आफ्नै गाउँ फर्की आएँ

- जनक तिमिल्सिना

आश्विन २५, २०७५

वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्यो

नेपालीजनको महान पर्व आँगनमा आइपुग्यो 

हो ...हो हो दसैं आयो....

...................

पिंढीमा बसी, औंला भाँची छोराको आउने दिन गन्दैछिन् 

दसैंको दिन ती बूढी आमा, आइपुग्दा छोरो दंगै छिन् 

सुपरहिट चलचित्र ‘मुग्लान’को सदाबहार गीत हो यो । ‘मुग्लान’ प्रदर्शनमा आएको लामै समय बितिसकेको छ तर, यो सदाबहार गीतले हरेक दसैंमा सांगीतिक लालित्य भर्दै आएको छ । यो गीत घटस्थापनादेखि नै गाउँघरदेखि टेलिभिजन, रेडियो तथा एफएमहरूमा घन्किन थाल्छ, जसले नेपाली समाजमा दसैं नजिकिएको सन्देश प्रवाहित गर्छ । 

विपन्नताको खाडल पुर्न परदेश पुगेका नेपालीहरूको कथा बुनिएको ‘मुग्लान’मा बडादसैंको प्रसंग पनि छ । चलचित्रलाई समाजको ऐना त्यसै भनिएको होइन् । त्यसैले त अहिले पनि ‘मुग्लान’ले परदेसिएका लाखौं नेपालीको प्रतिनिधित्व गर्छ । 

रोजगारी, अध्ययन तथा व्यवसायका सिलसिलामा मानिसहरू सहर र परदेशतिर थुप्रिन थालेपछि गाउँहरू रित्तिने क्रममा छन् । यद्यपि वर्षमा एक पटक नै सही छ्याङग खुलेको आकाश, बगैंचाका ढकमक्क फुलेका सयपत्री, रातो माटो र कमेराले पोतेर टिलिक्क टल्काइएका ग्रामीण घर, चौबाटोमा मच्चिरहेका पिङ, नयाँ रंगीन पहिरनमा खुलेका मानिसहरूको जमघटले वर्षभरि उजाड देखिने गाउँ, बस्ती त्यसै गुल्जार हुन्छन् । घटस्थापनादेखि रेडियो तथा टेलिभिजनमा गुन्जिरहेको मालश्री धुनले दसैंकै उल्लास व्यक्त गरिरहेको हुन्छ । 

संसारभर छरिएका नेपाली परिवारलाई मिलन गराउने अवसर बन्छ—बडादसैं । विभिन्न कारणले परदेसिएका नेपालीहरू युरोपदेखि अमेरिकासम्म, भारतदेखि मध्यपूर्वका खाडी देश जतासुकै हुन्, कमाएको केही रकम गोजीमा हाल्छन् र दसैंको छेको पारेर आमा–बुवा तथा आफन्तहरूको टीका थापी आशिष लिन गाउँ फर्कन्छन् । दसैंमा घर फर्कने, साथीभाइ तथा घरपरिवारसँग भेटघाट एवं रमाइलो गर्ने नेपाली चाहनालाई न त विदेशी एयरलाइन्सका महँगा टिकटले रोक्छ, न त विदेशी कम्पनीमा ओभरटाइममा डलर कमाउने लोभले नै । 

त्यसैले त परदेशबाट घर फर्कने नेपालीहरूका कारण देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा पनि चाप बढ्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारी दसैंको अवसरमा सामान्यभन्दा बढी ट्राफिक चाप हुने कुरा बताउँछन् । ‘सामान्य अवस्थाको भन्दा दसैंको बेला ट्राफिक मुभमेण्ट बढी हुन्छ,’ तिवारी भन्छन्, ‘विदेशबाट आउने फ्लाइटहरू एजयुजअल नै भए पनि पेसेन्जरको चाप स्वभाविक रूपमा बढिहाल्छ । उता भारतबाट रेल तथा बसमा नेपाल फर्कनेहरूका कारण दक्षिणी क्षेत्रका नाकाहरूमा नेपालीहरूको ठूलो भीड देखिन्छ । 

देशका ग्रामीण भू–भागहरूका लागि काठमाडौंलगायत देशभित्रकै कतिपय ठाउँ पनि परदेशसरह छन्, त्यसैले स्वदेशका परदेशीहरू पनि बस, हवाईजहाजमा खचाखच भरिएर गाउँ पुग्छन् । नेपाल सरकार, विद्यालय तथा निजी क्षेत्रका कम्पनी सबैले लामो बिदा दिने भएकाले मानिसहरू गाउँ फर्कन प्रेरित हुँदै आएका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दसैंमा काठमाडौंबाट २६ लाख मानिस बाहिरिने अनुमान गरेको छ । ‘हामीले यस पटकको दसैंमा करिब २६ लाखजति यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरेका छौं,’ महाशाखाका प्रवक्ता राजकुमार लम्साल भन्छन्– गत वर्ष दसैंमा २४ लाख ८७ हजार नेपाली काठमाडौंबाट बाहिरिएका थिए । दसैंको मुखैमा टिकट पाउन पनि हानथाप हुने भएकाले असोज ५ गतेदेखि नै बाहिरिने मानिसहरूको संख्या लगातार बढिरहेको छ । ‘५ देखि १५ असोजसम्म काठमाडौंबाट करिब ७ लाख १५ हजार ८ सय ५० जना बाहिरिइसकेका छन्,’ लम्सालले भने । 

दसैं जति नजिकिँदै छ, त्यति नै काठमाडौंमा चारवटा नाका नागढुंगा, फर्पिङ, जगाती, मुड्खुको व्यस्तता बढेको छ । ट्राफिक महाशाखाको तथ्यांकअनुसार ५ असोजमा ५ हजार ४ सय २२ सवारी साधन राजधानीबाट बाहिरिएका थिए भने १५ असोजमा ९ हजार ४ सय ३२ सवारी साधनले उपत्यका छाडेका थिए । 

देश–विदेश पुगेका धेरैजसो मानिस गाउँ फर्कने भएकाले दशैलाई गाउँ फर्कने मौसमसमेत भन्न थालिएको छ । आखिर दसैंलाई किन गाउँ फर्कने मौसम भनियो त ? वैदेशिक रोजगार विज्ञ तथा समाजशास्त्री डा. गणेश गुरुङ खाने, पिउने, भेटघाट गर्ने रमाइलो मौसमका कारण पनि दसैंलाई घर फर्कने मौसम भनिएको हो । ‘हामी सबै रमाउछौं, पिउँछौं, भेटघाट गर्छौं,’ डा. गुरुङ भन्छन्, ‘त्यसमा छुटाउने नहुने कुरा मौसम रहेछ । जाडो पनि होइन, गर्मी पनि होइन, आनन्दको मौसम । चिटिक्क पारिएका घर तथा आनन्दित तुल्याउने मौसम भएकाले पुर्खाहरूले बडादसैं मनाउन यही मौसम रोजेका रहेछन् ।’ डा. गुरुङका अनुसार पहिले ठूलो दसंैका रूपमा चैते दसंै मनाइन्थ्यो तर, चैतमा गर्मी हुने र खानपान तथा रमाइलो गर्न मौसम अनुपयुक्त देखिएपछि चैते दसंैलाई सानो दसैंका रूपमा खुम्चाएर बडादसैंलाई मुख्य दसैंका रूपमा विकास गरिएको हो । यसबाहेक खेतीपाती भित्र्याउने समय नभएकाले पनि दसैंको महत्व बढेको हो । 

वर्ष दिनमा एक पटक आउने यो पर्वले सबैलाई जोड्ने गरेको छ । टाढा–टाढा रहेका आफन्तहरूको जमघटमा वर्ष दिनभर भिन्न–भिन्न ठाउँमा रहेर सँगालिएका अनुभूति एकअर्कासँग बाँड्नलाई जो–कोही घरै आइपुग्छन् । बिछोडिएका आफन्त तथा गाउँलेहरूको मिलनले समाजमा खुसीको लहर प्रवाहित गर्छ । लामो समय छुट्टिएका आफन्तहरूबीच ‘सम्बन्ध नवीकरण’ गर्ने उपयुक्त अवसर दसैंले नै सिर्जना गरिदिन्छ । त्यसैले त सबै तह तप्काका नेपालीलाई दसैंले मज्जाले छुन्छ । 

विदेशमा दसैं 

जहाँ–जहाँ र जुन–जुन देशमा नेपाली पुगेका छन्, ती देशमा पनि दसैं मनाउन थालिएको छ । जापानदेखि अमेरिकासम्म, युरोपदेखि अस्ट्रेलियासम्मका नेपालीहरूले जमरा उमारेरै दसैं मनाउने गरेका छन् । कानमा जमरा र निधारमा रातो टीकाले विदेशी भूमिमा नेपालीपन झल्काइरहेको हुन्छ । फेसबुकका भित्ता, इन्ट्राग्राम तथा ट्विटरमा सार्वजनिक हुने जमरा र रातो टीकासहितका तस्बिरले दसैंलाई भर्चुअल संसारमार्फत ग्लोबल बनाउने काम गरिरहेको छ ।  

प्रकाशित :आश्विन २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्