अब के नेपाली चैँ बिर्सने ?

- रवीन्द्र अधिकारी

आश्विन २६, २०७५

 

जातीय, साम्प्रदायिक, राष्ट्रिय, लैंगिक वा धार्मिक असमानतालाई हामीले बिर्संदै गएका छौं, जुन धेरै हिसाबमा राम्रो हो । यसै क्रममा भाषिक भिन्नताको दूरी पनि अब बिस्तारै मेटिँदो छ । हुन त प्रत्येक भाषा आफैंमा अपुरो हुन्छ, त्यसैले स्वभावत: अरू भाषाबाट शब्द वा फ्रेजहरू आगन्तुकका रूपमा भित्रि नै रहन्छन् । 

यद्यपि आज कक्षा १२ मा अध्ययनरत टिनएजरले कुनै एउटा वाक्य पनि अंग्रेजी शब्द नमिसाई पूरा गर्न नसकेको देख्दा नेपाली भाषा कालान्तरमा परर्निभर र अपभ्रंश हुँदा–हुँदा अंग्रेजीमै मिसिने त होइन वा यो भाषाको ‘ओरिजिनालिटी’ नै सङ्कटमा पर्ने त होइन ? भन्ने शङ्का जोकसैको मानसपटलमा उठ्न थालेको छ । यसरी भाषा विविधाबाट एकल भाषा तिर उन्मुख हुनु कसैले विश्वव्यापीकरण हो भनेर व्याख्या गर्छन् । यद्यपि यो कतै एक भाषाले अर्को भाषामाथि गर्ने भाषिक औपनिवेशिकरण त होइन ? कि हाम्रो अंग्रेजी भाषाप्रतिको अनपेक्षित मोहले नजानी–नजानी हामी आफैंले आफ्नो जन्मभाषालाई लोपोन्मुख हुन सहयोग गरिरहेका छाँै ? 

पहिले विकल्प हुँदै नभएका शब्द मात्र नेपाली भाषामा प्रयोग गरिन्थ्यो । जस्तै— कोट, साइकल, रेडियो, फोन, फ्रिज, एन्टेना, प्यान्ट आदि । यी वस्तु/चिजहरू प्राय: विदेशबाटै आएकाले यिनीहरू आफूसँगै आफ्ना तदनुसारका नाम बोकेर नेपाल भित्रिन्थे अनि विकल्प भएका शब्दलाई पनि बिस्तारै विस्थापित गरी अंग्रेजी नै चलाइयो । जस्तै— कम्प्युटरलाई सुशांखी कसैले भनेन, टिभीलाई दूरदर्शन कसैले भनेन । नेपाली शब्दोच्चारण गाह्रो भएर हो भन्नेहरू पनि कम छैनन् तर त्यसो होइन, उच्चारण नै नगरेपछि त्यो गाह्रो हुँदै गएको हो । अन्यथा कम्प्युटरभन्दा सुशांखी भन्न छोटो र सजिलो छ, त्यस्तै टेलिभिजनभन्दा दूरदर्शन धेरै सजिलो छ । क्रमश: भकुन्डोको सट्टा बल, गाडीको सट्टा बस, विमानको सट्टा प्लेन बढी प्यारा लाग्दै गए । 

त्यस्तै वस्तुबाहेकका बोलीचालीमा समेत अंग्रेजीले स्थान पाउन थाल्यो । कसैले गूड मर्निङ छोडेर शुभ प्रभात भनेको मैले सुनेको छैन, गुड इभिनिङको सट्टा शुभ सन्ध्या पनि भनेको सुनिएको छैन । नमस्तेको सट्टा अहिले हेलो र हाई नै बढी हिट छन् । तिम्रो उडान कति बजे अनि उडानविश्राम कहाँ हो भनेर सोध्यो भने पक्कै दोहोर्‍याएर सोध्नैपर्छ, ‘तिम्रो फ्लाइट कति बजे अनि ट्रान्जिट कहाँ हो ?’ 

पेसामा पनि अंग्रेजीको ‘लिङ्गुइस्टिक हेजिमोनी’ (Linguistic Hegemony) प्रचुर छ । विमानचालकलाई पाइलट, चिकित्सकलाई डाक्टर, लेखापाललाई एकाउन्टेन्ट, विमान परिचारिकालाई एयर होस्टेस, स्वास्थ्य परिचारिकालाई नर्स, सूचिकारलाई टेलर, व्यवस्थापकलाई म्यानेजर भन्दा बढी बुझिन्छ । नयाँ निस्किएका धेरै पेसा–व्यवसायको त नेपाली ठेट नाम बृहत शब्दकोशमा समेत भेटिँदैन, जस्तै— फर्मासिस्ट वा अप्टिसियन । 

अहिले प्रविधिसँगै भित्रिएका शब्दहरू त झन् खातका खात छन्, जसका नेपाली नाम कहिल्यै बन्ने छैनन् । अनलाइन, च्याट, मेसेन्जर, इमेल, एसएमएस, क्लिक, विन्डोज, ट्याब, ल्यापटप आदि असीमित शब्दको नेपाली नाम बने सम्झनुहोस् हामीलाई कण्ठ गर्नै कति समय लाग्दो हो । स्मार्टफोन र कम्प्युटरसँग सम्बन्धित वाक्यांशहरू बोल्दा त झन् करिब ३० देखि ४० प्रतिशत शब्द टेक्निकल जार्गनहरू हुन्छन् । आजै फाइल अट्याच गरेर मेल गर भन्नुको सट्टा कागजात टाँसेर पठाऊ भन्दा के बुझ्ने ? तसर्थ टार्नै नसकिने अन्यथा अर्थै बुझ्न र बुझाउन नसकिने परिपेक्ष बेग्लै हो, तर सम्भव भएसम्म शुद्ध नेपाली भाषामा वार्तालाप गर्नु यथोचित देखिन्छ । 

साथै अर्को बिछट्टैको लतमा युवाजमात तल्लीन छ । त्यो हो— नेपाली देवनागिरीलाई अंग्रेजी अल्फाबेटमा लेख्ने । लेख्नेले जे लेखे नि जसरी लेखे नि बुझ्नेले बुझे सकियो वा बुझेन भने एकपटक बुझाए सकियो । धेरै विसंगत उदाहरणमध्ये एक हो— नेपाली ‘छ’ लाई अंग्रेजी ह् ले स्पेल गर्नु । अनि अहिले आएको युनिकोडले गर्दा त अझ उच्चारण गर्दा उस्तै सुनिए हुन्छ— ह्रस्व–दीर्घ वा मोटो ‘श’ पातलो ‘स’ जे भए पनि केही फरक पर्दैन । त्रुटिपूर्ण शब्दहरू जताततै देख्दा–देख्दा नेपाली भाषालाई माया गर्नेहरू पनि अब त अलमलमा पर्ने भैसके— सहीचाहिँ कुन हो भनेर । अझ अहिले अनलाइन न्युज पोर्टलहरूको स्तरहीनताले गर्दा नेपाली भाषा साँच्चै अन्यायमै परेझैं लाग्छ ।

पहिले हाम्रा अंग्रेजी शिक्षकहरू भन्नुहुन्थ्यो, इंग्लिस जति बोले पनि खरोखास नेपाली बोल्दा तिर्खाएर घाँटी सुख्खा भएको बेला चिसो पानी अङ्खोराबाट कलकल खाएजस्तो आनन्द हुन्छ । हुन पनि हो, केही दिनसम्म इंग्लिस बोलिरहँदा बिचैमा नेपाली बोल्दा तिर्खाएको आँत रसाउँछ, तर आज ठीक उल्टो छ । युवा पुस्ताले अंग्रेजी बोल्न पाएन भने उनीहरूले भन्न खोजेको कुरा प्रस्ट भन्नै सक्दैनन् । पहिले नेपालीमा निपात भरेर मिठास ल्याइन्थ्यो, अहिले एक्चुअल्ली वा यु नो आदि भनेर मिठास ल्याउने प्रयत्न गरिन्छ । 

भाषाको आनन्द दुवैले उत्तिकै लिएका छन् तर अंग्रेजी भाषा मिसाएर नेपाली बोल्ने प्रथाले हाम्रो मातृभाषालाई अन्ततोगत्वा आघात पर्नेछ । यहाँ आफ्ना साना नानीले नेपाली राम्रोसँग नआउँदै विदेशी भाषा, विशेष गरी अंग्रेजी बोल्दा गर्वले शीर ठड्याउने अविभावकहरूको कुनै कमी छैन । यो प्रथाले कतै नेपाली भाषा रिक्ततासँगै नबिलाओस् । पहिले नानीहरूलाई नेपाली भाषा अनि नेपालीपन सिकाऊँ अनि मात्र अन्य संस्कारतिर लैजाउँ । नेपाली भाषा हाम्रो हो, हामीले यसको माया नगरे कसले गर्छ ? 

                                                      ravinems@iom.edu.np

प्रकाशित :आश्विन २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्