मन्दिर जाँदा

- सिर्जना दुवाल श्रेष्ठ

आश्विन २४, २०७५

 

बालबालिकाहरूका लागि : चकचके हुने र बढी दौडधूपसमेत गरिरहने हुँदा बालबालिकाहरूलाई सजिला पहिरन लगाइदिनुपर्छ । छोरीका लागि आमाकै पहिरनसँग सुहाउँदो रंगका धोती, सुरुवाल र कुर्ता, पञ्जाबी कुर्ता वा त्यही रंगका फ्रक उपयुक्त हुन्छन् । दसैंंको बिहानी पख अलि–अलि चिसो हुने भएकाले पहिरनको माथिल्लो भागलाई भेल्भेटले डिजाइन गर्न सकिन्छ । यसले उनीहरूलाई आकर्षक देखाउनुका साथै न्यानो समेत राख्छ । 

छोराका लागि भने बुबाले लगाएकै स्टाइलको पाइजामा–कुर्ता, जिन्समा कुर्ता वा दौरा सुरुवाल लगाइ दिन सकिन्छ । उनीहरूलाई कटनका साथै, ढाकाको पहिरन पनि आकर्षक देखिन्छ ।

पुरुषका लागि : दसैंंमा नवदम्पती तथा परिवारै सँगै मन्दिर जाने चलन छ । अचेल पुरुषहरू पनि आफ्नो पहिरनप्रति सचेत हुँदै गएका छन् । पुरुषका लागि कटनको पाइजामा कुर्ता, जिन्समा लंग कुर्ता, कटन पाइन्टमा सजिला कटनका सर्टहरू उपयुक्त हुन्छन् ।

महिलाका लागि : महिलाहरू सारी वा कुर्तामै मन्दिर जान रुचाउँछन् । यद्यपि मन्दिर जाँदा पहिरनको फेब्रिकमा बढी ध्यान पुर्‍याउनुपर्छ । फेस्टिभ लुक्सका साथै सजिलो र आगोले नटिप्ने फेब्रिकको पहिरन लगाउनुपर्छ । सारी लगाउने हो भने कटन, कान्जिबरम सिल्क, सफ्ट सिल्क तथा जर्जेटका हल्का साडी उपयुक्त हुन्छन् । रंगमा गुलाबी, पहेंलो, सुन्तला, हरियो, मिक्सजस्तो पनि रंग प्रयोग गर्न सकिन्छ । सकेसम्म सेतो, कालो तथा क्रिम रंगका सारी लगाउनु हुँदैन । अचेल कटनका सारीलाई पनि डिजाइनर लुक्स दिई नयाँपनमा ढालिएको पाइन्छ । ब्लाउजमा भने भेल्भेट, सिल्क, कटन, ब्रोक्रेट आदिमा क्वाटर वा फुल बाहुलाको डिजाइन गराउन सकिन्छ ।

कुर्ता लगाउने हो भने फ्लोरल प्रिन्टको स्टाइलिस्ट कुर्ताहरू लगाउन सकिन्छ । पञ्जाबी सुरुवाल, लेगिन्स, चुडिदार, प्लाजो, स्टेट पाइन्टदेखि जिन्ससँग कुर्ता लगाएर मन्दिर जान सकिन्छ । कटन एवं सिल्कमा विभिन्न रंग तथा फ्लोरल प्रिन्टका पहिरन बजारमा उपलब्ध छन् । रंगीचंगी कपडामा लंग कुर्ती, सेन्टर स्लिड कुर्ती तथा चौबन्दी स्टाइलका कुर्तीहरू परफेक्ट हुन्छन् । मन्दिर जाँदा सलबिनाका स्टाइलिस्ट तथा ट्रेडिसनल कुर्ताहरू पनि उपयुक्त हुन्छन् । लाइन बस्नुपर्ने, आगोले टिप्न सक्ने आदि कारणले एटेच सल भएका कुर्ता तयार गराउन सकिन्छ । यस्ता कुर्ता लगाउन सहज तथा हेर्दा युनिक लुक्स दिने खालका हुन्छन् ।

प्रकाशित :आश्विन २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्