन्थे । अझ दसैंमा त शुभकामनाका चिट्ठी मात्र एक बोरा हुन्थे ।  

प्रकाशित :आश्विन २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्