कोही विदेश त कोही घरभित्रै

- रामजी ज्ञवाली

आश्विन २५, २०७५

दसैंको रौनकले नेपाली कलाकारहरूलाई राम्रैसँग छोएको छ । कलाकारहरूका आ–आफ्नै किसिमका दसैं योजना छन् । कतिपय यो दसैंमा समेत काममा व्यस्त छन् भने कतिपय साथीभाइहरूसँग घुमघाम गर्नुका साथै घरपरिवार तथा आफन्तसँग भेटघाट गर्ने तथा कतिपयले लामो यात्रामा निस्कने योजना बनाएका छन् ।

अभिनेता राजेश हमाल यसपटकको दसैं काठमाडौंमै परिवारका साथ मनाउने योजनामा छन् । उनले श्रीमती, भाइ, दिदी तथा अन्य आफन्तहरूका साथ यस पटकको दसैं मनाउनेछन् । दसैंको केही दिनपछि हमाल विदेशतर्फ लाग्ने छन् । दसैंको समयमा पनि केही कार्यक्रमबाट निमन्त्रणा आएको थियो, हमालले भने, ‘यस पटकको दसैं परिवारकै साथमा मनाउने मुडमा छु ।’ हिन्दूहरूको महान् पर्व दसैं आफैंमा विशेष महत्व बोकेको चाड हो, उनले भने, ‘कम्तीमा यो समय परिवारलाई दिन सकियो भने एक हिसाबको छुट्टै रमाइलो हुन्छ ।’

अभिनेता सुनिल थापा यस पटकको दसैंमा टीका नलगाए पनि रमाइलो गर्ने योजनामा छन् । थापा काठमाडौंमै भएका आफन्त तथा साथीभाइहरूसँग भेटघाट तथा खानपिन गरेर समय बिताउने सोचमा छन् । टीका नलगाए पनि यस पटकको दसैं मेरा लागि विशेष हुनेछ, थापाले भने– टाढा–टाढाबाट आउने आफन्त तथा लामो समयदेखि भेट्न चाहेर पनि भेट नभएका साथीभाइहरू भेटिनेछन्, गफगाफ हुनेछ ।

अभिनेता भुवन केसीले दसैंमा विशेष योजना नबनाए पनि टीका लाउने र लगाइदिने नियमित कर्म भने पूरा गर्ने छन् । भुवन खानपानमा खासै सौखिन नभए पनि सपिङका भने सौखिन हुन् । कुनै ठूलो र विशेष योजना नभए पनि दसैंमा आफन्तहरूसँग टीका ग्रहण गरी आशीर्वाद लिने सोच छ, केसीले भने, ‘दसैंको केही दिनअघि सपिङ समेत गर्नेछु ।’

अभिनेता सरोज खनालले यस पटकको दसैं अमेरिकामा मनाउनेछन् । उनी दसैं मान्न यसै साता अमेरिकातर्फ लागेका छन् । यो अवसरमा उनी अमेरिकामा हुने कलिउड नाइट कन्सर्टमा समेत सहभागी हुनेछन् ।अघिल्लो डिसेम्बरमा अमेरिका पुगेको थिएँ, उनले भने, ‘यस पटक साथीभाइहरूसँग भेटघाटका साथ अमेरिकामा बसोबास गर्ने मेरा २ छोरा तथा श्रीमतीसँगै दसैं मनाउने योजना छ ।’

अभिनेता प्रदीप खड्का दसैंमा पनि चलचित्र लभ स्टेसनको छायांकनमा व्यस्त हुनेछन् । झन्डै ५० दिनभित्र यो चलचित्रको छायांकन सक्ने गरी यतिबेला प्रदीपसहित लभस्टेसनको युनिट भारतको सिक्किममा छ । सम्भवत: चलचित्रको छायांकनमै व्यस्त हुन्छु, प्रदीपले भने– यदि दसैंका लागि केही दिन छायांकन रोकियो भने काठमाडौं आएर दसैं मनाउने सोच छ, यद्यपि बिदा हुने सम्भावना शून्य प्राय: छ । प्रदीपले समय मिलेको खण्डमा साथीभाइहरूसँग भेटघाट गर्ने योजना रहेको बताए ।

अभिनेता अनमोल केसी यसपटक बुबा र अमेरिकाबाट आउन लागेका दाइ विवेक तथा दिदी काजलका साथ रमाइलो गर्दै दसैं मनाउने योजनामा छन् । अनमोललाई दसैंमा खानपानभन्दा पनि आफन्तहरूसँगको गफगाफ तथा भेटघाट विशेष लाग्छ । अनमोल यो समयमा ए मेरो हजुर–३ मा समेत व्यस्त रहनेछन् । केही दिन खाली भए पनि कामले खासै फुर्सद हुँदैन, उनले भने, ‘केही दिनको फुर्सदिलो समय पूर्ण रूपमा परिवारका साथमा बिताउनेछु ।’

अभिनेत्री करिश्मा मानन्धरलाई दसैं सबैभन्दा मन पर्ने पर्व हो । विगतको तुलनामा खासै फरक नभए पनि यसपटकको दसैंलाई छुट्टै किसिमले मनाउने मानन्धरको योजना छ । खासै ठूलो तयारी नभए पनि दसैं सम्झनलायक हिसाबले मनाउनेछु, करिश्माले भनिन्, ‘स्कुले जीवन बिताइरहेकी छु, यसपटक स्कुल बिदा पनि छ । दसैंमा छोरी कविता समेत सँगै हुने भएकाले म निकै खुसी छु ।’ श्रीमान् विनोद मानन्धर यसपटकको दसैंमा टीका लगाउन बेलायत जाँदै हुनुहुन्छ, मानन्धरले भनिन्, ‘नेपालमा आफन्तहरूको टीका ग्रहण गर्नेे र काठमाडौंकै वरिपरि कतै घुम्न जाने सोच छ ।’

अभिनेता सविन श्रेष्ठ दसैंंको दिनबाहेक अरू समय चलचित्रको काममै व्यस्त रहनेछन् । श्रेष्ठ यो दसैंका बेला चलचित्र इन्काउन्टरको छायांकनमा सक्रिय छन् । यो चलचित्रको सुटिङ डेढ महिनाजति हुने सम्भावना छ, सविनले भने– त्यसपछि तुरुन्तै चलचित्र अंकुसको छायांकनमा व्यस्त हुनेछु । दसैंको आसपासका दिन एउटा नयाँ चलचित्रको स्क्रिप्ट पढ्ने सोच बनाएका श्रेष्ठले स्वस्थ खानपान र साथीभाइ तथा आफन्तहरूसँग भेटघाट गरि दसैं मनाउने बताए । दसैंका बेला उनी एउटा राम्रो मोटरसाइकल किन्ने सोचमा समेत छन् । काठमाण्डौंको जामले हैरान भएकाले गाडी चलाउन गाह्रो भएको बताउने श्रेष्ठले आफ्नै सहजताका लागि मोटरसाइकल किन्न लागेको तर्क गरे ।

अभिनेता आकाश श्रेष्ठ यस पटकको दसैं दाङमा मनाउँदैछन् । उनी दाङमा भएका आफन्त तथा स्कुल–कलेजका साथीभाइहरूसँग भेटघाट गर्ने योजनामा छन् । दसैंमा विगतकै जस्तो तास खेल्ने र मीठा परिकारहरू खाने उनको योजना छ । वर्षको कुनै समय फुर्सद पाइन्छ भने त्यो दसैं नै हो, श्रेष्ठले भने– यो दसैंको बिदा परिवार तथा आफन्तहरूसँग बिताउने सोच छ ।

अभिनेत्री पुजा शर्मा यसपटकको दसैंमा परिवार तथा आफन्तहरूको आशीर्वाद लिएर मनाउने सोचमा छिन् । काठमाडौं र बाहिर रहेका आफन्तहरू घर आउने भएकाले पुजा फुरुङ्ग छिन । दसैंमा आशीर्वाद लिनुका साथै आफन्तहरूसँगको भेटघाटको छुट्टै महत्व छ । त्यसैले उनलाई यो चाड विशेष लाग्छ । 

अभिनेत्री जसिता गुरुङले यसपटकको दसैं सिक्किममा मनाउनेछिन् । लामो समयदेखि लन्डनमा बस्दै आएकी जसिता चलचित्र लभ स्टेसनका लागि नेपाल आएकी थिइन् । उनी अहिले यो चलचित्रको छायांकनका लागि सिक्किममा छिन् । 

अभिनेता यशकुमार यसपटकको दसैंमा विदेश भ्रमणमा हुनेछन् । सकेसम्म नेपालमै आफन्तहरूसँग टीका लगाउने सोच थियो, तर बाध्यताले विदेश भ्रमणमा निस्कन लागेको उनले बताए । दसैंको दिन जुन ठाउँमा नेपाली दाजुभाइहरू भेटिनुहुनेछ, सोही ठाउँमा बसेर टीका लगाउने उनको सुर छ । दसैंमा ठ्याक्कै कुन देशमा पुगिन्छ पक्का छैन तर टीका भने लगाउनेछु ।’ यशकुमारले भने ।

अभिनेत्री वर्षा शिवाकोटी यसपटक काठमाडौंको सीतापाइलास्थित आफ्नै घरमा दसैं मनाउँदैछिन् । बुबा, हजुरआमा तथा जन्मदिने बा–आमासहित परिवारकासदस्यहरूका साथमा दसैं मनाउने योजना बनाएकी वर्षाले यसपटक आफन्तहरूसँग पनि भेटघाट गर्नेछिन् । हजुरबुबा–हजुरआमा भएका हिसाबले पनि सम्पूर्ण आफन्त मूल घरमा आउने भएकाले यस पटकको दसैं निकै रमाइलो हुने वर्षाले बताइन् ।

अभिनेत्री आँचल शर्मालाई सबैभन्दा मन पर्ने चाड नै दसैं हो । यो दसैं उनका लागि विशेष हुनुको कारण सबैसँग भेट्न पाउनु र आशीर्वाद ग्रहण गर्नु हो । सवैसँग बसेर एकै ठाउँमा खाना खाने, गफगाफ गर्ने समय अरू बेला पाइँदैन, आँचलले भनिन्, ‘सबैसँग खुसी सेलिब्रेसन गर्नुका साथै मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद लिन पाइने भएकाले नै मेरा लागि दसैं महत्वपूर्ण छ ।’ उनले साथीभाइहरूसँग बसेर तास खेल्ने तथा लामो समयदेखि भेट हुन नसकेका स्कुले साथीहरूसँग भेटघाट गर्ने योजना समेत बनाएकी छिन् ।

प्रकाशित :आश्विन २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्